सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय
अटो

ऋतु सिंहको नेतृत्वमा अटो आयातकर्ताको छुट्टै संस्था गठन, के होला नाडाको भविष्य ?

आइतबार, २५ फागुन २०८१, १५ : ००
आइतबार, २५ फागुन २०८१

काठमाडौँ । फागुन ९ गते कम्पनी रजिष्ट्रार कार्यालयमा एउटा नाफा वितरण नगर्ने कम्पनी दर्ता भयो । यसको नाम हो– नेपाल अटोमोबाइल्स इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएशन ।

उक्त कम्पनीमा नेपालका चर्चित अटोमोबाइल्स व्यवसायी छन् । १० जना सहभागी रहेर खोलिएको उक्त संस्थाको नेतृत्व ऋतु सिंह वैद्यले गरेकी छन् । उनी नेपालका लागि टोयोटा मोटर्सको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटलाई प्रतिनिधित्व गर्छिन् ।

उक्त नाफा वितरण नगर्ने कम्पनीमा विभिन्न कम्पनीका तर्फबाट प्रतिनिधित्व देखिन्छ । जसमध्ये बीवाईडी गाडीको आधिकारिक विक्रेता साइमेक्स इंककी यमुना श्रेष्ठ, किया गाडीको आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका सुहृदराज घिमिरे तथा होन्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीका सौरभ ज्योति छन् ।

त्यस्तै, हुन्डाइको आधिकारिक विक्रेता लक्ष्मी मोटर्स कर्पोरेसनबाट निराकार श्रेष्ठ, बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीका अभिमन्यू गोल्छा, ओमोडा र जेकु गाडीको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सका सन्दिप शारडा, एमजी मोटर्सको आधिकारिक विक्रेता प्यारामाउन्ट मोटर्सका सिरिश कुमार मुरारका,  महिन्द्रा फोरह्विलरको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेडका क्याबिनेट श्रेष्ठ र सिट्रोन, प्युजा र लिप मोटरको आधिकारिक विक्रेता साङ्ग्रिला मोटर्सका हेमन्त गोल्छा छन् ।

उक्त कम्पनीमा टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ, यामाहाको आधिकारिक विक्रेता एमएडब्ल्यु इन्टरप्राइजेज, सुजुकीको आधिकारिक विक्रेता सीजी अटोमोटिभ्स, अशोक लेल्याण्डका गाडीको आधिकारिक विक्रेता आईएमई मोटर्स, टीभीएसका लागि आधिकारिक विक्रेता जगदम्बा मोर्टर्स लगायत नाडा अटोमोबाइल्स एशोसिएशनमा आवद्ध रहेका केही कम्पनीको मात्रै सहभागिता हुन बाँकी छ ।

नेपालमा गाडीको आयात, बिक्री एवं उत्पादन गरिरहेका केही कम्पनी मात्रै सहभागी भएर नयाँ संस्था गठन गरेसँगै अटोमोबाइल्स क्षेत्रको एकमात्रै संस्थाको रूपमा रहेको नाडा अटोमोबाइल्स एशोसिएशन फुटेको चर्चा छ । यद्यपि उक्त संस्था फुटेको भनेर कसैले स्वीकार गरेका छैनन् ।

अटोमोबाइल्सको सबै क्षेत्रलाई समेटे पनि नाडा अटोमोबाइल्स एशोसिएशनमा आयातकर्ताकै वर्चस्व रहँदै आएको थियो । हालसम्मको नेतृत्वमा निवर्तमान अध्यक्ष ध्रुव थापामात्रै आयातकर्ता इतरबाट नेतृत्वमा पुगेका हुन् ।

तीमध्ये कसैले पनि नाडाको सदस्यता त्यागेका छैनन् । नयाँ संस्थाको गठनपछि पनि नाडा नेतृत्वले ती कम्पनीहरूको सदस्यता कायम राख्ने प्रयास गरिरहेको बुझिएको छ ।

२०३२ सालमा स्थापना भएको नाडा तत्कालीन समयमा आयातकर्ताकै संस्थाको रूपमा रहेको थियो । नेपाल अटोमोबाइल्स डिलर्स एशोसिएशन नामको उक्त संस्थालाई छोटकारीमा नाडा भन्ने गरिएको थियो । केही वर्षअघि उक्त संस्थामा देशभरका वर्कशप, अटो पार्टर्स विक्रेता लगायत संघसंस्था समेत जोडिएपछि नाम परिवर्तन गरेर नाडा अटोमोबाइल्स एशोसिएशन राखिएको थियो । नयाँ गठन भएको संस्थाले पुरानो नाडालाई बिउँताउन खोजेजस्तो देखिन्छ ।

त्यसो त, अटोमोबाइल्सको सबै क्षेत्रलाई समेटे पनि नाडा अटोमोबाइल्स एशोसिएशनमा आयातकर्ताकै वर्चस्व रहँदै आएको थियो । हालसम्मको नेतृत्वमा निवर्तमान अध्यक्ष ध्रुव थापामात्रै आयातकर्ता इतरबाट नेतृत्वमा पुगेका हुन् । अहिलेका अध्यक्ष करण चौधरी पनि आयातकर्ताबाटै प्रतिनिधित्व गर्छन् ।

भावी अध्यक्षमा लागि सहमतिसमेत भइसकेका वर्तमान वरिष्ठ उपाध्यक्ष आकाश गोल्छासमेत आयातकर्ताकै प्रतिनिधित्व गर्छन् । आयातकर्ताकै नेतृत्व तथा प्रतिनिधित्वका बाबजुद नयाँ संस्था गठन हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

नाडाका पूर्वअध्यक्ष ध्रुव थापाले आफू अध्यक्ष भएको बेलामै यस्तो संस्था गठन गर्ने तयारी भएको तर सबैसँग समन्वय गरेर रोकिएको बताए । वर्तमान नेतृत्वले रोक्न नसक्दा नयाँ संस्था दर्ता भएको उनको भनाइ छ । उनले वर्तमान नेतृत्वले असन्तुष्ट पक्षका साथीहरूलाई समेट्न नसकेको धारणा राखे ।

उनले भने, ‘म जतिबेला नाडाको अध्यक्ष थिएँ, त्यति बेलादेखि नै नयाँ संस्था खोल्ने कुरा चलिरहेको थियो । मैले बारम्बार मिटिङ गर्दै उनीहरूसँग समन्वय गरेर अगाडि बढेँ । नाडाभित्र बिचमै एकाएक विवाद चर्कियो । अहिले नयाँ संस्था खोल्ने स्थिति सिर्जना भयो ।’

थापाले नाडामा वर्तमान नेतृत्व आएसँगै व्यवसायीहरूबिच असमझदारी बढ्दै गएको बताए ।

नेपाल अटोमोबाइल्स इम्पोटर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसनले स्थापनाको ९ वटा उद्देश्य सहित स्थापना भएको छ ।

खासगरी अटो शो गर्दाको विवादका कारण नाडामा छुट्टै संस्था स्थापना भएको नाडाका एक पदाधिकारी बताउँछन् । नाडाले प्रत्येक वर्ष नयाँ सवारी साधन, पार्टर्स अटोमोबाइल्स क्षेत्रसँग सम्बन्धित सम्पूर्ण वस्तु प्रदर्शनी गर्ने नाडा अटो शो आयोजना गर्दै आएको छ । उक्त शोमा धेरैजसो कारोबार यिनै आयातकर्ताबाट हुने गरेका छन् । नयाँ संस्थामा आवद्ध सदस्यले उक्त अटो शोमा सहभागिता नजनाउने वा छुट्टै अटो शो आयोजना गरेको अवस्थामा के हुन्छ भन्ने प्रश्न उब्जिएको छ ।

युनाइटेड ट्रेडर्स सिन्डिकेटका प्रबन्ध निर्देशक समेत रहेकी वैद्यको अध्यक्षतामा गठित संस्था ६ महिनाभित्रै कार्यसमितिको टुङ्गो लगाउने गरी दर्ता भएको छ । १० कम्पनीको सहभागिता रहेको कम्पनीमा १० सदस्यीय नै कार्यसमिति प्रस्ताव गरिएको छ । तदर्थ समितिको रूपमा रहेको अहिलेको समितिले ६ महिनाभित्र नयाँ कार्यसमिति बनाउने कम्पनीको नियमावलीमा उल्लेख छ ।

  • नयाँ संस्था स्थापना गर्नुका यस्ता छन् उद्देश्य

नेपाल अटोमोबाइल्स इम्पोटर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसनले स्थापनाको ९ वटा उद्देश्य सहित स्थापना भएको छ । नेपालको अटोमोबाइल व्यवसायीहरूबिच उत्पन्न असन्तुष्टिका बिचमा सवारी आयातकर्ता व्यवसायीहरू मिलेर खोलेको संस्थाले मुख्य रूपमा आयातकर्ताहरूको समस्या समाधान गर्न सरकारसँग समन्वय गर्ने उद्देश्यले राखेको छ । नयाँ संस्थाले अहिले नाडाले गर्दै आएकोभन्दा फरक दृष्टिकोण र रणनीतिका साथ अघि बढ्ने जनाएको छ ।

१.नेपालको अर्थतन्त्रको वृद्धि र विकासमा अटोमोबाइल उद्योगको योगदान अभिवृद्धि गर्ने, अटोमोबाइल उद्योगलाई आफ्नो सामाजिक दायित्व पूरा गर्न सहयोग गर्ने र नेपालमा विशेषगरी अटोमोबाइल उद्योगको दक्षतालाई प्रोत्साहन गर्ने

२.नीति निर्माण, सडक सुरक्षा र यातायात पूर्वाधारका लागि संघ, प्रदेश र स्थानीय तहका सरकारी विभागहरूसँग नजिकबाट सहकार्य गर्ने

३.अटोमोबाइल तथा सवारी साधन आयातकर्ता तथा उत्पादक समुदायको सर्वाङ्गीण विकासका लागि काम गर्ने

४.अटोमोबाइल आयातकर्ता र उत्पादक समुदायका लागि सिपमा आधारित तालिमहरू प्रदान गर्ने, चेतना जगाउने, नीति वकालत गर्ने र अन्य कल्याणकारी गतिविधिहरू सञ्चालन गर्ने

५.नेपालभित्र अटोमोबाइल, सडक सुरक्षा र सम्बन्धित विषयमा सेमिनार, कार्यशाला, प्रदर्शनी, कार्यक्रम र तालिम सत्रहरू आयोजना गर्ने गराउने

६.वातावरणको सुधारका लागि नातिगत वकालतमा संलग्न हुने र अटोमोबाइल प्रयोगकर्ता र सर्वसाधारणको सुरक्षा र संरक्षण सुनिश्चित गर्ने तथा सडक यातायातका लागि पूर्वाधार र प्रणालीको विकास गर्ने गराउने

७.आर्थिक र व्यावसायिक नीतिहरू, नियमहरू, मापदण्डहरू र अटोमोबाइल सम्बन्धी सम्बन्धित विषयहरूको तर्जुमा र सुधारमा विभिन्न सरोकारवालाहरूसँग सामूहिक रूपमा छलफल, वार्ता र नजिकबाट काम गर्ने

८.अटोमोबाइल व्यवसाय, सवारी साधनको पूर्वाधार र सडक सुरक्षाका सम्बन्धी विभिन्न विषयमा अनुसन्धान, प्रकाशन र सार्वजनिक नीतिसम्बन्धी प्रचारप्रसार गर्ने गराउने

९.नेपाल अटोमोबाइल उद्योगको तर्फबाट सरोकारवालाहरूलाई आर्थिक र तथ्याङ्कीय जानकारीका साथै प्राविधिक तथा सार्वजनिक नीति सेवाहरू उपलब्ध गराउने

  • यस्तो छ नाडाको इतिहास

नेपालमा सवारी साधनको प्रवेश र प्रयोगको लामो इतिहास भएको छैन । नेपालमा  वीर शमशेरको पालामा नेपालमा यातायातको सुरूवात भएको पाइन्छ । नेपालमा गाडी आउँदासमेत राजमार्गको विकास भएको थिएन ।

नेपालमा सडक यातायातको विस्तार सन् १९५१ मा भएको पाइन्छ । सन् १९५६ मा त्रिभुवन राजपथ बनेपछि काठमाडौँमा सवारी साधन चल्न थालेको भनिन्छ । त्यसपछिको तीन दशकपछि मात्रै नेपालमा अटोमोबाइल क्षेत्रले व्यावसायिक रूपमा लिन थालेको थियो ।

अटोमोबाइल क्षेत्रले नेपालमा व्यावसायिक रूपमा लिन थालेसँगै २०३२ सालको असोज १० गते स्व. तोलाराम दुगडको अध्यक्षतामा अटोमोबाइल व्यावसायिक हितको लागि संस्था स्थापना भएको इतिहास छ । संस्था स्थापना भएसँगै वि.स.२०३२ फागुन ६ गते ‘नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन’को नाममा काठमाडौँ जिल्ला प्रशासन कार्यलयमा विधिवत रूपमा संस्था दर्ता भएको थियो ।

संस्था स्थापनासँगै अटोमाबाइल क्षेत्र अहिले ठुलो क्षेत्रमा विस्तार भएको छ । अटोमोबाइल क्षेत्रका सबै खाले उद्योगी व्यवसायीहरलाई समेटेर अटो व्यवसायीहरूको हकहितको आवाज उठाउने बलियो संस्थाको रुपमा विकसित भइसकेको छ । त्यतिमात्र नभएर नाडा राज्यलाई राजस्वमा ठुलो योगदान पुर्‍याउने संस्थाका रुपमा समेत स्थापित भइसकेको छ ।

  • नाडालाई कस्तो असर पर्छ ?

२०७८ सालमा भएको निर्वाचनमा ध्रुव थापासँग अध्यक्षमा पराजित भएका करण चौधरी २०८० पुसमा नाडाको अध्यक्ष चयन भएका थिए । त्यसपछि नाडामा विवाद सिर्जना भएको थियो । नाडा विभाजन हुँदा बजारमा राम्रो सन्देश जाँदैन तर कार्यसमितिका उपाध्यक्ष र सदस्य सहितको सहभागितामा नयाँ संस्था स्थापना भइसकेको छ ।

नाडाका पूर्वअध्यक्ष ध्रुव थापाले नाडामा नयाँ नेतृत्व चयन भएदेखि व्यवसायीहरू बिच भएको विवाद मिलाउन नसक्दा नयाँ संस्था दर्ता भएको दाबी गरे ।

नाडाका पूर्वअध्यक्ष कृष्णप्रसाद दुलालले भने नाडा विभाजनको बाटोमा नभएको बताए । उनले नाडामा सबै एकीकृत रूपमै अघि बढेको भन्दै नयाँ संस्था दर्ता नाडामा सदस्यता रहने गरी आयातकर्ताहरूको लागि खोलिएको दाबी गरे ।

नयाँ संस्थाको जन्मले नाडालाई ठुलो प्रभाव पर्न सक्ने उनको बुझाइ छ । उनले नाडा विभाजित भएर अर्को संस्था खोलिनु व्यवसायीबिच ठुलो समस्या रहेको सन्देश प्रवाह भएको बताए ।

नाडाको वर्तमान नेतृत्वले विभाजन भएका कम्पनी र व्यक्तिहरूलाई सम्मानजनक रूपमा राख्न सक्नुपर्नेमा पूर्वअध्यक्ष थापाले जोड दिए । उनले भोलिको दिनमा अटोमोबाइल्स क्षेत्रका ठुला कम्पनी सबै नयाँ दर्ता भएको संस्थामा आवद्ध हुँदा नाडालाई ठुलो असर पर्ने अवस्था देखिएको दाबी गरे । उनले नाडा अटो शोसमेत नयाँ संस्थाले गर्न सक्ने धारणा राखे ।

त्यस्तै, नाडाका पूर्वअध्यक्ष कृष्णप्रसाद दुलालले भने नाडा विभाजनको बाटोमा नभएको बताए । उनले नाडामा सबै एकीकृत रूपमै अघि बढेको भन्दै नयाँ संस्था दर्ता नाडामा सदस्यता रहने गरी आयातकर्ताहरूको लागि खोलिएको दाबी गरे । पूर्वअध्यक्ष दुलालले नयाँ संस्था खोल्दैमा अटो व्यवसायीहरूको स्थापित संस्था नाडालाई खासै असर नपर्ने बताए ।

उनले भने, ‘जसमा हजारौँ व्यवसायी सदस्य छन्, त्यसमा कुनै असर पर्दैन । साथीहरूले नाडालाई विभाजन गर्ने गरी संस्था दर्ता नगरेको भन्ने लाग्छ ।’

अर्का पूर्वअध्यक्ष शम्भु दाहालले नाडा विभाजन भएको आफूलाई विश्वास नलागेको बताए । उनले विभाजन भएको भए पनि विभाजन गर्न नहुने उनको भनाइ थियो । उनले अहिलेसम्म विभाजनबारे आफूलाई जानकारी नआएको उल्लेख गरे । 

नयाँ संस्था आवद्ध हुनेहरूले भने नाडासँग प्रतिस्पर्धा गर्नभन्दा पनि आयातकर्ता व्यवसायीका नयाँ मागहरू सम्बोधन गर्न र सवारी आयातसँग सम्बन्धित समस्या समाधान गर्न केन्द्रित रहने दाबी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिष मिजार
अनिष मिजार
लेखकबाट थप

छुटाउनुभयो कि ?