बार निर्वाचन : उम्मेदवार छनोटमा हस्तक्षेप भएको भन्दै डीएलएभित्रै विरोध

काठमाडौँ । नेपाल बार एसोसिएसनको चुनावमा उम्मेदवार छनोटमा हस्तक्षेप भएको भन्दै नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन (डीएलए) भित्रै विरोध भएको छ । डीएलएका पूर्व अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता यदुनाथ खनालले उम्मेदवार छनोटमा हस्तक्षेप भएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
खनालको डीएलएबाट बार अध्यक्षका लागि उम्मेदवार दाबी थियो । उनले शनिवार एक अपिल जारी गर्दै एमालेसँग गठबन्धन गरेको र डीएलएलाई उम्मेदवार छनोट गर्न नदिई बाहिरबाट हस्तक्षेप गरेको भन्दै विरोध गरेका हुन् । नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका आगामी चैत २३ गते शनिवार हुने तय भएको छ ।
यस्तो छ खनालको अपिल :
हार्दिक अपिल !
नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएसन (DLA- Nepal) सम्पूर्ण लोकतन्त्रवादी कानुन व्यवसायीहरुको आस्था र धरोहरको प्रतीक हो । स्वतन्त्र र सक्षम न्यायपालिका स्थापित गर्न, एकतन्त्रीय एवं अधिनायकवादी विचार, व्यवस्था र प्रवृत्तिका विरुद्ध कानुन व्यवसायीहरुलाई संगठित गरी विधिको शासन तथा लोकतान्त्रिक प्रणालीको स्थापनामा सतत प्रयत्नशील रहने उद्धेश्यका खातिर राष्ट्रियता, लोकतन्त्र, समाजवादका मूल्य मान्यता तथा प्रक्रिया एवं मानव अधिकार, कानुनको शासन र सामाजिक न्यायको सिद्धान्तप्रति प्रतिबद्ध कानुन व्यवसायीहरुको साझा प्रतिनिधि संस्थाको रुपमा २०४७ साल मंसिर ५ गते यसको स्थापना भएको हो ।
यस संस्थाको स्थापनापछि जीवन्तता दिने सम्बन्धमा धेरै कानुन व्यवसायी साथीहरुको रगत र पसिना बगेको छ । आज देशका सबै जिल्लाहरुमा र सम्पूर्ण अदालतहरुमा संगठित र सबल डिएलए एकाई रहनु गौरबको विषय हो । नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएसनको बिधान २०४७ को धारा १७(२८) मा यस एशोसिएसनको तर्फबाट नेपाल बार एशोसिएसनमा भाग लिने उम्मेदवार छनौट गर्न एक छनौट समिति गठन गरि उमेदवारहरु छनौट गरिने बैधानिक ब्यबस्था छ ।
सो व्यवस्थाका विपरित डिएलए नेपाल केन्द्रीय कार्यसमितिले गठन गरेको १३ सदस्यीय उम्मेदवार छनौट समितिलाई जबर्जस्ती गरि उम्मेदवार छनौट गर्न नै नदिई बाहिरबाट नै उमेदवार छनौट भए गरिनु दुर्भाग्यपूर्ण छ ।
नेपाल बार एशोसिएशन केन्द्रीय कार्यसमिति (०८१) को टिकट वितरण प्रक्रियालाई लिएर वास्तविकता बुझ्दै नबुझी डिएलए नेपाल र यसका पदाधिकारीहरु समेतलाई जोडेर नकारात्मक टिकाटिप्पणी गरिदा संगठन र हामी स्वयम् लोकतन्त्रवादी कानुन व्यवसायी साथीहरु अन्यायमा पर्न सक्छौ, व्यक्ति गौण हो संगठन प्रमुख हो भन्ने कुरामा संवेदनशीलता अपनाउनु जरुरी छ ।
यस सम्बन्धमा डिएलए नेपाल केन्द्रीय कार्य समितिले कत्तिपनि विलम्ब नगरी आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने जरुरी छ । यस सम्बन्धमा मेरो आफ्नो व्यक्तिगत धारणा निम्नानुसार रहे भएको स्पष्ट पार्न चाहन्छु ।
तपसिल
(१) नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएसन (DLA Nepal) केन्द्रीय कार्यसमितिको बैठक अबिलम्ब बसोस्, जसले नेपाली कांग्रेसको विधानमा नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएसनलाई शुभेच्छुक संस्थाको रुपमा राखिएको व्यवस्थालाई हटाई यसको स्वतन्त्र अस्तित्वलाई स्वीकार गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिलाई अनुरोध गरोस ।
(२) नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएसन (DLA Nepal) को केन्द्रिय कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुले नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएसन (DLA Nepal) को स्वतन्त्र अस्तित्वमाथि गरेको हस्तक्षेपका विरुद्धमा ऐकबध्याता जाहेर गरी नैतिकतापुर्वक राजीनामा गरी पाँच महिना भित्र नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएसन (DLA Nepal) को राष्ट्रिय महाधिवेशनको मिति तय गरी नेतृत्व हस्तान्तरण गर्ने ।
(३) नेपाल बार एशोसिएसन केन्द्रिय कार्यसमितिको निर्वाचनमा उम्मेदवार हुन इच्छुक (मुख्यतः अध्यक्ष र महासचिव) डिएलए नेपालका सदस्य कानुन व्यवसायीहरुलाई देश भरका डिएलए नेपालका महाधिवेशन प्रतिनिधिहरुले प्रत्यक्ष रुपमा निर्वाचन गरी उम्मेदवार छनौट गर्ने व्यवस्थाका लागि डिएलए नेपालको विधानमा आवश्यक संशोधन गर्ने ।
(४) आफ्नो निहित स्वार्थपूर्तीका लागि नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएसन (DLA Nepal) केन्द्रीय कार्यसमितिलाई थाहा जानकारी सम्म नदिई पार्टीपंक्तिमा संगठन कमजोर भएको कुरा पुर्याई संगठन उपर धावा बोली संगठनका उर्जाशील सदस्यहरुलाई उपेक्षा गर्ने व्यक्तिहरु (जसले हलो अड्काएर गोरु पिट्ने लोकोक्ति चरितार्थ पार्ने काम समेत गरे) तिनीहरुको पहिचान गरी आगामी राष्ट्रिय महाधिवेशनमा उनीहरुको संगठन विरोधी क्रियाकलापको भण्डाफोर गर्ने ।
भवदीय
यदुनाथ खनाल वरिष्ठ
अधिवक्ता पूर्व अध्यक्ष, डिएलए नेपाल (२०६७-०७०)