पूर्वराजाको सक्रियताबारे रास्वपाको दृष्टिकोण के हो ?

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय राजनीतिक सक्रियता बढाइरहेको बेला परम्परागत राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत दलहरूले कडा प्रतिक्रिया दिइरहेका छन् । उनीहरूले संविधानले दिएको अधिकार प्रयोग गरेर चुनावमा भाग लिन ज्ञानेन्द्रलाई चुनौती दिएका हुन् ।
२०६२/६३ को जनआन्दोलनले दिएको म्यान्डेटलाई भुलेर अर्को मूर्खता नगर्न उनीहरूले पूर्वराजालाई सचेतसमेत गराएका छन् । यता राजावादी पुरातन शक्ति राप्रपा लगायत विभिन्न धार्मिक संघसंस्था राजसंस्था पुनर्स्थापनाको पक्षमा सडकमा उत्रिएका छन् ।
यता, आफूलाई वैकल्पिक शक्ति दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) पछिल्लो गतिविधिप्रति मौन देखिएको छ । सभापति रवि लामिछाने सहकारी ठगी गरेको आरोपमा कास्की, काठमाडौँ, चितवन र रुपन्देही अदालतमा मुद्दा खेपिरहेका छन् । रविविरुद्ध सरकारले पर्सा जिल्ला अदालतमा समेत मुद्दा हाल्ने तयारी गरिरहेको छ ।
चारवटा अदालतबाट दुई करोड ७९ लाख धरौटी बुझाएर रिहा भएका रवि अहिलेसम्म पार्टी जिम्मेवारीमा पनि फर्किएका छैनन् । उनले पछिल्लो राजनीतिक घटनाक्रमबारे कुनै प्रतिक्रिया दिएका छैनन् । रास्वपाले पनि आधिकारिक रूपमा राजावादीको सक्रियताबारे कुनै प्रतिक्रिया जनाएको छैन ।
यद्यपि पछिल्लो राजनीतिक अवस्था र पार्टीको दृष्टिकोणबारे आइतबार कार्यवाहक प्रवक्ता मनिष झाले प्रतिक्रिया दिएका छन् । झाले इतिहासकै शक्तिशाली सरकार दाबी गर्ने प्रधानमन्त्री केपी ओलीले आफूले आफैँलाई देवत्वकरण गर्दा समस्या आएको बताएका छन् । रंगशालामा मान्छे कुट्ने, कुलमान घिसिङलाई लखेट्ने, बालेनलाई थर्काउने र रविलाई थुन्ने काम मात्र गरेकाले असन्तुष्टि बढेको उनको आरोप छ ।
‘इतिहासकै शक्तिशाली सरकार भन्दै गर्दा ओली आफूले आफैलाई देवत्वकरण गर्दै गर्दा जनतालाई डेलिभरी दिन सक्नुभएन । इतिहासकै शक्तिशाली सरकार भन्ने तर दैनिकीमा केही फरक परेको छैन । स्टेडियममा दर्शक कुटेको छ, रक्सी खाएर प्रहरी कुटेको छ । कुलमानलाई लखेटेको छ । रविलाई थुनेको छ । बालेनलाई थर्काएको छ । यति हो नि गरेको’, उनले भने, ‘त्यसैले यो असन्तुष्टिको उपज हो । हामीले कोही व्यक्ति वा पूर्वराजालाई दोष दिनुभन्दा पनि डेलिभर गरेको खै ? आफै डेलिभर नगर्ने, त्यसपछि अरू सलबलायो भनेर अन्यलाई दोष दिने, भारतलाई दोष दिने त्यो एकदम गलत एक्सक्युज हो ।’
मान्छेलाई आफ्नो नेता बनाउन, भगवान् रोज्न, आ–आफ्ना धारणा बनाउन, सोही अनुसार अभियान चलाउन नेपालको संविधानले अधिकार दिएको छ ।
तर त्यो भन्दैमा राजा फर्किहाल्नुपर्छ वा पुनर्स्थापित गर्नुपर्छ भन्ने पक्षमा आफू नभएको झाको भनाइ छ । २०८४ को निर्वाचनसम्म जुन दलले जति हैसियत पाएका छन्, त्यसमा फेरबदल नहुने उनको बुझाइ छ । परम्परागत राजनीतिक दलहरू असफल भइसक्यो वा राजा नै चाहिन्छ भनेर कसैलाई लागेको छ भने आगामी निर्वाचनसम्म पर्खिन झाले सुझाव दिए ।
‘यसको एउटा पोलिटिकल प्रोसेस हुन्छ । पोलिटिकल म्याण्डेट हुन्छ । २०८४ को निर्वाचनसम्मका लागि जुन दलले जसरी पाएको छ । त्यही मतअनुसार नै अगाडि बढ्ने हो । अहिलेका दलहरू फेलर नै भइसके, सक्दै सक्दैन, राजा आउनै पर्छ भन्ने हो भने ती समर्थित दलहरूले जनमत पाउँलान् । अर्को कुरा यदि राजा फर्किने अवस्था आइराखेको हो भने २०८४ को जनमतले देखाउँला । भोलि नै फर्काऊँ वा एयरपोर्टबाट उतै फर्काइदियौँ भनेर हुँदैन । जस्तै राजेन्द्र लिङ्देनले आफ्नो क्याम्पेनको ब्राण्ड एम्बेस्डर राजालाई बनाउनुभएको छ । सोही अनुसार जनमत पाउँलान्,’ झाले भने ।
उनले यसलाई एउटा मुभमेन्टको रूपमा हेर्दै गर्दा आफूलाई अस्वाभाविक केही नलागेको बताए । मान्छेलाई आफ्नो नेता बनाउन, भगवान् रोज्न, आ–आफ्ना धारणा बनाउन, सोही अनुसार अभियान चलाउन नेपालको संविधानले अधिकार दिएको उनले स्पष्ट पारे । तर यसो गर्दै गर्दा कानुनी दायरामा बसेर काम गर्नुपर्ने झाको विचार छ । त्यो दायराभित्र रहँदासम्म केही समस्या नभएको उनले जिकिर गरे ।
यद्यपि अहिले असन्तुष्टि सडकमा किन आइराखेको छ भन्ने कुरा वर्तमान गठबन्धन सरकारले राम्रोसँग ध्यान दिनुपर्ने झाको भनाइ छ ।
उहाँ(ज्ञानेन्द्र)ले मौका नपाएको हो र ? ‘कु’ गरेर पुरै सिस्टम कन्ट्रोलमा लिनुभयो । खै त त्यतिबेला केही पनि डेलिभर गर्नुभएन ।
‘अहिलेको गठबन्धनले आफूलाई मन नपरेको व्यक्तिहरूलाई लखेट्ने, थुन्ने, निलम्बन गर्ने काम गरिरहेको छ । आज पूर्वराजा एयरपोर्टमा आउँदै गर्दा जुन प्रदर्शन हुन्छ, यो उग्र नहोस् । तर अहिलेको गठबन्धन सरकार के कुरामा सजग रहनुपर्छ भने कुलमानलाई लखेट्ने, बालेनलाई तर्साउने, मान्छे कुट्ने यस्तैयस्तै गरिराख्यो भने अर्को एउटा लहर आउन सक्छ, जसमा उग्रता हुन्छ किनकि मान्छे एकदमै क्रोधित भइसक्यो । कुलमानलाई कारबाही गरे हामी नै सडकमा आउन बेर लाउँदैनौँ’, सरकारलाई सचेत गराउँदै उनले भने ।
आफूलाई वैकल्पिक शक्ति दाबी गर्ने रास्वपा पनि असफल देखिएको प्रश्नको जवाफमा उनले निर्वाचन भएको २७ महिनामै मूल्यांकन गर्ने बेला नभएको जिकिर गरे ।
‘चुनाव प्रत्येक पाँच वर्षमा हुन्छ भनेर जनतालाई राम्रोसँग थाहा छ । संसारको कुनै पनि देशमा हरेक ६ महिनामा चुनाव हुँदैन । क्वीक चुनाव हुने भनेकै तीन वर्षमा हुन्छ,’ उनले भने, ‘हाम्रोमा चुनाव भएको २७ महिना भएको छ । यसै अवधिमा नयाँ शक्तिले प्रदर्शन पनि गर्दिनुपर्ने । जनताले हामीलाई मत दिएर २१ सिट पुर्याउनुभयो । अनि नयाँ वैकल्पिक शक्ति फेल भयो भनेर कसरी २७ महिनामा मूल्यांकन गर्न सक्नुहुन्छ ?’
सबैले मनन गर्नुपर्ने कुरा पहिला राणाबाट असन्तुष्ट भएर प्रजातन्त्र आएको, प्रजातन्त्रबाट हुँदैन भनेर जनताले बहुदलीय प्रजातन्त्र रोजेको र यसबाट पनि सन्तुष्ट नभएपछि गणतन्त्र आएको स्मरण गर्दै झाले संस्थागत अभ्यास नहुँदा कमजोरी भएको बताए । पूर्वराजा फर्किएर सबै कुरा समाधान हुन्छ भन्ने रवीन्द्र मिश्रहरू जस्ताले किन पूर्वराजाले गरेको बदमासी बिर्सिए भन्दै उनले प्रश्न गरे ।
‘उहाँ(ज्ञानेन्द्र)ले मौका नपाएको हो र ? ‘कु’ गरेर पुरै सिस्टम कन्ट्रोलमा लिनुभयो । खै त त्यतिबेला केही पनि डेलिभर गर्नुभएन । जीडीपी र पर क्यापिटा इनकम पनि बढेन । हत्या आतंक कतै पनि हटेन । अब चाहिँ उहाँले कुन चाहिँ नयाँ टिम र म्याण्डेट बनाउनुभयो ? जडीबुटी पाउनुभयो ? पहिला पटक पटक असफल भएको यसपालि खतरा सफल भएर सिंगापुर बनाइदिन्छु भनेजस्सो हुँदैहुँदैन नि,’ झाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन
-
जति तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव छैन : शर्मा
-
सशस्त्रका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
-
मेचीनगर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा
-
सेन्ट जेभियर्स कलेजमा राष्ट्रियस्तरको ४८ घण्टे ह्याकाथन सम्पन्न