प्रतिसरा सायमीका तीन कविता

१) रङ्गले त्यागेका मेरा केशहरू
घचेटी माग्दै
घडी–घडी आफूतिर तान्न खोज्ने
रङ्ग हराएका मेरा केशहरूसँग भेट भो आज
जीवनका रङ्गहरूले मुख मोडेछन् क्यारे !
निस्फिक्री उडिरहेछन् उनीहरू
मेरा यथार्थका ध्वजाहरूझैँ
मेरो शिरमाथि !
तर्सें म !
आफ्नै अज्ञान यथार्थसित !
कस्तो निल्ल कठिन ठोस सत्य ?
कस्सिएँ
निमिट्यान्न पार्न ती फुसा केशहरूलाई
मेहन्दीले पोतिदिएँ
बाँकी काला केशहरूसँग समागम गराउन ।
तर ती हठी मेरा फुस्रा केशहरू
जहाँ तहीँ मात्तिएर
ठिङ्ग उभिएर
मेरा शिरका गल्ली, चोक, चौबाटाहरूमा ।
मानौँ
मेरो बैँसको खिल्ली उडाइरहेछन्
जीवित सत्यको हुर्मत लिन ।
हुल्याहा जिस्क्याइमा
सत्यलाई खोलले ढाक्ने
र हुत्याइन्छन्
मेरा निरर्थक प्रयासहरूलाई !
मैले चपाएका वर्षहरू !
ती पदचापहरू !
सार्वजनिक भो ।
किन दुश्मनीमा उत्रिए उनीहरू ?
न चिम्टीको अँगालोमा अटाउन मान्छन्
न मेहन्दीको काखमै अल्पिन चाहन्छन्
हावाले मस्तीमा जब गीत गाउन थाल्छन्
ती फुस्रा केशहरू —
बताससँगै कोरस गाउन तम्सिन्छन् ।
मैले कोरेर आएका
समयका बखान बक्छन् यिनीहरू ।
ऐनालाई पत्यार गराउन
उखेली फाल्न तम्सिएँ म !
एकबाट अनेक भई उम्रिने
रक्तबीजहरू न हुन् यिनीहरू
जति रङ्गाए पनि
सुस्तरी बाहिरिन्छन्
मेरा प्रयत्नबाट चिप्लिएर
तिनीहरू नुहाएपिच्छे ।
बैँसको एउटा निश्चित सीमारेखा
अनित्यको कोसेढुङ्गाको संकेत हो यो
जो म बुझ्छु
दिनहुँ चिप्लिँदै गएको
चुहिँदै बगेको
जीवनको तीतो सत्य
जो म भोग्छु
साक्षात्कार गराइदिने
विगत समयका आलेखझैँ ।
मेरो समय सत्यको अगाडि
शिर नुहाएँ मैले
मेरा बैँसका प्रमाणपत्र कोर्ने कोसेढुङ्गाहरूलाई
मलाई मेरो समय सत्य बुझाउने
यथार्थ चेतलाई !
०००
२) तुहिएको सपना
ऊ जागेको समय छ
तिमी अभिनय गर्छौ तर
बेहोसी कोमाको ।
सोच
धैर्य छैन उसमा
सडकको जस्तो ।
सपना नदेख्नु
खरानी भइसके भनी
उसका सपनाहरू ।
सपनाहरूको खेती गर्न त सकिन्छ
झूटा भाषणका आश्वासनहरू सिँचेर ।
तुहिएको सपना रोपेर
फुस्रो तन्त्र न फल्छ ?
न अंकित हुन्छन्
बगेका निर्दोष रगतका कथा
लाठीका डामका कथा
अश्रुग्यासका जलनका व्यथा ।
र सपनाहरू
बिटुलिन्छन्
तुहिन्छन सपना आमाहरूको
बेपत्ता पारिन्छन्
पतिका पत्नीहरू
पत्नीका पतिहरू
उम्रिन्छन् गालामा आँसुका पानाहरू
आमा हराएका बालकहरूको ।
बाध्य छ ऊ
निस्सासिएको सुक्खा धारा हेर्न
पानीको धनी भनाउँदो देशमा ।
तसर्थ
नपिलाउ भाषणको आश्वासन
नगर अभिनय
निरीहताको
निर्लज्जताको ।
किनकि
चौबाटोमा फ्याँकिएको
जुठो लपेस होइन
र उसले खोजेको तन्त्र ।
जता मन लाग्यो
उतै उन्मत्त लात्तीले हान्ने
लाचार भकुण्डो होइन ऊ
र उसका तिर्खाएका सपनाहरू ।
नठान टुँडिखेल
खेल्ल पायो भनी
पुर्खाको बिर्ता ।
आभास पाइसकेको छ उसले
सिनोको दुर्गन्ध
तिम्रा भाषणमा ।
किनकि
च्यातिदियौ तिमीले
उसका अधुरा आशाहरू, सपनाहरू
भाषणका शब्दहरूको झिरमा उनेर
सेकुवा बनायौ ।
शंका लागेको छ उसलाई
एक टुका कागज र एउरा कलम
बाँकी राख्ने हो वा होइन
देशको नामसम्म लेख्न
के थाहा देशै बेचेर
कुन बेला मुग्लान पस्छौ !
कति सहन्छ उसले
प्रत्येक जुत्ताहरूको कुल्चाइ सहने
समयले पाप्रा उप्काएका
सडक पनि त होइन ऊ ।
अझै पनि समय छ
मूल्य तिर
तुहिएका सपनाहरूको
टाँका लगाऊ
च्यातिएका अस्मिताहरूको
भविष्यको लेखाजोखा देऊ
शिरमाथि ओत नभएका टुहुराहरूको
आमा–बाबा चेलीहरूको ।
नत्र भने
उसको सास अझै रोकिएको छैन
उठाइसकेको छ मुठी
देशलाई शेष गर्नेहरूको चिन्हा जलाउन
भाषणले शासन गर्ने थुतुनोहरूको ।
००
३) ढुकुटीका मुसाहरूले सखाप पार्न लागे मेरो देश
टुकी बाल्ने बेलाका
अजङ्गका ख्याकहरू
गणतन्त्रको डोरीमा झुन्डिएर
हाम्रो दैलोभित्र पसे आमा !
उनीहरू
लाखामरी भोज मात्र खान आएका हैनन् ।
उनीहरूका आँखा
तिम्रा जुङ्गे थैलीमा
तिम्रो जीवनको गमलामा फुलाइराखेका
ती हाम्रा दिदीबैनीहरूमाथि
अनि घरका गुठी, जग्गा, लालपुर्जामाथि ।
सुरुप्प निल्न सजिलो गरी
लस्सादार राजनीतिको
मिठो परिकार पस्केर
ज्वाइँ नारानको भेषमा
सम्बन्धको अंकुसीको तन्काइमा
ढुकुटीका मुसाहरूले
लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्रको
स्वप्निल संसारको गाउँ घुमाउन
मात्र
एउटा भोटको तारणले जेलेर
आमा !
तिम्रो ढुकुटी र सम्पति
राजनीतिक चङ्गाको धागोले
उसकै चङ्गामा चैट् पारेर लान सक्छ ।
यसैले
आत्म–सुरक्षाका सबै साधनहरू
हाम्रो संस्कृतिका रक्षकहरू
बिलागः चुकुल, गजबार राम्ररी बन्द गर्नु ।
ढोका खोल्ने साँचो क्वँय्
सुरक्षित ठाउँमा लुकाएर राख्नु ।
बन्चरो, चुपी, चुलेसी, न्वः मुङ्ग्री आदि
सबै सुरक्षाका साधनहरू
उचित ठाउँमा लुकाएर राख्नु ।
आफ्नो अस्तित्वको सुरक्षार्थ
आवश्यक परेको समय सदुपयोग गर्न
होइन भने
आश्वासनको चिप्लो भाषणले
आमा !
तिमीले चालै नपाउने गरी
उनीहरू कुम्ल्याउन खप्पिस छन् ।
कान चनाखो पार्नु आमा !
यो बैँसमा पनि
उत्तर–दक्षिणका छिमेकीहरूको
चिप्ला–मिठा बोली बुझ्नुपर्छ
अथ्र्याउन सक्नुपर्छ ।
के गर्ने ?
तिमीहरू जस्ता ज्येष्ठ नागरिकहरू
बाल बच्चाहरू
महिलाहरू मात्र बाँकी राखी
लक्का जवानहरूलाई
मुगलान कटाएर
बिदेसिनबाट नजोगाई
५० डिग्रीको
तापमानमा झोस्न
तिमीहरू जस्तालाई
हेरचाह गर्नेसम्म नरहने गरी
गाउँ–नगर शून्य बनाउँदै ।
ढोका ढकढक्याएमा
कोही खोल्न जानेसम्म नहुने गरी
बिहान पिँढी लिप्ने हातहरू शून्य हुने गरी
चोक ननी बहालका
द्यौता पुज्ने हातहरू समेत नहुने गरी ।
कसैको मृत्युमा
मलामी जाने खुट्टाहरू समेत नहुने गरी
टाँठाबाठा बलियाहरू सबैलाई
विदेश पलायन गराएर
घर खेत सखाप पार्न सजिलो हुने गरी
झेली राजनीतिका खुँखार खेलाडीहरू
सोझा–सिधालाई
छोटीमा नअड्किने गरी सुरुप्प निल्नलाई ।
हाम्रो ढोका ढकढक्याउन आउने
अजङ्गका ख्याकहरू चिनेर
तिमीले पनि तारण राखी
आफ्नो अस्तित्व जोगाउनु आमा !
आमा !
तिम्रो मनमा होला —
बडा आए लठ्ठक ! जान्ने केटा !
आफ्नो देश छाडेर जाने
अनि अब
उपदेश झार्दै गर्ने !
के गर्ने आमा ?
व्यापार गरुँ, लगानीलाई रकम पुग्दैन
हाम्रो भोट थाप्नेले
आफ्नो प्रतिज्ञा पूरा गर्दैनन् ।
पेट पाल्न बिदेसिनैपर्यो —
के गर्ने आमा !
बिदेसिनु त बाध्यता हो हाम्रो
रहर हैन
नत्र तिम्रो काखमा निदाउन
मलाई मात्र रहर नहोला र आमा ?
सावरका झोलाजस्ता पेट भिरेकाहरू
अजङ्गका ख्याकहरू
हाम्रो ढोका ढकढक्याउन आउन सक्छन् ।
सावधान
मजबुत भएर बस्नु
किनकि तिमी मेरी आमा !
सबै सहिदहरूकी आमा !
नेपाल आमा !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन
-
जति तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव छैन : शर्मा
-
सशस्त्रका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
-
मेचीनगर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा