आइतबार, २५ फागुन २०८१
ताजा लोकप्रिय
सतर्कता

‘बर्ड फ्लु त्रास बढ्यो, सचेत हुनुपर्ने अवस्था आएको छ’

आइतबार, २५ फागुन २०८१, ०६ : ५४
आइतबार, २५ फागुन २०८१

काठमाडौँ । भारतको दक्षिण क्षेत्रस्थित पर्ने महाराष्ट्रमा बर्ड फ्लुको संक्रमण देखिएपछि नेपालमा पनि यसको त्रास फैलिने त्रास बढेको छ । खुला सिमानाका कारण नेपालमा पनि जोखिम हुन सक्ने भएकाले यसबाट जोगिन उच्च सतर्कता अपनाउनुपर्ने देखिएको छ ।

पछिल्लो समय सुनसरीको कोशी गाउँपालिका–६, कुम्याहीमा पालिएका हाँस र लोकल कुखुरामा फागुन ५ गते बर्ड फ्लु देखिएको थियो । तर त्यो नियन्त्रणमा भने आइसकेको छ । 

नेपालमा कुखुरा व्यवसायमा अर्बौैँ लगानी छ । भारतबाट अवैध रूपमा भित्रिने सेतो अण्डा, दाना, चल्लालगायत पशुपन्छीजन्य पदार्थसँगै रोग पनि भित्रिने अधिक सम्भावना छ । 

यसरी भित्रिने वस्तुबाट एकातर्फ नेपाली वस्तुले मूल्य नपाउन अवस्था रहन्छ भने अर्कोतर्फ रोग भित्रिने डर पनि उत्तिकै छ । बर्ड फ्लु भाइरस अण्डा, कुखुराको सुली, मान्छेको आवातजावात, दानालगायत मध्यमबाट सजिलै सर्ने गर्छ । 

यसले गर्दा सीमा क्षेत्रमा कडाइ गर्नुपर्ने व्यवसायीहरूले बताएका छन् । नेपाल पोल्ट्री व्यवसायी महासंघका महासचिव दिनेशराज मिश्रका अनुसार नेपालमा व्यावसायिक रूपमा सेतो अण्डा उत्पादन हुँदैन । तर घरायसी प्रयोगको रूपमा भने केहीले उत्पादन गर्ने गरेका छन् । ‘अवैध रूपमा चोरी पैठारी गर्दा बेला बेला समस्या आउँछन्,’ उनले भने, ‘कुखुरा, सेतो अण्डा, चल्ला आइरहेको छ । सेतो अण्डा नेपालको अण्डा होइन ।’ यसरी अवैध रूपमा आउने कुखुरा, अण्डा र चल्लाका कारण बर्ड फ्लु फैलिने डर हुने उनले बताए । 

स्थानीय र संघीय सरकारसँग पोल्ट्रीसम्बन्धित व्यवसायीले समन्वय गरेकाले तत्काल यो रोगबाट त्यति धेरै क्षति नभएको उनले बताए । ‘नेपाली उत्पादनको मासु र अण्डा स्वस्थ छन्,’ मिश्रले भने, ‘सीमा नाकामा उच्च सतर्कता अपनाउनुपर्छ । चिन्ता लिनुपर्ने छैन । हाम्रो उत्पादन कम भए पनि नपुग्ने छैन ।’ नेपालमा वेला वेला बर्ड फ्लुको हल्लाका कारण मासुजन्य व्यवसायमा असर पारेको पनि उनले बताए । 

देशभर दैनिक ८ लाख किलो ब्रोइलर कुखुराको मासु उत्पादन हुने गरेको र त्यसमध्ये काठमाडौँ उपत्यकामा मात्रै ५ लाख किलो खपत हुने गरेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंग बहादुर बेल्बासे बताउँछन् । ‘तराई भेगमा बर्ड फ्लु देखिएको थियो,’ उनले भने, ‘अरू क्षेत्रमा देखिएको छैन, तर हामी सचेत हुनुपर्ने अवस्था छ ।’

पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. नवराज श्रेष्ठका अनुसार पछिल्लो समय यो रोग झापाको मेचीनगर नगपालिकामा देखिएको थियो । त्यसयता यसको प्रकोप प्रायः देखिएको छैन । 

तर नेपालमा बर्ड फ्लु बर्सेनि भेटिने गरेको छ । यो वर्ष कोशी प्रदेशमा देखिएको थियो तर नियन्त्रणमा आउन धेरै समय भने लागेन । ‘यो रोग धेरै देखिएको २०७१ र २०७८ मा हो,’ उनले भने, ‘यी वर्षमा १ देखि १५० फार्ममा यो रोग देखापरेको थियो । अन्य वर्षमा २ वा ३ फार्ममा देखिने र हराउने भइरहेको छ ।’  

कुनै पनि देशमा बर्ड फ्लु देखिए त्यहाँबाट पन्छीसम्बन्धी कुनै प्रकारको वस्तु आयात गर्न नपाइने कानुनमा उल्लेख छ । ‘बर्ड फ्लु नियन्त्रण नियमावली, २०७८’ अनुसार बर्ड फ्लु प्रभावित क्षेत्रबाट पन्छी, पन्छीजन्य पदार्थ, पन्छी उत्पादन सामग्री तथा बर्ड फ्लु सार्न सक्ने अन्य वस्तुको ओसारपसार गर्न प्रतिबन्ध लगाउन सकिने छ । 

पशु स्वास्थ्य विभागका महानिर्देशक डा. उमेश दाहालले सीमावर्ती क्षेत्रका क्वारेन्टाइनमा हाई अलर्ट गराइएको बताए । पन्छी तथा कुनै पदार्थ भारतबाट ल्याउन पाइँदैन । सबै स्थानमा क्वारेन्टाइन पुर्‍याउन सकिने सम्भावना देखिँदैन । ‘हामीले प्रशासनलाई पटक–पटक समन्वय गरेका छौँ,’ उनले भने, ‘उहाँहरूको सहयोग छ, व्यवसायी पनि सतर्क नै हुनुहुन्छ । हामीले रोग छ कि छैन भनेर परीक्षण गरेका छौँ ।’

के हो बर्ड फ्लु ? 

यो सबै प्रजातिका पन्छीमा लाग्ने एक प्रकारको विषाणुजन्य रोग हो । यसलाई एन्फ्लुइन्जा–१ भाइरस भनिन्छ । यो रोग मान्छे र अन्य पशुहरूमा लाग्छ । पशु चिकित्सक डा. श्रेष्ठका अनुसार बर्ड फ्लुका दुई प्रकार हुन्छन् । एउटा, एचपीएआई (हाइली प्याथलोजेनिक अभइन इन्फ्लुइन्जा) र एलपीएआई (हाइली प्याथलोजेनिक अभइन इन्फ्लुइन्जा) ।

कस्तो हुन्छ लक्षण ? 

यो रोग लागेका पन्छीले खाना खान छोड्न थाल्छन् । पन्छी घ्यार घ्यार गर्ने, टाउको सुनिने, सिउर र लोटीहरू निलो हुन्छ । रक्ताश्रावले खुट्टाहरूमा निलो डाम देखापर्ने डा. श्रेष्ठ बताउँछन् । झोक्राएर बस्ने र हरियो सुली छेर्ने गर्छ । 

कसरी सर्छ ? 

यो प्रायः जाडो सिनजनमा देखिन्छ र फैलिन्छ । यो फैलिन ४ देखि ५ डिग्री सेल्सियसमा यसले फैलिने मौका पाउँछ । जाडो छल्न नेपाल आएका पाहुना चराहरूमा लक्षण त देखिँदैनन् तर तिनमा बर्ड फ्लु हुने डा. श्रेष्ठ बताउँछन् । ‘सुली ल्याएर सिमसार क्षेत्रमा, फार्महरू सारिदिन्छन्,’ उनले भने, ‘यहाँका कागहरूमा यो लसपस हुन्छ । ती काग हाम्रा घर आउँछन् अनि सार्छन् । 

जसका कारण खुला रूपमा पालिएका कुखुरा र हाँसजस्ता पन्छीमा यो रोग सर्ने गर्छ । मरेका कुखुरा फाल्दा र रोगी कुखुरा बेचबिखन गर्दा पनि यो रोग सर्ने डा. श्रेष्ठ बताउँछन् । 

यस्तै दाना, भाँडा, कामदारलगायतबाट पनि यो रोग सर्ने गरेको देखिएको उनले बताए । पहिलो पटक यो रोग देखिनुमा भने पन्छीको भूमिका हुने उनको भनाइ छ । 

अन्तिम विकल्प नै नष्ट

विश्वमा यसको खोप लगाउन सुरु भइसकेको छ । नेपालमा यो रोगविरुद्ध खोप सिफारिस हुने प्रक्रियामा छ । फ्लु लागे कुखुरा नष्ट नै गर्नुपर्ने डा. श्रेष्ठ बताउँछन् । ‘जहाँ रोग पुष्टि भयो, त्यहाँको तीन किलो मिटरसम्मको क्षेत्रमा भएका अण्डा, दाना, सुली हामीले नष्ट गर्छौँ,’ उनले भने, ‘उचित तरिकाबाट व्यवस्थापन गर्छौँ । ४२ दिनसम्म कुखुरा पाल्न नमिल्ने गरी सिल गर्छौँ ।’ 

रोग लाग्नै नदिन के गर्ने ? 

बर्ड फ्लु लाग्नै नदिन जैविक सतर्कता अपनाउनु उत्तम हुने डा. श्रेष्ठ सुझाउँछन् । अरू पन्छीसँग बजारबाट ल्याइएका पन्छी मिसाएर राख्न नहुने र करिब १४ दिन बथानबाट टाढा राख्नुपर्ने पनि उनले बताए ।

साथै कुखुराको फार्मबाहिर ५० र भित्र १०० प्रतिशत भाइरस संक्रमणको डर हुने उनले बताए । खोरको दूरीअनुसार भाइरस संक्रमणको प्रतिशत घट्दै जाने पनि उनको भनाइ छ । त्यसैले स्प्रे गर्दा फार्म, फार्मका वरिपरि मजाले छर्किने र खोरमा आउजाउ गर्न छुट्टै जुत्ता प्रयोग गर्न उनले सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप

छुटाउनुभयो कि ?