सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय
संगीत

संगीतको विरासतमा भारत–पाकिस्तान विभाजनको असर

सोमबार, २६ फागुन २०८१, ०७ : ४९
सोमबार, २६ फागुन २०८१

‘यदि प्रत्येक घरमा एकजना सन्तानलाई संगीत सिकाइको भए भारत विभाजित हुने थिएन ।’
–उस्ताद बडे गुलाम अलि खान

संगीतकारहरूका लागि देशका भौगोलिक सिमानाको धेरै ठुलो अर्थ हुँदैन । उनीहरू दर्शक र संरक्षकको खोजीमा निरन्तर यो वा त्यो भूगोलमा भौँतारिरहेका हुन्छन् । यस्तो भौतिक गतिशीलता उनीहरूको संस्थागत र सामाजिक गतिशीलतासँग पनि जोडिन्छ । पञ्जाबमा मिरासिस नामको एउटा समुदाय छ । त्यसको पुर्ख्यौली पेसा नै संगीत हो । आफूलाई ‘माथिल्लो जाति’ मान्नेहरू यो समुदायलाई अवहेलना र बदनाम गर्ने गर्छन् । 

संगीतको अन्तरसामाजिक गतिशीलताले त्यस्तो हेपाई कम गरेको देखिन्छ । सायद यस्तो खुलापन देखेरै २०औँ शताब्दीमा पञ्जाबका सबैभन्दा प्रख्यात शास्त्रीय संगीतकार उस्ताद बडे गुलाम अलि खानले संगीतको शक्तिले विभाजन र हिंसालाई रोक्न सकिनेतर्फ संकेत गर्दै उपरोक्त कथन भनेका थिए होलान् ।

दुर्भाग्यवश भारतीय उपमहाद्वीपका संगीतकारहरूले कहिल्यै नसोचेको प्रलय सहनु पर्‍यो । विध्वंसकारी परिणामसहित भारतको विभाजन भयो । संगीतको शक्तिका बारेमा बडे गुलाम अलि खानले भनेको कुरा झट्ट सुन्दा अतिशयोक्तिपूर्ण बयानबाजी लाग्न सक्छ  । तर, त्यो कथन त्यतिमै सीमित छैन । त्यसको गहन महत्त्व छ । 

उनको टिप्पणीमा हामी एउटा सूक्ष्म शास्त्रीय संगीतकार बन्नका लागि आवश्यक पर्ने वर्षौँको अभ्यास र धैर्यताको महत्त्व भेट्न सक्छौँ । जुन तीव्रतामा भारतको विभाजन भयो तथा त्यसले जुन स्तरको हिंसा सिर्जना गर्‍यो गुलाम अलिले उठाएको सन्दर्भ त्यसको ठिक विपरीत पाउँछौँ । अर्थात् समस्त परिदृश्य हेर्ने हो भने उनले ठिकै भनेका थिए जस्तो लाग्छ ।

वास्तवमा उपमहाद्विपमा भएको विभाजनले भारत र पाकिस्तान जस्ता नयाँ बनेका मुलुकमा संगीतबारेको धारणा र व्यवहार नै फेरिदियो यसले ।

  • विभाजनको प्रभाव

विरिन्दर कालरा, माइकल निजावान तथा गिव स्क्रेफलर जस्ता विद्वानहरूले पञ्जाबको संगीतमा विभाजनको डरलाग्दो प्रभावबारे लेखेका छन् । विभाजनपछि संगीतमा विद्यमान धर्मनिरपेक्ष र वैश्विक धार नै पराजित हुनु परेको उल्लेख गरेका छन् । ‘शब्द कीर्तन’ लाई छाडेर हेर्ने हो भने खासमा भारतीय पञ्जाबी संगीत ग्रामीण लोक संगीत जस्तो हो ।

विशेष गरी ‘भंगडा’ भनिने शैली भारतका जाट समुदायका किसानको अवधारणासँग जोडिन पुग्छ । उता पाकिस्तानको पञ्जाबमा लोकप्रिय संगीत चाहिँ प्रायः सुफी, कौवाली र गजल जस्ता स्पष्ट रूपमै इस्लामिक विधाहरूमा केन्द्रित हुन पुगेको छ ।

पञ्जाबको शास्त्रीय संगीत इतिहास र स्मृति विभाजनको मारमा परेर बिस्तारै हराउँदै गए । १९औँ शताब्दी र त्यो भन्दा अघिको समयमा असाध्यै लोकप्रिय रहेका ध्रुपद र खयाल जस्ता विधाले यस्तो मार सहनु पर्‍यो । अविभाजित पञ्जाब उदात्त संगीत सिर्जनाको थलो थियो । जहाँ शास्त्रीय संगीत हरेक वर्ग र समुदायमा असाध्यै मन पराइन्थ्यो । 

‘खयाल दर्पण’ नामको एउटा वृत्तचित्रमा लाहौरका उस्ताद बदर–उज–जमानले भारतीय चलचित्रकर्मीसँग पञ्जाबको संगीत माहौल सम्झिँदै त्यसलाई ‘जिन्दा–दिलान–ए–लाहौर’ अर्थात् लाहौरका रसिला मान्छेहरू भनेका छन् । जुन संगीत पारखीहरूको एक अनौपचारिक क्लब जस्तै थियो । 

कपडा, तरकारी र मासुका साना व्यापारीहरू मिलेर बनाएका थिए उनीहरूले त्यो । उनीहरू नियमित रूपमा सहरमा शास्त्रीय संगीतको साँझ आयोजना गर्थे । विभाजनमा धेरै ठुलो संख्यामा रहेका हिन्दुस्तानी संगीतकारहरूले पाकिस्तानको पञ्जाब छोडे । मुस्लिम संगीतकारहरूले भारतको पञ्जाब छोडे र पाकिस्तान तिर गए । 

यसरी पंजाब छाडेर जानेहरूमा अमानत अलि–फतेह अलि, तथा सलामत अलि–नजाकत–अलि जस्ता प्रसिद्ध संगीतकारहरू थिए । जो क्रमशः पटियाला र शाम चौरासी घरानाका प्रतिनिधि थिए । त्यसबेला होशियारपुर जिल्लाको शाम चौरासी र जालन्धर शास्त्रीय संगीतको क्षेत्रमा अब्बलताका मुख्य केन्द्र थिए ।

जब पञ्जाब र बंगाल दुई प्रदेशमा विभाजन भइरहेको थियो । त्यसको असर त्यहाँ मात्रै सीमित रहेन । त्यति नै बेला दिल्ली, उत्तरप्रदेश, बिहार जस्ता प्रदेश तथा कलकत्ता र बम्बई जस्ता सहरबाट पनि ठुलो संख्यामा मुसलमान संगीतकारहरू पाकिस्तान गए । 

यसरी भारत छाडेर जानेहरूमा दिल्ली घरानाका महान सारंगी वादक उस्ताद बुन्दु खान तथा महान किराना घरानाकी गायिका रोशानारा बेगम पनि पर्छिन् । सबैभन्दा धेरै संगीतकार त पंजाबको अमृतसर र पटियाला छोडेर लाहौर गएका थिए ।

नयाँ मुलुकको रूपमा भारतले शास्त्रीय संगीतलाई प्राचीन हिन्दु संस्कृतिको प्रतिकका रूपमा संसारभर प्रचार गर्न थाल्यो । भारतले आफ्नो शास्त्रीय कलामा हिन्दु मिश्रणलाई धेरै जोड दिन थाल्यो । उता पाकिस्तान आफ्नै सांस्कृतिक पहिचान बनाउने सुरसारमा थियो । त्यहाँ शास्त्रीय संगीतप्रति फरक व्यवहार हुन थाल्यो ।

संगीतमा रहेको हिन्दु सम्बन्धलाई हटाउने उपक्रम चल्न थाल्यो । यसले पाकिस्तानमा संगीतमा रहेका हिन्दु जस्ता लाग्ने तत्व हटाएर इस्लामिकरण गरायो । भारतमा विभाजन पश्चात् राज्यले संगीत क्षेत्रलाई ठुलो संरक्षण गर्ने प्रयास त गर्‍यो । यद्यपि विभाजनको समयमा असाध्यै प्रतिभावान् संगीतकार/कलाकारहरूको पाकिस्तान पलायनले धेरै ठुलो क्षति भइसकेको थियो । 

उता पाकिस्तानमा पनि भारतबाट गएका मोहाजिर भनिने संगीतकारले आफ्ना प्रिय श्रोताहरू गुमाएर ठुलो क्षति भोग्नु परेको थियो । यस्तो क्षति यतिसम्म डरलाग्दो थियो कि विभाजनपछिको दशकमा महान गायिका रोशानारा बेगमले रियाज गर्नै छोड्नु पर्नेसम्मको धम्की सहनु पर्‍यो । 

यसकै प्रभाव स्वरुप लाहौरका एकजना बुजुर्ग हायत अहमद खानले सन् १९६०मा ६ दिने ‘अखिल पाकिस्तान संगीत सम्मेलन’ नै आयोजना गरे । यो महोत्सव आज पर्यन्त आयोजना गर्ने गरिन्छ । बितेका ६ दशकका दौरान यो महोत्सवमा रेकर्ड भएका संगीत ‘सारे म्युजिक’ भनिने वेबसाइटमा सन् २०१९ मा राखिएको छ । यो काम तीनै हायत अहमद खानका नाति फरान इरफानले गरेका हुन् ।

संगीतकारहरूको जीवनका अलावा भारत–पाकिस्तान विभाजनले सन् १९५०को दशकको लोकप्रिय संगीतमा पनि अमिट छाप छोडेको छ । सन् ६० को दशकको पञ्जाबी चलचित्र ‘मदारी’ को एउटा गीतले त्यो समयको कथा खास गरी विभाजनले सिर्जना गरेका शरणार्थीको कथालाई सुन्दर रूपमा देखाउने प्रयत्न गरेको छ ।

कल जेर्हे सन लखपति अजि पल्ले कोइ नि धेला

बिच किताबा लिखेया दुनियाँ चार दिनान दा मेला

मैं कोइ झुठ बोलिया ? ‘कोइ ना !’

तो बस फिर झप्पिया पालो, आजादिके गुन गा लो’

अर्थात्

‘हिजोसम्म जो लखपति थिए आज तीनको खल्ती रित्तो छ

पुस्तकहरूमा त संसार चार दिनको झिलिमिली मात्रै हो भनिएको छ 

के मैले झुटो बोलेको हो र ? ‘होइन’

आउनुस् जे भए पनि हामी अँगालो मारौँ र स्वतन्त्रताको गीत गाउँ ।’ 

अजिज कश्मीरीले रचना गरेको यो गीतमा पञ्जाब घरानाका प्रमुख तबला वादक उस्ताद अल्ला राख्खाले मधुर र उन्मुक्त लोक धुन भरेका छन् । यो गीतले भारत–पाकिस्तानको विभाजनको पुस्ताले सहनु परेको अवस्थालाई हास्य भावमा मिसाएर विस्तारमा वर्णन गर्छ । 

यस्ता गीतहरूले भर्खरै कोरिएका सिमानाको रेखा पार गर्दै दुवैतिरका पञ्जाबीहरूको मनको वह व्यक्त गर्थे । विभाजनको तितो यथार्थ भोग्नु परेको कुरालाई विनोदपूर्ण रूपमा प्रस्तुत गरिएका गीतले दुबै तर्फका मान्छेको भावना बोलेको थियो । मदारीको साउन्डट्रयाकको खोजीको कथाले सिमाना वारपारका सम्बन्धहरू तथा खास गरी सन् १९४७ मा बनेका कठोर सिमाना उल्ट्याउन दक्षिण एसियालीहरूले खेलेको भूमिकालाई दर्साउँछ ।

केही समयपछि उक्त चलचित्रको प्रतिलिपि हरायो । असाध्यै चर्चित त्यो चलचित्र मदारीको प्रतिलिपि कतै भेटिएन । भएको एउटा मात्र प्रतिलिपि पनि बम्बई अभिलेखालयमा भएको आगलागीमा नष्ट भयो । उक्त फिल्म लोकप्रिय भएको पाकिस्तानमा पनि यसको कुनै प्रतिलिपि भेटिएन । प्रयास व्यर्थ साबित भए ।

अन्ततः फिरदौस अलीले लन्डनको साउथहलमा गीतको दुर्लभ रेकर्डिङ फेला पारे । उनले त्यो रेकर्ड उस्ताद अल्ला राख्खाकी छोरी तथा उस्ताद जाकिर हुसेनकी जेठी बहिनीलाई दिए । उनले त्यो रेकर्डिङ बम्बईमा आफ्नो बुबालाई दिइन । त्यो रेकर्डिङ भेट्दा उस्ताद अल्ला राख्खा यति खुसी भए कि त्यसको कुनै सीमा थिएन ।

एउटा रेकर्डिङको त्यो कथाले भारत–पाकिस्तानको आपसी शत्रुताका बाबजुद उनीहरूको इतिहास एक–आपसमा कसरी जोडिएको छ भन्ने देखाउँछ । साथै दक्षिण एसियामा सांगीतिक नागरिकता कायम रहेको पनि देखाउँछ । 

दुवैतर्फको पञ्जाबमा आयोजना हुने संगीत महोत्सवका आयोजकहरूले सीमापारिबाट आएका संगीतकारहरूलाई सम्मान र आतिथ्य प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन् । चाहे जालन्धरको हरिवल्लभ महोत्सवमा स्वर्गीय अश्विनी कुमार हुन् वा चण्डीगढको नवजीवन खोसला वा लाहौरका रजा काजिम नै किन नहुन । वा पाकिस्तानमा अखिल पाकिस्तान संगीत सम्मेलन आयोजना गर्ने हयात अहमद खान र उनकी छोरी डा. गजला इरफान नै किन नहुन । 

यस्ता महोत्सव आयोजकहरूले सीमा वारपारका आफ्ना साथी संगीतकार तथा ‘अन्य’ भनिएका समुदायको संगीत सम्पदाको रक्षामा काम गरेका छन् । यस्ता महोत्सवले संगीत पारखीहरूका लागि सिमानाको वारिपारि रहेका आफ्ना मनपर्ने कलाकारहरूलाई सुन्नका लागि महत्त्वपूर्ण मौका जुराउने गरेका थिए । 

जस्तै, विभाजन लगत्तै भारतमा, अझै भन्नु पर्दा खासगरी बम्बईमा छुटेका रोशनारा बेगमका ‘फ्यान’हरूको समूहले  उनीहरूको प्रिय गायिकाको प्रस्तुति सुन्ने व्यग्र इच्छा गर्थे । उनी बिरलै मात्रै भारतको यात्रा गर्थिन । हरिवल्लभ महोत्सव अपवाद स्वरूप भएको त्यस्तै विरलै परिघटना मध्ये एक थियो । 

जहाँ उनी विभाजनपूर्वको मित्रताको निरन्तरता देखाउँदै सन् १९४७ अघिका आफ्ना प्रहरी पतिका साथी रहेका अश्विनी कुमारको अनुरोधमा भारतको यात्रा गर्न सहमत भइन । सन् १८४९ मा सिख शासनको पतन पछि तथा त्यसको एक शताब्दीसम्म चलेको लामो ब्रिटिस शासनकालमा सांस्कृतिक रूपमा धनी लाहौर सहरको आफ्नै संगीत घराना बन्न पाएन । 

पञ्जाबका राजा रञ्जित सिंहको दरबारमा रहेका संगीतकारलाई छिमेकी जयपुर र पटियालाका दरबारले लगे । यसरी भर्खरै बनेको नयाँ राज्य पाकिस्तानमा आफ्नै स्वतन्त्र घरानाहरूको गौरव गर्ने कुनै सहर भएन । फलतः शाम चौरासी, पटियाला, कपुरथला र तलवंडी जस्ता भारतमा पर्ने पञ्जाबी सहरहरूको नामले पाकिस्तानमा अभ्यास गरिने संगीत घरानाहरूको प्रतिनिधित्व गरिरहेका छन् । ती सबै सन् १९४७ मा पाकिस्तानमा बसाइँ सरेका अधिकांश पूर्वी पञ्जाबी शास्त्रीय संगीतकारहरू द्वारा स्थापित थिए ।

सन् १८४७ मा दिल्लीमा भएको एउटा ‘मेहेफिल’ मा प्रसिद्ध सारङ्गी वादक उस्ताद बुन्दु खानले राग दीपक बजाएका थिए । यो रागले आगो सल्काउन सक्छ भन्ने विश्वास गरिन्छ । दिल्ली घरानाका प्रख्यात गायक तथा उनका भतिज उस्ताद चाँद खानले उनलाई यसो नगर्न भनेका थिए । भतिजको असन्तुष्टिका बाबजुद बुन्दु खानले उक्त राग प्रस्तुत गरे । 

त्यसै वर्ष भारतभर आमहिंसाको ज्वाला फैलियो । त्यो ज्वालाले पुरै दक्षिण एसियालाई डढायो । चाँद खानले आफ्ना काकालाई यसको दोष दिदै भनेका थिए, ‘मैले तपाईंलाई त्यो सनकी राग नबजाउनु भनेको थिए । तपाईँले मान्नुभएन !’

विभाजनले अरू जस्तै यो सांगितिक परिवारलाई पनि छोडेन । चाँद खान दिल्लीमै बसे । बुन्दु खान भने आफ्ना छोराहरूसँगै पाकिस्तान गए । उनी कराचीमै सन् १९५५ मा बिते । राग दीपकको यो कथाले संगीतकारहरू सन् १९४७ को विभाजनको उन्माद, पागलपन र आगोलाई कसरी हेर्थे भन्ने देखाउँछ । 

यसले चल्ताफुर्ता राजनीतिको तर्कसंगत व्याख्या भन्दा बाहिर संगीतको भाषामा विभाजनलाई कसरी बुझ्ने भन्ने छनक दिन्छ । खासगरी यो कथाले अर्को पुरानो चर्चित कथा पनि सम्झाउँछ । त्यो कथा महान संगीतकार मिया तानसेन र उनकी छोरी सरस्वतीको कथा हो । १६औँ शताब्दीका बादशाह अकबरको दरबारको कथा हो यो । 

आफ्ना पिता तानसेनले राग दीपक गाउनुपर्दा निस्केको आगोबाट बचाउन छोरी सरस्वतीले राग मेघ गाएर वर्षा गराएर आगो निभाउँदै आफ्ना पितालाई बचाएको कथा छ । 

आजको दिन दक्षिण एसियामा कलाकारहरू सुरक्षित छैनन् । भारतमा निरन्तर पाकिस्तानी कलाकारको प्रस्तुति रोकिएको छ । उता पाकिस्तानमा केही उग्रवादी इस्लामिक समूहले कलाकारलाई आक्रमण गरिरहेका छन् । साँच्चै आज दक्षिण एसियालाई राघ मेघको आगो निभाउने वर्षादायक शक्ति चाहिएको छ । यत्ति धेरै आवश्यकता त पहिले कहिल्यै भएको थिएन होला । 

(द ट्रिबुनबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राधा कपुरिया
राधा कपुरिया
लेखकबाट थप

छुटाउनुभयो कि ?