आइतबार, २५ फागुन २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : बढ्दो सम्बन्धविच्छेद

‘एक भएर बस्न नसक्ने सम्बन्ध टुटेकै राम्रो हुन्छ’

आइतबार, २५ फागुन २०८१, ०९ : ४०
आइतबार, २५ फागुन २०८१

डिभोर्सका घटना समाजमा दिन प्रतिदिन बढ्दो छ । डिभोर्स कोहीलाई स्वतन्त्रता र खुसी बन्छ भने कोहीलाई पारिवारिक समस्या । 

डिभोर्स बढ्दै गयो भने हाम्रो पारिवारिक मूल्य मान्यता, विवाहको अवस्था कहाँ जान्छ भनेर प्रश्न पनि उठ्न सक्छ । परिवार, विवाह भनेको हाम्रो सामाजिक संस्कार हो । जो वर्षौँदेखि चल्दै आएको छ । डिभोर्सका घटना बढ्दै जाँदा त्यही संस्कारमाथि प्रश्न उठ्छ कि भन्ने कुरा छ । डिभोर्सलाई जुन कोणबाट विश्लेषण गरिन्छ, त्यही कोणबाट देखिन्छ ।

आजभोलि आर्थिक स्वतन्त्रतासँगै सर्वसाधारणदेखि सेलिब्रेटीसम्म डिभोर्सका घटना बढ्नुलाई नकारात्मक लिन मिल्दैन । म पनि त्यसलाई नकारात्मक लिन्नँ । किनभने, जहाँ सहज वातावरण हुँदैन, त्यहाँ विभिन्न अपराधका घटना मौलाउँछन् । 

घरभित्र नमिल्दा नमिल्दै बसिरहँदा अफेयर, कुटपिट, घरायसी झगडा देखिन्छ । श्रीमान् श्रीमती दुई फरक बाटो भएर हिँड्छन् भने त्यो अवस्थामा डिभोर्सले स्थिरता कायम गर्छ । त्यसैले डिभोर्सलाई नकारात्मक दृष्टिबाट हेर्नुपर्छ जस्तो मलाई लाग्दैन ।

समाजमा सेलिब्रेटी भनेर चिनिएकाहरूको डिभोर्स विवाह भएको वर्ष दिन नपुग्दै भएका छन् । किनभने रिलेसनसिपमा हुँदासम्म त्यहाँ फ्रिडम हुन्छ । तर विवाह गरेपछि त्यहाँ श्रीमान् श्रीमती मात्र हुँदैनन्, परिवार पनि हुन्छ । विवाहित सदस्यले निश्चित नियममा बाँधिनुपर्ने हुन्छ ।  विवाह र परिवारमा बस्ने जुन नियम हुन्छ, त्यसलाई दुवै जनाले बन्धनका रूपमा लिने गर्छन् । विवाहमा गएपछि त्यस्ता सम्बन्ध पनि चाँडै ‘समाप्त’ भएको देखिन्छ ।

विवाहले दुई परिवार जोड्छ र त्यस्तो अवस्थामा कतिपय कुरा बाधकका रूपमा आउँदा छोटो समयमा नै डिभोर्सको अवस्था हुन्छ । पारिवारिक मूल्य र ब्यालेन्सका कुराहरू कतिपयलाई बाधक लाग्न सक्छ ।  त्यही भएर पनि विवाह अगाडि लामो समय प्रेममा रहेका, लिभिङ रिलेसनमा रहेका मानिसहरू पनि विवाहपछि छिटो छुट्टिन्छन् । 

परिवारको जिम्मेवारी बहन गर्न नसकेर पनि दम्पतीहरू छुट्टिने निर्णयमा पुग्छन् । त्यसमा एउटाको भावना अर्कोले नबुझ्ने भन्ने हुँदैन । किनभने त्यसअघि उनीहरु लामो समय रिलेसनसिपमा हुन्छन् । प्रेम सम्बन्धमा सबै कुरा एकदमै राम्रै हुन्छ । तर, विवाह गरेर अर्को फड्को मार्नेबित्तिकै कतिपय कुरा बन्धनका रूपमा आउँछन् । त्यहाँ सासूससुरा, काकाकाकी, नन्द, आमाजु र फुपूजस्ता धेरै सम्बन्ध हुन्छ । त्यो सबै सम्बन्धमा आफूलाई बन्धन महसुस हुन्छ । त्यस्तो अवस्थामा फ्रिडम खोज्दा दम्पती डिभोर्समा पुग्छन् । यो अवस्था सेलिब्रेटीमा मात्र होइन, सामान्य मानिसको जीवनमा पनि हुन्छ । 

डिभोर्स हुनुका कारण घरभित्रको बन्धन मात्र छैन । बाहिरी सम्बन्ध पनि मुख्य कारण छन् । दुई व्यक्तिको मन जब मिल्न छोड्छ  तब अर्को पार्टनर खोज्ने क्रम हुन्छ । त्यसपछि डिभोर्समा जान्छन् । कतिपयले सम्झौता पनि गरेका छन् । किनभने त्यहाँ बच्चाको कुरा आउला, पारिवारिक मानसम्मान र इज्जतको कुरा आउँछ । विशेष गरेर यो मध्यमवर्गीय परिवारका कुरा हुन् । किनभने त्यहाँ एक किसिमको डर हुन्छ । 

  • डिभोर्स एक चुनौती 

एक हिसाबले एक भएर रहन नसक्ने सम्बन्ध टुटेकै राम्रो हुन्छ । तर, टुटेर जाने सम्बन्धले समाजमा असर गर्छ । यसले पारिवारिक मूल्य मान्यतामा नकारात्मकता ल्याउँछ । डिभोर्सपछि महिलालाई हेर्ने समाजको दृष्टिकोणलगायत कुरामा नकारात्मकता छ । अलग भएपछिको संघर्ष छुट्टै हुन्छ । समाजसँग जुधेर बाँच्नुपर्छ । त्यो क्षमता छ कि छैन ? डिभोर्स गरेपछि पुरुषलाई धेरै फरक पर्दैन तर, महिलालाई भने धेरै फरक पर्छ । महिलाहरू आर्थिक रूपमा बलिया भए पनि ‘सोसल भ्यालु’को कुरा अवश्य आउँछ । 

डिभोर्सपछि धेरैमा डिप्रेसन र आत्महत्याजस्ता समस्या देखिन्छन् । समाजसँग जुध्न नसक्दा यस्ता समस्या आउन सक्छ । हामीसँग यस कारण आत्महत्या र डिप्रेसन बढ्यो भन्ने आधार र तथ्यांक छैन । 

सामाजिक सञ्जाल र मिडिया हेर्दा डिभोर्सपछि धेरै प्रहार महिलालाई भएको देखिन्छ । पतिको गल्तीले डिभोर्स भएको अवस्थामा पनि ‘लोग्नेले छाडेको महिला’ भनेर कमेन्ट गर्ने प्रवृत्ति छ । त्यस्तोमा उहाँहरूलाई हुने मानसिक तनाव एउटा विषय हुन्छ, बच्चाको पाटो अलग छ । त्यसैले सम्बन्धविच्छेद स्वतन्त्रताको कुरा मात्र होइन, चुनौतीको विषय हो । सेलिब्रेटीका लागि पनि सम्बन्धविच्छेद चुनौती हो । 

हामी फेमिनिस्ट र महिलाको अवस्थाको पनि कुरा एकसाथ गर्छौँ । त्यसमा डिभोर्सले असर गरेको छ भन्ने हो भने महिला स्वतन्त्रताका कुरा हनन होला । मलाई त्यस्तो लाग्दैन, किनभने मानिसले त्यसै डिभोर्स गर्दैन । घरभित्रको कुरो सबै बाहिर आउँछ भन्ने हुँदैन । श्रीमान्–श्रीमती जसको गल्ती भए पनि हामी अलग बाटो लाग्यौँ भनिसकेपछि भित्री कुरा बाहिर आउँदैन । समाजले महिला वा पुरुषलाई गल्ती देखाए पनि गल्ती कसको र कस्तो कुरामा थियो, त्यो केही कुरा बाहिर आउँदैन ।

  • न्यूनीकरण गर्न सकिन्न 

डिभोर्स महिलाका लागि मात्र असहज होइन, पुरुषका लागि पनि त्यस्तै परिस्थिति हो । तर, फाइनान्सियल स्ट्याटस पुरुषमा हुने भएकाले फेरि घरबार गर्न त्यति ठुलो चुनौती पुरुषलाई छैन, जति महिलालाई हुन्छ । किनभने समाजले पनि डिभोर्सी महिलालाई जसरी हेर्छ, पुरुषलाई त्यसरी हेर्दैन । महिलाको जस्तो समस्या पुरुषमा हुँदैन । 

सेलिब्रेटीहरूको डिभोर्सले कतिपय अवस्थामा समाजमा छुट्टिएर खुसीसँग जिउनसमेत प्रेरित गरेको देखिन्छ । छुट्टिएर जाँदा पनि महिलाले छोराछोरी सम्हाल्न सक्दा रहेछन् भन्ने केही घटनाले देखाएका छन् । बाबुले भर्नुपर्ने एउटा कुरो होला, तर छोराछोरी बुबाभन्दा बढी आमासँग धेरै नजिक रहन्छन् । केयरटेकरका रूपमा आमासँग बसेको देखिन्छ । कानुनले पनि आमालाई बढी प्राथमिकता दिएको छ । एउटा परिवार अगाडि लैजान महिलाले एक्लै पनि सक्छिन् भन्ने घटनाक्रमले देखाएको छ । 

डिभोर्स न्यूनीकरण गर्ने भन्ने हुँदैन । किनभने महिलाको आर्थिक गतिविधिले त्यसलाई निर्धारण गर्छ । जब महिला आर्थिक रूपमा सबल हुन्छन्, त्यसपछि उनीहरूलाई श्रीमान्को भरमा बाँधिएर बस्नुपर्छ भन्ने अवस्था आउँदैन । जति महिलाको आर्थिक स्वतन्त्रता बढ्दै जान्छ, त्यति नै सम्बन्धविच्छेद बढ्दै जान्छ । दुःखी भएर बन्धनमा बस्नु भन्दा खुसीसाथ आफ्नो बाटो लाग्ने स्वतन्त्रता डिभोर्स हो । यो राम्रो कुरो हो, यसलाई नकारात्मक रूपमा प्रस्तुत गर्नु हुँदैन । जो महिलाको अझै पनि श्रीमान्ले कमाएर खुवाउनुपर्ने अवस्था छ, त्यसमा यो लागु हुँदैन । त्यस्तो अवस्थामा दुर्व्यवहार र पीडा सहनुपर्छ । 

सेलिब्रेटीको केस र यसमा केही भिन्न छ । सेलिब्रेटी भन्ने बितिक्कै धेरै मानिसले नोटिसमा राखेका हुन्छन् । उनीहरूको जीवन सामान्य मानिसको जस्तो हुँदैन । उनीहरूलाई मन पराउने, फलो गर्ने धेरै हुन्छन् । आर्थिक सहायता गर्ने धेरै रहन्छन् । त्यस्तो अवस्थामा सामान्य मानिसले जस्तो उनीहरूले सम्झौता गर्नुपर्दैन, त्यहाँ इगो धेरै हुन्छ । पछिल्लो समय एलिना चौहानको डिभोर्सको केसमा पनि इगो धेरै देखिन्छ । सम्पत्ति नलिने घोषणाले एलिनाले वाहवाही पाएकी छन् । कानुनले महिलालाई सम्पत्तिको अधिकार दिएको छ, तर सोच्ने कुरो के भने सम्पत्ति लिन केही योगदान दिनुपर्छ नि । विवाह गरेको केही महिनामा डिभोर्स माग्दा सम्पत्ति लिन्न भन्नु हाम्रो माइन्ड सेटमा डिभोर्स भन्ने बितिकै ‘सम्पत्ति लिनको निम्ति’ भन्ने बुझाउँछ । 

(ढकाल समाजशास्त्री हुन् । उनी त्रि–चन्द्र कलेजमा समाजशास्त्र विषय अध्यापनरत छिन् । यो आलेख उनीसँग गरिएको कुराकानीमा आधारित हो ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निर्मला ढकाल
निर्मला ढकाल

ढकाल समाजशास्त्री हुन् ।

लेखकबाट थप

छुटाउनुभयो कि ?