सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

माओवादी सांसदको प्रश्न : राजतन्त्र फर्काएर के गर्न खोजेको ?

आइतबार, २५ फागुन २०८१, १५ : ३४
आइतबार, २५ फागुन २०८१

काठमाडौँ । माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्य सुरेश आलेमगरले राजतन्त्र फर्काएर के गर्न खोजेको भन्दै राजतन्त्र पक्षधरहरूलाई प्रश्न गरेका छन् । 

आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद आलेमगरले राजतन्त्र फर्काउन खोज्नेहरुलाई प्रश्न गर्दै राजतन्त्र पक्षधर सल्बलाउन खोज्नु र यही बेला बेवि किङ र बलयगाडा चढेर गणतन्त्र पुगिँदैन भन्नेहरु सत्तामा रहनुलाई संयोगका रुपमा मात्र लिन नसकिने बताए ।  

‘नेपालमा गणतन्त्र आएको १५,१६ वर्ष भयो । त्यो भन्दा अघि २४० वर्ष राजतन्त्र थियो, त्यसवेला देश झन् ओरालो लागेको थियो’, उनले भने, ‘त्यही राजतन्त्र ल्याएर हुन्छ के गर्न खोजेको के हो ? गणतन्त्रमा केही कमजोरी हुनसक्छन् तर गणतन्त्रको विकल्पमा राजतन्त्र हुनसक्दैन’, आलेमगरको भनाइ छ ।  

उनले एकातिर राजतन्त्रका भूतहरू सलबलाउने र अर्कोतिर देशको राज्यसत्ताको बागडोर बेबी किङ र सेरोमोनियल राजतन्त्र त कहिले गणतन्त्रलाई बयलगाडाको संज्ञा दिनेहरुबाटै राजतन्त्रका भूत प्रोत्साहित भइरहेका त होइनन् भनेर प्रश्न गरे । 

‘केही प्रतिगामी तत्त्वहरू सलबलाइरहेका छन् । हामीले राजतन्त्रलाई आर्यघाटमा सेलाइसकेका थियौँ तर त्यसका भूतहरू फेरि बौरिएर आएर राजतन्त्रको कुरा गर्दै आएका छन्’, मगरको भनाइ छ । त्यस्तै उनले कुलमान घिसिङलाई कारबाही गर्ने र महिलालाई सचिव नबनाउने सरकारको कार्यशैलीको विरोध गरे । 

त्यस्तै एकीकृत समाजवादीका सांसद जयन्ती राईले ‘प्रतिगामी तत्त्व’ कुर्लिन थालेको भन्दै लोकतन्त्रमाथि धावा बोल्दा पनि सरकार चुप लागेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । 

‘प्रतिगामी तत्त्व ब्युँझिँदै छन् । संविधानको उल्लंघन गर्न खोज्दैछन् ।जनताले लडेर प्राप्ति गरेका अधिकार खोस्न चाहँदैछन् । संघीय लोकतन्त्रमाथि धावा बोलिरहेका छन्’, राईको भनाइ छ । 

बैठकमा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले पनि राजाको वंश विनाश गरेकाहरूले नै नाटक मञ्चन गरिरहेको आरोप लगाए । 

‘अहिले तथाकथित प्रतिगामी शक्तिहरू राजा फर्काउने, जसले राजाको वंश विनाश गरेका हुन् । तीनैले राजा फर्काउने नाटक मञ्चन गरिराखेका छन्’, शर्माको भनाइ छ । 

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने भन्दै सत्तामा बसेका दलले जनताको माग सम्बोधन गर्न नसक्दा राजावादीले टाउको उठाएको दाबी गरे । 

‘सत्तामा बसेका पार्टीहरूले देश र जनताको आवाजलाई सुन्न सकेनन् । अभाव, गरिबी, महँगी, बेतिथिलाई सम्बोधन गर्न सकेनौँ । त्यसकारण यस्ता तत्त्वहरू बेलाबेलामा टाउको उठाउने काम गरिरहेका छन्’, उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?