सांसद धामीको सरकारप्रति आक्रोश– लोकतन्त्र नै सङ्कटमा

धनगढी, । सुदूरपश्चिम प्रदेशसभामा आइतबार बसेको बैठकमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता मानबहादुर धामीले सरकारको भूमिकाप्रति असन्तुष्ट व्यक्त गरेका छन् । उनले प्रदेश सरकारको गैरजिम्मेवार रवैया, आर्थिक अनियमितता, बजेट कार्यान्वयनको कमजोरी, तथा जनताको मागप्रति बेवास्ता गर्दै लोकतन्त्र नै सङ्कटमा रहेको आरोप लगाए।
सांसद धामीले प्रदेशसभाको अधिवेशन सरकारको इच्छाअनुसार चल्ने प्रवृत्ति बढेको भन्दै आपत्ति जनाए । उनले भने, ‘यो हिउँदे अधिवेशन हो कि विशेष अधिवेशन ? सरकारले जब चाह्यो तब चलाउने, जब चाह्यो तब स्थगित गर्ने ? प्रदेशसभाको यस्तो व्यवस्था कस्तो हो ?’
उनले पटक–पटक सरकारसँग जवाफ मागे पनि कुनै प्रतिक्रिया नआएको गुनासो गरे। उनले मुख्यमन्त्री बैठकमा अनुपस्थित रहेको भन्दै सरकारको लापरबाहीप्रति आक्रोश पोखे। ‘झन्डै अढाई महिनापछि प्रदेशसभा बसेको छ, तर यो कति घण्टा वा कति दिन चल्छ भन्ने नै स्पष्ट छैन। सरकार सदनलाई जवाफ दिन्छ कि दिँदैन ?’ उनले प्रश्न गरे।
सांसद धामीले अहिलेको अवस्था लोकतन्त्रको सङ्कटको सङ्केत भएको बताए। ‘अहिले प्रतिपक्ष मात्र होइन, विद्यार्थी, कर्मचारी, युवा सबैजना आवाज उठाइरहेका छन्। जनताको आवाज दबाउने प्रयास भइरहेको छ’ उनले भने।
उनले सरकार दुई दलीय व्यवस्थामा फर्कन खोजिरहेको र पुराना निरंकुश प्रवृत्तिहरू पुनः जीवित हुने खतरा रहेको उल्लेख गरे। ‘सत्तामा रहेका केही शक्तिहरू लोकतन्त्र समाप्त पार्ने दिशामा अघि बढिरहेका छन्। पुराना प्रेतहरू फेरि टाउको उठाउँदैछन्,’ उनले चेतावनी दिए।
धामीले कञ्चनपुरकी निर्मला पन्तको हत्या भएको झन्डै ६ वर्ष बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै आक्रोश व्यक्त गरे। ‘गृहमन्त्री नै निर्मलाको निर्वाचन क्षेत्रका हुन्, तर अझै अपराधी पत्ता लागेको छैन। सङ्घीय सरकारको जवाफ कहाँ छ ?’, उनले प्रश्न गरे।
सांसद धामीले प्रदेशका प्रमुख विकास परियोजनाहरू प्राथमिकतामा नपरेको र बजेट न्यून मात्रामा खर्च भइरहेको आरोप लगाए । उनले महाकाली करिडोर, त्रिदेशीय नाका जस्ता ठुला परियोजनाहरूको बजेट कटौती गरिएको उल्लेख गर्दै ‘सुख्खा बन्दरगाह जस्ता योजनामा सरकारले किन चासो नदेखाएको ?’ उनले प्रश्न गरे।
उनले बाढी, पहिरो तथा भूकम्प पीडितलाई राहत वितरणमा प्रदेश सरकार चुकेको भन्दै सरकारको गैरजिम्मेवारीपनको आलोचना गरे। चालू आर्थिक वर्षमा अहिलेसम्म जम्मा ७ प्रतिशत मात्र खर्च भएको उल्लेख गर्दै ‘यसरी प्रदेशको आर्थिक वृद्धिदर कसरी बढ्छ ?’ उनले प्रश्न गरे।
धामीले प्रदेश सरकारले ऐन, कानुन बनाउनेभन्दा सत्ताको दुरुपयोग गरेर आफ्ना कार्यकर्तालाई पाल्ने काम गरिरहेको आरोप समेत लगाए। ‘मुख्यमन्त्री फेरिए पनि सरकारको प्राथमिकता कार्यकर्ता भर्तीमै सीमित देखिन्छ,’ उनले भने।
प्रदेशसभामा आइतबार उद्योग तथा वनसम्बन्धी संशोधित विधेयक टेबल गरिएको छ। बैठकमा प्रदेश उद्योग, वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले विधेयक प्रस्तुत गरेका थिए। सभामुख भीम भण्डारीले उक्त विधेयक प्रदेश सभामा टेबल गराएका थिए।
सांसद धामीले प्रदेश सरकारले जनताको माग सम्बोधन नगरे प्रतिपक्ष आन्दोलनमा उत्रिने चेतावनी दिए। ‘सरकारले यी सबै गुनासोलाई बेवास्ता गरिरहने हो भने हामी पनि पर्सिबाट आन्दोलनमा जान बाध्य हुनेछौँ,’ उनले घोषणा गरे। प्रदेशसभाको अर्को बैठक सोमवार दिउँसो १ बजे बस्नेछ, जसमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमको विकास र समृद्धिका लागि नयाँ पहलकदमी आवश्यक : प्रधानमन्त्री ओली
-
कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु
-
काठमाडौँ विश्वको छैटौँ प्रदूषित सहर
-
नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि १० जनाको आवेदन
-
कुलमानले बुझाए स्पष्टीकरण, के छ जवाफी पत्रमा (पूर्णपाठ)
-
पूर्वराजाका ‘भान्जा हुँ’ भनेर १ करोड २७ लाख ठगी