पानीको मुद्दालाई राजनीतिकरण गरियो

बुटवलमा खानेपानीको समस्या लामो समयदेखि देखा पर्दै आएको छ । खानेपानी समस्या बढ्दै गएका कारण नै हामीले २०७० सालमा खानेपानी उपभोक्ता हित संरक्षण मञ्च स्थापना गरेर लगातार आवाज उठाउँदै आएका छौँ ।
खासगरी बुटवल उपमहानगरपालिका वडा नम्बर ७ र ८ का बासिन्दालाई पिउने पानीको धेरै दुःख छ । सुक्खा समयमा पानीको अभाव झन् बढ्छ ।
बुटवलका दीपनगर, सुक्खानगरका बासिन्दाले वर्षौंदेखि सफा, शुद्ध तथा पर्याप्त मात्रामा पिउने पानीको अभाव झेल्दै आएका छन् । बुटवलका अन्य क्षेत्रमा पनि समस्या नभएको होइन । यद्यपि, तुलनात्मक रूपमा दीपनगर र सुक्खानगरमा समस्या बढी छ ।
खानेपानी संस्थानले बुटवलमा आवश्यकता अनुसार पानीको माग पूरा गर्न सकेको छैन । २०७९ सालमा एसियाली विकास बैंक (एडीबी) मार्फत बुटवल नगरपालिकाले खानेपानी ल्याउने योजना अगाडि ल्यायो । त्यो बेला बुटवलमा डिप बोरिङ गाडेर नगरपालिकाले एडीबीको सहयोगमा पानी ल्याउने योजना बनाएको थियो ।
त्यस क्रममा बुटवलको हिलपार्क, सिद्देश्वरी, रामनगर जस्ता ठाउँमा विनाअध्ययन डिप बोरिङ गाड्ने काम भयो तर पानी आएन । अर्कोतिर वर्षौैँदेखि पाल्पा, झुम्साको पानी बुटवलमा ल्याउने योजना अलपत्रजस्तै थियो । त्यो योजना अझै पनि पूरा भएको छैन ।
झुम्साबाट मुहानको चिसो र शुद्ध पानी ल्याउने योजना अलपत्र पारेर यहाँ डिप बोरिङबाट पानी निकाल्न एडीबीको ऋण लिन लागेको भन्दै उपभोक्ताहरूमा असन्तुष्टि बढ्यो । प्रतिघर १२ हजार रुपैयाँ उठाउने र पछि पाइप बिछ्याएर पानी पिउँदा प्रतियुनिट ८५ रुपैयाँ पर्ने देखिएपछि हामीले विरोध गरेका थियौँ । यो विषय अदालतसम्म पुग्यो ।
तत्कालीन समयमा उच्च अदालत, बुटवलको तुलसीपुर इजलासमा जाँदा उपभोक्ता समिति नभएको भन्दै मुद्दा खारेज गरिदियो । त्यसपछि २०७० सालमा समिति दर्ता गरेर सर्वोच्चमा जाँदा मुद्दा जितियो अनि त्यो परियोजना पनि फिर्ता भयो ।
हामीले झुम्साबाट पानी ल्याउँदा धेरै राम्रो हुने मानेका छौँ । खासगरी झुम्सामा मूलको पानी छ । त्यो पानी बुटवल ल्याउने आयोजनालाई समयमै सम्पन्न गर्नुपर्ने बेला ऋण लिएर अर्को आयोजना थप्न मिल्दैन भन्ने हाम्रो माग थियो ।
बुटवलमा झुम्साको पानी ल्याउनुपर्छ भनेर म लगायत सरोकारवालासँग ३२ पटकसम्म बैठक राखियो । त्यो पानी जतिसक्दो छिटो ल्याउनु पर्छ ।
खानेपानी वितरण गर्दा पानी शुद्ध बनाएर घर–घरमा जोडिएको धारामा पठाउनुपर्ने हुन्छ । बर्खामा धमिलो पानी आउँदा पिउन र कपडा धुन मिल्दैन । मेरो घरको खानेपानी ट्याङ्की एक वर्षमा सफा गर्दा एक फिट जति माटो जमेको थियो । त्यसबाटै धारामा कति धमिलो पानी आउँछ भन्ने बुझिन्छ । त्यस्तो धमिलो पानी पनि उपभोक्ताले खानेपानी संस्थानलाई पैसा तिरेर किन्नुपर्ने अवस्था छ ।
खानेपानी शुद्ध नभएकै कारण उपभोक्ताले जार या मिनरल वाटर प्रयोग गर्न बाध्य छन् । अर्कोतिर बुटवलका धेरै घरमा पानी तान्न मोटरको प्रयोग गरिन्छ । पानीको आपूर्ति कम हुने सुक्खा समयमा केही ठाउँका घरमा मोटरबाट पानी चढ्दैन । दिपनगर तथा सुक्खानगरवासीहरूले तीनकुने तथा अन्यत्र गएर पानी ल्याउनुपर्ने अवस्था छ । त्यो अवस्था अन्त्य गर्न खानेपानी संस्थानलाई दबाब दिएर ट्याङ्करबाट वितरण गर्न बेलाबेला दबाब दिएका छौँ ।
बुटवलमा खानेपानीका पुराना पाइप धेरै छन् । ठाउँठाउँमा पाइप फुट्ने गर्दा पानी नोक्सान भइरहेको छ । त्यसमा पनि हामीले दबाब दिएर पाइप फेर्न लगाएका छौँ । विगतको तुलनामा पानीको समस्या केही सहज भएको छ । यद्यपि अझै धेरै काम गर्न बाँकी छ ।
जहाँसम्म झुम्साको पानी बुटवल ल्याउने कुरा छ, यसमा नेताहरूको स्वार्थका कारण ढिलाइ भइरहेको छ । बजेट अभाव, प्राविधिक समस्या र स्थानीयको अवरोधजस्ता समस्याले ढिलो भएको होइन ।
हामीले पटकपटक स्थानीयसँग छलफल गर्दा त्यस्तो ठुलो समस्या देखिएन । हामी उपभोक्ताहरू पिउने पानी माग गर्छौं तर त्यसलाई राजनीतीकरण गरिन्छ । नेताहरू आफ्नो अनुकूल छ कि छैन भनेर योजना बनाउने, फेर्ने र शिलान्याशमा रमाउने गर्दछन् ।
हामी उपभोक्ताहरूलाई जो दल, जुन नेताले जस पाए पनि बुटवलवासीलाई पर्याप्त पानी आइदिए हुन्थ्यो भन्ने छ । बुटवलको जनसङ्ख्या बर्सेनि वृद्धि भइरहेको छ । त्यस आधारमा पानीको माग पनि प्रत्येक वर्ष बढ्दै जान्छ । सोही अनुसार पानी वितरणको व्यवस्था मिलाउनु पर्छ ।
पानी कसले ल्याउँछ भन्नेमा होइन, कहिलेदेखि पर्याप्त र शुद्ध पानी पाइन्छ भन्नेमा उपभोक्ताको चासो छ । नगरपालिका, खानेपानी संस्थान, उपभोक्ता समिति जसले पानी ल्याए पनि हुन्छ तर सस्तो र सहज रूपमा दिनुपर्छ । पानी शुद्ध हुनु पर्यो ।
मानव स्वास्थ्यको महत्त्वपूर्ण आधार हो पानी । राज्यले कम्तीमा गुणस्तरीय पानी पिउन दिनुपर्ने संवैधानिक व्यवस्था हो । बुटवल जस्तो ठाउँमा पानीको व्यवस्थापनमा लामो समयदेखि समस्या छ । सम्बन्धित निकायले गम्भीर रूपमा ध्यान नदिँदा लामो समयदेखि यो समस्या समाधान हुन नसकेको हो ।
हामीले बुटवलका सबै वडामा गुणस्तरीय पानी वितरणको माग पटकपटक गरेका छौँ । हामीले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने हो । दबाब दिने हो । कतै बजेट अभाव भएमा माग गर्न काठमाडौँसम्म पनि हामी पुग्ने हो । समस्या लिएर अर्थ मन्त्रालय, खानेपानी मन्त्रालय पनि पटकपटक पुग्यौँ । विश्वका अन्य मुलुकमा पानीको विषयलाई निकै गम्भीर रूपमा लिइन्छ तर यहाँ उपभोक्ता अधिकारलाई ध्यान दिइएको छैन ।
बुटवलमा पानी ल्याउने नाममा अनेकौँ खालको राजनीतिक खिचातानी भएको भएको हो । अन्यथा यहाँ ठुलाठुला आयोजना छिटो सम्पन्न भएका छन् । पानी नल्याउन अनेक बहाना गरेर ढिलाइ गरिन्छ । झुम्साको पानी बुटवल ल्याउने योजना तोकिएको समयमा पूरा हुन्छ भन्नेमा हामीलाई अहिले पनि विश्वास छैन ।
बुटवलमा पुराना पाइपको समस्या छ । ती समस्या समाधान गर्न हामीले पनि पहल गरेका छौँ । पानीमा राजनीतीकरण नहोस् भन्ने हाम्रो माग हो । खानेपानी संस्थानले आयोजना निर्माण समयमै गर्न नसक्दा सफा र शुद्ध पानी खाने बुटवलवासीको सपना कहिल्यै पूरा भएन । नगरवासीले हिउँदभर धारामा पानी नआउने र बर्खामा धमिलो पानी खानुपर्ने समस्या झेल्दै आएका छन् । त्यो अन्त्य होस् भन्ने हाम्रो माग र चाहना हो ।
तिनाउ र चुरेको अनियन्त्रित दोहनले जमिनमुनिको पानीको सतह घट्दै जाँदा पहिलेजस्तो बोरिङबाट पानी आउँदैन । बुटवलका तिनाउ पानी र अन्य एक दर्जनभन्दा धेरै डिप बोरिङबाट खानेपानी संस्थानले बुटवल १२ वटा वडामा पानी वितरण गरेको छ । अन्य वडामा उपभोक्ता समितिमार्फत पानी वितरण भएको छ । डिप बोरिङबाट हिउँदमा पानी अझ कम आउँछ । बुटवलको बढ्दो जनघनत्व र सुक्दै गएको भूमिगत जलस्रोतका कारण खानेपानीको समस्या भविष्यमा झन् विकराल बन्नेतर्फ सम्बन्धित निकायले बेलैमा ध्यान दिनुपर्छ ।
(खानेपानी उपभोक्ता हित संरक्षण मञ्च, बुटवलका अध्यक्ष केसीसँग रातोपाटीका लागि तेजेन्द्र केसीले गरेको कुराकानीमा आधारित ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बटुवालाई प्यास मेटाउन मुस्किल, हराए सार्वजनिक धारा
-
‘मम’को सिक्वेल बनाउँदै बोनी, कान्छी छोरी खुसीलाई लिड रोल
-
समय नहुँदै फुले आँप र लिची, यो वर्ष कम फल्ने अनुमान
-
अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासलगत्तै उत्तर कोरियाले हान्यो ब्यालिष्टिक मिसाइल
-
काठमाडौँ र ललितपुरमा चोरी
-
वीर अस्पतालमा दुई सिफ्टमा अपरेसन सेवा सुरु