शनिबार, ०६ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दीपेन्द्र रावत एक्लैले सात विकेट लिएपछि कर्णालीसामु निरीह बन्यो सुदूरपश्चिम प्रदेश

आइतबार, २५ फागुन २०८१, १६ : २५
आइतबार, २५ फागुन २०८१

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले विजयी सुरुवात गरेको छ । कर्णाली प्रदेशले आइतबार खेलिएको आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी सुदूरपश्चिम प्रदेशलाई ७९ रनले हराएको हो । 

दाङको लमहीमा जारी सुदूरपश्चिम प्रदेशविरुद्धको खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको कर्णाली प्रदेश पनि ४.४ ओभरमा केवल एक सय ५५ रन बनाउँदै अलआउट भएको थियो । जवाफी ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेश भने २१ ओभरमा केवल ७६ रन बनाउँदै अलआउट भयो ।

सुदूरपश्चिम प्रदेशका लागि ओपनर खड्क बोहराले सर्वाधिक २७ रन बनाए । किरण ठगुन्नाले १३ र शेर मल्लले अविजित १३ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।  कर्णाली प्रदेशका बलर दीपेन्द्र रावत एक्लैले सात विकेट लिए । उनले नौ ओभरमा तीन मेडन राख्दै केवल ३३ रन खर्चिए । दिवान पुनले पनि दुई विकेट हात पारे ।  

त्यसअघि, कर्णाली प्रदेशका लागि अर्जुन घर्तीले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए । छैटौँ नम्बरमा क्रिज समाल्न आएका अर्जुनले ७१ रन बनाए । उनले ९४ बलको सामना गरी तीन छक्का र तीन चौका पनि हिर्काए । दिनेश अधिकारीले १७ रन जोडे । कप्तान दिवान पुनले १२ रन बनाएका थिए । 

कर्णाली प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहारो अंकमा रन बनाउन सकेनन् । माथिल्लो क्रमका पाँच ब्याट्सम्यानले त दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । कर्णाली प्रदेशले अतिरिक्त रुपमा २५ रन पाएको थियो ।  सुदूरपश्चिम प्रदेशका बलर हेमन्त धामी एक्लैले चार विकेट लिए । उनले नो ओभरमा केवल २६ रन खर्चिएका थिए ।

नारायण जोशीले पनि दुई विकेट हात पारे । उनले ६.४ ओभरमा ३५ रन खर्चिए । शेर मल्ल, मिलन बोहरा र भोजराज भट्टले पनि एक–एक विकेट कुम्ल्याए । कर्णाली र सुदूरपश्चिमबिचको खेल ४३–४३ ओभरमा झारिएको छ । अन्य दुई खेल भने ५०–५० ओभरमै खेलाइँदै छ ।

प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यक्रम अनुसार, नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको हो । प्रतियोगिता लुम्बिनी प्रदेशको सिद्धार्थ रंगशाला, एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र लमही क्रिकेट मैदानमा सञ्चालन हुँदैछ । 

क्यानका अनुसार, प्रतियोगिता राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुँदैछ । प्रतियोगिताको दोस्रो दिन २६ गते सिद्धार्थ रंगशालामा आर्मी क्लब र बागमती प्रदेश, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब तथा लमही क्रिकेट मैदानमा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबिच खेल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप