न्युजिल्यान्डसँग दोस्रो संस्करणको फाइनलमा भोगेको हारको बदला लिने धुनमा भारत

काठमाडौँ । ‘मिनी विश्वकप’ को नामले परिचित आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको नवौँ संस्करणको उपाधिका लागि आइतबार दुई पूर्वविजेता टोलीबिच भिडन्त हुँदैछ । प्रतियोगिताको फाइनलमा भारतले बलियो प्रतिद्वन्द्वी न्युजिल्यान्डको सामना गर्नेछ ।
खेल संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समय अनुसार, दिउँसो १४ः४५ बजे सुरु हुनेछ । यी दुबै टोली च्याम्पियन्स ट्रफीको पूर्वविजेता पनि हुन् । भारतले हालसम्म दुईपटक च्याम्पियन्स ट्रफीको उपाधि चुमेको छ ।
न्युजिल्यान्डले भने हालसम्म एकपटक उपाधि जितेको छ । भारतका लागि यो च्याम्पियन्स ट्रफीकै फाइनलमा विगतमा न्युजिल्यान्डसँग भोगेको नमिठो पराजयको बदला लिने उपयुक्त अवसर पनि हो । सन् २००० मा सम्पन्न दोस्रो संस्करणको फाइनलमा न्युजिल्यान्डले भारतलाई हराएको थियो ।
पछिल्लो समय लयमा देखिएको न्युजिल्यान्ड भने आफूलाई दुईपटक उपाधि चुम्ने तेस्रो राष्ट्रका रुपमा उभ्याउने अभियानमा छ । हालसम्म अस्ट्रेलिया र भारतले मात्र दुई–दुईपटक च्याम्पियन्स ट्रफीको उपाधि जित्न सकेका छन् ।
च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा भारत र न्युजिल्यान्डबिच दोस्रो पटक भिडन्त हुन लागेको हो । प्रारम्भिक चरणमा यी दुबै टोली एउटै समूहमा थिए । समूह ‘ए’ बाट भारत पहिलो र न्युजिल्यान्ड दोस्रो हुँदै सेमिफाइनलमा पुगेका थिए ।
न्युजिल्यान्डको टोली समूहगत चरणमा भारतसँग पराजित भएको थियो । न्युजिल्यान्डका लागि पनि उक्त हारको बदला लिने यो नै उपयुक्त अवसर हो । त्यसैले पनि आइतबारको फाइनल खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा घोषित पछिल्लो एकदिवसीय वरीयतामा भने किविज टोलीभन्दा भारत केही अगाडि छ । पछिल्लो आईसीसी वरीयतामा भारत पहिलो र न्युजिल्यान्ड चौथो स्थानमा आसिन छन् ।
भारतको फाइनल यात्रा
जारी च्याम्पियन्स ट्रफीमा भारत समूहगत चरणको तीनवटै खेल जित्दै सेमिफाइनलमा पुगेको थियो । भारतीय टोली ६ अंकसहित समूह ‘ए’ को विजेता बनेको थियो । उक्त समूहबाट चार अंकसहित न्युजिल्यान्ड दोस्रो हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
भारतीय टोलीले आफ्नो पहिलो खेलमा बंगलादेशलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा भारतीय टोलीले चिर प्रतिद्वन्द्वी पाकिस्तानमाथि ६ विकेटको जित हासिल गरेको थियो । आफ्नो तेस्रो खेलमा भने भारतले न्युजिल्यान्डलाई ४४ रनले पराजित गरेको थियो ।
यसैगरी, भारतीय टोलीले प्रतियोगिताको सेमिफाइनल भिडन्तमा दुईपटकको च्याम्पियन्स अस्ट्रेलियालाई चार विकेटले हराएको थियो । जारी च्याम्पियन्स ट्रफीमा आफूले खेलेको चारवटै खेल जित्ने भारत एकमात्र टोली पनि हो ।
भारतीय टोलीले आफ्नो सबै खेल एउटै रंगशालामा खेलेको छ । सुरक्षाको कारण देखाउँदै पाकिस्तान भ्रमणमा नगएपछि भारतीय टोलीले सबै खेल दुबई अन्तर्राष्ट्रिय स्टेडियममा खेल्ने अवसर पाएको हो । जारी प्रतियोगितामा सबै खेल एउटै स्टेडियममा खेल्ने भारत एकमात्र टोली पन हो ।
न्युजिल्यान्डको फाइनल यात्रा
च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा न्युजिल्यान्ड समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । उक्त समूहबाट भारत विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । समूहगत चरणमा न्युजिल्यान्डले आफूले खेलेको तीनमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकाल्यो ।
न्युजिल्यान्डले प्रतियोगिताको उद्घाटन खेलमा आयोजक राष्ट्र पाकिस्तानलाई ६० रनले हराएको थियो । आफ्नो दोस्रो खेलमा न्युजिल्यान्डले बंगलादेशलाई पाँच विकेटले पराजित गरेको थियो । तेस्रो तथा अन्तिम खेलमा भने न्युजिल्यान्डको टोली भारतसँग ४४ रनले पराजित भएको थियो ।
सेमिफाइनल खेलमा भने न्युजिल्यान्डले बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकालाई ५० रनको फराकिलो अन्तरले हराएको थियो । जारी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डले हालसम्म चारवटै खेल चार फरक स्टेडियममा खेलेको छ ।
न्युजिल्यान्डले पहिलो खेल पाकिस्तानको कराँचीमा, दोस्रो खेल पाकिस्तानकै रावलपिण्डीमा र तेस्रो खेल यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलेको थियो । न्युजिल्यान्डले सेमिफाइनल खेल भने पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा खेलेको थियो । चारवटा खेल फरक रंगशालामा खेल्ने न्युजिल्यान्ड एकमात्र टोली पनि हो ।
च्याम्पियन्स ट्रफीमा भारत
भारतले च्याम्पियन्स ट्रफीमा पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ । च्याम्पियन्स ट्रफीमा भारतको यो नवौँ सहभागिता हो । भारतले हालसम्म दुईपटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ ।
च्याम्पियन्स ट्रफीको इतिहासमा यस्तो उपलब्धि हासिल गर्ने भारत दोस्रो टोली हो । दुई पटक च्याम्पियन्स ट्रफीको उपाधि चुम्ने पहिलो राष्ट्र भने अस्ट्रेलिया हो । भारतले पहिलो पटक सन् २००२ मा आयोजित तेस्रो संस्करणको उपाधि चुमेको थियो ।
त्यतिबेला आयोजक श्रीलंका र भारत प्रतियोगिताको फाइनलमा पुगेका थिए । फाइनल खेल वर्षाका कारण रद्द भएको थियो । त्यसपछि अर्को दिन फाइनल खेल राखिएको थियो । दोस्रो दिनको फाइनल खेल पनि वर्षाका कारण रद्द भएपछि दुबै टोलीलाई संयुक्त रुपमा विजेता घोषित गरिएको थियो ।
च्याम्पियन्स ट्रफीको इतिहासमा दुईवटा राष्ट्रलाई संयुक्त रुपमा विजेता घोषित गरिएको यो पहिलो पटक थियो । च्याम्पियन्स ट्रफीमा भारतले पहिलो उपाधि चुम्दा सौरभ गांगुली कप्तान थिए ।
यसैगरी, सन् २०१३ मा भारतले दोस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि चुमेको थियो । त्यतिबेला भारतले फाइनलमा आयोजक इङ्ल्यान्डलाई पाँच रनले हराउँदै उपाधि हात पारेको थियो । त्यतिबेला भारतीय टोलीका कप्तान थिए, महेन्द्रसिंह धोनी ।
यसका अतिरिक्त, सन् २००० मा आयोजित च्याम्पियन्स ट्रफीको दोस्रो संस्करण र सन् २०१७ मा आयोजित आठौँ संस्करणमा पनि भारत फाइनलसम्म पुगेको थियो । भारतीय टोली सन् २००० को फाइनलमा न्युजिल्यान्डसँग चार विकेटले र सन् २०१७ को फाइनलमा पाकिस्तानसँग एक सय ८० रनले पराजित भएको थियो ।
च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्ड
न्युजिल्यान्डले सन् १९९८ मा सम्पन्न पहिलो संस्करणदेखि नै आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा सहभागिता जनाउँदै आएको छ । त्यसैले आईसीसी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डको पनि यो नवौँ सहभागिता हो ।
न्युजिल्यान्डले हालसम्म एकपटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । न्युजिल्यान्डले सन् २००० केन्यामा आयोजित दोस्रो संस्करणको फाइनलमा बलियो प्रतिद्वन्द्वी भारतलाई चार विकेटले हराउँदै उपाधि चुमेको थियो ।
आईसीसीद्वारा आयोजित सिनियर स्तरको ठुला प्रतियोगिताहरुमा न्युजिल्यान्डले जितेको यो एकमात्र उपाधि पनि हो । त्यतिबेला न्युजिल्यान्डका कप्तान थिए, स्टिफन फ्लेमिङ । न्युजिल्यान्डको टोलीमा नाथन एस्टल, क्रिस क्रेन्स, क्रेग म्याकमिलन, क्रिस ह्यारिस, एडम परोरे, स्कट स्टाइरिस लगायतका प्रभावशाली खेलाडी थिए ।
यसदेखि वाहेक न्युजिल्यान्ड सन् २००९ मा सम्पन्न छैटौँ संस्करणमा पनि फाइनलसम्म पुगेको थियो । त्यतिबेला न्युजिल्यान्डको टोली फाइनलमा बलियो छिमेकी प्रतिद्वन्द्वी अस्ट्रेलियासँग ६ विकेटले पराजित भएको थियो ।
च्याम्पियन्स ट्रफीमा तेस्रो भिडन्त
भारत र न्युजिल्यान्डबिच आईसीसी च्याम्पियन्स ट्रफीमा हालसम्म दुईपटकमात्र भिडन्त भएको छ । त्यसैले आइतबार यी दुई टोली च्याम्पियन्स ट्रफीमा तेस्रो पटक आमने–सामने हुनेछन् । हालसम्मको अघिल्ला दुई भिडन्तमा दुबै टोलीले एक–एक खेल जितेका छन् ।
च्याम्पियन्स ट्रफीको इतिहासमा सबैभन्दा पहिले भारत र न्युजिल्यान्डबिच सन् २००० मा भिडन्त भएको थियो । त्यतिबेला च्याम्पियन्स ट्रफीको फाइनलमै यी दुई टोली आपसमा भिडेका थिए । त्यो फाइनलमा न्युजिल्यान्डले भारतलाई चार विकेटले हराउँदै दोस्रो संस्करणको उपाधि जितेको थियो ।
त्यतिबेला टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतले ६ विकेट गुमाएर दुई सय ६४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको न्युजिल्यान्डले भने ४९.४ ओभरमा ६ विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो ।
त्यसपछि एकैपटक भारत र न्युजिल्यान्डबिच नवौँ संस्करणको समूहगत चरणमा भिडन्त भएको थियो । उक्त खेलमा भारतले न्युजिल्यान्डलाई ४४ रनले हराएको थियो । त्यसैले पनि आइतबार हुने फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
एकदिवसीय भिडन्तमा भारत अगाडि
एकदिवसीय अन्तर्राष्ट्रिय भिडन्तको इतिहासलाई हेर्दा भने न्युजिल्यान्डभन्दा भारत बलियो देखिन्छ । हालसम्म यी दुई टोलीबिच कुल एक सय १९ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको छ । त्यसमध्ये भारतले न्युजिल्यान्डलाई ६१ खेलमा हराएको छ ।
न्युजिल्यान्डले भने ५० एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा भारतलाई पराजित गरेको छ । यी दुई टोलीबिचको सात खेल भने अनिर्णित रुपमा सकिएको छ । यसका अतिरिक्त, एक खेल बराबरीमा टुंगिएको छ ।
यी दुबै टोलीबिच अर्को एउटा रमाइलो संयोग पनि रहेको छ । ‘न्यूट्रल भेन्यू’ मा भारत र न्युजिल्यान्डले हालसम्म १६–१६ पटक एक–अर्कालाई हराएका छन् । आगामी आइतबार न्युजिल्यान्ड र भारतबिचको फाइनल खेल पनि ‘न्यूट्रल भेन्यू’ मै खेलिँदै छ ।
पछिल्ला ६ खेलमा लगातार भारत विजयी
भारत र न्युजिल्यान्डबिच खेलिएको पछिल्ला ६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा भारतीय टोलीले जित हात पार्दै आएको छ । सन् २०२३ को जनवरी १८ तारिखमा खेलिएको खेलमा भारतले न्युजिल्यान्डलाई १२ रनले हराएको थियो ।
यसैगरी, सन् २०२३ कै जनवरी २१ तारिखमा खेलिएको खेलमा पनि भारतले किविज टोलीलाई आठ विकेटले पराजित गरेको थियो । सन् २०२३ को २४ तारिखमा खेलिएको अर्को खेलमा भारतले न्युजिल्यान्डलाई ९० रनले हराएको थियो ।
सन् २०२३ को अक्टोबर २२ मा खेलिएको खेलमा पनि भारतले किविज टोलीलाई चार विकेटले हराएको थियो । सन् २०२३ को नोभेम्बर १५ मा खेलिएको खेलमा भारतले न्युजिल्यान्डलाई ७० रनले हराएको थियो । सन् २०२५ को मार्च २ मा खेलिएको खेलमा पनि भारतले न्युजिल्यान्डलाई ४४ रनले पराजित गरेको थियो ।
भारतको सर्वाधिक रन विराट कोहलीको नाममा
जारी च्याम्पियन्स ट्रफीमा हालसम्म भारतका लागि सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान विराट कोहली हुन् । अनुभवी ब्याट्सम्यान विराटले चार खेलमा कुल दुई सय १७ रन बनाएका छन् । यस क्रममा उनले एक शतक र एक अर्धशतक पनि बनाएका छन् ।
कोहलीले पाकिस्तानविरुद्ध शतक बनाएका थिए । भारतका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा दोस्रो स्थानमा श्रेयष ऐयर रहेका छन् । उनले चार खेलमा कुल एक सय ९५ रन बनाइसकेका छन् । यस क्रममा उनले दुई अर्धशतक प्रहार गरेका छन् ।
भारतका लागि सर्वाधिक विकेट लिने बलर भने मोहम्मद सामी हुन् । उनले चार खेलमा आठवटा विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन भने ५३ रन खर्चिएर पाँच विकेट हो । भारतका लागि दोस्रो सर्वाधिक विकेट लिने बलर वरुण चक्रवर्ती हुन् । उनले दुई खेलमा सात विकेट लिएका छन् ।
लयमा छन् न्युजिल्यान्डका म्याट हेनरी र रचिन रवीन्द्र
जारी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान रचिन रवीन्द्र हुन् । यी युवा ब्याट्सम्यानले तीन खेलमा कुल दुई सय २६ रन बनाइसकेका छन् । यस क्रममा उनले दुईवटा शतक बनाएका छन् ।
च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा दुईवटा शतक बनाउने उनी एकमात्र ब्याट्सम्यान हुन् । जारी च्याम्पियन्स ट्रफीमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पनि रचिन रवीन्द्र दोस्रो स्थानमा आसिन छन् ।
न्युजिल्यान्डका लागि दोस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान टम लाथम हुन् । उनले न्युजिल्यान्डका लागि हालसम्म चार खेल खेल्दै कुल एक सय ९१ रन बनाइसकेका छन् । यस क्रममा उनले एक शतक र एक अर्धशतक प्रहार गरेका छन् ।
जारी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डका लागि सर्वाधिक विकेट लिने बलर भने म्याट हेनरी हुन् । उनले चार खेलमा १० विकेट लिइसकेका छन् । उनको उत्कृष्ट प्रदर्शन भने ४२ रन खर्चिएर पाँच विकेट हो । उनी जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने बलरको सूचिमा पहिलो स्थानमा छन् ।
न्युजिल्यान्डका लागि दोस्रो सर्वाधिक विकेट लिने बलर मिचेल सान्टनर हुन् । उनले चार खेलमा सात विकेट लिएका छन् । एउटै खेलमा उनको उत्कृष्ट प्रदर्शन भने ४३ रन खर्चिएर तीन विकेट हो ।
ब्याट्सम्यानलाई अप्ठ्यारो पार्न सक्ने पिच
भारत र न्युजिल्यान्डबिच उपाधि भिडन्त हुने दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको पिच भने ब्याट्सम्यानहश्रका लागि सहज छैन । यो स्टेडियममा हालसम्म च्याम्पियन्स ट्रफीको चार खेल खेलिएको छ ।
मन्द गतिको पिच भएकाले यो स्टेडियममा खेलिएको चारमध्ये एक खेलमा मात्र दुई सय ५० भन्दा बढी रन बन्न सकेको छ । ‘स्लो पिच’ भएकाले भारतीय टोलीका स्पिनरहरुले यो स्टेडियमको भरपुर फाइदा उठाउन सक्ने सम्भावना देखिन्छ ।
त्यसमाथि अघिल्ला चार खेल यही स्टेडियममा खेलेकाले पनि भारतीय खेलाडी यो स्टेडियममा अभ्यस्त भइसकेका छन् । यो स्टेडियममा जवाफी ब्याटिङ गर्ने टोलीले बढी खेल जितेका छन् । पछिल्ला चारमध्ये तीन खेल जवाफी ब्याटिङ गर्ने टोलीले जितेका छन् । यस्तो स्थितिमा टस जित्ने टोलीले पहिले फिल्डिङ रोज्न सक्ने सम्भावना देखिन्छ ।
यो स्टेडियममा हालसम्म ६२ एकदिवसीय खेल खेलिएको छ । त्यसमध्ये पहिले ब्याटिङ गर्ने टोलीले २३ र जवाफी ब्याटिङ गर्ने टोलीले ३७ खेल जितेका छन् । एक खेल बराबरीमा सकिएको छ भने एक खेल अनिर्णित रुपमा टुंगिएको छ ।
यो स्टेडियममा बनेको उच्च स्कोर भने पाँच विकेट गुमाएर तीन सय ५५ रन हो । उक्त स्कोर सन् २०१५ मा इङ्ल्यान्डले पाकिस्तानविरुद्ध बनाएको थियो ।
छैन वर्षाको सम्भावना
न्युजिल्यान्ड र भारतबिच फाइनल खेल हुने दिन आइतबार दुबईको मौसम सफा रहने छ । वर्षाको सम्भावना नरहेको त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दुबईको तापमान २४ देखि ३३ डिग्री सेल्सियसको बिचमा रहने छ । हावाको गति भने १७ किलोमिटर प्रति घण्टा रहने छ ।
भारत र न्युजिल्यान्डको सम्भावित टोली
- भारत : रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयष ऐयर, केएल राहुल, हार्दिक पाण्ड्या, अक्षर पटेल, रवीन्द्र जडेजा, कुलदीप यादव, मोहम्मद सामी र वरुण चक्रवर्ती ।
- न्युजिल्यान्ड : मिचेल सान्टनर (कप्तान), विल योङ, रचिन रवीन्द्र, केन विलियम्सन, ड्यारल मिचेल, टम लाथम, ग्लेन फिलिप्स, माइकल ब्रासवेल, म्याट हेनरी, काइल जामिसन र विलियम ओ’रुर्क ।
ICC Champions Trophy, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जति तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव छैन : शर्मा
-
सशस्त्रका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
-
मेचीनगर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा
-
सेन्ट जेभियर्स कलेजमा राष्ट्रियस्तरको ४८ घण्टे ह्याकाथन सम्पन्न
-
भारतको बदला पूरा, रेकर्ड तेस्रोपटक च्याम्पियन्स ट्रफीको उपाधि
-
१० बजे १० समाचार : पूर्वराजाको स्वागतमा समर्थकको लस्कर, ‘शक्तिशाली’ सरकार चेपुवामा