सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : खानेपानी आयोजना

झण्डै तीन दशक अघिको खानेपानी आयोजना अझै पूरा भएन

बुटवलवासीले पर्याप्त पानी कहिले पाउने ?
सोमबार, २६ फागुन २०८१, ०९ : १६
सोमबार, २६ फागुन २०८१

बुटवल । २०७९ को स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएका हर्क साम्पाङले आफ्नै बलबुता र स्थानीयको सहयोगमा दुई वर्षभित्रै करिब ४० किलोमिटरको दुरीमा पाइप बिछ्याएर आफ्ना नागरिकका लागि पानीको बन्दोबस्त गरे ।

बुटवल नगरपालिकामा तीन दशकदेखि थालिएको खानेपानी आयोजना भने अहिलेसम्म निर्माणकै चरणमा छ । बुटवलवासीहरू कहिलेदेखि पर्याप्त पानी पाइएला भन्नेमा चिन्तित छन् । उनीहरूका लागि धरानमा हर्क साम्पाङले हासिल गरेको सफलता सपनाजस्तो लाग्छ ।

बुटवल उपमहानगरवासीले वर्षौंदेखि पर्याप्त पानी उपभोग गर्न पाएका छैनन् । जनसंख्या बढ्दै जाँदा पानीको माग पनि बढ्दो छ । तीन दशक अघि सुरु भएको आयोजना अझै निर्माण सम्पन्न नहुँदा बुटवलवासी निराश छन् ।

बुटवलमा दैनिक ३ करोड ५० लाख लिटर खानेपानीको माग छ । तिनाउ खोला र १९ वटा भूमिगत पानीका स्रोतबाट खानेपानी संस्थान र विभिन्न उपभोक्ता समितिमार्फत बुटवलमा दैनिक २ करोड ७५ लाख लिटर पानी वितरण भइरहेको छ । यस हिसाबमा दैनिक ७५ लाख लिटर पानी अभाव देखिएको छ । गर्मीको समयमा मुहानमा पानी कम आउने र उपभोक्ताहरूलाई धेरै चाहिने भएकाले अझ बढी अभाव हुने गर्दछ ।

बुटवलमा पानीको अभाव टार्न तीन आयोजना सुरु भए । तीमध्ये दुई विफल भएर थन्किए भने तेस्रो योजना अनुसार अहिले काम भइरहेको छ ।

6

२०५४/५५ तिर बुटवलमा सिस्ने खानेपानी आयोजना सुरु गएको थियो । उक्त आयोजना असफल भएपछि झुम्सा खोला खानेपानी आयोजना अगाडि सारियो ।

२०६५ सालमा बुटवलदेखि करिब १५ किलोमिटर टाढा तिनाउ गाउँपालिकाको झुम्साबाट पानी ल्याउन उक्त आयोजना अघि बढाइएको थियो । पाइप खरिदमा अनियमितता भएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेपछि काममा ढिलाइ भयो ।

डिजाइन र प्राविधिक पक्ष कमजोर हुँदा चार वर्षअघिको बर्खे बाढीले बाँध भत्कियो । खानेपानी संस्थानका कर्मचारीका अनुसार इन्जिनियरिङ सर्भेविनै बाढी र पहिरोको जोखिम भएको ठाउँमा निर्माण भएकाले बाढीले बाँध भत्काइदिएको थियो ।

फेरि डिजाइन गरेर तिनाउ गाउँपालिका–३ पर्ने झुम्सा खोलाको गोलबन्दी घाटमा तत्कालीन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०७७ मंसिरमा ड्याम/इन्टेक कार्यको शिलान्यास गरेको बुटवल झुम्सा खानेपानी परियोजना इन्जिनियर मन्दीप श्रेष्ठले रातोपाटीलाई बताए ।

पहिलो चरणमा ड्रमको काम रामेछाप शेर्पा कन्ट्रक्सनले १४ करोडको लागतमा सम्पन्न गरेको श्रेष्ठको भनाइ छ । अहिले पानी उत्पादन गर्न प्रसारण पाइपलाइन तथा क्रसिङ ट्रस ब्रिज निर्माण कन्काई एण्ड कालिका जेभी, कोटेश्वर काठमाडौँले १४ करोडको लागतमा गरिरहेको छ । पहिलो चरणको काम सकिएर दोस्रो चरणको काम जारी छ ।

तिनाउको पानी बुटवल ल्याउने चर्चा तीन दशकदेखि सुरु भएको हो । विभिन्न कारणले उक्त योजना अहिलेसम्म सम्पन्न हुन नसकेको हो ।

तिनाउको पानी बुटवलमा ल्याउनका लागि यसअघि बनेका दुई योजना विफल भइसकेका छन् । अहिले तेस्रो योजना अनुसार काम भइरहेको छ ।

niita

पाल्पा जिल्लाको तिनाउ गाउँपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने झुम्सा खोलाबाट बुटवलमा पानी ल्याउन कुल ६ अर्ब लागत अनुमान गरिएको छ । डीपीआर तयार पारेर मुहान संरक्षण, समुदायको अपनत्व, पर्यावरण सन्तुलनसहित खानेपानी समस्याको दीर्घकालीन समाधान गर्ने गरी अघि सारिएको यो प्रोजेक्टको लागत अनुमान झन्डै ६ अर्ब रहेको इन्जिनियर मन्दीप श्रेष्ठले बताए । त्यसमध्ये अहिलेसम्म जम्मा १४ करोड लागतको पहिलो चरणको काम सम्पन्न भएर १४ करोड लागतकै दोस्रो चरणको काम सुरु भएको छ ।

यो योजना अनुसार दैनिक ३२ मेगालिटर (३ करोड २० लाख लिटर) पानी उत्पादन तथा प्रशोधन गरी वितरण गर्ने गरी ड्याम इन्टेक निर्माण सम्पन्न भएको छ । पाइपलाइन विस्तारको काम पनि अधिकांश पूरा भइसकेको श्रेष्ठले रातेपाटीलाई बताए ।

श्रेष्ठका अनुसार झुम्सा खोलादेखि बुटवलको राम फेदीसम्म १३.५ किलोमिटर लामो पाइप लाइनमध्ये १२ किलोमिटर पाइप लाइन विस्तार पूरा भइसकेको छ । उनले १० इन्च र २० इन्चको डीआई पाइप विस्तार गर्न बाँकी रहेको खुलाए । यस्तै एउटा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

उक्त परियोजना अन्तर्गत ११ जना कर्मचारी कार्यरत छन् भने आगामी असारसम्ममा पानी ल्याउने योजना छ । उक्त पानी बुटवल ल्याएपछि सबै वडामा वितरणका लागि पाइप, ट्याङ्की निर्माण गरिने श्रेष्ठको भनाइ छ । यो पानीले कम्तीमा आगामी १५ वर्षसम्मको जनसङ्ख्यालाई धान्न सक्ने उनले बताए ।

तिनाउबाट ल्याएको पानी बुटवलको राम फेदीमा रहेको ट्याङ्कीमा झारेपछि बुटवलका विभिन्न पाँच कोर एरियामा ट्याङ्की निर्माण गरेर पहिलो चरणमा वितरण गरिनेछ । दोस्रो चरणमा थप पाँच ट्याङ्की निर्माण गरी पानी वितरण गर्ने योजना छ ।

सुरुमा हिलपार्क, बुटवल वडा नम्बर ३, १०, १२ र सैनिक क्याम्प क्षेत्रमा ट्याङ्की निर्माण गरिने आयोजनाले जनाएको छ ।

  • मुहानका स्थानीय के भन्छन् ?

बुटवलमा ल्याउने पानीको मुख्य स्रोत तिनाउ खोला हो । यस्तै बुटवल खानेपानी आयोजनाको नाममा निर्माणाधीन आयोजना तिनाउ गाउँपालिका– ३ र ४ बिच रहेको झुम्सामा मिसिने गोठादी खोला हो ।

uuuuuuuuuu

त्यसबाट पानी ल्याउनको लागि पाइन बिछ्याउने कार्य जारी छ । बुटवल उपमहानगरपालिकाले तिनाउ गाउँपालिकालाई लामो समयदेखि मुहान संरक्षण र चालु आर्थिक वर्षदेखि प्रभावित क्षेत्रका लागि भनेर छुट्टै रकम विनियोजन गरेको बुटवल नगरपालिका मेयर खेलराज पाण्डेयले बताए ।

मुहानका स्थानीयहरूले बेलाबेला विभिन्न माग राख्ने गरे पनि पछिल्ला वर्ष कुनै विवाद भएको छैन । मुहानहरू संरक्षण गरे बापत बुटवल नगरपालिकाले जलाधर संरक्षण गर्न प्रत्येक वर्ष केही रकम छुट्ट्याउने गरेको छ ।

बुटवल नगरपालिकाले तिनाउ गाउँपालिकालाई प्रदान गर्ने उक्त रकम गाउँपालिकाले तिनाउ सामुदायिक वन समन्वय समितिलाई प्रदान गर्ने गरेको छ । वन समन्वय समितिले मुहान संरक्षणको लागि विभिन्न कार्यक्रम गर्ने गरेको समितिका अध्यक्ष दल बहादुर गुरुङले रातोपाटीलाई बताए । अहिले वार्षिक १५ लाख रुपैयाँ उपमहानगरपालिकाले तिनाउ गाउँपालिकालाई दिने गरेको छ ।

खासगरी जलाधर संरक्षणका लागि वन समन्वय समितिले डँडेलो नियन्त्रण तथा मुहान संरक्षण तथा सफा राख्ने काम गर्दै आएको छ । बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षदेखि आन्तरिक खर्च शीर्षकमा पनि रकम दिने भएको छ ।

तिनाउ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले जलाधार संरक्षणका लागि लामो समयदेखि बुटवलले रकम दिने गरे पनि यो आर्थिक वर्षबाट नयाँ खानेपानीको आयोजनाबाट प्रभावितलाई केन्द्रमा राखेर वार्षिक २ करोड दिने बताए ।

बुटवल र तिनाउ गाउँपालिका विच २ करोड दरले ३ आर्थिक सम्म गरी ६ करोड रुपैयाँ दिने सम्झौता भएको हो । उक्त रकम मुहान भएका वडा ३ र ४ को तथा जल संरक्षण र पानी लैजाँदा प्रभावित वनेका स्थानीयहरूको लागि खर्च गर्ने बस्नेतले बताए । उनले वडाको मागको आधारमा उक्त रकमको योजना  बनाएको रातोपाटीलाई जानकारी दिए ।

तिनाउ गाउँपालिका–३ का वडा अध्यक्ष चित्रबहादुर थापाले तिनाउको पानी बुटवल लैजाने सन्दर्भमा आफूहरूको आपत्ति नरहेको बताए । यद्यपि स्थानीय बारी तथा खेतबाट पाइप लैजाँदा भत्किने, जग्गा मासिने हुँदा सामान्य पर्खाल लगाइदिनुपर्ने, मुहान संरक्षण गर्ने तर स्थानीयको धारामा पिउने पानी नहुनेजस्ता गुनासा आएपछि पछिल्लो समय सबै पक्षसँगको छलफलमा समस्या समाधान भएको उनले बताए । उनले त्यसको लागि ‘एक घर एक धारा’ नीति ल्याएको खुलाए ।

  • ५० को दशकमै गरिएको थियो पहल

बुटवलमा पानीको अभाव भएपछि बुटवलका तत्कालीन मेयर भोजप्रसाद श्रेष्ठले २०५४ सालदेखि ५९ सालसम्म तिनाउको सिस्ने खोलबाट बुटवलमा पानी ल्याउने योजना बनाए ।

तिनाउ खोलामा पर्ने झुम्सा आयोजनाको पानी अन्यत्र विद्युत्को लागि प्रयोग भएपछि अर्को मुहान खोजी गरियो । त्यसपछि २०६५ सालमा तिनाउ गाउँपालिका– ३ बाट पानी ल्याउने गरी तत्कालीन मन्त्री विजय गच्छदारले उद्घाटन गरेका थिए । यद्यपि, पुल र इन ट्याङ्की नै भत्किएर काममा अवरोध भयो भने पाइप खरिदमा अनियमितता भएको भन्दै अख्यिार दुरुपयोग अनुसन्धान आयोगदेखि विभिन्न निकायमा उजुरी पर्‍यो ।

विवाद र प्राविधिक असफलताका कारण उक्त आयोजना रोकियो । सोही ठाउँ नजिकै गोलबन्दी घाटबाट बुटवल खानेपानी आयोजनाको नाम दिएर फेरि अर्को प्रक्रिया अगाडि बढाइएको हो ।

२०७७ सालमा तत्कालीन उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णु पौडेलले शिलान्यास गरेपछि तेस्रो आयोजनाको प्रक्रिया अगाडि बढेको हो । हाल सोही आयोजनाको काम चलिरहेको छ ।

यो आयोजनाको नाममा नेताहरूले बुटवलवासीलाई लामो समयदेखि आश्वासन दिँदै आए पनि काम भने त्यस अनुसार अघि बढ्न सकेको छैन । संघीय खानेपानी मन्त्रालयमा जो मन्त्री बने पनि एक पटक झुम्सा खानेपानी आयोजनाको निरीक्षण गर्न आउने परम्पराजस्तै बनिसकेको छ । यस अतिरिक्त प्रदेशका मुख्यमन्त्री र मन्त्रीसमेत निरीक्षणका लागि आउने गरेका छन् ।

BKC-Lumbini-Finance_Minester_Poudel_Khanepani_Silanayas_d_1aVYhC9rbb (4)

रुपन्देहीका सांसद एवं मन्त्री विष्णु प्रसाद पौडेल, पूर्वखानेपानी मन्त्री राजेन्द्र राई, पूर्वमन्त्री सोमप्रसाद पाण्डेय, नेपाली कांग्रेस रुपन्देहीका पूर्वसभापति एवं पूर्वखानेपानी राज्यमन्त्री अब्दुल रज्जाक, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरी लगायतका नेताहरू मुहान अवलोकन गर्ने पटकपटक तिनाउ पुगेका छन् ।

यद्यपि, निर्माण कार्यको अनुगमन र विभिन्न समस्या समाधानमा कसैले पनि समयमै चासो नदेखाउँदा यो आयोजनाको काम अपेक्षा अनुसारको गतिमा अघि बढ्न नसकेको खानेपानी उपभोक्ता हित संरक्षण मञ्च, बुटवलका जिल्ला अध्यक्ष गुप्तबहादुर केसीको बुझाइ छ ।

उनले तिनाउबाट बुटवलमा पानी ल्याउने योजना बनाएको तीन दशक हुँदासमेत अहिलेसम्म सार्थक हुन नसक्नुमा कतै न कतै राजनीतिक नेतृत्वकै कमजोरी रहेको बताए ।

‘राजनीतिक दलहरूले जस लिने प्रवृत्ति हावी हुँदा यो आयोजना सम्पन्न गर्न ढिलाइ हुँदै आएको हो । नेताहरू परियोजना सफल बनाउने भन्दा आफू या आफ्नो पार्टीले जस लिने गरी काम गर्दछन्,’ उनले भने ।

लुम्बिनी प्रदेश योजना आयोग पूर्वसदस्य डा दामोदर भुसालले  तिनाउबाट बुटवलमा पानी ल्याउने योजनामा परिमाण देखिने गरी काम गर्नेभन्दा पनि नेताहरू हल्ला र चर्चामै मात्र रमाउने गरेको आरोप लगाए ।

धरान उपमहानगरपालिकामा मेयरकै इच्छाशक्तिका कारण ४२ किलोमिटर लामो पाइप बिछ्याएर दुई वर्षमै खानेपानी आयोजना सम्पन्न भएको उदाहरण दिँदै उनले भने, ‘तर यहाँ १३ किलोमिटर दुरीको पानी ल्याउन पनि यतिका वर्षदेखि सकस भइरहेको छ ।’

उनले योजनाहरू तोकिएको समय सम्पन्न नहुने, चलेका योजनाहरू रोकेर अर्को थाल्नेजस्ता प्रवृत्तिले बुटवलको खानेपानी समस्या समाधान गर्न ढिलाइ भएको बताए ।

  • ढिलाइ हुनुका कारण के–के हुन् ?

बुटवल खानेपानी संस्थानका प्रमुख मोहन भट्टले बुटवलमा पिउने पानीको मुख्य स्रोत तिनाउ खोला नै भएको बताए । उनले सोही अनुसार धेरै पहिलेदेखि विभिन्न परियोजनाको नाममा पानी ल्याउने प्रयास भएको खुलाए ।

5

भट्टले सुरुमा सिस्ने खानेपानी आयोजनाको चर्चा लामो समय चलेको तर उक्त मुहानको पानी अन्यत्र प्रयोग भएपछि परियोजना सञ्चालन हुन नसकेको बताए ।

त्यसपछि दोस्रो पटक झुम्सा खानेपानी आयोजनाको केही प्राविधिक समस्या र बिचमा अख्तियारले समेत छानबिन थालेपछि ढिलाइ भएको भट्टको भनाइ छ । अहिले तेस्रो पटक बनेको योजना कार्यान्वयनमा आइरहेको उनले प्रस्ट पारे । यो आयोजना सुरु भए लगत्तै फैलिएको कोभिड महामारी र स्थानीयको अवरोधले गर्दा सोचेको गतिमा काम हुन नसकेको उनको भनाइ छ ।

भट्टले अहिले सबै अवरोध समाधान भएर निर्माणले तीव्रता पाएको दाबी गरे । पाइप राख्ने क्रम अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले अब चाँडै नै बुटवलवासीले पर्याप्त पानी पाउने बताए ।

  • एसियाली विकास बैंकको परियोजना फिर्ता

बुटवलमा खानेपानी संस्थान, उपभोक्ता समितिसँगै केही वर्ष अगाडि एसियाली विकास बैंकको सहयोगमा बुटवलको खानेपानी समस्या समाधान गर्ने प्रयास भएको थियो । बुटवलमा २०६८ सालमा एसियाली विकास बैंक (एडीबी)को ऋण अनुदानमा तीन वटा परियोजना सञ्चालन गर्ने सहमति भएको थियो ।

मझौला तथा एकीकृत सहरी वातावरणीय आयोजना अन्तर्गत यहाँ खानेपानी आयोजना, मैना बगर अटो भिलेज र डम्पिङ्ग साइट निर्माण गर्ने भनिए पनि ती सबै परियोजनाबाट एडीबी आठौँ पटक म्याद थपेर कुनै पनि काम नगरी बाहिरिएको हो ।

d1de1edb-cd55-48e2-89c5-b91dcd9c0f1d

बुटवल उपमहानगरपालिका साविक वडा नम्बर ९ र १० (हाल ७ र ८) का झन्डै पाँच हजार उपभोक्तालाई लक्षित गरी एडीबीसँग सन् २०१० अक्टोबर २६ मा २२ करोड ३७ लाख ७० हजार रुपैयाँ लागतमा खानेपानी आयोजनाको ऋण सम्झौता गरिएको थियो ।

पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सम्झौता गरिएको उक्त आयोजनाका लागि पटक पटकसम्म म्याद थप गरियो । तर, २०१८ डिसेम्बरमा सम्झौता अवधि नथप्ने गरी एडीबी हात झिकेर फिर्ता भएको भएको हो ।

कुल लागतको ५० प्रतिशत सरकारको अनुदान, ३५ प्रतिशत नगर विकास कोषको सहयोग र १५ प्रतिशत उपभोक्ताले उठाएर सञ्चालन गर्ने भनिएको आयोजनालाई केही उपभोक्ताले महँगो भयो भन्दै विरोध गरे ।

सबैभन्दा बढी खानेपानी समस्या देखिएको दीपनगर र सुक्खा नगरका बासिन्दाकै बिच खानेपानी संस्थापनले पाल्पाको झुम्साबाट बुटवलमा पानी ल्याउने परियोजना निरन्तरता दिनुपर्ने माग पनि एक पक्षबाट उठ्यो ।

खानेपानी उपभोक्ता हित संरक्षण मञ्च, बुटवलका अध्यक्ष गुप्त बहादुर केसीले झुम्साको पानी मिठो र दीर्घकालीन हुने भएकाले डिप बोरिङबाट पानी निकाल्न एडीबीको ऋण लिन नहुने पक्षमा त्यतिबेला उपभोक्ताहरू उभिएको बताए । उनले त्यो बेला प्रतिघरधुरी १२ हजार उठाउनुपर्ने, पछि धारामा पानी आएपछि प्रतियुनिट ८५ रुपैयाँसम्म पर्ने देखिएको र उक्त मूल्य उपभोक्तामैत्री नभएकाले विरोध भएको प्रस्ट पारे ।

केसीका अनुसार उक्त परियोजना अन्तर्गत हिलपार्क, राम नगर  लगायतका क्षेत्रमा डिप बोरिङ गाड्ने प्रयास गरे पनि आवश्यक मात्रामा पानी नआएपछि प्राविधिक रूपमा समस्यामा परेको थियो । विनाअनुसान्धन हतारमा जहाँ पायो त्यहीँ खन्ने गर्दा उपभोक्ताहरूको पैसा खर्च भएको स्थानीयको आरोप छ ।

बुटवल अटो भिलेज र डम्पिङ्ग साइटमा पनि स्थानीयसँग  विवाद भएकाले एसियाली विकास बैंकसँग सम्झौता रद्द गरिएको थियो । अटो भिलेजमा जग्गा विवाद र डम्पिङ्ग साइट देवदह चरङ्गेमा स्थानीयले निर्माणमा अवरोध गर्ने चेतावनी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप

छुटाउनुभयो कि ?