निर्माण भएको तीन वर्षसम्म ताला ठोकिएको सिटी हल उद्घाटन, अब सञ्चालनमा आउला ?

धनगढी । धनगढी उपमहानगरपालिका–८ मा तीन वर्ष अघि निर्माण भएको सिटी हल आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
२०७४ सालमा ओलीनै प्रधानमन्त्री भएका बेला केन्द्रबाट २८ करोड बजेट छुट्ट्याइएपछि उक्त सिटी हल निर्माण प्रक्रिया अघि बढाइएको थियो । हल निर्माणका लागि धनगढी– ८ मा उपमहानगरपालिकाले डेढ बिघा जमिन उपलब्ध गरायो ।
भवन निर्माणका लागि संघीय योजना कार्यान्वयन ईकाइमार्फत २०७५ सालमा निर्माण कम्पनीसँग सम्झौता गरेर काम अगाडि बढेको थियो । सोही अनुसार २०७६ सालदेखि सिटी हल निर्माणको काम सुरू भएको थियो ।
२८ करोड खर्च भएको उक्त भवन निर्माण २०७९ असारमै सम्पन्न भएको संघीय योजना कार्यान्वयन ईकाइ कार्यालय धनगढीले जनाएको छ । तीन वर्ष यता सिटी हलको रेखदेखका लागि निर्माण कम्पनीले एक जना चौकीदार राखेको थियो ।
निर्माण भएको भवनमा तीन वर्षदेखि ताला ठोकिएको थियो । आइतबार सबै काम पूरा भइसकेको भन्दै संघीय सरकारले धनगढी उपमहानगरपालिकालाई सिटी हल हस्तान्तरण गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र खातीले जानकारी दिए ।
‘संघीय कार्यालय बनाएर उपमहानगरपालिकालाई हस्तान्तरण भएको छ । आजदेखि यो धनगढी उपमहानगरपालिकाको सम्पत्ति भएको छ,’ खातीले भने । सिटी हललाई कसरी र कुन मोडलमा सञ्चालन गर्ने भन्नेमा नीतिगत व्यवस्था गरिने उनको भनाइ छ ।
सिटी हल उद्घाटन पश्चात् सञ्चालनमा आउँछ कि आउँदैन भन्नेमा चासो बढेको छ ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खाती भन्छन्, ‘सिटी हल उपमहानगरपालिकाले सञ्चालन गर्छ तर कुन मोडलमा गर्ने भन्ने विषयमा छलफल भएरमात्रै काम हुन्छ ।’
चिटिक्क परेको भव्य भवन सञ्चालन भए ठाउँ–ठाउँबाट कार्यक्रमका लागि मानिसहरू आउँथे र यो ठाउँको व्यापार बढ्थ्यो भन्ने आश स्थानीयहरूको छ ।
‘गाउँमा चहलपहल बढ्ने भएकाले स्थानीय व्यापार पनि चल्थ्यो कि भन्ने आशमा हामी छौँ । भवन बनेको देख्दा राम्रो लाग्छ, तर चल्ने छाँटकाँट छैन जस्तो लाग्छ,’ स्थानीय मुना चौधरीले भनिन् ।
उनका अनुसार गाउँलेहरू उक्त भवनमा सभा–सम्मेलन, कार्यक्रम सञ्चालन हुने पर्खाइमा छन् । स्थानीयले उक्त भवन सञ्चालन गर्न सरकारसमक्ष आग्रह पनि गरेका छन् ।
अब उपमहानगरपालिकाले भवन सञ्चालनमा ल्याउन प्राथमिकताका साथ काम गर्नुपर्ने स्थानीयको भनाइ छ ।
सुदूरपश्चिमको व्यापारिक, राजनीतिक र अन्य दृष्टिकोणबाट पनि केन्द्रका रूपमा रहेको धनगढीमा बैठक, सभा, गोष्ठी, सेमिनार जस्ता ठुला कार्यक्रम गर्ने स्थानको आवश्यकता महसुस गरेर उक्त भवन बनाइएको थियो । सबै क्षेत्रबाट सिटी हल निर्माण गर्नुपर्ने कुरा उठेपछि संघीय सरकारले बजेट दिने र धनगढी उपमहानगरपालिकाले जग्गा दिने गरी योजना बन्यो ।
यद्यपि अहिलेसम्म सिटी हल सञ्चालन गर्न निर्देशिका बनेको छैन । उक्त हलमा ९ सय जना अट्ने क्षमता रहेको अडिटोरियम हल, २ सय जना अट्ने क्षमताको सेमिनार हल, एक प्रदर्शनी कक्ष, एक अति विशिष्ट कक्ष, २ रिहल्सन हल र अन्डरग्राउन्ड पार्किङ सहितको सुविधा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेडको पर्यो टक्कर
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन
-
जति तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव छैन : शर्मा
-
सशस्त्रका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान