आइतबार, २५ फागुन २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : बढ्दो सम्बन्धविच्छेद

किन टिक्दैनन् सेलिब्रेटीका विवाह ?

हतारमा बिहे, डिभोर्सपछि संन्यासी !
आइतबार, २५ फागुन २०८१, ०९ : ५४
आइतबार, २५ फागुन २०८१

काठमाडौँ । चर्चित गायिका एलिना चौहान र गायक विष्णु सापकोटाको वैवाहिक सम्बन्ध १० महिनामै पूर्णविराम लाग्यो । उनीहरूले गत माघ २९ गते औपचारिक रूपमै सम्बन्धविच्छेद गरेका हुन् । काठमाडौँ जिल्ला अदालतमा एलिनाले दायर गरेको निवेदनबमोजिम अदालतले नै उनीहरूलाई छुट्याइदियो । 

गत वैशाखमा उनीहरूबिच विवाह भएको थियो । केही वर्ष लामो प्रेमलाई एलिना र विष्णुले विवाहमा परिणत गरेका थिए । उनीहरू जति प्रेम सम्बन्धमा रहे, त्यति समय पनि विवाह टिकाउन सकेनन् । एलिनाले असमझदारी र पारिवारिक हिंसा नै सम्बन्धविच्छेदको कारण बताएकी छन् ।

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबिच २०७७ सालमा विवाह भएको थियो । दुई वर्षको प्रेम सम्बन्धलाई यी दुईले पनि वैवाहिक सम्बन्धमा परिणत गरेका थिए । यी दुईको वैवाहिक जीवन पनि लामो समय टिक्न सकेन । २०८० चैतमा काभ्रे जिल्ला अदालतमा दुईले सम्बन्धविच्छेद गरे । आफूहरूबिच असमझदारी बढेकोले छुट्टिएको निशानले डिभोर्सपछि प्रतिक्रिया दिएका थिए ।

अभिनेत्री वर्षा सिवाकोटी र अमेरिका बस्दै आएका आशीष गेलालको सम्बन्ध पनि नौ महिनामै टुट्यो । यी दुईले २०७९ वैशाखमा काठमाडौँको एक रिसोर्टमा धुमधामसँगले बिहे गरेका थिए । विवाहलगत्तै वर्षा अमेरिका पुगेकी थिइन् । केही महिनामा नेपाल फर्किँदा सम्बन्धमा दरार आएको हल्ला चलेको थियो । केही समयपछि डिभोर्स नै भयो ।

छिटो विवाह गरेकाले एकअर्कालाई बुझ्न नसकिएको र असमझदारी बढेपछि डिभोर्स गर्नुपरेको वर्षाले भनेकी थिइन् । 

अभिनेत्री शिल्पा पोखरेल र फिल्म निर्माता छविराज ओझाबिच त लामो समय सम्बन्धमा दरार आयो । २०७९ फागुनमा उनीहरू औपचारिक रूपमै अलग भएका थिए । काठमाडौँ जिल्ला अदालतले अंशवण्डासहित भर्खरै सम्बन्धविच्छेद गराइदियो । 

रेखा थापासँग सम्बन्धविच्छेद भएपछि छविले शिल्पासँग प्रेम गरेका थिए । २०७३ असारमा विवाह गरेका यी करिब तीन वर्षमै (२०७६) घरायसी झगडाका कारण अलग्गिने निर्णयमा पुगेका थिए । 

भर्खर मात्र अभिनेत्री अरुणिमा लम्सालको पनि पतिसँग सम्बन्ध ठिक नरहेको चर्चा चलेको छ । गत भदौमा सुनसरीको चतारा स्थायी घर भएका युवराज श्रेष्ठसँग उनको विवाह भएको थियो । लम्सालले श्रीमान्सँग सम्बन्ध राम्रो नभएको संकेत सामाजिक सञ्जालबाट गरेकी थिइन् । पछिल्लो समय अमेरिका बस्दै आएकी उनले सामाजिक सञ्जालबाट श्रीमान्सँगका सबै तस्बिर हटाएपछि सम्बन्धमा खटपट आएको चर्चा चलेको हो । 

कलाकारहरूले गरेका सम्बन्धविच्छेदका माथिका केही उदाहरण मात्र हुन् । नेपाली कला क्षेत्रलाई नियाल्ने हो भने यस्ता धेरै कलाकर्मी भेटिन्छन्, जसको सम्बन्ध जोडिनभन्दा तोडिन छिटो भएको छ । 

आखिर किन चाँडै बिग्रिन्छ कलाकारको वैवाहिक सम्बन्ध ? यसबारे चर्चा गरौँ 

तर कलाकारको मात्र होइन, छिटो सम्बन्ध बिग्रिने अरू पनि धेरै छन् । तर बाहिर चर्चा नभएकाले हामीलाई यसबारे खासै जानकारी नहुने बताउँछिन् लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष तथा गायिका रीता थापामगर । 

चर्चा कलाकारको हुने भएकाले त्यस्तो देखिएको उनको तर्क छ । ‘एकले अर्कोलाई राम्रोसँग नबुझी विवाह गर्नु नै सम्बन्ध बिग्रनुको पहिलो कारण भएको उनी बताउँछिन् । ‘केही दिनको चिनजान र आकर्षणलाई माया भनेर पनि सम्बन्ध जोड्छन्,’ उनले भनिन्, ‘त्यस्तो सम्बन्ध लामो समय टिक्दैन ।’ 

ठुला महत्त्वाकाङ्क्षा राख्ने र त्यो पूरा नहुँदा पनि सम्बन्ध तोडिने गरेका उनले बताइन् । ‘सबैभन्दा ठुलो कुरो दुई घरको संस्कार के हो थाहा हुँदैन । त्यो नमिल्दा पनि छिटो सम्बन्ध तोडिएको छ’, थापामगरले भनिन् । 

कलाकार निरौला र गायिका मगरको भन्दा अझ बेग्लै धारणा राख्छिन् समाजशास्त्री निर्मला ढकाल । कलाकारको सम्बन्ध छिटो बिग्रनुमा आर्थिक स्वतन्त्रतासँग जोड्छिन् उनी । 

तर थापामागरको भन्दा केही भिन्न धारणा राख्छन् कलाकार संघका अध्यक्ष मोहन निरौला । शंका, सफलता, लामो समय परिवारसँग अलग रहनु र अन्यत्र सम्बन्ध बन्नु पनि सम्बन्ध बिग्रिनुको कारण भएको उनी मान्छन् । 

‘व्यस्तताका कारण कलाकारले घर–परिवारलाई समय दिन पाउँदैनन्,’ निरौला भन्छन्, ‘सबैले आफ्नो मान्छेसँग समय खोज्छ, परिवारले घरमा एक किसिमको व्यवस्था खोज्छ ।’ कतिपयले परिवारभन्दा करिअरलाई महत्त्व दिँदा पनि सम्बन्ध बिग्रिएको निरौलाले बताए । ‘आजको उदार समाज र समय बुझ्न नसकेका कारण कतिपयको घरबार बिग्रिएको छ’, उनले भने । 

कलाकार निरौला र गायिका मगरको भन्दा अझ बेग्लै धारणा राख्छिन् समाजशास्त्री निर्मला ढकाल । कलाकारको सम्बन्ध छिटो बिग्रनुमा आर्थिक स्वतन्त्रतासँग जोड्छिन् उनी । 

‘जब महिला आर्थिक रूपमा सबल हुन्छन्, त्यसपछि उनीहरूलाई श्रीमान्को भरमा बाँधिएर बस्नुपर्छ भन्ने अवस्था आउँदैन’, ढकालले भनिन्, ‘जति महिलाको आर्थिक स्वतन्त्रता बढ्दै जान्छ, त्यति नै सम्बन्धविच्छेद बढ्दै जान्छ ।’ दुःखी भएर बन्धनमा बस्नुभन्दा खुसीसाथ आफ्नो बाटो लाग्नु नै बेस हुने उनको तर्क छ । 

  • क–कसको भयो डिभोर्स ?

कलाकारको सम्बन्ध विच्छेदको लिस्ट तयार गर्ने हो भने लामै हुन्छ । फिल्म होस् वा गीतसंगीत । थिएटर होस् वा फेसन मोडलिङ । सबै क्षेत्रका सेलिब्रेटीको सम्बन्धविच्छेद भएका छन् ।

अभिनेत्री रेखा थापा र निर्माता छविराज ओझा, अभिनेता भुवन केसी र अभिनेत्री सुस्मिता केसी, निर्देशक श्याम भट्टराई र अभिनेत्री रञ्जना शर्मा, अभिनेत्री पूजा चन्द र निर्देशक सुरज चन्द, अभिनेत्री सञ्चिता लुइँटेल र अभिनेता आकाश साह, अभिनेता शिव श्रेष्ठ, अभिनेत्री वर्षा सिवाकोटी, प्रियंका कार्की, छुल्ठिम गुरुङ, पूजा लामा, मौसमी मल्ल, रिमा विश्वकर्मा, उषा खड्गी, मनोज गजुरेल, रमेश उप्रेतीलगायत थुप्रै कलाकारको सम्बन्धविच्छेद भइसकेको छ ।

वैवाहिक सम्बन्ध अलग्याउनेमा गीतसंगीत क्षेत्रका पनि थुप्रै कलाकार छन् । ती अञ्जु पन्त, मनोजराज, धीरज राई, मिलन अमात्य, सपनाश्री, बबिता बानियाँ, मधु क्षत्री, मञ्जु पौडेल, माल्भिका सुब्बा, रामकृष्ण ढकाललगायत हुन् । 

गायिका थापामगर कलाकारको डिभोर्सले समाजमा नकारात्मक प्रभाव पार्ने बताउँछिन् ।
  • समाजमा प्रभाव ?

आर्थिक वर्ष २०८०/०८१ मा काठमाडौँ जिल्ला अदालतमा सम्बन्धविच्छेदका  लागि फिराद दर्ता गर्नेको संख्या ४ हजार ४ सय ६६ छ । सम्बन्धविच्छेद भने ३ हजार ९ सय ६५ जनाको भएको छ । अर्थात् यसलाई आधार मान्दा बर्सेनि देशभर निकै ठुलो संख्यामा सम्बन्धविच्छेद हुने गरेको छ । तर यो संख्या सेलिब्रेटीको एक प्रतिशत पनि हुन मुस्किल छ ।

तर चर्चा भने सेलिब्रेटीकै हुन्छ । सेलिब्रेटीको डिभोर्सले कहिलेकाहीँ समाजमा सकारात्मक प्रभाव पार्छ भने कतिपय अवस्थामा नकारात्मक प्रभाव पार्ने कलाकारहरू नै बताउने गर्छन् । 

गायिका थापामगर कलाकारको डिभोर्सले समाजमा नकारात्मक प्रभाव पार्ने बताउँछिन् । ‘त्यति पपुलर कलाकारको डिभोर्स हुन्छ । हाम्रो भए के हुन्छ र भन्ने खालको नकारात्मक सोच समाजमा विकास भएको देख्न सकिन्छ’, उनी भन्छिन्, ‘यसले परिवार जोड्न हैन, तोड्न प्रेरित गर्छ, परिवार जोडिनुको साटो तोडिँदै जाँदा सामाजिक संरचना, परिवारको महत्त्व, संस्कार भोलिको दिनमा कहाँ पुग्छ ?’  

गायिका थापामगरको तर्कमा सहमति जनाउँछिन् वरिष्ठ कलाकार वसुन्धरा भुसाल । कलाकार समाजको ऐना भएको र कलाकारको क्रियाकलाप सर्वसाधारणले फलो गर्ने भएकोले यसले समाजमा सकारात्मक नकारात्मक दुवै प्रभाव पार्ने उनले बताइन् । 

‘कलाकारको फेसन, हाउभाउजस्तै यस्ता विषय पनि समाजमा फल्यो भने हाम्रो समाज कहाँ पुग्छ ?’, भुसाल भन्छिन्, ‘कतिपय अवस्थामा पीडित भएर, अन्याय सहेर बस्नुभन्दा छुट्टिनु ठिक भन्ने सकारात्मक सन्देश पनि जान्छ ।’

सेलिब्रेटीको डिभोर्सले समाजमा सकारात्मक प्रभाव पार्ने समाजशास्त्री निर्मला ढकाल बताउँछिन् । सेलिब्रेटीहरूको डिभोर्सले कतिपय अवस्थामा समाजमा छुट्टिएर खुसीसँग जिउन सकिन्छ भनेर प्रेरितसमेत गर्ने उनको बुझाइ छ । 

‘छुट्टिएर बस्दा पनि महिलाले छोराछोरी सम्हाल्न सक्दा रहेछन् भन्ने केही घटनाले देखाएका छन् । बाबुले भर्नुपर्ने एउटा कुरो होला । तर छोराछोरी बुबाभन्दा बढी आमासँग नजिक रहन्छन् । केयरटेकरका रूपमा आमासँग बसेका देखिन्छन् । कानुनले पनि आमालाई बढी प्राथमिकता दिएको छ’, ढकाल थप्छिन् ‘एउटा परिवार अगाडि लैजाने कुरामा महिलाले एक्लै पनि सक्छिन् भन्ने घटनाक्रमले देखाएको छ ।’

  • दोस्रो घरबार कति सहज ?

अभिनेत्री रेखा थापा छविराज ओझासँग सम्बन्धविच्छेदपछि बलराम शाहीसँग घरजम गरेर सुखद दाम्पत्य जीवन बिताइरहेकी छन् । उनको अहिले एउटा छोरी भएको छ । वरिष्ठ हास्य कलाकार मनोज गजुरेल पत्नी मीना ढकालसँगको सम्बन्धविच्छेदपछि मञ्जु पोखरेलसँग दोस्रो घरबारमा छन् । 

त्यस्तै अभिनेत्री प्रियंका कार्की यतिखेर अभिनेता आयुष्मान देशराज जोशीसँगको घरजममा खुसी देखिन्छिन् । यसअघि कार्कीले रोचक मैनालीसँगको वैवाहिक सम्बन्ध तोडेकी थिइन् । अभिनेत्री सञ्चिता लुइँटेल पनि अभिनेता निखिल उप्रेतीसँग खुसी छिन् । निखिलसँग उनको दोस्रो घरबार हो । आकाश शाहसँगको डिभोर्सपछि उनले निखिल रोजेकी हुन् ।

कला क्षेत्रमा दोस्रो घरबार गर्ने थुप्रै सेलिब्रेटी छन् । तीमध्ये कतिको दोस्रो घरबार सुखद देखिन्छ भने कतिको दुःखद ।

गायिका अञ्जु पन्त पनि मनोजराजसँग सम्बन्धविच्छेदपछि थीर कोइरालासँगको घरबारमा रमाइरहेकी छन् । 

अभिनेत्री शिल्पा पोखरेल र गायिका मधु क्षत्रीको हकमा भने दोस्रो घरबार सुखद देखिएन । शिल्पाले बिसी थरका एक व्यक्तिसँगको डिभोर्सपछि छविसँग नयाँ घरबार जोडेकी थिइन् । तर छविसँग पनि उनको घरबार लामो समय टिक्न सकेन । गायिका मधु क्षत्रीले पहिलो घरबार बिग्रिएपछि अस्ट्रेलियामा बसोबास गर्न सुरेश खड्कासँग दोस्रो विवाह गरेकी थिइन् । खड्कासँग पनि उनको सम्बन्धमा खटपट देखिएको छ ।

कला क्षेत्रमा दोस्रो घरबार गर्ने थुप्रै सेलिब्रेटी छन् । तीमध्ये कतिको दोस्रो घरबार सुखद देखिन्छ भने कतिको दुःखद । कतिपय अवस्थामा सहज र कतिपय अवस्थामा असहज भएको पनि देख्न सकिने समाजशास्त्री डा. टीकाराम गौतम बताउँछन् ।

‘जटिल सामाजिक संरचना, कठिनाइबाट गुज्रिएका महिला वा पुरुषले दोस्रो विवाह झन् सजिलोसँग गरेको देखिन्छ । जसको सम्बन्ध राम्रोसँग चलिरहन्छ । राम्रो संरचना, सामाजिक व्यवस्थाबाट अलग भएका ती व्यक्तिको पुनः घरबार गर्ने कुरो अलि कठिन भएको देखिन्छ’, डा. गौतम थप्छन्, ‘तर कठिन अवस्था, असहज मूल्य मान्यता र संरचनासँग जोडिएका सेलिब्रेटीको दोस्रो घरबार सजिलो रहेको देखाउँछ । व्यक्तिको इच्छा, आकांक्षा, आवश्यकताअनुकूल सामाजिक संरचना रहँदा वा भइरहँदाको परिस्थितिबाट बाहिर निस्केका वा छुटेका सेलिब्रेटीको दोस्रो घरबार कठिन हुने देखिन्छ ।’ सम्बन्ध उनीहरूको आकांक्षा अनुकूलित हुने कि नहुने भन्नेसँग सम्बन्धित हुने डा. गौतमको धारणा छ ।

यस विषयमा फरक विचार राख्छन् वरिष्ठ कलाकार गजुरेल । उनी सम्बन्धहरू खुला किताबजस्तै हुने बताउँछन् । नयाँ सम्बन्धलाई किताबभित्रको सुन्दर पाठको सज्ञा दिन्छन् उनी । यो पाठमा आशंकाको शीर्षक नहुने उनको धारणा छ ।

‘असुरक्षाको ‘प्यारेग्राफ’ हुँदैन । प्रतिस्पर्धाको ‘कमा’ र बदलाको ‘ड्यास’ भेटिँदैन’, गजुरेल थप्छन्, ‘अलिकति पारिवारिक जिम्मेवारीको ‘ब्राकेट’ हुन्छ ।’ थोरै सामाजिक दायित्वको ‘इन्भन्टेड’ हुने बताउने गजुरेल पूर्णविरामरहित विश्वास, समर्पण र प्रेमको सुखद रचना नयाँ सम्बन्ध भएको गजुरेल सुनाउँछन् ।

  • डिभोर्सपछि संन्यासी !

अहिले सम्बन्धविच्छेद गर्नेहरूको झुकाव अध्यात्मतिर देखिन थालेको छ । यस्तै कामबाट उनीहरूले मनमा शान्ति ल्याउन खोजिरहेका छन् । यसैको जल्दोबल्दो उदाहरण हो, लोकगायिका बबिता बाँनिया ‘जेरी’, गायिका एलिना चौहान, अभिनेत्री शिल्पा पोखरेलको अध्यात्ममार्ग । 

गायिका ‘जेरी’ले गायक शंकर क्षत्रीसँग सम्बन्धविच्छेदपछि अध्यात्म रोजिन् । भागवत्को स्वअध्ययन र डेढ वर्ष नेपाल र भारतमा गुरुहरूसँग समेत अध्ययन गरेको बताउने उनले आफूलाई नयाँ परिचय ‘योगमाया सखी’ का रूपमा चिनाउँदै छिन् । उनी अहिले प्रवचनसमेत दिन्छिन् । करिब डेढ दशक दोहोरी गायन यात्राका क्रममा उनले निकै चर्चा कमाएकी थिइन् । अहिले पनि गायनलाई निरन्तरता दिने उनले बताएकी छन् । 

अभिनेत्री शिल्पा केहीअघि मात्र ओशो संन्यासी बनेकी छन् । सम्बन्धविच्छेदको मुद्दा किनारा लाग्नेबितिक्कै उनी यसप्रति लागेकी हुन् । त्यसैगरी गायिका एलिना चौहान पनि ओशो संन्यासी बनेकी छन् । उनले पनि तपोवन पुगेर ओशोप्रति झुकाव देखाएकी हुन् । 

डिभोर्सपछि कलाकार तनाव भुल्न र मनको शान्तिका लागि अध्यात्मतिर लाग्ने गरेका वरिष्ठ कलाकार रवीन्द्र खड्का बताउँछन् । ‘डिभोर्स त्यतिकै हुँदैन । त्यसमा थुप्रै कारण हुन्छन् । त्यसको अवस्थामा के गर्ने, कसो गर्ने भन्ने हुन्छ । कसैले अध्यात्ममा लागेपछि सबै कुरो बिर्सिन्छ । टर्चर हुँदैन । जाऊ भनेर सुझाउँछन्’, खड्का थप्छन्, ‘अर्कोलाई पनि देखिरहेको हुन्छ । साँच्चिकै होला भनेर जाने गरेका छन् ।’ 

अध्यात्ममा लाग्ने, धर्मकर्म गर्नेभन्दा पनि उनीहरू केही दिनको शान्तिका लागि त्यस्ता ठाउँमा पुग्ने गरेका खड्का तर्क गर्छन् । ‘त्यसरी अध्यात्ममा जाने संन्यासी बन्ने धेरै देखेको छु । ती सबैको उद्देश्य दुःख, पीडा र बितेको पल भुल्ने नै हुने गरेको छ’, खड्काले थपे, ‘म डेढ महिना ‘भाग्यरेखा’ फिल्मको सुटिङमा बसेर छुट्दा सबै रोएका थियौँ । त्यसपछि पनि आफ्नो घर आउँदा एक दुई दिन त्यहाँको रमाइलो सम्झेर नमजा लाग्यो ।’ सँगै जिउने मर्ने भनेर सोच राखेको मानिस डिस्टर्ब भएपछि संन्यासी बन्नु सामान्य भएको उनको बुझाइ छ । 

खड्काको विचारसँग सहमत जनाउँछिन् वरिष्ठ लोकगायिका राधिका हमाल । ‘अध्यात्मबाट जीवन, जगत् सबै बुझिन्छ’, हमालले भनिन्, ‘मर्नुभन्दा बहुलाउनु निको भनिन्छ नि । त्यही हिसाबले उहाँहरूले मृत्यु जितिरहनुभएको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप

छुटाउनुभयो कि ?