‘सामान्य समस्यालाई ठुलो बनाएर अदालत जाने बढे’

प्रियहरि भण्डारी अधिवक्ता हुन् । करिब दुई दशकदेखि बहस पैरवीमा संलग्न भण्डारी देवानी प्रकृतिका मुद्दामा दक्खल राख्छन् । सम्बन्धविच्छेदका मुद्दालाई नजिकबाट हेरेका भण्डारीसँग रातोपाटीकर्मी कुबेर गिरीले गरेको कुराकानीको सम्पादित अंश :
- अहिले नेपालमा डिभोर्सको अवस्था कस्तो छ ?
दिनप्रतिदिन बढिरहेको छ । विगत दुई वर्षको ट्रेन्ड हेर्दा केही लिभिङ टुगेदरबाट सिर्जित समस्या पनि छन् । केटा र केटी परिवार, नातागोतालाई थाहा नदिई सम्बन्धमा बस्छन् । त्यस्तो सम्बन्धबाट स्वार्थ पूरा नभएपछि बलात्कारको मुद्दा हाल्ने वा विवाह गरेर डिभोर्स माग्ने गरेको अवस्था छ ।
अर्कोचाहिँ सामाजिक ढंगले विवाह भएका तर सामाजिक सञ्जालको प्रभावले, श्रीमान् विदेश भएका महिलाहरूमा आर्थिक स्वतन्त्रता बढेसँगै अरूको देखासिकी गरेर अन्यसँग सम्बन्ध गाँस्ने गरेको देखिन्छ । उनीहरूले अर्को व्यक्तिसँग सम्बन्ध गाँस्दा जीवन सुखमय हुन्छ भन्ने हिसाबले पनि डिभोर्स गर्ने गरेको पाइन्छ । यसमा कानुनले तोकेको क्राइटेरियामा पीडित भएर आउनेभन्दा पनि बनावटी घटना लिएर आउनेको मुद्दा दिनदिनै बढ्दो छ ।
डिभोर्स बढ्नुमा महिलामा चेतनाको विकास, सामाजिक सञ्जालको प्रभाव, देखासिकी र आर्थिक हिसाबले सबल भएपछि पुरुष कोही होइन भन्ने भावना पनि विकास हुँदै गएको पछिल्ला घटनाले देखाएका छन् ।
- ‘सेलिब्रेटी’का डिभोर्सका घटना बारम्बार आइरहेका छन् नि ?
यो भनेको एकले अर्कोलाई स्वीकार गर्न नसकेको अवस्था हो । समान हैसियतका व्यक्तिहरूसँग सम्बन्ध गाँसेको भए पनि ‘मैले भनेको तिमीले मान्नुपर्छ’ भन्ने इगो एक–अर्काले स्विकार्न नसक्दा, ‘तिमी किन चाहियो’ भन्ने अवस्थाले अगाडि बढेको देखिन्छ । पछिल्लो समय डिभोर्स कलाकारमा भएका घटनाले त्यही देखिएको छ ।
हाम्रो पुरातन समाजमा नेतृत्व पुरुषको हुन्थ्यो । महिलाले आवश्यकता र समस्याहरू पुरुषसँग राख्थे । छलफल र सहमतिमा समाधान गर्थे । तर अहिले महिलाहरूले ‘म पनि केही हुँ’ भन्ने भावना राख्छन् । त्यो भावना सम्बन्धसँग मिलान हुन सक्दैन । त्यसपछि इगो देखिन्छ । त्यसले सम्बन्ध टुंग्याउनेतिर लैजान्छ ।
- सेलिब्रेटी वर्षाैँ प्रेम सम्बन्धमा रमाउँछन्, तर विवाह भएको ३–४ महिनामै डिभोर्स गर्छन् । किन रहेछ ?
सेलिब्रेटी पेसाकर्मी साथीभाइसँग घुमफिरलगायत रसरङमा बढी रमाउँछन् । पेसाका कारण धेरैसँग संगत गर्छन् । तर विवाहपछि एउटैसँग जीवन बिताउनुपर्ने हुन्छ, त्यो सक्दैनन् । गलत सम्बन्ध भएर पनि होइन, एउटै व्यक्तिसँग समय बिताउन उनीहरूलाई कठिन हुन्छ । किनभने उनीहरूको निर्वाह स्वतन्त्र भइरहेको हुन्छ । त्यसरी स्वतन्त्र भएर बसेको मानिस एउटैको सम्बन्धमा सीमित हुन चाहँदैन । त्यसले डिभोर्स निम्त्याउँछ ।
- डिभोर्स मागेर अदालत आउनेहरू मागी विवाहका धेरै छन् कि प्रेम विवाहका ?
दुवै समस्या उस्तै छ । तर सामाजिक नैतिक बन्धनका हिसाबले मागी विवाहभन्दा प्रेम विवाह भएका बढी डिभोर्समा आएका देखिन्छन् । त्यसको मुख्य कारण एकले–अर्कोलाई स्वीकार गर्न नसक्नु हो । मागी विवाहमा पनि कतिपय उमेर समूह करिब एउटै हुन्छ । अपरिपक्व अवस्था जोडी बाँधिएको हुन्छ । त्यहाँ कसले लिडरसिप लिने भन्ने समस्या हुन्छ । त्यसले पनि डिभोर्स निम्त्याउँछ ।
- डिभोर्सको अपिल गर्नेमा पुरुष धेरै छन् कि महिला ?
अहिलेसम्म हेर्दा वादी धेरैजसो महिला छन् । त्यसको मतलब पुरुष पीडित छैनन् भन्ने होइन, पीडित छन् । तर, तुलनात्मक संख्या भने महिलाको बढी छ ।
- डिभोर्ससम्बन्धी कानुनी व्यवस्था कस्तो छ ?
अहिलेको कानुनमा केटा र केटी दुवैले डिभोर्स माग्न पाउने व्यवस्था छ । कानुनले महिलालाई खान लाउन नदिए, घरबाट निकाला गरे, शारीरिक तथा मानसिक अंगभंग हुने गरेर कुटपिट गरे महिलाले पुरुषविरुद्ध डिभोर्सको मुद्दा हाल्न पाउँछन् ।
त्यस्तै पुरुषले पनि आफूलाई खान लाउन नदिए, घरबाट निकाला गरे, शारीरिक तथा मानसिक अंगभंग हुने गरेर कुटपिट गरे र ३ वर्षसँग छुट्टिएर बसे मुद्दा हाल्न पाउने व्यवस्था कानुनले गरेको छ ।
तर, तुलनात्मक रूपमा महिलाहरूले सामान्य समस्या पनि ठुलो बनाएर धेरै पीडित भएँ भनेर अदालतसम्म आउने गरेको देखिन्छ ।
- अहिले कानुनमा केही संशोधन भएको होइन र ?
हो, अहिले पुरुषले मात्र होइन, विवाहित महिलाले पनि डिभोर्स नगरी अन्यत्र विवाह गर्न पाउँदैनन् । त्यसो गरे ‘बहुविवाह’ हुन्छ भनेर सर्वोच्च अदालतले सिद्धान्त प्रतिपादन गरेको छ ।
यो व्यवस्था महिला र पुरुष दुवैमा लागु हुन्छ । पहिले परपुरुषसँग सम्बन्ध राखेको प्रमाण भेटिएपछि स्वतः सम्बन्धविच्छेद हुने व्यवस्था थियो । अहिले त्यसमा बहुविवाहको कसुरमा पनि सजाय हुन्छ । डिभोर्स प्रमाणित हुन कम्तीमा चार घटना हुनुपर्ने भए पनि महिलाले कुनै एउटा घटनालाई टेकेर अदालतमा दाबी गरिरहेको अवस्था छ । देवानी संहिता, २०७४ मा सम्बन्धविच्छेदसम्बन्धी व्यवस्था छ ।
- डिभोर्ससम्बन्धी कानुनमा सुधार गर्नुपर्ने अवस्था छ कि छैन ?
मेरो विचारमा यसरी खुला रूपमा यो–यो अवस्थामा अदालत जान पाइन्छ भनेर छोड्नु भन्दा पनि स्थानीय निकायले हस्तक्षेप गरेर मेलमिलापको वातावरण बनाउनुपर्छ । स्थानीय निकायको न्यायिक समितिमा उजुरी लाग्ने, दुवैका समस्या सुन्ने र मध्यस्थताको माध्यमबाट विवादको समस्या स्थानीयस्तरमा समाधान गर्नुपर्छ ।
त्यहाँबाट विवाद समाधान गर्न नसक्ने भए आफ्नो रायसहित अदालत पठाउने व्यवस्था गर्न सके डिभोर्सको आधा समस्या स्थानीय तहमै समाधान हुन्छ ।
त्यसैले श्रीमान् श्रीमतीको सम्बन्ध पुनः स्थापित हुन्छ । अहिले सीधै अदालत जाने व्यवस्थामा सामान्य घर झगडामा पनि अदालत जाने गरेका छन् ।
कानुनले तोकेको आधार नभए पनि साँझ झगडा भयो, भोलिपल्ट अदालत पुग्छन् । अहिले सामान्य समस्याले डिभोर्सको रूप लिने गरेको छ । यसले हाम्रो समाजलाई अधोगतितर्फ लैजाँदैछ ।
- कानुनमा डिभोर्सको विकल्प छ कि छैन त ?
कानुनमा अंश नदिई सम्बन्धविच्छेद गर्न पाइँदैन । अदालतले १२ महिनासम्म मुद्दा होल्ड गरेर मेलमिलाप केन्द्र पठाउँछ । सबै अदालतमा सक्षम मेलमिलापकर्ताको अभाव छ । मेलमिलापकर्ताले पनि वास्तविक तवरबाट गरेको देखिन्न । छलफल नै नभई १२ महिना बित्छ अनि अदालतले नै अवधि नाघ्यो भनेर पुरुषको सम्पत्ति विवरण माग्ने निर्णय गर्ने गर्छ ।
- डिभोर्स माग्ने सबै पीडित हुन्छन् त ?
त्यो छैन । विदेशमा अध्ययन गर्न चाहने केटाकेटीले आपसमा सहमति गरेर डिपेन्डेन्टका लागि विवाह गर्छन् । ती नक्कली विवाह हुन् । त्यसको प्रयोजन सकिएपछि डिभोर्स गर्न आउँछन् ।
सम्बन्धमा रहन नसक्नेभन्दा पनि सेलिब्रिटीहरू फेसनको रूपमा फलानो त डिभोर्स गरेर बाँचेको छ, म किन बाँच्दिनँ भनेर पीडित नभई पनि पीडा देखाएर अदालत धाएर मुद्दा गरेका पनि छन् ।
पछिल्लो समय यो फेसन भएको छ । कतिपयले बदनियतले धनी केटाहरूसँग सम्बन्ध बनाउने, दुई चार महिना बस्ने र उसको सम्पत्तिबाट आफ्नो हिस्सा क्लियर गर्न कोर्टमा आउने, डिभोर्स गरेको एक दुई वर्षपछि अर्को धनी केटा फसाएर फेरि विवाह, डिभोर्स प्रक्रियामा जाने गरेका छन् ।
काठमाडौँ जिल्ला अदालतमा एउटी महिलाले पाँचौँ चोटि डिभोर्स गरेको केस अहिले थाहा भएको छ । कतिपयले डिभोर्सलाई पेसाका रूपमा पनि लिने गरेका छन् ।
जो वास्तविक पीडित छन्, उनीहरू अदालतमा आइपुगेका छैनन् । उनीहरू आफ्ना कुरा बाहिर आए श्रीमान्को इज्जत जान्छ, माइतीले हेलाँ गर्छ, समाजले नराम्रो दृष्टिले हेर्छ भनेर ढाकछोप गरेर घरको चौघेरामै छन् ।
सम्बन्धबारे सत्यता जाँच्ने अदालतको आधार के हुन्छ त ? अदालतले प्रमाणमा हेर्छ । कुटपिट छ भने त्यसको विषय खोज्छ । त्यसमा जाँचको अवस्था पनि आउँछ । हैन भने मानसिक यातना दियो, खान लाउन दिएन, घरबाट निकालियो भनेर कथा बनाइएको हुन्छ । त्यही स्टोरीको आधारमा साक्षी बुझेर, प्रमाण हेरेर निर्णय गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ फर्किए पूर्वराजा, हौसिए राजावादी
-
तेस्रो सन्तान जन्माउने महिलालाई ५० हजार, छोरा जन्माए गाई उपहार !
-
ज्ञानेन्द्र शाहको स्वागतमा गरिएको प्रदर्शन फिल्म ‘माग्ने राजा’ मा राखिने
-
वीर अस्पताल निर्देशकका लागि शर्मा, गौतम र कार्कीको नाम सिफारिस
-
महिलालाई भारतको पुणेमा लगेर बेचेको आरोपमा दुई जना पक्राउ
-
क्रिप्टो र जुवामा ३० करोड कारोबार, पोखराबाट ५ जना पक्राउ