रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. पूर्वराजाको स्वागतमा समर्थकको लस्कर
आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा राजधानीमा समर्थकहरू सडकमा उत्रिएका छन् । पोखराको बसाइ सकेर पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ फर्किंदा राजावादीहरू स्वागतका लागि सडकमा उत्रिएका हुन् ।
२. शक्तिशाली सरकार चौतर्फी चेपुवामा
संसदको पहिलो र दोस्रो राजनीतिक शक्ति सम्मिलित वर्तमान सरकार चौतर्फी चेपुवामा परेको छ । सरकारलाई यतिबेला विभिन्न चुनौतीले घेरेको देखिएको हो ।
३. आइतबार सुदूरपश्चिममा प्रधानमन्त्री ओली व्यस्त
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सुदूरपश्चिममा विभिन्न कार्यक्रममा सहभागिता जनाए । यस क्रममा उनले सुदूरपश्चिमको विकास र समृद्धिका लागि नयाँ पहलकदमी आवश्यक रहेको बताए ।
४. कुलमानले बुझाए स्पष्टीकरण
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई स्पष्टीकरण बुझाएका छन् । उनले आफूमाथि कारबाही गर्न आवश्यक नरहेको जिकिर स्पष्टीकरणमा गरेका छन् ।
५. पूर्वराजाको गतिविधिबारे रास्वपा मौन
पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिलाई लिएर प्रमुख राजनीतिक दलहरूले प्रतिक्रिया व्यक्त गरे पनि देशको चौथो ठुलो राजनीतिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी भने मौन देखिएको छ ।
६. माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार
नेकपा माओवादी केन्द्रका नेताहरू राजधानी आइपुगेका छन् । पूर्वनिर्धारित ‘पूर्व–पश्चिम हुलाकी राजमार्ग केन्द्रित जागरण अभियान’ स्थगित गरी माओवादी केन्द्रका नेताहरू काठमाडौँ आएका हुन् । माओवादी केन्द्रले सोमबार पदाधिकारी बैठक राखेको छ ।
८. जनमत पार्टीमा भाँडभैलो
जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले पार्टीका शीर्ष नेताहरूलाई कारबाही गर्न थालेपछि पार्टीभित्र भाँडभैलो भएको छ । सोही क्रममा पार्टीका उपाध्यक्ष ई। दीपक साहले आजदेखि सुरु भएको केन्द्रीय समिति बैठक बहिष्कार गरेका छन् ।
८. सरकारी लेटरहेडमा ‘श्री ५’ सम्बोधन गरेपछि स्पष्टीकरण
पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘श्री ५’ सम्बोधन गर्दै उनको शुभकामना सन्देशलाई स्वागत तथा ऐक्यबद्धता जनाएको भन्दै सरकारले पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । बास्तोलाले सामाजिक सञ्जालबाटै स्पष्टीकरणको जवाफ दिएका छन् ।
९. किन टिक्दैनन् सेलिब्रेटीका विवाह ?
दाम्पत्य जीवन अन्त्य गर्ने नेपाली सेलिब्रेटीको सूची लामो छ । आखिर किन सेलिब्रेटीको दाम्पत्य जीवन अन्त्य हुन्छ भन्नेबारे केन्द्रित रहेर रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।
१०. स्वास्थ्य सचिव नियुक्तिमा किन बढ्दो विवाद ?
फागुन २१ गते बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवाका अतिरिक्त सचिव डा. विकास देवकोटालाई स्वास्थ्य सचिवमा बढुवा गर्ने निर्णयबारे यतिबेला विवाद सिर्जना भइरहेको छ । गत फागुन ११ गते स्वास्थ्य सचिव डा. रोशन पोखरेल अनिवार्य अवकाशमा गएपछि सरकारले डा। देवकोटालाई बढुवा गरेको थियो ।
११. सशस्त्रका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह
सशस्त्र प्रहरी बलका नवनियुक्त ३ जना डीआईजीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आइतबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उनिहरुलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।
१२. भारतको बदला पूरा, तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि
न्युजिल्याण्डलाई हराउँदै भारतले आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । आइतबार भएको फाइनल खेलमा भारतले न्युजिल्याण्डलाई ४ विकेटले हराएको हो ।
योसँगै भारतले २५ वर्षअघिको बदला लिन पनि सफल भएको छ । सन् २००० मा भएको दोस्रो संस्करणको फाइनलमा यी दुई टोली आमनेसामने भएका थिए । उक्त खेलमा न्युजिल्याण्डले भारतलाई पराजित गरेको थियो ।