सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय
सन्दर्भ : अन्तर्राष्ट्रिय नारी दिवस

समकालीन कवितामा नारी स्वर

शनिबार, २४ फागुन २०८१, १९ : ००
शनिबार, २४ फागुन २०८१

समकालीन नेपाली कवितामा अभिव्यञ्जित नारी स्वरको चर्चा गर्नुअघि थोरै इतिहासतिर फर्कौं । नेपाली साहित्यको प्राथमिककालदेखि नै नारी स्रष्टाहरू साहित्य सिर्जनामा सक्रिय पाइन्छन् । संख्याका दृष्टिले थोरै भए पनि यसलाई महत्त्वपूर्ण मानिन्छ । उनीहरू मूलतः धार्मिक र आध्यात्मिक चेतनाभन्दा माथि उक्लन सकेको पाइँदैन । केही स्रष्टाका रचनामा थोरै सामाजिक सुधारका भावना पाइन्छन् । प्राथमिक कालमा सुधारवादी चेतनाका दृष्टिले सबैभन्दा अगाडि जोसमनी सन्त कविहरू थिए । जीवनदृष्टि धार्मिक र आध्यात्मिक भए पनि उनीहरूका रचनामा रुढी, अन्धविश्वास, जातपात, छुवाछुत, नारी उत्पीडन आदिको आलोचना पाइन्छ । यसका कालखण्डमा अग्लो कद भएका नारी स्रष्टाहरू पाइँदैनन् । 

माध्यमिक कालमा नारी स्रष्टाहरूको उपस्थिति तुलनात्मक रूपमा बढी देखिए पनि उनीहरूको काव्यात्मक स्वर मूलतः पुरानै चेतनाबाट डोरिएको छ । धार्मिक, आध्यात्मिक एवं जीवनका सुख–दुःखलाई उनीहरूले आफ्ना कवितामा अभिव्यक्ति दिएका छन् । कतिपयमा सामान्य सुधारवादी चेतना पाइन्छ । तर उनीहरूका रचनामा पितृसत्तात्मक संरचना एवं नारीमाथिको उत्पीडनको प्रखर विरोध पाइँदैन । यथास्थितिलाई स्वीकार गर्दै उनीहरू सिर्जनामा सक्रिय पाइन्छन् । माध्यमिककालकी महत्त्वपूर्ण प्रतिभा योगमाया हुन् । उनले विद्रोही चेतनासहित तत्कालीन यथार्थलाई काव्यात्मक अभिव्यक्ति दिएकी छन् । उनका रचनामा सामाजिक–सांस्कृतिक एवं धार्मिक जीवनमा व्याप्त रुढी, अन्धविश्वास, पाखण्ड, उचनिच, जातीय भेदभाव, नारीमाथिको उत्पीडनका साथै तत्कालीन प्रशासन, घुसखोरी, सतीप्रथा, वर्गीय विभेद आदिको विरोध पाइन्छ । सामाजिक न्याय एवं समानताको स्वरलाई उनका रचनामा नियाल्न सकिन्छ । उनी आफ्नो समयकी असाधारण विद्रोही थिइन् । धार्मिक एवं आध्यात्मिक जीवनदृष्टि भए पनि उनको आलोचनात्मक एवं विद्रोही चेतना प्रशंसनीय रहेको छ । अपवादलाई छाडिदिने हो भने प्राथमिक र माध्यमिककालीन नारी स्रष्टाहरूले आफ्नो युगको सीमालाई अतिक्रमण गर्न सकेको पाइँदैन । उनीहरूका विचार, भावना, संवेदना, अनुभव आदि यही सीमाबाट डोरिएका छन् । सामन्तवादी जीवन दर्शन र मूल्यप्रणालीबाट उनीहरूको जीवन अनुप्राणित रहेको छ । 

नारीहरूमा आधुनिक चेतनाको निर्माण आधुनिककालको आरम्भसँगै हुन सुरु गर्‍यो । नेपाली समाजमा आएको जागरण, राणाशासनविरोधी राजनीतिक आन्दोलन, सामाजिक–सांस्कृतिक सुधारका प्रयास, विश्वमा आएका महत्त्वपूर्ण परिवर्तन आदि यसका कारक थिए । आधुनिक चेतनाको निर्माणका कारण नारीहरू विद्यमान संरचना; आफ्नो आर्थिक, राजनीतिक, सामाजिक–सांस्कृतिक स्थिति; आफूमाथिको उत्पीडन, आफ्नो अस्मिता आदिप्रति गम्भीर एवं आलोचनात्मक हुन थाले । उनीहरूमा आएको जागरण, आलोचनात्मक चेतनाको विकास र परिवर्तनको स्वप्नले साहित्यका विविध विधामा अभिव्यक्ति पाउन थाले तर यो चेतना आधुनिककालका नारी स्रष्टामा अपेक्षा अनुसार मुखरित हुन सकेन । नेपाली साहित्यको आधुनिक कालखण्डमा साहित्यमा विभिन्न धारा देखापरे । परिष्कारवादी, स्वच्छन्दतावादी, प्रयोगवादी धाराका नारी स्रष्टामा आलोचनात्मक एवं विद्रोही चेतना कम पाइन्छ । नारीविरोधी संरचना र नारी उत्पीडनको प्रतिवादका दृष्टिले उनीहरू पछि छन् । यस समयका कैयौँ महत्त्वपूर्ण नारी स्रष्टाका रचनामा अस्तित्ववादी, विसङ्गतिवादी, निराशावादी काव्य चेतना बलियो रहेको पाइन्छ । 

समकालीन नेपाली कवितामा नारी स्रष्टाको महत्त्वपूर्ण उपस्थिति रहेको छ । उनीहरूको उपस्थिति काव्यचेतना र मूल्यका दृष्टिले पनि महत्त्वपूर्ण छ । मुलुकमा भएका राजनीतिक आन्दोलन, सामाजिक–सांस्कृतिक जागरण, अधिकारका निम्ति भएका महिला आन्दोलन, संघर्ष र परिवर्तनबाट प्राप्त उपलब्धि, विचारधारात्मक संघर्ष आदिका बिचबाट उनीहरूको चेतनाको निर्माण भएको छ ।

आधुनिककालका प्रगतिवादी नारी स्रष्टाका कवितामा नारीमाथिका विविध उत्पीडनले सबैभन्दा बढी अभिव्यक्ति पाएका छन् । उनीहरूका कवितामा पितृसत्तात्मक संरचनाको विरोध; नारीमाथिका विविध उत्पीडनको आलोचना; स्वतन्त्रता, समानता, सामाजिक न्याय एवं नारी गरिमाको प्राप्ति; नारी अस्मिता; संवेदना, अनुभूति र वैयक्तिक जीवनका सुख–दुःख एवं समाजको आमूल परिवर्तनको स्वप्नले काव्यात्मक अभिव्यञ्जना पाएका छन् । नयाँ आर्थिक, राजनीतिक, सामाजिक–सांस्कृतिक संरचना निर्माण नगरीकन नारी मुक्ति सम्भव छैन भन्ने कुरामा उनीहरू स्पष्ट पाइन्छन् । नारी मुक्तिलाई वर्गीय मुक्तिसँग जोड्नु, लैंगिक विषयलाई आर्थिक संरचनाबाट अलग गरेर नहेर्नु, पुरुष र नारीको एकताबाटै नारी मुक्ति सम्भव देख्नु र नारी समस्यालाई सांस्कृतिक, जैविक र मनोवैज्ञानिक रूपमा मात्रै हेर्ने दृष्टिकोणको विरोध गर्नु उनीहरूको महत्त्वपूर्ण विशेषता रहेको छ । आधुनिक कालको आरम्भपछि नारी स्रष्टामा आएको जागरण र त्यसको काव्यिक अभिव्यञ्जना वि.सं. २०३० को दशकको उत्तराद्र्धदेखि अझ सबल बन्यो । 

समकालीन नेपाली कवितामा नारी स्रष्टाको महत्त्वपूर्ण उपस्थिति रहेको छ । उनीहरूको उपस्थिति काव्यचेतना र मूल्यका दृष्टिले पनि महत्त्वपूर्ण छ । मुलुकमा भएका राजनीतिक आन्दोलन, सामाजिक–सांस्कृतिक जागरण, अधिकारका निम्ति भएका महिला आन्दोलन, संघर्ष र परिवर्तनबाट प्राप्त उपलब्धि, विचारधारात्मक संघर्ष आदिका बिचबाट उनीहरूको चेतनाको निर्माण भएको छ । उनीहरूको जीवनदृष्टि, काव्यदृष्टि, सौन्दर्यदृष्टि, आलोचनात्मक एवं परिवर्तनकारी चेतना यसैबाट निर्मित छन् । आ–आफ्नो विचारधारात्मक जग, प्रतिबद्धता, मूल्य र आदर्श अनुरूप उनीहरूले नेपाली समाजको पितृसत्तात्मक ढाँचा, आर्थिक, राजनीतिक, सामाजिक–सांस्कृतिक संरचना, धार्मिक लगायत उत्पीडनका विभिन्न रूपहरूलाई हेरेका छन् । भूमण्डलीकरण, बजार, उपभोक्तावाद, सांस्कृतिक आक्रमण, नारी देहको वस्तुकरण आदिलाई हेर्ने र प्रतिवाद गर्ने उनीहरूका आ–आफ्नै वैचारिक आधार र तरिका छन् । उत्तरआधुनिकतावादी, मनोवैज्ञानिक एवं अस्मितावादी दृष्टिकोण पनि समकालीन नारी स्रष्टामा पाइन्छन् । समकालीन कवितामा अभिव्यञ्जित नारी स्वर मूलतः आलोचनात्मक छ र अग्रगामी एवं परिवर्तनकारी चेतनाबाट निःसृत छ । अधिकांश नारी स्रष्टा आफ्नो अस्तित्व, भूमिका, अवस्था र आफूमाथिका उत्पीडनका बारेमा सचेत छन् । उनीहरूको काव्यदृष्टि आलोचनात्मक, विद्रोही र क्रान्तिकारी चेतनाबाट निर्मित छ । 


वर्गीय संरचनालाई नबदली, पितृसत्तात्मक ढाँचालाई नफेरी, विभेदका धार्मिक, सामाजिक–सांस्कृतिक एवं मनोवैज्ञानिक पर्खालहरू नभत्काई र मनुष्यको आभ्यान्तरिक रूपान्तरण नगरी लैंगिक विभेद र उत्पीडनलाई अन्त गर्न सकिन्न भन्ने स्वरले समकालीन नारी स्रष्टाका कवितामा बलियो अभिव्यक्ति पाएको छ ।


मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ तर पितृसत्तात्मक संरचना जीवित छ । नारी र पुरुषका बिचमा आर्थिक विभेद छ । यस विभेदलाई सम्पत्ति, श्रम र आर्थिक भूमिकामा नियाल्न सकिन्छ । राज्यका संरचनादेखि सबै सार्वजनिक क्षेत्रमा नारीहरूको समान सहभागिता छैन । संसद्, प्रदेशसभा, स्थानीय तहमा भएको नारी प्रतिनिधित्व यसको सटीक दृष्टान्त हो । दलहरूमा समेत उनीहरूको समुचित प्रतिनिधित्व हुन सकेको पाइँदैन । सामाजिक र सांस्कृतिक रूपमा उनीहरू डरलाग्दो उत्पीडनको सिकार छन् । उनीहरूको स्थिति दोयम दर्जाको छ । आमाको नामबाट नागरिकता प्राप्त गर्ने कुरामै समस्या छन् । दलित नारीहरूको स्थिति अझ गए गुज्रेको छ । उनीहरूमाथिको जातीय, धार्मिक एवं सांस्कृतिक उत्पीडन डरलाग्दो छ । नारीमाथिको शारीरिक, मानसिक एवं यौन हिंसा कम भएको छैन । परिवार एवं सार्वजनिक जीवनमा उनीहरूका भावना, संवेदना र अनुभूतिको सम्मान गरिँदैन । उनीहरूको स्वतन्त्र अस्तित्वमाथि प्रहार रोकिएको छैन । पारिवारिक एवं सार्वजनिक जीवनमा निर्णय प्रक्रियामा उनीहरूको समान भूमिका पाइँदैन । नारी अधिकार, स्वतन्त्रता, समानता र सामाजिक न्यायसम्बन्धी संवैधानिक व्यवस्था समेतको पूर्ण कार्यान्वयन हुन सकेको छैन । नारी देहको वस्तुकरण गरिएको छ । नारी अस्मिता बजार र उपभोक्तावादबाट दंशित छ । समकालीन नारी स्रष्टाहरू यस यथार्थप्रति आलोचनात्मक पाइन्छन् । 

समकालीन नारी स्रष्टाका कवितामा पितृ सत्तात्मक संरचनाको आलोचना; आर्थिक, राजनीतिक, सामाजिक–सांस्कृतिक असमानता; धार्मिक उत्पीडन; शारीरिक, मानसिक तथा यौन हिंसाको विरोध; स्वतन्त्रता, समानता, सामाजिक न्याय एवं नारी गरिमा प्राप्तिको आकांक्षा; नारी बेचबिखन एवं संवैधानिक र कानुनी त्रुटिहरूको प्रतिवाद पाइन्छ । आफ्ना रचनामा उनीहरूले नारी र पुरुषबिच विद्यमान खाडल, नारीहरूको भोगाइ, मनोवैज्ञानिक स्थिति एवं पहिचान, नारी संवेदना र अनुभूतिको विशिष्टता आदिलाई पनि अभिव्यक्ति दिएका छन् । नारीलाई वस्तु सम्झने प्रवृत्तिको उनीहरूका कवितामा सशक्त आलोचना पाइन्छ । नारी हुँदा अनुभूत गर्नुपरेको पीडालाई उनीहरूले कवितामा प्रभावकारी अभिव्यक्ति दिएका छन् । दलित एवं आदिवासी जनजाति नारी स्रष्टाले आफ्ना भोगाइ, अनुभूति एवं संवेदनालाई सुन्दर ढङ्गले कवितामा पस्किएका छन् । नारी स्रष्टाहरू भूमण्डलीकरण, नवउपनिवेशवाद र सांस्कृतिक प्रदूषणप्रति पनि गम्भीर पाइन्छन् । समकालीन नारी स्रष्टाका कविता पढ्दा नेपाली नारीहरूको वर्तमान तस्बिरका साथसाथै नारी विरोधी समग्र संरचनाको तस्बिर हाम्रा आँखामा आउँछन् । उनीहरूका कविता वर्तमान संरचना विरुद्धका कविता हुन्, सुधार र परिवर्तनका स्वप्नका कविता हुन्, आक्रोश र प्रहारका कविता हुन् । काव्य भाषा र शिल्पको निर्माण नै यसै गरी भएको छ । कविताको केन्द्रमा आगो छ र त्यही आगोमा सौन्दर्य छ ।

उनीहरूका कविता वर्तमान संरचना विरुद्धका कविता हुन् । सुधार र परिवर्तनका स्वप्नका कविता हुन्, आक्रोश र प्रहारका कविता हुन् । काव्य भाषा र शिल्पको निर्माण नै यसै गरी भएको छ । कविताको केन्द्रमा आगो छ र त्यही आगोमा सौन्दर्य छ ।

कतिपय नारी स्रष्टाको काव्य चेतना कुरूप यथार्थको आलोचनाभन्दा माथि उठ्न सकेको पाइँदैन । त्यहाँ आलोचना छ तर त्यसभन्दा पर केही छैन । एक थरी नारी स्रष्टाका कवितामा नारी हुनुका वैयक्तिक अनुभूति, मनोवैज्ञानिक स्थिति, संवेदना र भोगाइ बढी पाइन्छन् तर नारी उत्पीडन, त्यसको प्रतिवाद र नयाँ स्वप्नको जीवन्त ढुकढुकी पाइँदैन । नारी अस्मिताका उत्तरआधुनिकतावादी बुझाइले पनि कवितामा अभिव्यक्ति पाएका छन् । यो बुझाइसँग नारी उत्पीडनको अन्त्यको उपयुक्त वैचारिक आधार नै छैन । धेरै नारी स्रष्टा भने परिवर्तनको स्वरसहित सिर्जनामा सक्रिय छन् र उनीहरूका रचनाको केन्द्रमा परिवर्तनको स्वप्न छ । 

उनीहरू नारी बन्धनका समस्त आधारको अन्त्य र समतामूलक समाजको निर्माण चाहन्छन् । अहिलेका कैयौँ नारी स्रष्टा जनआन्दोलन र जनयुद्धमा सहभागी भएर आएका छन् । पुरुषसँग हातेमालो गर्दै उनीहरू संघर्षमा सहभागी भएका थिए र यातना खपेका थिए । उनीहरूका रचनामा लैंगिक विभेदको तिखो प्रतिवाद पाइए पनि पुरुषविरोधी अराजक भावना पाइँदैन । उनीहरू पुरुष र नारीका बिचमा द्वैत खडा गर्ने कुराको विरोधी छन् । नारी उत्पीडनलाई वर्गीय, धार्मिक, सांस्कृतिक, ऐतिहासिक सन्दर्भसहित हेर्ने कुरामा पनि धेरै नारी स्रष्टा स्पष्ट देखिन्छन् । 

लैंगिक विभेद आर्थिक संरचनासँग गहिरो गरी जोडिएको छ । धार्मिक, सांस्कृतिक एवं मनोवैज्ञानिक स्थितिको निर्माणमा यसको धेरै ठुलो भूमिका छ । यस यथार्थलाई खासगरी प्रगतिवादी नारी स्रष्टाले गहिरो गरी आत्मसात् गरेका छन् र काव्यात्मक अभिव्यक्ति दिएका छन् । वर्गीय संरचनालाई नबदली, पितृसत्तात्मक ढाँचालाई नफेरी, विभेदका धार्मिक, सामाजिक–सांस्कृतिक एवं मनोवैज्ञानिक पर्खालहरू नभत्काई र मनुष्यको आभ्यान्तरिक रूपान्तरण नगरी लैंगिक विभेद र उत्पीडनलाई अन्त गर्न सकिन्न भन्ने स्वरले समकालीन नारी स्रष्टाका कवितामा बलियो अभिव्यक्ति पाएको छ । नारी मुक्तिका निम्ति नेपाली समाजको आमूल परिवर्तन आवश्यक छ भन्ने चेतना नारी स्रष्टाद्वारा रचित कविताको केन्द्रमा पाइन्छ । नारी मुक्ति उनीहरूद्वारा रचित कविताको मूल स्वर हो । समकालीन नारी स्रष्टाका कवितामा नारीमाथिको उत्पीडन, त्यसको प्रतिवाद, नारी संवेदना र परिवर्तनको स्वप्नले कसरी अभिव्यक्ति पाएको छ, हेरौँ कविताका केही दृष्टान्त : 

 

असन्तुष्टि डढेलोजस्तो हुर्किरहेछ 

पानी पनि प्रज्ज्वलनशील भएको छ

घाँसपातहरू सुकेको खरजस्तो सल्कँदै छन् 

बन्दी स्वरहरू उन्मुक्त हुने रहरमा छन् 

सम्पूर्ण अहंकारका विरुद्ध 

बहिनी एउटा युद्धको हुँकार गरिरहेकी छे ।

(कुन्ता शर्मा, ‘बहिनी विद्रोह बोल्छे’, मेरो मान्छे, पृष्ठ ३३) ।

...

म नागरिक भएँ 

बाबुकै नामबाट 

म जागिरे भएँ

बाबुकै नामबाट

म बेनाम आमाकी छोरी

भन न आमा तिम्रो नाम के हो ? 

(लक्ष्मी माली, ‘आमा तिम्रो नाम के हो ?’, प्रज्ञा आधुनिक नेपाली कविता, पृष्ठ ३४७) । 

...

आधा आँखा हाँसेको छु त 

आधा आँखा रोएको छु

आधा मन अघाएको छ त

आधा मन भोकाएको छु

यी झुत्रे आशाहरूलाई 

आँखाको आधा सुकेको पानीले टल्काएर 

यो मनलाई 

विशाल समुद्रको मायाको पानीबाट फर्काएर 

भित्तामा टाँगिएको 

मात्र एउटा विवशताको अर्पण लिएर 

आधा 

मौनतासँग अनुहार हराइरहेछु 

(मञ्जु काँचुली, ‘मोनालिसा चित्र’, प्रज्ञा समकालीन प्रतिनिधि नेपाली कविता, पृष्ट १६३ ।)

...

भान्छाको कुनामा 

घैँटाको पानीमा 

र नानीको थाङ्नामा पनि 

कविताहरू भुलभुल गरी जन्मिरहन्छन् 

पानीका फोकाहरूझैँ 

हरे ! मायाले टिपिदिने कोही नहुँदा

आफैँ फेरि एक–एक गरी 

मरिजान्छन् 

जङ्गलका फूलहरूझैँ 

गृहिणीका कविताहरू ! 

(सुलोचना मानन्धर, ‘गृहिणीको कविता’, प्रज्ञा आधुनिक नेपाली कविता, पृष्ठ ३९५) । 

...


हो मेरो जाज्वल्इमान सूर्यहरू
न्याना किरणहरूले तापिने छौ तिमी
आफूलाई सम्हाल्यौ भने
तिमीलाई दिनेछु आदरको राप
मायाको बदलामा माया
घृणाका बदलामा घृणा
तिमीले तिमीले जस्तै मैले पनि जानेकी छु
बन्द गर ओठहरू
बन्द गर शकुनी व्यवहारहरू
अनावश्यक गनगनका काँडाहरू ।
(रजनी ढकाल, ‘बन्द गर’, रङहरूमा जिन्दगी, पृष्ठ ३५) ।
 ...
गर्मीको एक दिन
शीतल छाया पर्खिरहेकी लीसा 
मरुभूमिको उष्णताले निस्सासिई
मात्र घाम लिएर आएको उसको बाबुसँग 
शीतल छाया थिएन ।
हिउँदको अर्को दिन
न्यानो घाम पर्खिरहेकी लीसा
तुषारोले कठ्याङ्ग्रिई 
मात्र छाया लिएर आएकी उसकी आमासँग 
न्यानो घाम थिएन ।
(गीता त्रिपाठी, ‘लीसा’, सिमलको गीत, पृष्ठ ७६–७७) ।
...

थाहा छ

तिमी निदाइरहेको बेला 

उनीहरूले तिमीलाई बोक्सी बनाए 

र बलात् ख्वाए रछ्यान

बलजफ्ती थुनेर कोठाभित्र गरिदिए वेश्या करार

र नैतिकताको सफेद पोस भिरेर 

लेखे धर्मका नाममा पापका मन्त्र । 

 

तिमी निदाएपछि 

अवचेतनमै घोकाइएको हो तिमीलाई 

सहनशीलताको अद्वैत वर्णमाला 

र गराइएको हो तिम्रो चेतनामाथि पक्षाघात । 

(सरिता तिवारी, ‘हे देवी’, प्रश्नहरूको कारखाना, पृष्ठ ३८) । 

...

हतारिन्छे एकाएक 

घाँस बटारेर डोरी बनाउँछे 

मुठो पार्छे जिन्दगीको एक दिन 

बच्चालाई काँधमा राखेजस्तो 

मायाले घाँसका मुठा उठाउँछे र कुद्छे । 

किन कुदेकी हो त्यसरी 

पक्कै सम्झी होली

स्कुलबाट फर्किएका नानीहरूको भोक 

ढिलो गरेको निहुँमा

लोग्नेको अनुहारमा फुल्ने कालो गुलाफ

या गाईको खोबिल्टे भुँडी ।

(ज्योति जङ्गल, ‘घाँस काटिरहेकी ऊ’, आधा शिर उचालेर, पृष्ठ २६) ।

...

 

मेरी छोरी ! 

रहरसँगै उडेको उत्ताउलो समयलाई

ओरालिरहँदा जिन्दगीको अधबैँसे सिमानामा 

जोखी त हेर आफूलाई 

बजारको मत्याइलो क्रूरतासँग 

र मन्साइदेऊ रजस्वलाको आलो रगत छर्किएर 

पाखण्डी समाजको यो शिरफूललाई ! 

फुकाल निम्छरो पटुकी 

र बाँधिदेऊ काँचो धागो बनाएर 

भयाँरथानको बुढो सिमलको बुटामा !

तिम्रो सिर्जनशीलतालाई 

प्रदर्शनीमा राखेर रमाउने 

पुरुषको त्यो बेशर्मी सभ्यतालाई 

खोज खोतलीखोतली ! 

(बिन्दु शर्मा, ‘मेरी छोरी र प्रेम दिवस’, ओक्कल दोक्कल पिपलपात, पृष्ठ ९०–९१) । 

...

अचेल ! अचेल ! 

जङ्गलबाट सहर पसेका

महलमा बसेका

लाल ख्वामित्हरू भनिरहेछन् 

बुधनी तिमी बुद्ध जन्माऊ । 

बुधनी रानी हो र ?

बुद्ध जन्माउँछे 

बुधनी दास हो दास !

दासहरू स्पार्टाकस जन्माउँछन्

स्पार्टाकसहरू जन्माइरहन्छन् । 

(निभा शाह, ‘बुधनी’, प्रज्ञा समकालीन प्रतिनिधि कविता, भाग २, पृष्ठ १२४) ।

...

सांस्कारिक चट्टानमुनि चेपिएका 

जिन्दगीहरू 

आफैँ चट्टान फुटाउने

शक्ति बन्न नसक्दा

कुसंस्कारको घेराभित्रै अल्झिए 

हो हामी पानी पानी हौँ

पानीले चट्टान फोर्न सक्ने नसक्ने 

बहसलाई पाखा लगाउँदै 

चट्टान फोर्नमै केन्द्रित हुनुपर्छ पानीहरू

अब आफैँ बाढी बनेर 

धुलोपिठो पार्नुपर्छ 

नारीलाई उठ्नै नदिई 

दबाउने छपनीहरूलाई । 

(गौरी दाहाल, ‘हो हामी पानी हौँ’, मुक्तिको क्यानभासमा, पृष्ठ १९–२०) ।

...

यतिखेर साँच्चै भन्नुपर्दा 

नमिलेको अंक–गणितमा 

म जीवनको सूत्र खोजिरहेछु 

हराएका खोसिएका बन्धकी परेका 

हिउँमा पुरिएका 

जिजीविषाहरू खोजिरहेछु । 

 

बाटो अलमलिएर 

बाटो खोजिरहेछु 

आमाहरूको प्रदेशमा 

कहाँ छन् ? 

आमाहरू 

कहाँ छ ?

आमाहरूको प्रदेश । 

(गीता कार्की, ‘आमाहरूको प्रदेश’, आमा किरणहरूको छालमा, पृष्ठ ९१) ।

...

 

यस सृष्टिको भ्रूण हुँ म

कालान्तरदेखि बाँचेकै छु ढुङ्गा बाँचेझैँ 

आगोमा पनि हिँडेकै छु समुद्रको डुङ्गाझैँ

सीतालाई पनि डढाउन नसकेको अग्निबीज 

निली नै रहेकी छु बालकले दुध पिएझैँ ।

 

यो भुइँमा टेक्न मात्र देऊ ! 

मेरा दुई छातीका केन्द्रबाट जन्मन सक्छ अर्को ब्रह्माण्ड 

अँध्यारो टेकेर उज्यालो हेर्न मात्र देऊ ! 

यही ब्रह्माण्डको पल्लो छेउबाट मेरै गोडाले 

हिँड्दै हिँड्दै आउन सक्छ जवान युग ! 

(सीमा आभास, ‘म स्त्री अर्थात् आइमाई’, म स्त्री अर्थात् आइमाई, पृष्ठ १२–१३) ।

...

आज पनि मरिरहेकी छु

छाउगोठमा 

टोल र बस्ती र गाउँहरूमा 

गौना, दाइजो र

कुल वंशका नाममा ।

 

म यसरी मरिरहन सक्दिनँ अब

आँसुको पर्याय भइरहन सक्दिनँ

पिइरहन सक्दिनँ अपमानको विष । 

(शान्तिप्रिय वन्दना, ‘राँको’, जिल खाइरहेको एक्काइसौँ शताब्दी, पृष्ठ ९७) ।

...

जीवन सकिनै लाग्दा 

दुःखले गाल्न नसकेको जेठी सुब्बेनीको शरीर 

सुगरले गालेपछि 

आँखा चिम गरेर योग गर भन्दा

उमेरमा तन्नेरीसँग 

धान नाचेको मात्र 

सम्झना आउँछ भन्छिन्  

र भन्छिन् गर्दिनँ नाथे योग 

लुङ्गा 

जीवनको यो निरन्तर चक्रव्यूहमा यी किरात ‘आइमाई’ 

सायद 

मानव सभ्यताको सुन्दर गीत हुन सक्छिन् ।

(विमला तुम्खेवा, ‘जेठी सुब्बेनी’, इतर कविता, पृष्ठ ६४८) ।

...

एउटा पुरानो शैलीको 

चुल्ठो छ मसँग

आफैँले कोर्न नपाएको 

सदियौँपूर्व अरुले बाटिदिएको 

कुसंस्कारको कुवामा पखाल्दा पखाल्दा 

मैलिएर लट्टिएको 

आफ्नै शिरलाई भारीभारी लाग्ने ।

 

एउटा 

आदिम चुल्ठो छ मसँग

मबाटै मुक्ति खोजिरहेको ।

(कल्पना चिलुवाल, ‘चुल्ठो’, चुल्ठो, पृष्ठ १८–१९)।

...

ऊसँग बेहिसाब छन् गुमाउनुका हिसाबहरू 

कतै अराजकता 

उच्छृङ्खलता 

उसको पहिचान बनेको छ 

विखण्डनकारीको तक्मा

उसका निम्ति आम भइसकेको छ 

आरोप–प्रत्यारोप, प्रहार र तिरस्कारकै बिचबाट 

परिवर्तन र क्रान्तिको बाटोमा 

अविचलित मुस्कुराउँदै उभिने अठोट गरेपछि 

बल्ल लेखिँदो रहेछ बागी स्त्रीको आत्मकथा । 

(सुमिना, ‘बागी स्त्रीको आत्मकथा’, बागी स्त्रीको आत्मकथा, पृष्ठ २४) ।

...

जीवनको सारा ऊर्जा सिद्धिएपछि 

यतिबेला मेरी आमा

टाल्न नसक्ने 

सिउन नसक्ने

अभावग्रस्त जिन्दगी लिएर 

विष्टका कपडा सिइरहेछिन्

कि अपमानित आँसुको घुट्को पिइरहेछिन् ।

(पञ्चकुमारी परियार, ‘मेरो गाउँ’, इतर कविता, पृष्ठ १६५) । 

माथि उल्लिखित केही साक्ष्यहरूले समकालीन नेपाली कवितामा चित्रित नारीको तस्बिर, उनीहरूका संवेदना, संघर्ष र स्वप्नलाई हाम्रा सामु प्रस्तुत गर्छन् । नारी स्रष्टाका कवितामा नारीमाथिको उत्पीडन, उनीहरूका पीडा, संवेदना एवं समतापूर्ण समाज निर्माणको आकाङ्क्षाले सशक्त अभिव्यक्ति पाएका छन् । समकालीन नेपाली कवितामा दर्जनौँ प्रतिभाशाली नारी स्रष्टा सिर्जनामा सक्रिय छन् । यहाँ चाहँदा चाहँदै पनि कतिपय नारी स्रष्टाहरूको रचनालाई उल्लेख गर्न सकिएन । नारी स्रष्टाले आफ्नो काव्यात्मक सामथ्र्यलाई अझै शक्तिशाली बनाउन आवश्यक छ । यो सामथ्र्य उनीहरूसँग छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. अमर गिरी
डा. अमर गिरी
लेखकबाट थप