आइतबार, २५ फागुन २०८१
ताजा लोकप्रिय

शेर्पा समुदायद्वारा ताप्लेजुङमा सद्भाव र्‍याली

शनिबार, २४ फागुन २०८१, १८ : ३४
शनिबार, २४ फागुन २०८१

ताप्लेजुङ ।  ताप्लेजुङको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले आज सदरमुकाम फुङ्लिङ बजारमा सद्भाव र्‍याली आयोजना गरेको छ । शान्ति र समृद्धिको सन्देश फैलाउने उद्देश्यले निकालिएको उक्त र्‍यालीमा शेर्पा समुदायका सदस्य मौलिक पोसाकमा सजिएर सहभागी भएका थिए ।

र्‍यालीले वीरेन्द्र चोकबाट सुरु भई तोक्मे डाँडामा रहेको गुम्बाको परिक्रमा गरेको थियो । गुम्बा परिक्रमा शेर्पा समुदायको धार्मिक आस्थासँग गाँसिएको महत्त्वपूर्ण परम्परा हो । त्यसले शान्ति, सद्भाव र सकारात्मक ऊर्जाको प्रवर्द्धन गर्ने विश्वास गरिन्छ ।

उक्त र्‍याली हिमालयन शेर्पा सांस्कृतिक केन्द्र ताप्लेजुङ र शेर्पा सञ्चार समूह नेपाल जिल्ला शाखाको संयुक्त आयोजनामा गरिएको हो । आयोजक संस्थाहरूले बौद्धमार्गीको राष्ट्रिय पर्व २१५२औँ शिङ मो डुल लो ग्याल्पो लोसारको अवसरमा आज विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाएको छन् । 

ग्याल्पो लोसार पर्व शेर्पा समुदायका लागि विशेष महत्त्व राख्ने चाड हो । यस अवसरमा परम्परागत नृत्य, मौलिक गीत सङ्गीत तथा सांस्कृतिक झाँकी प्रस्तुत गरिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप

छुटाउनुभयो कि ?