‘झुम्सा खानेपानी आयोजना चाँडो सम्पन्न गर्नुको विकल्प छैन’

बुटवल । बुटवलमा गर्मी मौसममा पानी अभाव र बर्खामा धमिलो पानीको समस्या लामो समयदेखि देखा पर्दै आएको छ । बुटवल उपमहानगरपालिकाका १९ वटा वडामध्ये बुटवल खानेपानी संस्थानले १२ वटा वडामा खानेपानी वितरण गर्दै आएको छ ।
बुटवलमा खानेपानीको अभाव टार्न दुई दशक अगाडिदेखि पाल्पाको तिनाउबाट खानेपानी ल्याउने आयोजना सञ्चालन गरिए पनि पूरा भएको छैन । खानेपानीको आपूर्ति बुटवलमा कसरी भइरहेको छ र तिनाउबाट खानेपानी आयोजना ल्याउन किन ढिलाइ भयो भन्ने विषयमा केन्द्रित रहेर खानेपानी संस्थान बुटवलका प्रमुख मोहन भट्टसँग रातोपाटीका लागि तेजेन्द्र केसीले कुराकानी गरेका छन् ।
प्रस्तुत छ, खानेपानी संस्थानका प्रमुख भट्टसँग गरिएको कुराकानीको सम्पादित अंश :
- खानेपानी संस्थान बुटवलले अहिले पानीको वितरण कसरी गरिरहेको छ ?
बुटवल खानेपानी संस्थानले बुटवल उपमहानगरपालिकाको वडा नम्बर १ देखि ११ सम्म र वडा नम्बर १३ पनि पानी वितरण गरेको छ । हामीले बुटवलका अन्य वडामा खानेपानी वितरण गरेको अवस्था छैन । अन्य वडामा विभिन्न खानेपानी उपभोक्ता समितिले आ–आफ्नो ढङ्गबाट पानी वितरण गरेका छन् ।
हामीले तिनाउ खोलाको पानी र डिप बोरिङबाट निकालेको पानी उपभोक्ताहरूलाई वितरण गरेका छौँ । जनगणनामा देखिएकोभन्दा धेरै मानिस बुटवलमा बस्छन् । अध्ययन तथा कामका लागि बस्ने जनसंख्या ठुलो छ । जसका आधारमा करिब २ लाख मानिसलाई दैनिक हामीले पानी वितरण गर्नुपर्छ ।
बुटवलमा हामीले दैनिक २ करोड ७० लाख लिटर जति पानी वितरण गरेका छौँ । त्यसमा तिनाउ खोलाको पानी पम्पले तानेर बुटवलको रामफेदीमा पुर्याउने र त्यसबाट वितरण गर्ने गरिएको छ । अन्य विभिन्न ठाउँमा डिप बोरिङ राखिएको छ । बुटवलमा दैनिक ८० हजार लिटर पानी कम भएको मान्न सकिन्छ ।
हामीले पानी वितरण सहज बनाउन तिनाउ खोलाको पानीले नपुग्ने भएपछि एक दर्जनभन्दा धेरै डिप बोरिङ गाडेका छौँ । अझै केही थप्दै लैजाने योजना छ । धारा जडानसहित पानी वितरणको काम बुटवल खानेपानी संस्थानले गरिरहेको छ ।
- तपाईंले दिएको तथ्याङ्क अनुसार दैनिक कम्तीमा ८० हजार लिटर पानीको अभाव भएको देखिन्छ । खासगरी कुन–कुन ठाउँका नागरिकले धेरै पानीको समस्या व्यहोर्नु परेको छ ?
बुटवलका केही वडा खासगरी वडा नम्बर ७ र ८ मा अन्य वडाको तुलनामा पिउने पानीको समस्या छ । हामीले वितरण गर्ने अन्य वडामा पिउने पानीको समस्या छैन । हामीले दीपनगर, सुक्खानगर क्षेत्रमा पनि पानी वितरणका लागि पछिल्लो समय छुट्टै व्यवस्था गरेका छौँ ।
अलि उकालो घरको धारामा पानी चढ्दैन भन्ने समस्या छ । बुटवलमा पानीको मिटर जडान नगरी पानीको चुहावट गर्ने उपभोक्ता पनि भेटिएको छ । त्यसकारण पनि पानीको अभाव भएको हो ।
केही ठाउँमा सडक निर्माणका क्रममा पाइपहरू विस्तार गर्न नमिल्ने र भएका पाइप पनि खन्ने हुँदा केही समस्या देखिँदै आएको हो । खानेपानी संस्थानले ती ठाउँमा पानी पुर्याउन विभिन्न उपाय अवलम्बन गर्दै आएकाले विगतको तुलनामा अहिले समस्या कम छ । उपभोक्तालाई अझै सन्तुष्ट गराउने गरी काम गरिरहेका छौँ । अझै केही डिप बोरिङ गाड्ने योजनामा छौँ ।
- गर्मीको समयमा दीपनगर, सुक्खानगर लगायतका क्षेत्रमा पानीको अभाव भएको विषय उठ्छ । कहिलेसम्म यस्तो अवस्था रहन्छ ?
गर्मी बेलामा खासगरी हामीले स्थापना गरेको डीप बोरिङमा पनि पानी तुलनात्मक रूपमा कम हुन्छ । अर्कोतिर गर्मीमा बुटवलका उपभोक्ताहरूले धेरै पानी प्रयोग गर्ने गर्दछन् । एक त अहिले नै माग अनुसार पानी छैन, त्यो बेला झन् धेरै माग र उत्पादन कम हुँदा समस्या हुन्छ । तर दीपनगर तथा सुक्खानगर क्षेत्रका लागि ट्युब गाडेर पानी वितरण गर्ने व्यवस्था मिलाएकाले विगतभन्दा कम समस्या छ ।
अर्कोतिर, गर्मीको बेला विद्युत् आपूर्ति कम हुँदा पानी वितरणमा पनि सिधै असर गर्दछ । हामीले ल्याउने पानी तिनाउ खोलाबाट २४ घण्टा मोटर चलाएर रामफेदी तान्ने हो । १० मिनेट विद्युत् जाँदा हाम्रो पानी वितरणमा एक घण्टा नोक्सान गर्दछ ।
हामीले धेरै दिन पानी नआउने ठाउँमा ट्याङ्करबाट समेत पानी पुर्याएर उपभोक्तालाई वितरण गरेको अवस्था छ । अर्कोतिर सन्तुलन मिलाएर सबै उपभोक्तालाई गर्मीको बेला पानी पुर्याउने प्रयास गरेका छौँ ।
- बुटवल खासगरी बर्खाको बेला धमिलो पानी समस्या छन् । त्यो रोक्न यहाँहरूको योजना के छ ?
मैले अघि पनि भनिसकेँ, तिनाउको पानी पम्प गरेर तान्ने हो । वर्षाको बेलामा धमिलो पानी तानिन्छ । त्यसलाई हामीले केही प्रशोधन गरेर पठाउने गरेका छौँ । अहिले पनि प्रशोधन हुन्छ नै, तर बर्खाको बेलामा प्रशोधन गर्दा पनि धमिलै हुन्छ । कहिलेकाहीँ प्राविधिक रूपमा पनि त्यस्तो पानी परेको हुन सक्छ ।
पानी नै नपठाउने भन्दा केही सफा गरेर भए पनि पठाउनु उपयुक्त होला । यद्यपि, विद्युत् नहुँदा केही समस्या हुन्छ । हामीले मोटर चलाउने ठाउँमा चौबिसै घण्टा विद्युत् चाहिन्छ । त्यसका लागि विद्युत् व्यवस्था गर्न प्राधिकरणसँग माग पनि गरिएको छ ।
- बुटवलमा तिनाउबाट खानेपानी ल्याउने योजना थालिएको झण्डै तीन दशक भयो । यो बिचमा तीन वटा आयोजना बन्यो तर अझैसम्म बुटवलमा पानी आएको छैन, किन होला ?
तिनाउबाट बुटवलमा पानी ल्याउनका लागि विभिन्न तीन आयोजनाले चर्चा पाएको देखिन्छ । ती आयोजना सम्पन्न नहुनुमा अनेक कारण छन् । सुरुमा बुटवल सिस्ने खोलाको आयोजना अघि बढाइयो । त्यो आयोजनाको चर्चा धेरै वर्ष भए पनि खास काम भएन ।
पछि सिस्नेको मुहानबाट हाइड्रोतिर पानी लगेपछि बुटवलमा माग अनुसार पानी अपुग हुने ठहर गर्दै रोकियो । त्यसपछि सायद २०६५/०६६ सालतिर झुम्सा बुटवल खानेपानी भनेर तिनाउ गाउँपालिका–३ मा आयोजना सुरुवात गरिएको थियो । उक्त आयोजना निर्माण गरेको ठाउँमा ठुलो बाढी पसेर ट्याङ्की भत्कायो । अनि पाइप खरिद पनि विवादमा आयो ।
पछि त्यो आयोजनाभन्दा केही सय मिटर पर अर्को काम सुरु भएको छ । खासगरी २०७७ सालमा सुरुवात यो पछिल्लो आयोजनाको काम निरन्तर अगाडि बढेको छ । त्यो आयोजनाको छुट्टै कार्यालय छ । करिब ६ अर्ब लगानीको त्यो आयोजनामा धेरै काम बाँकी छन् । अहिले तिनाउमा पाइप राख्ने काम अन्तिम चरणमा छ ।
ड्याम निर्माण सम्पन्न भइसकेका छन् । आगामी साउनसम्म बुटवलको राम फेदीमा रहेको ट्याङ्कीमा पानी खसाल्ने हो । त्यसपछि अन्यत्र ट्याङ्की निर्माण गर्ने तथा बुटवलका १९ वटै वडामा पानी पुर्याउन पाइप राख्ने योजना छ । अर्को ट्याङ्की निर्माणका लागि जग्गाको खोजी भइरहेको छ ।
अर्कोतिर तिनाउ आयोजना सम्पन्न नहुने मुख्य कारण भनेको तिनाउ चुरे क्षेत्रमा पर्दछ । त्यहाँको माटो कमजोर छ । त्यहाँ खानेपानी आयोजनाका लागि मुहानमा ट्याङ्की निर्माण गर्न सकस छ । किनभने ६ महिना त्यहाँ पुग्न सकिँदैन । ६ महिनामात्रै काम गर्ने हो । निर्माणस्थल पुग्ने बाटोमा कमसल माटो भएकाले त्यहाँ गाडी पुग्दैन अनि निर्माण सामग्री लैजान सकिँदैन ।
- तिनाउको झुम्सा आयोजना सम्पन्न गर्न ढिला हुनुको एउटा कारण राजनीतीकरण पनि हो भन्ने उपभोक्ताको बुझाइ छ, खास के हो ?
तिनाउको पानी बुटवलमा ल्याउने विषयमा कुनै दुईमत छैन । स्थानीयको आ–आफ्नो रुचि होला तर राजनीतीकरणले भन्दा भौगोलिक कारणले काममा ढिलाइ भएको हो । बजेट अभाव पनि एउटा कारण हो जस्तो लाग्छ । मलाई राजनीतिक कारणले ढिलाइ भएको होला जस्तो लाग्दैन ।
- बुटवलका उपभोक्ताहरूले पिउने गरी झुम्साको पानी कहिले आउँछ ?
आयोजना काम भइरहेको छ । हाल सिद्धार्थ राजमार्ग निर्माणको क्रम चलिरहेकाले पाइप राख्न समस्या भएको हो । पाइप बिछ्याएपछि सुरुमा त्यो पानी राम फेदी खसालिन्छ । सायद साउनसम्म कुनै भवितव्य नभए त्यो सम्भव छ ।
त्यसपछि अर्को प्रशोधन ट्याङ्की निर्माण तथा दुई चरण गरेर स्थानीय ट्याङ्की निर्माण गर्ने योजना छ । त्यो काम क्रमिक रूपमा हुँदै जाने हो तर सुरुमा झुम्साको पानी रामफेदीसम्म आएपछि उपभोक्ताहरूलाई धेरै राहत पुग्छ । त्यो अन्तिम चरणमा पुगेको छ ।
- यो आयोजना विगतको जस्तो अलपत्र त हुँदैन ?
म बुटवल खानेपानी संस्थानको प्रमुख हो । त्यो आयोजना हेर्न हालै अर्को सर आउनुभएको छ, तर मलाई जानकारी भएसम्म अहिले सडक विस्तारका क्रममा केही ढिलाइ भए पनि अन्य समस्या छैन । ठेकदारले पनि काम गरिरहेका छन् । अब कुनै भवितव्य भएन भने यो आर्थिक वर्षभित्र राम फेदीको ट्याङ्कीमा पानी झर्छ ।
अब आयोजना ढिलाइ गर्नु हुँदैन । जति ढिलाइ हुन्छ, त्यति नै उपभोक्तालाई सास्ती हुन्छ र हाम्रो पनि आलोचना बढ्छ । विगतका आयोजनाको तुलनामा अहिले निकै राम्रो प्रगति भएको छ । त्यसकारणले यो आयोजना जसरी पनि पूरा गर्नुपर्छ । यो आयोजना सकेसम्म चाँडो सम्पन्न गर्नुको विकल्प छैन ।