ध्यान केन्द्र बनाउन विदेशी अनुदान चाहिन्न

अनुदान र सहयोगलाई हाम्रो शास्त्रीय आधारमा व्याख्या गर्दा छुट्ट्याएर हेर्न सकिन्छ । अनुदान भनेको दान नै हो । यो अपेक्षारहित हुन्छ । दान लिने–दिने काम हुने र नहुने बिचमा मात्र हुँदैन । आफ्ना इच्छा अनुसार जुन वर्गले जुन वर्गलाई पनि दिन सक्छ । यसमा धार्मिक मान्यता जोडिएको हुन्छ । सहयोग भने दोहोरो लाभको विषय पनि हुन्छ । दान वा सहयोग जे भने पनि दिने र लिने पक्ष हुन्छ नै । अनुदान वा सहयोग नगदी वा जिन्सीजस्ता भौतिक वस्तु मात्र नभई ज्ञान र समयको पनि हुन्छ ।
वैदेशिक अनुदान वा सहयोेग दिने देशले चाहेमा आवश्यक पर्नेले लिन सक्छ । दिने दाता हो भने मागेर लिने याचक हो । अहिले अमेरिकी सरकारले दिँदै आएको अनुदान रोकिएको समाचार छ । बाढी, पहिरो, भूकम्प आदिले नआत्तिने समाज अमेरिकी नीतिले धर्मराएको छ । अर्काले सित्तै दिएको कुरा अब दिन्न, मेरै परिवार बढे अथवा मलाई दिन मन लागेन भन्न पाइन्न र ? त्यसमाथि पनि अनुदान वा सहयोग पटके प्रवृत्तिको हुन्छ भन्ने कुरा भुल्नु हुँदैन ।
वैदेशिक सहायताको इतिहास हेर्दा१९९१ सालमा फर्फिङ जलविद्युत् गृह निर्माण गर्न हामीले ब्रिटिस सरकारबाट अनुदान लिएको देखिन्छ । त्यसपछि निरन्तर सहयोगको मात्रा बढ्दै गएको छ । यो कुरा हरेक वर्षका बजेटको बनावटबाट देखिन्छ । सहयोगको क्षेत्र हेर्दा मिचिमिची हात धोएर खाना खानुपर्छ भन्नेदेखि ठुला–ठुला जटिल कार्यहरू, यातायात र सञ्चारका लागि पनि लिइएको छ ।
अनुदान पाए मन्दिरको छाना फेर्ने, स्कुलका ट्वाइलेट बनाउने, स्कुल पढ्ने बालबच्चामार्फत आमाबाबुलाई तेल दिने, विद्यार्थीलाई खाजा खुवाउन समेत अनुदान लिइएको छ । जुन सरकार आए पनि आफ्नो देशको हैसियत सुधार्नमा ध्यान दिइँदैन, वैदेशिक सहयोग कति माग्न सकियो, त्यसमा गौरव मान्ने प्रवृत्ति देखिन्छ ।
अब हाम्रो ध्यान धेरै पूर्वाधार र कच्चा पदार्थ नचाहिने क्षेत्रतर्फ हुनुपर्छ । त्यो क्षेत्र हो, योग र ध्यान । हाम्रा ऋषिले परापूर्व कालदेखि ज्ञान र तपका बलले स्थापित गरेको पुँजी हो, योग र ध्यान । अब यसलाई पुनः जगाएर हामी गुरु बन्ने अवसर आएको छ ।
यति कुरा गरिरहँदा नेपालमा शिक्षा, स्वास्थ्य, सञ्चार, यातायातजस्ता क्षेत्रमा पटक्कै विकास नभएको भन्न खोजिएको होइन तर खर्च र विकासको गति, स्तर, मात्रामा तालमेल भने छैन ।
यो देश र ऊ देशबिच तुलना गर्नु राम्रो होइन तर पनि यहाँ सामान्य कुरा उठाउन मन लाग्छ । थाइल्यान्ड र नेपालले एकै समयमा हवाई उडान सुरु गरेका रहेछन् । हालसम्म थाइल्यान्डको झन्डा नपुगेको कुनै मुलुक छैन होला । नेपाल एयरलाइन्सको अवस्थाको यहाँ व्याख्या गरेर समय खर्च नगरौँ ।
अहिले कल–कारखाना खुल्नु त परै जाओस्, भएका पनि निजीकरणका नाममा बेचिए । पछि सबै बन्द भए । कागजको कच्चा पदार्थ पराल, चिनीको उखु, कपडाको कपास न त हो । सहजै नेपालमा पाइने कुरा हुन् । उत्पादन गरिरहेका कारखानालाई बेचेर देश रित्याइयो । आयात र निर्यातका कुरा गर्दा २०३५/३६ सम्म धान निर्यात गर्ने देश पछिल्ला वर्षमा आयात गरिरहेको छ । आयात बढेर राजस्व संकलन भएको कुरा फूर्ति र गर्वका साथ समाचार आउँछ । त्यो धान आयात गर्ने रकम आफ्नो देशको कोदो बेचेर जुटाएको पनि होइन । आफ्ना जनशक्ति विदेश पठाएकाले उनले पठाएको रेमिट्यान्सबाट ल्याइएको छ ।
स–साना अरू उदाहरण हेरौँ । विदेशी सरकार सडक बत्ती बनाएर जान्छ, मर्मत गर्न हामीले आफ्ना प्राविधिक तयार नपारेर दाता नै आएर मर्मत गरिदिनुपर्छ । कुनै बेला साना किसानका लागि कार्यक्रम आयो । यसका घरका गोरु उसका घरमा र यो खोरका बाख्रा उसका खोरमा सारेर नाटक मञ्चन गर्न सिकाउने विदेशी होइन, स्वदेशी प्राविधिक नै हुन् । कतै साना किसानका नाममा ट्रयाक्टर बाँडिए । काम भने निर्माण सामग्री बोकेर दौडेका दौडिन्छन् । यसरी यहाँ यतिबेला स–साना एक–दुई कुराको उठान गरिएको मात्र हो । यस्ता काम कता कता भएका छन् भन्ने खोजेर विकल्पको प्रयोग गर्न सकिन्छ ।
नेपालमा प्राकृतिक सुन्दरता र सांस्कृतिक वैभवले पर्यटनको भरपुर सम्भावना छ । तर यसको फाइदा लिन अर्को देशका मान्छे घर छाडेर नेपालमै आउनु पर्ने हुन्छ । यहाँको सुरक्षाको अवस्था, पूर्वाधार, खाना बसाइको सुविधामा निश्चितता चाहियो । दृश्यावलोकनको सेवा कतै निर्यात गर्न सकिँदैन । पर्यटन क्षेत्रबाट फाइदा लिन सजिलो भने छैन । यी कुरालाई पनि निरन्तरता भने दिइरहनुपर्छ ।
अब हाम्रो ध्यान धेरै पूर्वाधार र कच्चा पदार्थ नचाहिने क्षेत्रतर्फ हुनुपर्छ । त्यो क्षेत्र हो, योग र ध्यान । हाम्रा ऋषिले परापूर्व कालदेखि ज्ञान र तपका बलले स्थापित गरेको पुँजी हो, योग र ध्यान । अब यसलाई पुनः जगाएर हामी गुरु बन्ने अवसर आएको छ । यसका लागि ठुलो पुँजी, समयको लगानी र उत्पातै ठुलो शैक्षिक योग्यता आवश्यक पनि पर्दैन । श्रद्घा र विश्वासले सिक्ने र अभ्यास गर्ने हो भने एक वर्ष नपुग्दै व्यक्ति योग प्रशिक्षक बनेर विदेशीले माग गर्न सक्ने बन्न सक्छ । सुन्दर देश नेपालमै बसेर योग सिक्न आउने पर्यटकको पनि घँुइचो लाग्न सक्छ ।
यसका लागि स्कुलका हरेक तहमा उमेर अनुसार सिक्न सिकाउन सक्ने पाठ्यक्रम निर्माण गरौँ । अब भ्युटावर होइन, दश–दश हजारजना अट्ने ध्यान केन्द्र बनाउने सुझबुझको लहर आइसकेको छ । यसपछि कामदार निर्यात गर्ने होइन, योगीको देश भनेर चिनिन १०–१५ वर्षको समय नै पर्याप्त हुन्छ ।
अब विदेशी सहयोगको कटौती गर्ने, बन्द गर्ने संस्था वा देशलाई धन्यवाद दिऊँ । अनुदान वा सहयोग बन्द भएर हामीलाई जोसिलो, जाँगरिलो, आँटिलो बन्ने अवसर मिलेको छ । हाम्रो देश हामीले नै बनाउनुपर्छ, अरूले होइन ।
(प्रशिक्षक जीवन विज्ञान ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०० करोड माथिको निर्यात गर्ने काबरा ग्रुपको लक्ष्य
-
चैत १ गतेदेखि भृकुटीमण्डपमा ‘पुष्प मेला’
-
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडेद्वारा शपथ ग्रहण
-
धवलागिरिमा एक सय पाँच योजना कार्यान्वयनमा
-
उद्योग व्यवसायीलाई नीतिगत कारणले निरुत्साहित गर्नुहुँदैन : अध्यक्ष ढकाल
-
परराष्ट्रमन्त्री राणा भारत प्रस्थान