प्रवासी मुटुमा नेपाली स्पन्दन

सपना र यथार्थबिचको अदृश्य सीमारेखा परेपछि सुरु हुने जीवनको यात्रा कति कठिन, कति मिठो होला ? हामी नेपालीको मुटुभित्र यस्तो अनकन्टार भावना नाचिरहन्छ, जुन सन्देश दिन चाहन्छ, जुन हर्ष र पीडामा हराउँदै हामीलाई आफू र आफ्नै संस्कृतिसँग जोडेर राख्न लगाउँछ । ‘प्रवासी मुटुमा नेपाली स्पन्दन’ यही सन्दर्भमा सिर्जित अनुभूति हो ।
भारतको उत्तर–पूर्वी भेगको दार्जिलिङ, मिरिक, सिक्किम, कालिम्पोङ, सिलगुढी र खर्साङका कला र साहित्यिक भेटघाटमा भेटिएका केही प्रतिनिधि सर्जकले भनेझैँ यी भेगका भारतीय नेपालीको मनभित्र गहिरो नेपालीपनको आत्मीयता र प्रेमको भावनाले ढाकिएको छ । यी सबै स्थानमा हाम्रा महाकवि, आदिकविका पूर्ण र अर्धकदका प्रतिमा सम्मानका साथ स्थापना गरिनु यसकै उदाहरण हुन् ।
दार्जिलिङको उचाइमा उभिँदा यहाँको सन्तुलित मौसम, मस्तिष्कलाई शान्त पार्ने हरियाली र कञ्चनजंघा हिमालको अपूर्व दृश्य । यद्यपि यस ठाउँको एक छुट्टै रचना भनेको यहाँ नेपाली भाषा र साहित्यका माध्यमबाट चिनारी गहिरो छ । नेपालका बहुसंख्यक साहित्यकार, संगीतकार र चित्रकारहरूको यात्राबाट उत्पन्न भित्री विचारधारा र अनुभव सजीव रूपले प्रस्तुत भए जस्तै । पारिजात, लैनसिंह बाङ्देल, अम्बर गुरुङ, गोपाल योञ्जनजस्ता धेरै स्वनामधन्य स्रष्टा जसले आफ्नो पुख्र्यौली थलोमा फर्किएर नेपाललाई कर्मभूमि बनाए ।
यहाँका साहित्यिक बैठकहरूमा जब लेखकहरू मिलेर काव्य र कथा भन्थे, त्यहाँका हावामा नेपाली भाषाको सुगन्ध फैलिन्थ्यो । मिरिकको अपूर्व शान्तिको बिचमा साहित्यकार तथा चित्रकार सिद्धार्थ राई, कवि नु हाङसँगको भेटले नेपालीपनको आत्मीय संलाप गाँस्न सजिलो बनायो । तिनीहरूका शब्दले नेपाली समाजका संघर्ष र सिर्जनात्मक पक्ष सबल रूपमा प्रस्तुत थिए । यस्ता संघर्षहरू, जसले नेपाली प्रवासको शोक र गौरवबिचको द्वन्द्वलाई उजागर गर्छ । कविता र चित्रका माध्यमले ती यथार्थलाई पुकार्ने आवाज बनाइरहेका थिए । यहाँको प्रकृति नै प्रेरणादायी लाग्यो । हरिया चियाबगान र नीलो झिल अनि सुन्दर कटेजहरू, जहाँ मनका तनाव बिर्सिएर ऊर्जामय मन उल्लासले रमाइरहन्थ्यो ।
सिक्किममा पुग्दा, मनमा एउटा खास अनुभूति सिर्जना भएको थियो । टिस्टा तरेपछि यहाँका पहाडहरू र सडकका पाटाहरू यात्राको मार्गका रूपमा देखिन्थे । रुम्तेक गुम्बा, बोटानिकल गार्डेन, छङ्गुलेक आदि यिनले यहाँको परम्परागत स्वरूप झल्काउँछ । सहरदेखि गाउँसम्म नेपालीको समृद्ध इतिहास र परम्पराका झलकहरूले भरेका थिए । यी भेगमा नेपाली भाषाको प्रचण्ड प्रभाव र संस्कृतिका जरा गहिरा छन् । यहाँका साहित्यिक लेखन र गीत–संगीत, चित्रकलाले खासगरी नेपाली मुटुमा एक मिठो स्पन्दनलाई रचनात्मक रूपमा प्रस्तुत गर्न लागेका थिए ।
बाहिर हेर्दा प्रवासी नेपालीको जीवन भव्य देखिन सक्छ — आधुनिक सहरका आलिसान भवनहरू, सुविधासम्पन्न बाटाहरू, आकर्षक बगैँचाहरू । ती भित्ताभित्र लुकेको हुन्छ, एउटा मौन आहत, एक अनकन्टारको विरह ।
अन्ततः यसैको उदाहरण सिक्किममा साहित्यकार गुमानसिंह चाम्लिङ, पवन चाम्लिङ, तुलसीराम शर्मा ‘कश्यप’ र चित्रकार तथा इन्जिनियर किरण रसाइलीको विचारमा पनि स्पष्ट पाएको थिएँ । यस क्षेत्रका साहित्यिकपन कला र सांस्कृतिक रचनामा सीमित छैन । यसले प्रवासी नेपाली समाजको आन्तरिक पहिचान र तिनीहरूको पीडामा छिपेको रचनात्मक पक्षलाई पनि उजागर गर्दै आएको मैले महसुस गरेको छु ।
खर्साङ र सिलगुढीको पृष्ठभूमिमा पनि नेपाली भाषाका झल्काहरू र कलाकृतिहरूको उच्चतम सिर्जना भेटिन्छ । प्रवासी पाटोमा पनि नेपाली माटोको सुगन्ध र गहिराइले हामीलाई कहिलेकाहीँ अनौठो अनुभवमा डुबाइदिन्छ । यहाँका सर्जकहरूको रचनाशीलता आदान–प्रदान गर्दा आफूलाई अति आत्मीय बनाउँछ । आफ्नो देशका कला र साहित्यमा यस्तो प्रेम पाउँदा, प्रवासी नेपालीको पहिचान र त्यागको महत्त्व आन्तरिक रूपले प्रमाणित भएको महसुस हुन्छ ।
यात्राको समापन प्राकृतिक दृश्य र परिप्रेक्ष्यको एक दृश्य मात्र होइन, यी स्थलहरूमा भट्किएर, लेखन र चित्रकलामार्फत समर्पण र सिर्जनात्मकता फैलाउने प्रवासी नेपाली समाजका लागि सांस्कृतिक पक्ष मायालु स्पन्दनको अनुभव पनि हो । यी स्थानमा जीवनयात्राको कथा र अनुभूति साँचो अर्थमा नेपाली भएर पोखिएको हुन्छ । यसले प्रत्येक प्रवासी नेपाली आफूलाई र आफ्नो संस्कृतिलाई पहिचान गर्ने प्रेरणा दिन्छन् ।
परदेशको उज्यालोमा पनि कतै छायाझैँ अड्किन्छ नेपाल । टाढाको भूमिमा हिँड्दा, बेग्लै मौसममा श्वास लिँदा, फरक स्वादको खानपान खाँदा पनि, आत्माको कुनै कुनामा धड्किरहेकै हुन्छ मातृभूमि । किनभने मुटु प्रवासी भए पनि स्पन्दन त नेपाली नै हो ।
आकाशवाणी रेडियो खर्साङमा कालुसिंह रणपहेँली र कथाकार शिवकुमार राईसँग २०५० सालताका साक्षात्कार हुँदा प्रबल रूपमा ‘प्रवासी मुटुमा नेपाली स्पन्दन’ को झङ्कार प्रतिध्वनित भएको थियो । २०५३ सालमा कालिम्पोङ नौ माइलमा ६९ वर्षका भाइचन्द प्रधानलाई भेट्दा र त्रिपाइगुम्बा रोडका तत्कालीन सीपीआईएमका तारा सुन्दास तथा चित्रकार भक्त परियारका कुरा सुन्दा प्रवासमा नेपाली मनले हाम्रो मनलाई स्पर्श गरेको सम्झना अझै आलै छ ।
बाहिर हेर्दा प्रवासी नेपालीको जीवन भव्य देखिन सक्छ — आधुनिक सहरका आलिसान भवनहरू, सुविधासम्पन्न बाटाहरू, आकर्षक बगैँचाहरू । ती भित्ताभित्र लुकेको हुन्छ, एउटा मौन आहत, एक अनकन्टारको विरह । त्यो विरह कसैको गाउँघरको आँगन छाडेको हुन्छ, कसैको आमाको गहभरि आँसु बोकेको हुन्छ । कसैको साथीभाइसँग घुलमिलको बाल्यकालीन हाँसो मिसिएको हुन्छ ।
प्रवासका अधिकांश नेपाली सुखको खोजीमा भौँतारिँदै आफ्नो प्यारो थातथलोलाई चटक्कै छाडेर अर्कै परदेशमा पुग्नु बाध्यता हो । तीन–चार पुस्ताअघि नै यसरी जाँदा कतिले खोजेको सुख भेटेका छन् । कतिपय झन् दुःखको पहाडमुनि थिचिएर बाँचेका छन् । त्यहाँ कुनै जातभात, धर्मकर्म छैन । बरु नेपालीपनको माया–ममताले सेकताप गर्दै भावी जीवन सुखमय हुने सपना साँचेर बसेका छन् ।
वर्षौं बितेपछि पनि त्यो विरह मेटिँदैन । बरु झन्–झन् गाढा बन्छ । दसैँ–तिहार आउँदा झन् तीव्र हुन्छ मनको तरङ्ग । परदेशमा बसेका नेपालीहरू जब आफ्ना बालबच्चालाई रातो टीका लगाउँछन्, मन भने आफ्नै गाउँको पिङतिर उड्छ । आफ्नै घरको आँगनमा बुबाआमाका साथ बसेर खाएको सेलरोटीको स्वाद सम्झिन्छ । फाटिसकेको गुन्द्रीमा बसेर हजुरआमाले सुनाएको भूतप्रेत, देवता–दानव र परीको कथा मनमा गुञ्जिन्छ । अनि एकाएक परदेशको कोठा साँघुरिएर आउँछ ।
यद्यपि प्रवासमा बसेका नेपालीले नेपाललाई बिर्सिएका छैनन् । कुनै न कुनै रूपमा मातृभूमिसँग नाता गाँस्ने कोसिस गरिरहेका छन् । कोही लोकगीत गाएर मन भुलाउँछन्, कोही नेपाली झन्डा अँगालेर भावुक हुन्छन् । कोही साहित्य सिर्जनामा पोखिन्छन्, कोही व्यावसायिक लगानीमार्फत देशलाई जोड्न खोज्छन् । विदेशमा बसेर पनि उनीहरूको मन–मस्तिष्कमा नेपालीपन जिउँदै छन् । वास्तवमा प्रवासी नेपाली नेपालका चलायमान इतिहासका जिउँदा पात्र हुन् ।
घामले पहाडका फेदलाई सुनौलो स्पर्श गर्दा हुस्सु र कुहिरोभित्र लुकेको एउटा मुहार देखिन्छ — आफ्नै मुहार । उचाइमा हुर्किएको तर जराले माटो छाड्न नसकेको एउटा अनुहार । दार्जिलिङका गल्लीहरूमा हिँड्दा, सिक्किमका पहाडहरू हेर्दा, कालिम्पोङका साँघुरा बाटाहरूमा पैताला राख्दा, यो मुहार पटक–पटक ऐनामा झल्किएझैँ भइरहन्छ ।
यो मुहार मेरो होइन, ती हजारौँ नेपालीभाषीहरूको हो, जसले इतिहासको भोक, राजनीतिका आँधीहरू र नक्साका रेखाहरूले बनाएको नियतिलाई आत्मसात गरेका छन् । नेपालबाहिर भए पनि, नेपालभित्रैको जस्तो अनुभूति दिने यी ठाउँहरूमा हाम्रो भाषा, संस्कृति र आत्मीयता स्पन्दित भइरहेको छ ।
दार्जिलिङ नेपाली चेतनाको एउटा मजबुत किल्ला हो । यो किल्ला ढुंगा–माटो, इँटा–प्लास्टरको मात्र होइन भावना, भाषा र अस्तित्वको किल्ला हो । यहाँको साहित्यमा ‘सुधपा’ (सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान) को योगदान अविस्मरणीय छ ।
यो सहर सुन्दर परिदृश्य मात्र होइन यो एउटा प्रतीक हो, नेपालीभाषीको आत्मसम्मानको प्रतीक । यहाँको चिया बगानमा पसिना चुहाउने मजदुरदेखि लिएर पुस्तक पसलका साहुजीसम्म, सबैको मनमा एउटा साझा भावना छ — ‘हामी नेपाली हौँ ।’
सिक्किम पुग्दा लाग्छ, प्रकृतिले आफ्नो सम्पूर्ण हरियाली यहीँ पोखेझैँ लाग्छ । यो हरियाली रुख–बिरुवाको होइन मनको पनि हो । सिक्किमले नेपालीभाषीलाई राज्यको मान्यता दिएको छ । संविधानमा ठाउँ पाएको छ ।
यहीँ कतै भानु जयन्तीमा नेपाली साहित्यको व्याख्या भइरहेको हुन्छ । कुनै गाउँमा लिम्बु, राई, तामाङ संस्कृतिको उत्सव चलिरहेकै हुन्छ । सिक्किममा नेपाली स्पन्दन भाषा र संस्कृति मात्र होइन यो त यहाँको माटोमा मिसिएको सहजै महसुस हुन्छ ।
कालिम्पोङको साहित्य, कला, संस्कृति र विस्मृतिको कथा पनि उत्तिकै मार्मिक लाग्छ । कालिम्पोङ र दार्जिलिङ कहिले भारतीय राजनीतिमा, कहिले गोर्खाल्यान्ड आन्दोलनमा त कहिले व्यापारिक इतिहासमा एउटा छुट्टै पहिचान बनाइरहेको हुन्छ । यहाँ नेपाली कला र संस्कृतिले गहिरो जरा गाडेको छ ।
त्यहीँ कतै पुरानो गुम्बा छ, जहाँ बुद्धका आँखा हामीलाई शान्तिको सन्देश दिइरहेका छन् । चोकमा प्रतिस्थापित महाकवि र आदिकविका अर्धकद प्रतिमाले नेपाली मायाको चोखो चिनारी सुटुक्क दिइहाल्छ । उता नेपाली संगीत बज्ने कुनै एउटा चिया पसल छ, जहाँ वाद्ययन्त्रसँगै भावनाहरू पनि नेपाली भावमा गुञ्जिरहेका हुन्छन् ।
तथापि कालिम्पोङका गल्लीहरूमा हिँड्दा कहिलेकाहीँ एउटा प्रश्न मनमा उठ्छ, ‘हाम्रो पहिचानलाई समयले कतै बिर्सिरहेको त छैन ?’ किनभने यहाँका नयाँ पुस्ताले अंग्रेजी बोल्न रुचाउँछन्, पुराना किंवदन्तीहरू भुलिँदै गएका छन् । निष्कर्षमा हेर्दा मुटुको धड्कन जहाँ नेपाली रहन्छ त्यहाँ धड्किरहन्छ ।
दार्जिलिङ, सिक्किम र कालिम्पोङ — यी ठाउँ नक्साले चाहे जति विभाजन गरोस्; भाषाले, संस्कृतिले र आत्मीयताले तिनलाई एउटै सूत्रमा बाँधेको छ । नेपाली मुटु जहाँ–जहाँ गए पनि नेपाली स्पन्दन त्यहीँ धड्किन्छ ।
यी पहाडहरू हामीसँग मात्र सम्बन्धित छैनन्, हामी नै यी पहाड हौँ । चुरोटको धुवाँसँगै हराउने चियापसलका गफहरू, ट्याक्सीको आवाजमा मिसिएका नेपाली गीतहरू, अनि यात्रुहरूको आँखामा टल्किएका सपना — यी सबै नेपाली हुनुको अनुभूति हुन् ।
सन्दर्भ बदलिन सक्छन्, सहरहरू बदलिन सक्छन्, तर प्रवासी नेपाली मुटुको धड्कन कहिल्यै बदलिँदैन । यसका स्पन्दनहरू अनन्तसम्म धड्किरहनेछन् —दार्जिलिङको हुस्सुमा, सिक्किमको पहाडमा र कालिम्पोङको बयलीमा; खर्साङका चिया कमानहरूमा, मिरिकका झिल र सौरनीका चियाबारीका तरेलीहरूमा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन
-
जति तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव छैन : शर्मा
-
सशस्त्रका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
-
मेचीनगर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा