उपाधि भारतले जिते पनि गोल्डेन ब्याट, गोल्डेन बल र सर्वोत्कृष्ट खेलाडी न्युजिल्याण्डको पोल्टामा

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणको उपाधि भारतले जितको छ । भारतीय टोलीले आइतबार राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलिएको फाइनल खेलमा न्युजिल्याण्डलाई चार विकेटले हराउँदै उपाधि चुमेको हो ।
नवौँ संस्करणको उपाधि भारतले जिते पनि प्रतियोगितामा दुई महत्त्वपूर्ण विधागत पुरस्कारमाथि भने किवी टोलीका खेलाडीले कब्जा जमाएका छन् । नवौँ संस्करणमा ‘गोल्डेन ब्याट’ र ‘गोल्डेन बल’ दुवै पुरस्कार न्युजिल्याण्डका खेलाडीको पोल्टामा परेको हो ।
प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याट्सम्यानलाई ‘गोल्डेन ब्याट’ र सर्वाधिक विकेट लिने बलरलाई ‘गोल्डेन बल’ प्रदान गरिन्छ । उपाधि विजेता भारतीय टोलीका कुनै पनि खेलाडी सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने बलरको सूचिमा अग्रस्थानमा रहन सकेनन् ।
प्रतियोगितामा न्युजिल्याण्डका युवा ब्याट्सम्यान रचिन रवीन्द्र सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा अग्रस्थानमा रहे । उनले प्रतियोगिता अवधिभरमा चार खेल खेल्दै कुल दुई सय ६३ रन बनाए । यस क्रममा उनले दुईवटा शतक प्रहार गरे ।
त्यसैले उनले ‘गोल्डेन ब्याट’ पुरस्कार हात पारे । रचिनले आफ्नो टोलीलाई उपाधि दिलाउन नसके पनि फाइनलमा ३७ रन बनाएका थिए । सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा भारतका श्रेयष ऐयर दोस्रो स्थानमा रहे । उनले पाँच खेलमा कुल दुई सय ४३ रन बनाए ।
यसैगरी, सर्वाधिक विकेट लिने बलरको सूचिमा पनि न्युजिल्याण्डकै म्याट हेनरी पहिलो स्थानमा रहे । त्यसैले उनले ‘गोल्डेन बल’ पुरस्कार पाए । म्याट हेनरीले चार खेलमा कुल १० विकेट लिए । उनले फाइनलअघि नै १० विकेट लिइसकेका थिए । फाइनलमा उनी टोलीमा थिएनन् ।
सर्वाधिक विकेट लिने बलरको सूचिमा भारतका वरुण चक्रवर्ती दोस्रो र भारतकै मोहम्मद सामी तेस्रो र न्युजिल्याण्डका मिचेल सान्टनर चौथो स्थानमा रहे । यी तीनैजना बलर केवल एक विकेटका कारण यो पुरस्कार हात पार्नबाट चुके । यी तीनै खेलाडीले फाइनलमा पनि खेलेका थिए ।
नवौँ संस्करणको सर्वोत्कृष्ट खेलाडीको पुरस्कार पनि भारतीय खेलाडीको हातमा परेन । न्युजिल्याण्डका रचिन रवीन्द्रले सर्वोत्कृष्ट खेलाडीको पुरस्कार हात पारे । उनले प्रतियोगिता अवधिभरमा चार खेल खेल्दै कुल दुई सय ६३ रन बनाए भने तीन विकेट पनि लिए । यसका अतिरिक्त उनले पाँचवटा क्याच पनि लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच जलविद्युत् जलविद्युत् आयोजनासँग ३१ बुँदे माग
-
‘समस्या वयस्कले सिर्जना गर्ने, समाधान बालबालिकाबाट खोज्ने !
-
नेपाली चेस टोली श्रीलंका प्रस्थान
-
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
-
अमेरिकी अर्थतन्त्र सङ्क्रमणकालीन अवस्थामा छ : ट्रम्प
-
जिल्ला प्रशासन कार्यालय अगाडि शिक्षकद्वारा आत्मदाहको प्रयास