सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

को हुन् क्यानडाका भावी प्रधानमन्त्री मार्क कार्नी ?

सोमबार, २६ फागुन २०८१, १२ : ०४
सोमबार, २६ फागुन २०८१

क्यानडा । केही समयदेखि क्यानडाको राजनीतिक माहौल उथलपुथलमय छ । यसको सबैभन्दा ठुलो कारण छिमेकी देश अमेरिका हो ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको आर्थिक अवस्थालाई निशाना बनाइरहेका छन् । 

ट्रम्पले हालै क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउने बारेमा बयान दिँदै क्यानडाका पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडोलाई क्यानडाको गभर्नर समेत भनेका थिए ।

 यति मात्र होइन, लागूपदार्थ र अवैध आप्रवासन नरोकेको भन्दै ट्रम्पले क्यानडामा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । सत्तारुढ लिबरल पार्टीले नेतृत्व संकटको सामना गरिरहेको समयमा ट्रम्पले यी आक्रमण गरेका थिए । 

मार्क कार्नीे क्यानडाको लिबरल पार्टीको नेता चुनिएका छन् । ८५ प्रतिशतभन्दा धेरे मतका साथमा उनले पार्टीको नेतृत्व जितेका हुन् । योसँगै उनी छिटै नै क्यानडाको अर्को प्रधानमन्त्री बन्नेछन् । क्यानडा कहिले पनि अमेरिकाको हिस्सा नहुने प्रधानमन्त्री चुनिने बित्तिकै कार्नीले बताएका छन् ।  

अमेरिकाले क्यानडाको संसाधन, जल, जमिन र देशमाथि नै कब्जा गर्न चाहेको अनि यसमा उनी सफल भएमा क्यानडालीहरूको जीवनशैली नै नष्ट गरिदिन्छन् भनेर पनि उनले ट्रम्पमाथि निशाना बनाए । कार्नीको जितको सबैभन्दा ठुलो कारण अर्थशास्त्रीको रूपमा उनको हैसियत हो । दुई ठुला देशका केन्द्रीय बैंकका गभर्नर समेत रहिसकेका कार्नीले ट्रम्पको आक्रामक नीतिहरूबाट क्यानडालाई मुक्त हुने आशा गरिएको छ । 

मार्क कार्नीको जन्म मार्च १६, १९६५ मा क्यानडाको उत्तर–पश्चिममा रहेको फोर्ट स्मिथमा भएको थियो । यद्यपि, उनको सुरुवाती जीवन अल्बर्टाको एडमन्टनमा बित्यो । मार्कका आमाबाबु दुवै स्कुल शिक्षक थिए । उनी सुरुदेखि नै पढाइमा धेरै राम्रो थिए । आफ्ना मातापिताले आफूमा सार्वजनिक सेवाप्रति प्रतिबद्धता जगाएको उनी भन्छन् । कार्नीले २००४ मा क्यानडाको अर्थ मन्त्रालयमा काम गरेका थिए । २००७ मा उनी क्यानडाको केन्द्रीय बैंक ‘बैंक अफ क्यानडा’को गभर्नर भए । 

  • २००८ को विश्वव्यापी आर्थिक मन्दीको समयमा क्यानडाली अर्थतन्त्रलाई सम्हाले

२००७ को अन्त्यतिर जब विश्वभर आर्थिक उथलपुथल सुरु हुँदा कार्नीले आसन्न खतराहरू महसुस गरिसकेका थिए । यस कारण उनले क्यानडाको मौद्रिक नीतिलाई कडा बनाउन थाले । 

अमेरिकामा लेहमन ब्रदर्स टाट पल्टिएपछि अमेरिका आर्थिक मन्दीमा फस्यो । बिस्तारै त्यहाँको मन्दी पोखिएर सारा विश्व अर्थतन्त्रभरि फैलियो । त्यतिबेला कार्नीले क्यानडाको केन्द्रीय बैंकको नेतृत्व सम्हालिरहेका थिए । उनको व्यवस्थापन कौशललाई क्यानडामा यति उच्च सम्मान गरिएको थियो कि उनी २०१३ मा बैंक अफ इङ्गल्यान्डको गभर्नर नबन्दासम्म उनी बैंक अफ क्यानडाको गभर्नर रहिरहे ।

  • बैंक फेरिएपछि, उही थिए चुनौती 

कार्नीको एउटा उपलब्धि भनेको बैंक अफ इङ्गल्यान्डको ३०० वर्षभन्दा बढीको इतिहासमा गभर्नर बन्ने उनी उनी पहिलो गैर–ब्रिटिस नागरिक हुन् । तर उनले यो जिम्मेवारी त्यस्तो समयमा पाएका थिए जब बेलायत युरोपेली संघ (ईयू)बाट बहिर्गमन अर्थात् ब्रेक्जिटको चर्को थियो । बेलायतमा बदलिँदो राजनीतिक समीकरणबीच कार्नीले ब्रेक्जिटको बाटो त खुला गरे नै बेलायती अर्थतन्त्रलाई मन्दीमा फन्दाबाट पनि बचाए । यसका लागि कार्नीले बैंक अफ इङ्गल्याण्डका धेरै नीतिहरू परिवर्तन गरे ।

मार्च २०२० मा, बैंक अफ इङ्गल्यान्डमा कार्नीको कार्यकाल समाप्त हुन लागेको बेला विश्वमा अर्काे संकट आइलाग्यो । यो संकट कोरोना भाइरसको महामारी थियो । महामारी फैलिन नदिन कयौं देशहरूले प्रतिबन्धहरू घोषणा गरे र आर्थिक गतिविधिहरू ठप्प पारे । पद छोड्नु अघि कार्नीले बैंक अफ इङ्गल्यान्डको प्रमुखको रूपमा आफ्नो अन्तिम निर्णय लिए र बैंकको ब्याजदर शून्य दशमलव ५ प्रतिशतले घटाए । यो सानो कदमको उद्देश्य बेलायतलाई महामारीको कारणले भएको आर्थिक कमजोरीबाट जोगाउनु थियो । 

  • राजनीतिमा नयाँ नाम होइनन् कार्नी 

कार्नीले आर्थिक क्षेत्रमा क्षेत्रमा ठुलो उपलब्धि हासिल गरेपनि राजनीतिको क्षेत्रसँग उनी अपरिचित भने छैनन् । २०१२ मा क्यानडाका प्रधानमन्त्री स्टीफन हार्परले उनलाई अर्थमन्त्री बनाउने प्रस्ताव गरेका थिए । यद्यपि, कार्नीले यसलाई अस्वीकार गरे । २०१३ मा लिबरल पार्टीको नेतृत्वको चुनाव हुँदा पनि कार्नीको नाम चर्चामा आएको भनिएको थियो । तर पछि उनले यसलाई पनि अस्वीकार गरे । 

गत वर्ष सेप्टेम्बरमा, जब क्यानडामा ट्रुडो सरकार आफ्नो आर्थिक नीतिका कारण आलोचित बन्दा प्रधानमन्त्रीले कार्नीलाई लिबरल पार्टीको आर्थिक विकास कार्यदलको प्रमुख बनाएका थिए । क्यानाडाली अर्थमन्त्री क्रिस्टिया फ्रिल्याण्डले ट्रुडोको मन्त्रिपरिषद्बाट राजीनामा दिँदा कार्नीले उक्त पद लिने अनुमान गरिएको थियो । तर यसो भएन । यतिबेला कार्नी क्यानडाका प्रधानमन्त्री नियुक्त भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?