आइतबार, २५ फागुन २०८१
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक

जनमत पार्टीमा भाँडभैलो : कोषाध्यक्षलाई कारबाही, उपाध्यक्षले गरे बैठक बहिष्कार

आइतबार, २५ फागुन २०८१, १२ : ५०
आइतबार, २५ फागुन २०८१

काठमाडौँ । जनमत पार्टीमा भाँडभैलो भएको छ । सो पार्टीका अध्यक्ष डा.सिके राउतले पार्टीका शीर्ष नेताहरूलाई कारबाही गर्न थालेपछि पार्टीमा विवाद सुरु भएको हो । 

आजदेखि सुरु भएको केन्द्रीय समिति बैठक उपाध्यक्ष ई.दीपक साहले बहिष्कार गरेका छन् । पार्टी अध्यक्ष राउतले उपाध्यक्ष साहलाई पनि कारबाही गरेपछि उनले केन्द्रीय समिति बैठक बहिष्कार गरेका हुन् । 

यद्यपि उनले आफ्नो निजी काम परेकाले बैठकमा नगएको दाबी गरेका छन् । उनले रातोपाटीसँग भने– ‘बैठककै लागि महोत्तरी गएको थिएँ तर मेरो विशेष कार्यक्रम भएका कारण म त्यसमा सहभागी हुन पाइन ।’

तर पार्टीकै एक केन्द्रीय सदस्यका अनुसार दीपकलाई पार्टी अध्यक्षले स्पष्टीकरण सोधेको र अनुशासन समितिको संयोजकबाट हटाइएका कारण उनी असन्तुष्ट थिए र त्यही असन्तुष्टिका कारण बैठक बहिष्कार गरेका हुन् । 

अध्यक्ष राउतलाई सुरुदेखि साथ दिएका नेतालाई कुनै न कुनै रुपमा कारबाही गरेर पार्टीबाट अलग राखेको गुनासो पनि उपाध्यक्ष साहले पार्टीमा राख्दै आएको स्रोतले जनाएको छ । ‘जसले दिनरात खटेर पार्टी बनाए, आज तिनै व्यक्तिहरूको यो पार्टीमा कुनै अस्तित्व छैन । 

एक एक गरी सबैलाई कारबाही भइरहेको छ, जसलाई कारबाही गरिएको छैन । उनीहरूलाई निगरानीमा राखिएको छ’ ती केन्द्रीय सदस्यले भने ।  पुराना नेता तथा कार्यकर्ताहरूलाई बिस्तारै किनारा लगाउँदै नयाँ अनुहारलाई पार्टीमा भित्र्याउँदै गरेको आरोप अध्यक्ष राउतमाथि लागेको छ ।

कतिपयले त अध्यक्ष राउतले पुराना नेताहरूलाई हटाएर पार्टीमा आफ्ना दाजु जयकान्त राउतलाई स्थापित गर्न चाहेको आरोप समेत लगाएका छन् ।  दाइलाई स्वतः माथिल्लो पोस्टमा लगेर नेता बनाउने दाउमा अध्यक्ष राउत रहेको आरोप समेत लागेको छ । 

शनिवार पार्टीका कोषाध्यक्ष सूर्यनारायण यादवलाई पनि सात दिनको स्पष्टीकरण सोध्दै पार्टीबाट निलम्बन गरिएको छ । कोषाध्यक्ष यादवले अध्यक्ष राउतसँग हिसाब किताब मागेका कारण आफू कारबाहीमा परेको गुनासो गरेका छन् ।

स्वतन्त्र मधेस गठबन्धन बनेपछि पार्टीमा विदेशबाट करोडौँ रुपैयाँ आएका तर त्यो रकम केमा खर्च भयो त्यसको हिसाब किताब अध्यक्ष राउतले नदिएको गुनासो नेताहरूको छ ।    यसअघि उपाध्यक्ष अब्दुल खानलाई पनि पार्टीमा स्पष्टीकरण सोधिएको थियो । त्यो स्पष्टीकरण बाहिर सार्वजनिक गरिएको थिएन । अध्यक्ष राउतप्रति उपाध्यक्ष खान अहिले पनि असन्तुष्ट रहेको स्रोतले जनाएको छ । 

त्यसैगरी, उपाध्यक्ष वसन्त कुशवाहा पनि अध्यक्ष राउतप्रति असन्तुष्ट छन् । केन्द्रीय सदस्य ई.शम्भु साहलाई पनि स्पष्टीकरण सोधिएको छ । यसअघि सचिव बिपी साहलाई पनि पार्टीबाट निलम्बन गरिएको थियो । उनको कारबाही केही दिन पहिले मात्र फुकुवा भएको छ । अध्यक्ष राउतले सचिवद्वय अनिता साह र भुपेन्द्र यादवलाई पनि स्पष्टीकरण सोधेका थिए । 

यसअघि कैलाश महतो, जासर यादव, डा.रवीन्द्र यादव जस्ता नेताहरूलाई समेत राउतले पार्टीबाट निष्कासन गरिसकेका छन् । बाँकी रहेका नेताहरूलाई पनि अध्यक्ष राउतले बाहिर निकाल्ने प्रपञ्च रचिसकेको नेताहरूको गुनासो छ । 

महोत्तरीको बर्दिबासमा आजदेखि केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठकमा सङ्गठनको सबलीकरण, नौलो गणतन्त्र कार्यान्वयन,  सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सङ्घीयता कार्यान्वयन, समान विचारधारा भएका पहिचानवादी पार्टीहरूसँग एकीकरण लगायतको एजेन्डामा छलफल हुने जनमत पार्टीका प्रवक्ता डा.शरद यादवले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?