सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय
बेथिति

कोशी प्रदेश सरकारको दुईवटा भेन्टिलेटर ‘गायब’ !

आइतबार, २५ फागुन २०८१, १८ : ००
आइतबार, २५ फागुन २०८१

विराटनगर । कोशी प्रदेशको तत्कालीन सामाजिक विकास मन्त्रालयले २०७८ वैशाख ३० गते कोरोना महामारीको उपचारका लागि भन्दै विराट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई हस्तान्तरण गरेको दुईवटा भेन्टिलेटर गायब भएको छ । 

Ventiletor (2)

तत्कालीन सामाजिक विकास मन्त्री उषाकला राईको पालामा विश्वव्यापी महामारीको रूपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड–१९ बाट सङ्क्रमितहरूको संख्या बढ्दै गएको भन्दै कोभिड उपचार केन्द्रमा प्रयोग गर्ने गरी अस्पताललाई पाँचवटा नयाँ भेन्टिलेटर उपलब्ध गराइएको थियो । मन्त्रीस्तरीय निर्णय गरेर दिइएको उक्त भेन्टिलेटर मन्त्रालयलाई आवश्यक परेको बेला फिर्ता हुने गरी दिइएको हो । 

Ventiletor (4)

अस्पतालले भेन्टिलेटर उपलब्ध गराउनका लागि पत्र दिएकै दिन मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रालयले भेन्टिलेटर दिन कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरलाई निर्देशन दियो । सोही दिन उपचार केन्द्रका संयोजक बैजना साहले विराट मेडिकल कलेज टिचिङ हस्पिटलका बायोमेडिकल इन्जिनियर सुराजन अधिकारीलाई हस्तान्तरण गरेको थियो । 

Ventiletor (1)

तर, त्यस बेला दिइएको भेन्टिलेटरको अहिलेको अवस्था भने के हो ? भन्ने बारे स्वयं मन्त्रालय, तत्कालीन कोशी कोभिड उपचार केन्द्र (हाल शैलजा आचार्य हृदय रोग उपचार केन्द्र) र विराट मेडिकल कलेजलाई पनि थाहा छैन । 

भेन्टिलेटर फिर्ता गर्न भन्दै स्वास्थ्य मन्त्रालयले २०८० वैशाख १० गते मेडिकल कलेजलाई पत्राचार समेत गरेको थियो । तर, पाँचमध्ये ३ वटा भेन्टिलेटर २०७८ साउन ३१ गते नै फिर्ता भइसके पनि दुईवटा भेन्टिलेटर अहिलेसम्म फिर्ता नभएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता आस्था थापाले जानकारी दिइन् । 

Ventiletor (3)

‘मन्त्रालयले बेला बखत ताकेता गरिरहेको छ । त्यहाँ धेरै बिरामीको फ्लो हुने अस्पताल हो । सायद प्रयोग भइरहेको कारण हो कि किन हो फिर्ता भएको छैन,’ थापाले भनिन् । कोभिड महामारीको बेला स्वास्थ्य उपकरणहरू धेरै अस्पताललाई बाँडिएको भए पनि फिर्ता हुनुपर्ने उनले बताइन् । 

‘पुनः ताकेता गर्न मन्त्रीज्यूले पनि पहल गर्नुभएको छ,’ उनले भनिन् । भेन्टिलेटरको अवस्था के हो भन्ने विषयमा पनि आफूहरूलाई थाहा नभएको थापाको भनाइ छ । 

उता, विराट मेडिकल टिचिङ अस्पतालका सञ्चालक डाक्टर ज्ञानेन्द्र कार्कीले सरकारले दिएको ती भेन्टिलेटरहरूको अवस्थाबारे आफूलाई स्पष्ट जानकारी नभएको बताए । ‘हो र ? ती भेन्टिलेटरहरू त अवसान भइसके होला । यति लामो चल्छ र ? मेन्टनेन्समा होला कि । धेरै बिग्रने चिज हो । हामीले कत्ति किनिसक्यौँ, किनिसक्यौँ,’ कार्कीले भने । 

उनले भेन्टिलेटरको आयु धेरै ३ वर्षसम्म मात्रै हुने बताए । यद्यपि फिर्ता गरेन भन्नेहरुलाई कोभिडको बेलामा राज्यले भनेर नागरिकको उपचार गरेको साढे ७ करोडभन्दा बढी रकम भुक्तानी हुन बाँकी रहेको उनले बताए । 

‘कोभिडको बेलामा साढे ७ करोड बराबरको उपचार गरेको रकम राज्यले हामीलाई दिन बाँकी छ । त्यस्ता भेन्टिलेटरको मूल्यले भ्याउँदैन । हाम्रो भुक्तानी कसले गर्ने ?,’ उनले भने, ‘हामीले कोभिडको बेलामा जनतालाई दिएको सर्भिस हो । त्यस बेला थन्किनु भन्दा त हामीले ४० जना मानिसको ज्यान बचायौँ होला नि ? राज्यले हामीलाई उपयोग गरायो । अरू धेरै यन्त्र उपकरणहरू कति बाँडियो ? तिनीहरू कहाँ छन् ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप

छुटाउनुभयो कि ?