सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

महिलाले निरन्तर हाँक्दै सामुदायिक वन

सोमबार, २६ फागुन २०८१, ०२ : ४२
सोमबार, २६ फागुन २०८१

तिलोत्तमा । रूपन्देहीको देवदह–९ मा रहेको जनप्रिय सामुदायिक वन २०६६ सालमा महिलाको हातमा हस्तान्तरण भयो । सामुदायिक वनमा महिला नेतृत्वसँगै संरक्षणमा स्थानीय महिलाको जीवनको एक महत्त्वपूर्ण पाटो बनेको छ । हस्तान्तरणको समयदेखि हालसम्म वनलाई महिला नेतृत्वले हाँकिरहेका छन् ।

रूपन्देहीको देवदह–९ मा रहेको यो सामुदायिक वन दुई सय ३७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । देवदह–९ मा वन कार्यालय रहे पनि वडा नं ९ र १० का चार सय ८० घरधुरी उपभोक्ता यसमा समेटिएका छन् । वनबाट वन पैदावरसँगै स्थानीयको आवश्यकता पूरा गर्दै महिलाहरूको आत्मविश्वास र आत्मबल बढाएको सामुदायिक वनकी अध्यक्ष रुका सापकोटाले बताईन् । महिलाको समूहले वन जोगाउँदै स्थानीयका आवश्यकता पूरा गरिरहेको उनले बताईन् । ‘नेतृत्वसँगै सामाजिक उत्तरदायित्वका काम गरेका छौं, उनले भनिन्, ‘महिलाका लागि अचार बनाउने तालिम, क्षमता विकासका विभिन्न तालिम प्रदान गरेका छौँ । यसबाट महिलाको आर्थिक पाटो पनि बलियो बन्न सहज भएको छ ।’

वन समितिले वनलाई पर्या–पर्यटनसँग जोड्ने योजना बनाएर ‘बोटानिकल गार्डेन’को अवधारणा साधारणसभाबाट समेत पारित गरिएको उनले बताईन् । बढ्दो आधुनिकताले च्यापिरहेको समयमा भावी पुस्तालाई बोटबिरुवा र पर्यावरणका बारेमा जानकारी हुने भएकाले यो योजना अघि सारिएको छ । वन समितिले स्थानीयलाई तरकारीका बिरुवा निःशुल्क उपलब्धसमेत गराउँदै आएको छ । यसबाट घरमा दैनिक प्रयोग गरी बढी भएको तरकारी बिक्री गरेर आम्दानी हुँदा स्थानीय महिला खुसी भएको अध्यक्ष रुकाको भनाइ छ । 

अध्यक्ष रुकाभन्दा अगाडि यस सामुदायिक वनको नेतृत्व माया गलामी र रुक्मा चौधरी गरिसकेका छन् । अवसर पाउँदा महिलाले जुनसुकै काम सफल रूपमा गर्न सक्छन् भन्ने गतिलो उदाहरण बनेको रुकाले बताईन् । 

यस्तै देवदह वडा–७ मा रहेको सिर्जना सामुदायिक वनमा पनि सम्झना दुवे अध्यक्ष छिन् । २०५१ सालमा स्थापना भएको यो सामुदायिक वनमा २०४९ सालमा वन ऐन आएसँगै संरक्षण गर्दै हालै अध्यक्ष बनेको सम्झना दुवेले बताईन् । पहिले १९ हेक्टर क्षेत्रफलमा रहेको वन हाल विभिन्न कारणले १४ हेक्टरमा सीमित भएको अध्यक्ष दुवेको भनाइ छ । यस सामुदायिक वन क्षेत्रभित्र २०७३ सालमा ‘यशोधरा चिल्ड्रेन पार्क’ निर्माण गरिएको छ । पार्कमा बुद्धसँग सम्बन्धित महामाया, यशोधरा, प्रजापतिको मूर्ति स्थापना गरेर अवलोकनका लागि खुला गरिएको अध्यक्ष दुवेले जानकारी दिईन् । 

सामुदायिक वनको १५ सदस्यीय समितिमा उनीसँगै आठ महिलाको सहभागिता छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट प्राप्त १० लाख बजेटबाट पार्कलाई थप व्यवस्थित गरी भगवान् गौतम बुद्धको मावली स्थानका रूपमा परिचित देवदहलाई आगामी दिनमा बौद्धमय बनाउने अध्यक्ष दुवेले बताईन् । ‘अब पार्कलाई बौद्धमय बनाउँछौँ’, उनले भनिन्, ‘हरेक बुद्धजयन्तीभन्दा पाँच दिन अगाडि यशोधरा दिवस मनाउँदै आएका छौँ । यो विश्वमा नै पहिलो हो ।’

जिल्लाको कञ्चन गाउँपालिकाको पहिलो खोला सामुदायिक वनको नेतृत्व लक्ष्मी रानाले गर्दै आएकी छन् । कञ्चन–१० मा रहेको वन एक सय २५ दशमलव ९९ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यस सामुदायिक वनमा पालिकाका वडा नं १० र ११ का उपभोक्ता जोडिएका छन् । हालसम्म तीन कार्यकाल अध्यक्ष बनेर नेतृत्व गरिरहेकी लक्ष्मीले वनकै माध्यमबाट विभिन्न सामाजिक कामहरू गरेको बताईन् । वन संरक्षणसँगै यसकै माध्यमबाट महिलाको आर्थिक अवस्था बदल्न सहयोगी बनेको अध्यक्ष राना बताउँछिन् । ‘वन संरक्षण त भएकै छ । यससँगै घुम्ती कोष सञ्चालन गरी विपन्न परिवारका महिलालाई आर्थिक अवस्थामा सहजता प्रदान गरेका छौँ’, उनी भन्छन्, ‘घुम्ती कोषमार्फत एक रुपैयाँ व्याजमा ऋण दिने र उक्त रकम एक वर्षमा फर्काउनुपर्ने व्यवस्था गरेका छौंँ ।’

समूहकी अध्यक्ष लक्ष्मीका अनुसार घुम्ती कोषको रकमबाट महिलाले आयआर्जन हुने खालका व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनका अनुसार घुम्ती कोषको ऋण सापटीबाट महिलाले कुखुरा, बाख्रा, बङ्गुर, भैँसीपालन गर्ने गरेको र कतिपयले सानोतिनो व्यापार गरी आर्थिक अवस्था सुधार गर्दै आएका छन् । त्यसका साथै वनकै माध्यमबाट सडक बत्तीको समेत व्यवस्था मिलाएको उनले बताईन् । विभिन्न समयमा हुने कटान र ढलापडा काठ बिक्री गरेर वनको आम्दानी बढाउँदै लगिएको समेत अध्यक्ष रानाले बताएकी छन् । 

लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेको शान्ति सिर्जना वनमा रेखा पौडेल अध्यक्ष छिन् । चारैतिरबाट बस्तीको बिचमा रहेको यो वन १८ दशमलव ६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । करिब दुई सय ९३ उपभोक्ता रहेको यस वनमा अध्यक्षसँगै सबै महिला सदस्य रहेका छन् । वन क्षेत्र यसै पनि जोखिमको क्षेत्र भएकाले महिलालाई मात्र गाह्रो हुने भएकाले अब आगामी योजनामा पुरुषलाई पनि सहभागी गराउने अध्यक्ष पौडेलले बताईन् । एघार सदस्यीय महिला समितिमा उपभोक्ता भने पुरुषहरू पनि छन् । विभिन्न समयमा हुने कटान र ढलापडा नै वनको मुख्य आम्दानीको स्रोत हो । यसबाहेक अन्य कुनै पनि आर्थिक स्रोत नहुँदा महिलाहरूको क्षमता वृद्धिका कामहरू गर्न नसकेको पौडेलले गुनासो गरिन् । 

महिलाहरूले नेतृत्व गरेका रूपन्देहीका सामुदायिक वनहरू सात वटा छन् । यस नगरपालिकाभित्र रहेका सिर्जना सामुदायिक वन, जनप्रिय सामुदायिक वन, चेतना सामुदायिक वन, महामाया सामुदायिक वन, हरियाली सामुदायिक वनको नेतृत्व महिलाले गरेका छन् । चेतना सामुदायिक वनमा सम्झना चौधरी, महामाया सामुदायिक वनमा कमला न्यौपाने र हरियाली सामुदायिक वनमा सरस्वती चौधरीले सामुदायिक वन समितिको नेतृत्व गर्दै आएको सब–डिभिजन वन कार्यालयले जनाएको छ । उता कञ्चन गाउँपालिकामा पनि एक सामुदायिक वनमा महिलाको नेतृत्वमा वन समिति बनेको छ । यस्तै पहिलो खोला सामुदायिक वनमा महिला अध्यक्ष लक्ष्मी राना रहेको डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत सुजन धिमालले बताए । 

त्यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकाको रुद्रपुर धमिनाताल सामुदायिक वनमा पनि महिला अध्यक्ष पार्वती थापासहितको वन समिति रहेको अधिकृत धिमालले जानकारी दिए । रूपन्देहीका वनमा महिला अध्यक्ष मात्र हैन जिल्लाका दुई वटा वनको समितिमा सबै महिला सदस्य रहेका छन् । कञ्चन गाउँपालिकामा एक सय ८५।७ हेक्टर क्षेत्रफलमा फैलिएको पिपरीचापा महिला सामुदायिक वनमा सिङ्गो समितिमा महिलाहरू छन् । यसमा रेउकुमारी काउचा अध्यक्ष रहेको वरिष्ठ वन अधिकृत धिमालले बताए । 

त्यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकाको शान्ति सिर्जना सामुदायिक वनको सिङ्गो समिति नै महिलाको छ । २१.४२ हेक्टर क्षेत्रफलमा समेटिएको वनमा रेउकुमारी काउचा अध्यक्ष रहनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल रूपन्देहीका अध्यक्ष श्यामकला आचार्यले महिला नेतृत्वका सामुदायिक वनमा आर्थिक पारदर्शी हुने बताईन् । ‘महिलाहरु इमानदार हुन्छन्, उनीहरुले नियम, कानुन, पद्धतिको अनुसरण गर्छन्’ उनले भनिन्, ‘तर कतिपय पुरुष नेतृत्व भएको ठाउँमा आर्थिक सुशासन कमजोर रहेको देखिन्छ ।’

महासङ्घका अध्यक्ष आचार्यले वैज्ञानिक वन व्यवस्थापन हटिसकेको अवस्थामा पनि त्यसैलाई अनुसरण गर्नुपर्छ भनेर पुरुष नेतृत्वले भन्ने गरेको बताईन् । वैज्ञानिक वन व्यवस्थापनमा धेरै काठ काट्न पाइने र त्यसैबाट फाइदा निकाल्न खोज्ने प्रवृत्ति हाबी भएको उनको भनाइ छ । शिवनगर सामुदायिक वनमा दोस्रोपटक सचिव बनेकी सुमित्रालाई पहिले वनकै कुरा थाहा पाउन मुस्किल हुन्थ्यो । 

तर, अचेल भने बल्ल वनका कुरा थाहा हुन थालेको बताईन् । कामको सन्दर्भमा पनि पुरुषको तुलनामा महिलाले आफ्नो जिम्मेवारी जसरी पनि पूरा गर्ने उनको भनाइ छ । डिभिजनल वन कार्यालय रूपन्देहीका सिनियर डिभिजनल वन अधिकृत प्रविण बिडारीका अनुसार रूपन्देहीमा रहेका एक सय १० सामुदायिक वनमध्ये सात वटा सामुदायिक वनमा महिला अध्यक्ष छन् । त्यसैगरी जिल्लाका दुई वटा सामुदायिक वनमा सिङ्गो वन समिति महिलाको रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप

छुटाउनुभयो कि ?