रवि लामिछानेको रहस्यमय मौनता

काठमाडौँ । सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने कास्की जिल्ला अदालतको आदेशमा हिरासतमुक्त भएपछि रहस्यमय रूपमा मौन बसेका छन् ।
सूर्यदर्शन सहकारी ठगी आरोपमा कात्तिक २ गते केन्द्रीय कार्यालय वनस्थलीबाट पक्राउ परेका उनी ८४ दिन कास्की जिल्ला प्रहरीको हिरासत बसेर रिहा भएका थिए ।
पुस २६ गते कास्की जिल्ला अदालतको आदेशमा ६५ लाख धरौटी तिरेर थुनामुक्त भएका लामिछानेले त्यसपछि काठमाडौँ जिल्ला अदालतमा ६० लाख, रुपन्देही जिल्ला अदालतमा एक करोड रुपैयाँ र चितवनबाट ५४ लाख धरौटी बुझाएर रिहा भएका थिए ।
धरौटी बुझाएर अदालतबाट रिहा भएयता सामाजिक सञ्जाल, मिडिया तथा सार्वजनिक मञ्चबाट उनले कुनै प्रतिक्रिया दिएका छैनन् ।
तारिख बुझ्न आइतबार कास्की पुगेका उनी आजै बेलुका रूपन्देही जाने तयारीमा रहेका लामिछाने निकटस्थले बताएका छन् ।
कास्कीबाहेक बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा बहुउद्देश्यीय सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी र पर्साको सानो पाइला बचत तथा ऋण सहकारी हिनामिना गरेको आरोप लामिछानेमाथि छ ।
चार वटा अदालतमा एक महिनाको अन्तरालमा तारिख बुझिरहेका उनी पर्सा जिल्ला अदालतको मुद्दाको पर्खाइमा छन् । प्रेस सल्लाहकार प्रमोद न्यौपानेका अनुसार लामिछाने पार्टीको समग्र समीक्षा तथा भावी तयारीबारे प्रतिवेदन लेखिरहेका छन् । पर्सा जिल्ला अदालतमा मुद्दा दायर भएपछिको अवस्था मूल्याङ्कन गरी पार्टीको जिम्मेवारीमा फर्किने तयारी लामिछाने रहेका न्यौपानेले जानकारी दिए ।
‘उहाँ (भोलि) रूपन्देही अदालतको पहिलो तारिख बुझ्न आजै बुटवल जानुहुन्छ । एक महिनाको अन्तरालमा तारिख बुझिरहनुभएको छ । सरकारले अहिलेसम्म पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेको छैन । त्यहाँको स्थिति के हुन्छ, त्यही कुरेर बस्नुभएको हो’, न्यौपानेले भने, ‘उहाँ अहिले रास्वपाको समग्र समीक्षा गर्दै हुनुहुन्छ । भावी तयारी, पार्टीको रणनीतिलगायत विषयमा समीक्षात्मक प्रतिवेदन तयार गर्दै हुनुहुन्छ । पर्साको मुद्दा हेरेर पार्टी काममा फर्किने बेला उहाँले केन्द्रीय समिति बैठकमा प्रतिवेदन पेस गर्नुहुन्छ । सोही भएर अहिले कतै प्रतिक्रिया दिनुभएको छैन । मौन बस्ने नीति नै हो ।’
पर्सा जिल्ला अदालतमा मुद्दा लम्बिए लामिछानेले अगाडि नै आफ्ना धारणा बाहिर ल्याउन सक्ने पनि न्यौपानले बताए ।
‘सबै अवस्था बुझेर पार्टी काममा फर्किएपछि आफ्नो धारणा सार्वजनिक गर्नुहुन्छ । साथै हिरासत बसाइको अनुभवबारे डायरी लेख्ने सोच उहाँले बनाउनुभएको छ । यद्यपि लेख्न थाल्नुभएको छैन’, न्यौपानेले भने ।
यस्तै लामिछानेको मौनताबारे कार्यवाहक प्रवक्ता मनीष झासँग प्रतिक्रिया लिएका थियौँ । जवाफमा झाले मौन बस्नुको चासो पत्रकारलाई र चिन्ता कांग्रेस र एमालेलाई भएको बताए । लामिछानेले मात्र नभई पार्टीका अन्य नेताले पनि मिडियालाई प्रतिक्रिया नदिने नीति रहेको उनले स्पष्ट पारे ।
‘चासो पत्रकारलाई हो । अरू पार्टीलाई चिन्ता हो । रवि लामिछाने के गरिराखेको छ ? किन बोल्दैन ? बोलेको भए हामी पनि रियाक्ट गथ्यौँ । कुरा काट्थ्यौँ । मञ्चमा गएर बोल्थ्यौँ । रवि पूरै मौन बस्दिँदा उहाँहरूले बोल्न पाउनुभएको छैन । कांग्रेस र एमालेलाई पूरै चिन्ता हो । ठग ठग भनिराखेको थियो अदालतले रिहा गर्ने आदेश दियो’, झाले भने, ‘हामीले नयाँ तयारी गरिराखेका छौँ । त्यसैले रवि मौन बसेका हुन् ।’
आफूहरू पनि मिडियामा धेरै नगएको बताएका उनले रविको तयारीबारे केही नभन्ने बताए । ‘हामी कानुन र संविधानभित्रै रहेर गर्छौँ । हामी रवीन्द्र मिश्र बन्दैनौँ,’ उनले भने ।
गोरखा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेमाथि पाँच वटा सहकारीबाट ६५ करोड बचत अपचलन गरेको आरोप छ । लामिछानेलाई चार वटा अदालतले कैफियतसहित धरौटीमा छाड्न आदेश दिए पनि ‘क्लिन चिट’ पाइसकेका छैनन् । पर्सा जिल्ला अदालतमा सरकारले लामिछानेविरुद्ध अहिलेसम्म मुद्दा नै दायर गरेको छैन ।
चितवन–२ बाट २०७९ सालको निर्वाचनमा भारी मतान्तरले विजयी भएका उनी दोहोरो नागरिकता प्रकरणमा सर्वोच्च अदालतले सोही वर्ष माघमा सांसद पद खारेज गरेको थियो ।
२०८० सालमा भएको उपनिर्वाचनमा चितवन–२ बाट फेरि भारी मतान्तरले विजयी भएका लामिछानेको सांसद पद फेरि निलम्बनमा परेको छ ।
रास्वपाले लामिछानेको पक्राउ राजनीतिक पूर्वाग्रह भन्दै आएको छ । उनीमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरणमा मुद्दा लागेको छ । पछिल्लो पटक चितवन जिल्ला अदालतबाट ५४ लाख धरौटीमा छुटेका लामिछानेले समय आएपछि प्रतिक्रिया दिने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलाले निरन्तर हाँक्दै सामुदायिक वन
-
ला लिगामा रियाल मड्रिड विजयी, बार्सिलोनासँग अंंक बराबर
-
प्रिमियर लिग : चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेडको पर्यो टक्कर
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन