सीप अनुसारको रोजगारी नहुँदा बिदेसिँदै युवा

सिन्धुली । सदरमुकाम सिन्धुलीमाडी बजार शान्त छ । बसपार्क छेवैका चियापसलमा भने थोरै चहलपहल देखिन्छ । गाउँ सुनसान पारेर सहरमा भविष्य खोज्न हिँडेका केही युवा हतारोमा छन्, कोही गफमा मस्त । चिया पसलकै एउटा कुनामा भेटिए पूजन बस्नेत ।
उनी तीनपाटन गाउँपालिका–११, कन्याखोलाका बासिन्दा हुन् । २२ वर्षीय बस्नेतले सूचना तथा प्रविधि (आइटी)मा स्नातक गरेका छन् । उनीसँग वेबसाइट डिजाइन गर्ने, मोबाइल एप बनाउने, ग्राफिक्स डिजाइन र भिडियोग्राफी गर्ने सीप छ । तर सीप अनुसारको काम र कमाइ छैन ।
बस्नेतले जिल्लामै केही गर्ने सोचले साथीसँग मिलेर व्यवसाय गर्ने प्रयास गर्नुभयो । तर लगानीको अभावले सम्भव भएन । बैङ्कले कर्जा पत्याएन, परिवारको आर्थिक अवस्था कमजोर थियो ।
उनले भने, “लगानी छैन । विना धितो बैङ्कले कर्जा दिँदैन । त्यही भएर अब विदेश गएर पैसा कमाउँछु, अनि फर्केर व्यवसाय गर्छु भन्ने सोचेको छु ।” रोजगारीका लागि बिदेसिने निर्णय उनको रहर नभएर बाध्यता हो । त्यसो त उनले स्थानीय तहमा ‘आइटी अफिसर’का लागि धेरै ठाउँमा आवेदन दिएका थिए । १५ पटक परीक्षा दिए । लिखितमा नाम निस्कियो, तर मौखिकमा निस्किएन ।
हुन त पूजनले जिल्लास्थित एक संस्थामा काम गरिरहेका छन् । तर श्रमअनुसारको पारिश्रमिक नपाउँदा उनमा नैराश्य छाएको छ । बिहानदेखि रातीसम्म काम गर्दा पनि रु १० हजार मासिक तलब समयमा नपाउने गरेको उनको गुनासो छ ।
यो केवल बस्नेतको कथा मात्र होइन । उनीजस्ता धेरै युवाहरू यही बाध्यताले बिदेसिँदा जिल्लाका ग्रामीण क्षेत्रमा पानी भर्ने, खेतबारीमा काम गर्ने, गाउँलाई उज्यालो बनाउने, बिरामी पर्दा बुबाआमाको स्याहार गर्ने युवा देखिन छाडेका छन् ।
बिबिएस दोस्रो वर्षमा अध्ययनरत २१ वर्षीया सविना दनुवार पनि यस्तै दोधारमा छिन् । उनी पढाइलाई निरन्तरता दिने वा अधुरै छाड्ने भन्ने अन्योलमा छिन् । “घरको अवस्था दयनीय छ । जागिर छैन । दैनिक खर्च चलाउन गाह्रो छ । अब पढाइ छोडेर विदेश जाने सोच्दैछु,” सविनाले भनिन् ।
सविनाका साथीमध्ये कोही अस्ट्रेलिया, कोही दुबईमा छन् । उनीहरूसँग कुराकानी हुन्छ । विदेश गएर दुःख गरे यहाँभन्दा कमाई राम्रै छ, भन्ने भनाइले सविनालाई त्यही बाटो रोज्न बाध्य बनाइरहेको छ ।
पूजन र सविना त प्रतिनिधि पात्र मात्रै हुन् । जिल्लामा सञ्चालित विदेश पठाउने कन्सलटेन्सीमा विद्यार्थीको भीड हेर्ने हो भने सहजै अनुमान गर्न सकिन्छ की जिल्लाका थुप्रै युवा रोजगारीको खोजीमा विदेश जाने तरखरमा छन् ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट गएको पाँच वर्षमा २८ हजार ६५२ युवाले राहदानी बनाएको देखिन्छ । आर्थिक वर्ष ०७७ देखि ०८१ माघ १३ सम्म उक्त सङ्ख्यामा राहदानी बनाएका हुन् ।
वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई सूचना, परामर्श, सीप विकास, कानुनी सहायता, मनोसामाजिक परामर्श र वित्तीय साक्षरता प्रदान गर्दै आएको सुरक्षित आप्रवासन परियोजना, सिन्धुलीका संयोजक विजय दाहालकाअनुसार गएको दुई वर्षमा बर्सेनि १० हजार युवा जिल्लाबाट बिदेसिएका छन् ।
वैदेशिक रोजगार र पढाइको सिलसिलामा बिदेसिएका ती युवाको तथ्याङ्क जिल्ला प्रशासन कार्यालय र सुरक्षित आप्रवासन केन्द्रमा हुने गरेको भए पनि फर्किएकाको तथ्याङ्क सम्बन्धित निकायसँग छैन ।
सुरक्षित आप्रवासन केन्द्र, सिन्धुलीकाअनुसार १६ वर्ष यता रोजगारीका लागि विदेश गएकामध्य १५१ जनाको विभिन्न कारणले उतै मृत्यु भएको छ । ११ वर्ष यता ५१ जना बिरामी र काम गर्ने सिलसिलामा अङ्गभङ्ग भई फर्किएका छन् । यसरी फर्किनेमा विदेश जाँदा लागेको ऋणसमेत तिर्न नसकेका रहेको पाइएको छ ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि मुकेश घिमिरेकाअनुसार, सरकारले सीप भएकासमेतलाई उचित अवसर प्रदान गर्न सकेको छैन । स्थानीय सरकारले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न विशेष कार्यक्रम सञ्चालन गरेको पाइँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी शक्तिको आडमा राजावादी सक्रिय भएको माओवादीको आशंका
-
५०० मेगावाट क्षमताका ४० सोलार आयोजनाले पाए सर्भे अनुमति
-
सबै मानिस जागिर मात्रै खोज्छन् : प्रधानमन्त्री ओली
-
महिला न्यायाधीशहरु न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्छ : प्रधानन्यायाधीश राउत
-
काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहर
-
को हुन् क्यानडाका भावी प्रधानमन्त्री मार्क कार्नी ?