सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय
क्रिकेट

संघर्षबाट खारिएका शेरको देशका लागि विश्वकप जित्ने सपना

सोमबार, २६ फागुन २०८१, ०७ : ३०
सोमबार, २६ फागुन २०८१

धनगढी । काठमाडौँको त्रिवि क्रिकेट मैदानको माहौल तातेको थियो । अपराह्नको समय, नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायर खेल जनकपुर बोल्ट्स र कर्णाली याक्सबिच खेलिँदै थियो । खेल अन्तिम अवस्थामा थियो । 

जनकपुर बोल्ट्स फाइनलमा पुग्न जित्नैपर्ने दबाबमा थियो । रंगशाला भरिभराउ थियो र देशभरका क्रिकेटप्रेमी टेलिभिजन स्क्रिनमा टक्क आँखा अड्याएर बसेका थिए । एक सय १९ रनको लक्ष्य पछ्याएको जनकपुर पनि दबाबमै थियो । 

ठिक त्यसै बेला नवौँ नम्बरमा क्रिज समाल्न ओर्लिएका थिए, जनकपुर बोल्ट्सका शेर मल्ल । उनलाई थाहा थियो, यो क्षण उनको क्रिकेट करियरकै सबैभन्दा महत्त्वपूर्ण क्षण हुनसक्छ । भारतको पञ्जाबमा रहेका उनका बुवा–आमा पनि टिभीमा खेल हेरिरहेका थिए । 

बुवा मन्दिरमा बसेर प्रार्थना गर्दै थिए, ‘मेरो छोराले राम्रो खेलोस् ।’ अघिल्लो साँझ ह्वाटसपमा आमाले कल गरेर भनेकी थिइन्, ‘टिकेर खेल्नु, बाबु । पहिलो बलमै प्रहार गर्न खोज्छौँ । हतार नगर्नु, धैर्य गर्नु ।’

sher malla (6)

जनकपुर बोल्ट्सलाई जित्न २३ रन चाहिएको थियो । ३.५ ओभर बाँकी रहेका बेला उनी क्रिजमा आएका थिए । उनले टोली र समर्थकको विश्वास डगमगाउन दिएनन् । उनले १० बलमा अविजित १६ रन बनाउँदै टोलीलाई जितसम्म डोर्‍याए । 

खेलको अन्त्यतिर जनकपुरलाई जितका लागि ११ बलमा १२ रन आवश्यक थियो । शेरले स्ट्राइक पाएर बलरको छेउबाटै उत्कृष्ट सट हाने— सिधा छक्का ! त्रिवि रंगशाला गुञ्जियो । दर्शक उफ्रिए । बलर दबाब सिर्जना गर्न अगाडि बढे । सारा मैदान उनको खेल हेर्न पर्खिरहेको थियो । 

तर, शेर कुनै हतारमा थिएनन् । उनले उत्कृष्ट खेल देखाउँदै जनकपुर बोल्ट्सलाई फाइनलमा पुर्‍याए । ६ बल बाँकी रहँदै जनकपुरले दुई विकेटले कर्णाली याक्सलाई हरायो । साथीहरू दौडिएर उनलाई अँगालो हाले । त्यो क्षण एनपीएलको इतिहासमा मात्र होइन, शेर मल्लका लागि पनि अविस्मरणीय बन्यो ।

त्यसपछि जनकपुर बोल्ट्सले फाइनलमा पनि सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै उपाधि चुम्यो । छोरा खेलिरहेको टिमले एनपीएलको उपाधि जित्दा उनका आमाबा खुसीले गदगद भए । भाइ र बहिनिले ‘दादा बधाई छ । आमाबा त खुसीले रोइरहेका छन्,’ भन्दै भिडियो कल गरेर सुनाए ।

sher malla (5)

शेर मल्लको यात्रा यहाँसम्म आइपुग्न निकै संघर्षपूर्ण थियो । उनी सुदूरपश्चिमको डोटीको केआई सिंह गाउँपालिकामा जन्मिए । पाँच वर्षको उमेरमै भारतको पञ्जाब जानु पर्‍यो । बुवा उतै काम गर्थे । शेरको बाल्यकाल पञ्जाबका गल्लीमा क्रिकेट खेल्दै बित्यो ।

विद्यालयको क्रिकेट टिममा परेपछि उनले नियमित अभ्यास गर्न थाले । तर, यो कुरा उनले घरमा भनेका थिएनन् । विद्यालयको झोलामा उनी शनिबार लगाउने सेतो स्कुल पोसाक पनि बोकेर लग्थे । त्यहि लगाएर विद्यालयबाटै अभ्यास गर्थे । घर आएपछि झोलामा पुरानो लेदर बल र पोसाक लुकाउँथे । ६ महिनासम्म उनले घरमा क्रिकेट सिकिरहेको कुरा लुकाए । एक दिन आमाले उनको झोला खोलेर लेदर बल भेटिन् । शनिबारका दिन लगाउने पोसाक झोलामा थियो ? आमालाई अचम्म लाग्यो । 

बुवा स्कुल गएर कोचसँग कुरा गर्न पुगे । कोचले भने, ‘शेर राम्रो खेलाडी हो । उ भविष्यमा निकै राम्रो क्रिकेटर बन्न सक्छ ।’ त्यसपछि मात्र परिवारले उनलाई क्रिकेट खेल्न अनुमति दियो । आमाबुवाले नयाँ क्रिकेट ड्रेस किनिदिए । अब शेर खुलेर अभ्यास गर्न थाले ।

विद्यालयबाट उनी जिल्लाको टिममा परे । पछि तीन वर्ष चन्डीगढको होस्टलमा बसेर क्रिकेट सिके । भारतीय क्रिकेटर प्रशान्त चोपडाका बुवा आकाश चोपडासँग उनले तालिम लिए । तर, शेरको मन सधैँ नेपालमै थियो । उनले सानो उमेरमै सोचिसकेका थिए, ‘म नेपालका लागि खेल्नेछु ।,’

नेपाल फर्केपछि उनले धनगढी र महेन्द्रनगरमा भएका घरेलु प्रतियोगितामा खेले । प्रधानमन्त्री कपमा सुदूरपश्चिमको टिमबाट खेल्दै उनले उत्कृष्ट प्रदर्शन गरे । सन् २०१७ देखि उनले सुदूरपश्चिमको टिमबाट लगातार प्रधानमन्त्री कप खेल्दै आएका छन् ।

sher malla (3)

शेर बलिङ अलराउन्डर हुन् । अफस्पिन बलिङका साथै उनले गुगली र लेग स्पिन गर्न सक्छन् । उनले बायाँ हातले ब्याटिङ गर्छन् । यो विशेषता रणनीतिक हिसाबले महत्त्वपूर्ण मानिन्छ । सन् २०१४ मा नेपालले टी–२० विश्वकप खेलेको हेरिसकेपछि शेरले नेपाली राष्ट्रिय टिममा पुग्ने सपना देखेका थिए । 

उनले लगातार मेहनत गरे । सन् २०२१ मा नेपाल ‘ए’ को बन्द प्रशिक्षणमा पनि परे । २०८० सालको प्रधानमन्त्री कपमा नौ खेलमा २४ विकेट लिए । नेपाल ‘ए’ टिमबाट क्यानडाविरुद्धको खेलमा उत्कृष्ट बलिङ गर्दै दुई विकेट लिए । उनको यो नेपाली सिनियर टिममा डेव्यु थियो । यद्यपि, नेपाली टोलीको सिनियर टोलीमा परेर उनले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाएका छैनन् ।

२०७८ सालमा एसीसी यू–१९ एसिया कपमा उनले नेपाली राष्ट्रियबाट राम्रो प्रदर्शन देखाएका थिए । उनले विद्यालय, जिल्ला, प्रदेश र राष्ट्रियस्तरका दर्जनौँ घरेलु प्रतियोगिता खेलिसकेका छन् । क्रिकेटका ठुलो प्रतियोगिता थुप्रै फ्रेन्चाइज गेम पनि खेलेका छन् । यी प्रतियोगितामा उनी उत्कृष्ट खेलाडी समेत घोषित भइसकेका छन् ।

sher malla (2)

अहिले फागुन २५ गतेदेखि लुम्बिनीमा भइरहेको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा उनले सुदूरपश्चिमको कप्तानी गरिरहेका छन् । उनले नेपाली क्रिकेटको भविष्य देखिरहेका छन् । ‘सुदूरपश्चिममा अहिले क्रिकेटको माहौल राम्रो छ । विद्यालय स्तरबाटै धेरै खेलाडी आउँदैछन्। यहाँको क्रिकेट अझ उचाइमा पुर्‍याउनेछु,’ उनी भन्छन् ।

एनपीएल खेलेपछि शेर मल्लको चर्चा झन् बढ्यो । उनको प्रदर्शनले उनका समर्थकहरू बढेका छन् । सुदूरपश्चिमका समर्थकहरू उनलाई ‘क्रिकेटका शेर“ भनेर चिन्छन् । उनको गृहपालिका केआई सिंह गाउँपालिकाले उनलाई एक लाख ३१ हजार २ सय ५० रुपैयाँसहित सम्मान गर्‍यो ।

‘पढाइ मात्र होइन, खेलकुदमा पनि भविष्य छ। विद्यार्थीले खेललाई साथसाथै अगाडि बढाउनु पर्छ,’ शेरले सम्मान ग्रहण गर्दै विद्यालयस्तरका खेलाडीलाई भनेका थिए । चर्चा बढेपनि तर उनको जिम्मेवारी अझै बढेको छ । घरको जेठो छोरा भएकाले परिवारको जिम्मा पनि उनैमाथि छ ।

उनका बुवा अहिले प्यारालाइसिसका बिरामी छन्। उपचारमा २५ लाखभन्दा बढी खर्च भइसकेको छ । आमाले पञ्जाबको अस्पतालमा काम गर्छिन्। परिवारको खर्च उनको आमाले धानिरहेकी छिन्। अब भने शेर क्रिकेटबाटै आम्दानी गर्न थालेका छन् ।

‘पहिला क्रिकेट खेल्दा पैसाको समस्या हुन्थ्यो । अहिले भने क्रिकेट खेलेरै खर्च चलाउन सक्छु,’ उनी भन्छन् । एनपीएल खेल्नुअघि उनले कहिल्यै पाँच लाख रुपैयाँ एकमुष्ट कमाएका थिएनन् । त्यो उनको पहिलो ठुलो आम्दानी थियो। यो आम्दानीले उनले घरखर्च र आफ्नो खर्च चलाउन सहज भएको बताए ।

sher malla (1)

‘क्रिकेटले मलाई नाम मात्रै होइन, पैसा पनि दियो । तर, पैसा भन्दा ठुलो सम्मान हो,’ शेर भन्छन् । हालसम्मका उनी आफूलाई भाग्यमानी मान्छन् । चोट–पटक लागेर उनी घाइते भएका छैनन् । अहिलेको समयमा बढी प्रतियोगिता भएका कारण क्रिक्रेटलाई व्यावसायिक रूपमा अघि बढाइरहेको उनी बताउँछन् । उनी उत्साहित छन्।  देशलाई गर्व गर्ने गरि क्रिकेट खेल्ने उनको भनाई छ ।

‘सुरुमा क्रिकेटबारे आमाबालाई थाहा थिएन । भविष्य पनि राम्रो छैन भन्थे तर म निर्णयमा अडिग रहेँ, पैसा भन्दा पनि क्रिकेट खेल्छु भन्ने मनमा लिएँ । अझै राम्रो गर्नेछु, राम्रो मान्छे भएर चिनिने छु । मलाई अहिलेसम्म क्रिकेटको यो यात्रामा साथ दिनुहुने सबै दाइहरू, साथीहरूलाई धेरै धन्यावाद दिन्छु,’उनले भने ।

शेर क्रिकेटमा विराट कोहलीका फ्यान हुन् । उनलाई ऋषभ पन्त र सुरेश रेनाका खेल शैली पनि मन पर्छ । नेपालमा आरिफ शेखको खेल उनलाई निकै मनपर्छ । तर,उनको अन्तिम लक्ष्य एउटै छ, नेपाली राष्ट्रिय टिमबाट विश्वकप खेल्ने । ‘मेरो सपना छ, विश्वकप खेल्ने र जित्ने । अहिले सुदूरपश्चिमको टिमको कप्तानी गरिरहेको छु । राष्ट्रिय टिममा खेल्न पाएँ भने प्रमाणित गरेर देखाउनेछु,’ उनी भन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप

छुटाउनुभयो कि ?