मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय
कला

नेपाली समसामयिक महिला कलाकार

शनिबार, २४ फागुन २०८१, २१ : १०
शनिबार, २४ फागुन २०८१

नेपाली महिला कलाकारलाई दुई फक्ल्याँटामा हेर्नुपर्ने हुन्छ — १) परम्परागत कला, २) समसामयिक कला । 

समसामयिक कलालाई पनि आधुनिक र उत्तरआधुनिक कलामा विभाजन गर्नुपर्ने हुन्छ । 

नेपाली परम्परागत कलामा पहिले नाम लेख्ने प्रचलन थिएन । त्यति बेला अधिकांश कला ‘कमिसन वर्क’का रूपमा हुने गर्थे । त्यस कारण कलाकारको नाम लेखिँदैनथ्यो, वा लेख्न पाउँदैनथे । अधिकांश महिला कलाकारले कला बनाउँथे भन्ने इतिहासमा उल्लेख भएको पाइन्छ । लोककलामा त महिला नै बढी सक्रिय भएको अनुमान गर्न सकिन्छ । यद्यपि नाम लेख्ने प्रचलन नहुँदा महिला कलाकारको नाम कतै भेटिन्न । 

पहिले परम्परागत चित्रमा बढीजसो धार्मिक कला बनेको देखिन्छ । धार्मिक चित्र पनि पूजा गर्ने हेतुले बनाइन्थ्यो । यसलाई धर्मशास्त्र अनुसार देवीदेवताका आसन, आकृति, अवयवदेखि आयुधसम्मलाई ख्याल गरेर बनाइन्छ ।

धार्मिक चित्रहरू राजा–महाराजाले बनाउन लगाउँथे । यस्ता कलामा धर्मका आचार्यहरू, धर्म पण्डितहरू संलग्न हुन्थे । स्वभावतः राजादेखि यी धर्माचार्यहरू सबै पुरुष नै भएकाले पनि यस्ता चित्र बनाउने महिला कलाकार थिएनन् । 

asmina40

यस्तै, पूजा नगर्ने गरी पनि देवी–देवताका कला बनाइन्थ्यो । यस्ता चित्र कलाकारको मन र चाहना अनुसार बनेका हुन्थे । यस्तै चित्रहरूमा पनि कलाकारको नाम लेखिँदैनथ्यो ।

लोक चित्रकलामा पनि देवी–देवता र संस्कारमा आबद्ध भएर कला बनेका हुन्थे । लोककलामा भने संस्कार, जात्रा र चाडपर्वमा वा धार्मिक पूजाआजामा बढीजसो महिला नै संलग्न हुने गर्थे । यस्ता चित्र महिलाले बनाउने गरेको किंवदन्तीका रूपमा पढ्न पाइन्छ । 

नेपालमा आधुनिक कलाको शुभारम्भ सन् १९६० मा भयो । यसै बेला स्पष्ट रूपमा महिला कलाकारको नाम देखापरेको हो । अमूर्त चित्रकार उर्मिला उपाध्याय (जन्म ः सन् १९३९) नै पहिलो नेपाली महिला आधुनिक चित्रकार हुन् । उनले बम्बईको जे जे स्कुल अफ आर्टबाट विधिवत कला शिक्षा हासिल गरेकी थिइन् ।

अर्कोतिर, परम्परागत चित्र वा लोक चित्रकला सबै परिवार मिलेर पनि बनाउँथे । यस कारण यस्ता चित्रमा नाम लेखिँदैनथ्यो । 

मूर्तिको कुरा पनि यसभन्दा फरक छैन । नेपालमा मूर्तिहरू ईशाको दोस्रो शताब्दीदेखि आधिकारिक रूपमा प्राप्त भएका छन् । लो–रिलिफ, हाई–रिलिफबाट पूर्ण मूर्तिकला पाइएका छन् तर त्यसबखत कलाकारको नाम लेख्ने प्रचलन देखिँदैन । यद्यपि यस्ता मूर्ति कलाका बारेका अलग्ग शिलालेख राख्ने प्रचलन थियो, जहाँ यो मूर्ति किन बनाइयो, कुन राजाको पालामा बनाइयो भन्ने आउँथ्यो तर कलाकारको नाम लेखिँदैनथ्यो । 

अर्को सन्दर्भ भनेको ग्रन्थमाथि चित्र कोर्ने परम्परा हो । नेपालमा करिब ईशाको ११औँ शताब्दीमा धार्मिक ग्रन्थमा चित्र लेख्न थालियो । यस्ता ग्रन्थ चित्रमा पनि नाम लेखिँदैनथ्यो । 

deepmala

  • कलाकारको नाम लेख्ने अभ्यास

मूलतः नेपालमा १९औँ शताब्दीको मध्यतिर पश्चिमी विधि र प्रवृत्तिबाट प्रभावित कलाहरू (विशेष गरेर चित्र, मूर्ति अनि वास्तुकला) देखापरे । नेपाली परम्परागत शैली र पश्चिमी शैली फ्युजन भएर अगाडि बढ्दा कलामा नाम लेख्ने प्रचलन सुरु भएको हो । सुरुवातमा पुरुष कलाकारको केही नाम देखापरे पनि महिला कलाकारको नाम देख्न मुस्किल पथ्र्यो । समाजमा महिलाहरुमाथि पुरुषको तुलनामा स्वतन्त्रता थिएन । त्यसैले सायद कलामा महिलाहरुको नाम राख्ने अभ्यास हुन पाएन । यद्यपि त्यस बखतका महिला कलाकारले आन्तरिक सजावट, अनि हस्तकलालाई बढी ध्यान दिएको देखिन्छ । यी दुवै कलालाई सिर्जनात्मक कलाको रूपमा भने हेरिँदैनथ्यो, त्यसैले यसको उल्लेख कहीँ हुन सकेन । 

यसपछि नेपालको कला इतिहासमा यथार्थवादी र प्रभाववादी चित्रकला देखापरे । जसमा कलाकारको नाम लेख्ने प्रचलन तीव्र रूपमा देखियो । प्रभाववादी कलाकारहरूले घर वा स्टुडियोबाहिर प्रकृतिमै गएर चित्र बनाउने गर्थे, त्यसो हुँदा स्वभावतः पुरुष कलाकारहरू यस विधामा बढी संलग्न भए । महिला कलाकारहरूले घर वा स्टुडियोबाहिर गएर कला बनाएनन् भन्ने होइन, बनाए होलान् तर राम्ररी अभिलेखन हुन पाएन । 

नेपालमा आधुनिक कलाको शुभारम्भ सन् १९६० मा भयो । यसै बेला स्पष्ट रूपमा महिला कलाकारको नाम देखापरेको हो । अमूर्त चित्रकार उर्मिला उपाध्याय (जन्म ः सन् १९३९) नै पहिलो नेपाली महिला आधुनिक चित्रकार हुन् । उनले बम्बईको जे जे स्कुल अफ आर्टबाट विधिवत कला शिक्षा हासिल गरेकी थिइन् । 

उनले पहिलोपल्ट सन् १९५९ मा एकल कला प्रदर्शनी गरिन् । त्यति बेला उनले अमूर्त शैलीमा प्रिन्ट मेकिङ कलाहरू प्रदर्शन गरेकी थिइन् । उनीभन्दा अगाडि नाम सहितका थुप्रै समसामयिक कलाकार देखापरेका हुन्, जसमा महिला कलाकार भने देखिँदैनन् । 

ragini (2)

२०२२ सालमा नेपाल ललित कला संस्था खुल्यो । यसै वर्षदेखि राष्ट्रिय कला प्रदर्शनी हुन थाल्यो । यसै बेला केही महिला कलाकार देखिए । ललितकला संस्थाले सदस्यहरू बनाउन थालेपछि महिला कलाकारको नाम हेर्न र जान्न सजिलो पनि भयो । यस बेला देखापरेका कलाकार हुन् — नारायणलक्ष्मी श्रेष्ठ, मनबाबा मानन्धर, रोशनी श्रेष्ठ, हीरादेवी श्रेष्ठ, चारु खरेल, दीपा थुलुङ, भावना राणा, विद्या श्रेष्ठ, सुमित्रा मानन्धर, बुनु शाक्य, सुशीला जोशी, बसुन्धरा श्रेष्ठ, इन्द्रकुमारी मानन्धर, मिमा इजम आदि । 

१९९१ सालमा पहिलोपल्ट ‘नेपाल आर्ट स्कुल’ नामक कलाको स्कुल खुल्यो, जहाँ पढ्ने र पढाउने कलाकार जम्मै पुरुष नै देखिन्छन् । पछि यसलाई ‘जुद्धकला पाठशाला’ नामकरण गरियो । अहिले देखिएको ललितकला क्याम्पस यसैको विकसित रूप हो । जुद्धकला पाठशालामा केही महिला कलाकार थिए । शारदा चित्रकार, निर्मला श्रेष्ठ आदि कलाकार यसैबखत देखापरेका हुन् । यसअघि आफैँ दीक्षित हुने कलाकारको लामो सूची देखिन्छ । त्यतिबेला पनि कुनै महिला कलाकारको नाम देखिँदैन । घर–व्यवहारले थिच्दा महिला कलाकार अगाडि नआएका हुन सक्छन् । 

निरन्तरतामा देखिरहने यसबखतका महिला कलाकारमा उर्मिला उपाध्याय, प्रमिला गिरी र रागिनी उपाध्यायले विदेशीसँग बिहे गरेका छन् । त्यसैले यिनीहरु बढी मात्रामा नेपालबाहिर बस्ने गर्छन् । शशिकला तिवारीले भने अहिलेसम्म बिहे गरेकी छैनन् । 

उर्मिलापछि प्रमिला गिरी, शुष्मा सिम्खडा आदि स्पष्ट रूपमा देखापरेका आधुनिक मूर्तिकार हुन् । प्रमिला गिरी आधुनिक मूर्तिकार र चित्रकार पनि थिइन् । शुष्मा भने मूर्तिकार मात्रै थिइन् । यिनीहरु चाँडै यो संसारबाट बिदा भए । यस कारण पनि चित्र वा मूर्तिमा क्रियाशील भई देखापरिरहने महिला कलाकारका रूपमा उल्लेख गर्नुपर्दा प्रमिला गिरीको नाम सबैभन्दा माथिल्लो श्रेणीमा आउँछ । 

उर्मिला उपाध्यायले नितान्त अमूर्त कला गरिन् । यसपछि देखा परेका प्रमिला गिरीबाहेक कसैले पनि अमूर्तको शैलीलाई पछ्याएको देखिँदैन । प्रमिला गिरीले सडक माझ र घरको प्राङ्गणमा ठुलाठुला मूर्ति बनाएकी छन् । यति मात्र होइन, उनले भैरवलाई मुख्य विषय बनाएर काम गर्छिन् । यस प्रकार उनीबाट मिथको प्रयोग पनि भएको देखिन्छ । ठुलो अमूर्त कलामा (क्यानभास वा बोर्डमा) बिचोबिच मूर्ति टाँसेर पनि उनले प्रयोग गरेकी छन् । नेपाली कलाको इतिहासमा यस प्रकारको कला बनाउने उनी नै प्रथम हुन् । यसपछिका शशिकला वा रागिनी हुन्, सबैले आकारलाई प्रयोग गरी भावनात्मक अभिव्यञ्जना दिएको देखिन्छ । यो एउटा महिला कलाकारको विशेष विशेषता देखिन्छ । २००० पछि देखापरेका सबैजसो महिला कलाकारले कन्सेप्टलाई लिएर अगाडि बढे । यसले गर्दा पनि कुनै प्रायः महिला कलाकारले अमूर्तलाई अँगालेको देखिँदैन । 

pramila giri

यसपछि देखापरेका कलाकारहरू भने शशिकला तिवारी हुन् । त्यति धेरै चित्र नबनाए पनि उनी आजका दिनसम्म निरन्तर रूपमा चित्र बनाउँदै छन् । बरु उनीभन्दा अलि पाको तर सिर्जनामा निरन्तरता नभएका महिला कलाकारमा शिलुप्यारी कर्माचार्य, ज्वाला शाह, सुधारत्न खतिवडा, बेटीदेवी वज्राचार्य, सुधा मानन्धर, शारदा चित्रकार, अम्बिका श्रेष्ठ, विद्या श्रेष्ठ आदि हुन् । यसै बेला देखापरेका हेमेन्द्रकुमारी राणा, भद्रा घले, नीलिमा मानन्धर, भुवन ढुंगाना, मनबाबा मानन्धर आदि पनि मूलधारमा काम गरिरहने कलाकारका रूपमा देखापर्न सकेनन् । यी कलाकारमा पनि कति चाहिँ अब संसारमा छैनन्, कति छन् तापनि यी कलाकारका बारेमा कतै लेखिएको पाइँदैन । 

यसपछिका महिला कलाकारमा कान्ति न्यौपाने, रमाराज मास्के आदि पछिल्लो कालमा आएर सक्रिय बनेको देखिन्छ । तथापि राजनीतिमा पनि सक्रिय रहेकी भद्रा घले चाहिँ बेलाबेला धुँवाबाट चित्र बनाउने कलाकारका रूपमा सक्रिय भई आइरहेको देखिन्छ । उनी आज वयोवृद्ध अवस्थामा पनि कहिलेकाहीँ चित्र बनाउने गर्छन् । यसबाहेक भुवनेश्वरी तिवारी, शिलशोभा शाक्य आदि पनि त्यसै बखतका कलाकार हुन् । यसमध्ये पनि शिलुप्यारी (जन्म ः १९९९) एकताका सक्रिय भई कलाको सिर्जना गर्ने कलाकारका रूपमा देखिन्छिन् । त्यति वेलाको नेपाल ललित कला (२०२२ सालमा स्थापना भएको) मा उनी सुरुमा (२०२२ सालमै) कार्यकारिणी सदस्यमा अनि पछि दुई वर्षका लााग सचिवमा पनि कार्यरत रहिन् । उनले जीवनमा एकपल्ट मात्र एकल कला प्रदर्शनी गरेको देखिन्छ । उनले भारतको वनस्थली विद्यापीठबाट कलामा विधिवत शिक्षा हासिल गरेकी थिइन् । उनी अब यस संसारमा छैनन् ।  

नेपालको कला इतिहासमा २०३६ सालको राजनीतिक आन्दोलनले केही महिला कलाकारलाई प्रकाशमा ल्याउने काम गरेको देखिन्छ । पछि यसैको निरन्तरताको रूपमा २०४६ सालको राजनीतिक आन्दोलनमा विरोधस्वरूप भित्तामा पोस्टर (कला) टाँस्ने काममा पुरुष कलाकारका साथसाथै महिला कलाकार पनि बाहिर देखापर्न थालेका हुन् । यो ललित कला क्याम्पसको उपज थियो । यसले घरबाहिर आई कला सिर्जना गर्ने वातावरण पनि दियो, अनि आन्दोलनमा नलागेका महिला कलाकारहरू पनि बाहिर देखिन थाले । यसै बेला देखापरेका कलाकारमा रागिनी उपाध्याय, चन्दा श्रेष्ठ, मिलन शेरचन्द, पुष्पाञ्जली शेरचन्द, शोभा अधिकारी वाग्ले, माया मानन्धर, मिनु श्रेष्ठ, नीलम ताम्राकार आदि हुन् ।

यसपछिका अस्मिना रञ्जित, डा. सीमा शाह, निरा जोशी प्रधान, एरिना ताम्राकार, सुनिता राणा, प्रमिला वज्राचार्य, सरिता डंगोल आज पनि सक्रिय देखिन्छन् । नीरा जोशी प्रधान एक मात्र बोटानिकल कलाकार हुन् । यसबाहेक मन्दिरा राजभण्डारी मल्ल, सुनिला वज्राचार्य, चाँदनी वज्राचार्य, मेरिना चित्रकार, सविता चित्रकार, मनिषा मानन्धर, सुनिता महर्जन पनि यसैवेला देखापरेका हुन् । 

erina

महिला कलाकारको अर्को विशेषता छ, कुनै कला संस्था खोली त्यसको अगुवाइ गर्नु र अन्य महिला कलाकारलाई प्रोत्साहन गर्नु । अस्मिना, सीमा शाह, निरा जोशी, ऐरिना, सुनिता राणा, सरिता डंगोल, शौरगंगा, महिमा, शुष्मा राजभण्डारी, शरोजा, कृति, अरुणा सबैको आ–आफ्नो कला संस्था छन् ।  

नेपाली कला इतिहासमा सन् २००० को उत्तराद्र्धमा कलाको पनि आन्दोलन भयो, जसलाई म उत्तरआधुनिक कला भन्ने गर्छु । यस बखत महिला कलाकारका रूपमा अस्मिना रञ्जित अगुवाको भूमिकामा देखापरिन् । सूत्र भन्ने संस्थाले दर्जनौँ कलाका वर्कसपहरूको आयोजना गर्‍यो । यस संस्थाका दुई मात्र महिला कलाकार (अस्मिना र सरिता)ले नेपाली समसायिक कलाको नयाँ धारलाई स्थापित गर्ने काम गरे । यही वर्कसपको माध्यमबाट सयौँ महिला कलाकार देखिन थाले, यी सबैको नाम लिएर यहाँ साध्य छैन । यसले महिला कलाकारलाई सामाजिक मुद्दाहरू लिएर अगाडि आउन पे्ररित गर्‍यो । जस कारण महिला कलाकारहरूले इन्स्टलेसन, पर्फर्मेन्स कला वा भिडियो आर्ट, रेसिडेन्सी, पार्टिसिपेटोरी, कोल्याबोरेटिभ आर्टहरू निर्धक्क भएर बनाउन थाले । 

ग्यालरीभित्र मात्र नभई महिला कलाकार यस्ता काम लिएर सडक–चोकहरूमा देखिन थाले । अहिले महिला मात्रैको एकल वा सामूहिक कला प्रदर्शनी बगुन्द्रो हुन थालेको देखिन्छ । यसै वेलादेखि अस्मिना, सरिता र सुनिताले उत्तर–आधुनिककलाको सबैजसो विधामा काम गरेका छन् । सरिताले कला ग्यालरी खोलेर कलाका क्रियाकलाप गरी महिला कलाकारका प्रदर्शनी गरिदिन थालिन् । चारवटासम्म कला ग्यालरी सञ्चालन गर्ने महिला कलाकारमा उनै हुन् । उनीबाहेक कला ग्यालरी सञ्चालन गरिरहने नीरा जोशी पनि हुन् । सरिताले चाहिँ हरेक वर्षको ‘इन्टरनेसनल वुमन डे’मा महिला कलाकारहरूलाई मात्र सम्मिलित गरी कला प्रदर्शनी गर्छिन् । 

यसै बेला वा यसभन्दा केही अघि वा पछि देखापरेका महिला कलाकारहरू हुन्— संगी श्रेष्ठ, शौरगंगा दर्शनधारी, सम्झना राज भण्डारी, सविता डंगोल, इन्दिरा श्रेष्ठ, शुष्मा शाक्य, शुष्मा राजभण्डारी, सरोजा खड्गी, शिलाशा राजभण्डारी, मञ्जु स्याउला, अनिता खनाल भट्टराई, मीना कायस्थ, नम्रता सिंह, सुमित्रा राणा, सुशीला सिंह, प्रमिला परियार, महिमा सिंह, इन्दु पन्त, कृति चन्द, मुना भडेल, विपना महर्जन, आर्या राजभण्डारी, रविता किसी, रश्मी अमात्य, रीता मानन्धर, कृति उपाध्याय श्रेष्ठ, विधाता केसी, विपना महर्जन, चन्द्रा श्रेष्ठ, डिना श्रेष्ठ, रुकमिणी श्रेष्ठ, दीपमाला महर्जन, कृशा ताम्राकार, पल्पसा मानन्धर,जय शर्मा, दिभा प्रधान, दान्फु बोहोरा, अनुराधा थापा, गंगा सुवेदी, अरुणा हिङमाङ आदि । मिथिला कलाबाट गीताकुमारी ठाकुर, मिथिलादेवी यादव, पुनम कुमारी दास, सीतादेवी कर्ण, रेणुकुमारी यादव, सुनैना ठाकुर आदि क्रियाशील छन् । यसबाहेक यतिविघ्न महिला कलाकारहरू देखापरेका छन्, यो सानो आलेखमा सबैलाई उल्लेख गरेर साध्य छैन । 

(मल्ल कलाकार र कला समीक्षक हुन् ।)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप