इन्साफको खोजीमा

आइमाईहरूका चकनाचुर भएका जीवनका मुटु हल्लाउने कथा सुन्दा म प्रायः आत्तिन्छु । त्यसमा पनि जहानियाँ साइनो गाँसिएका चेलीबेटीका बिलौना सुन्दा त मेरो हंसले ठाउँ छोड्लाजस्तो हुन्छ । दुःखको कुरो, छातीमुनि एक न एक किसिमको औडाहाको राँको नसल्केका आइमाईहरू खोजी गर्दा नपाइने अन्यायी समाजमा जन्मेपछि आइमाईका बिलौना र रुवाइ नसुनी कहाँ धर पाइन्थ्योे र ?
केही कालअघि मैले कष्ट र विपत्तिको खाडलमा तालुसम्म भास्सिएकी एउटी आइमाईको विलौना सुन्नुपर्यो । सुन्नुपरेको मात्रै कहाँ हो र त्यस विपत्तिमा आफूले पनि मुछिनुपर्यो ।
मलाई सम्झना छ, म मान्छे चिन्ने उमेरको हुँदा उनी तरुनी भइसकेकी थिइन् । मलाई यो पनि सम्झना छ, उनी हाम्री आमा, भाउजु र दिदीजस्ती आइमाई थिइनन् । उनको लवाइको छरितोपन र बोली वचनको मिठास, उनको फूर्ति र उनको आनीबानी मेरा नजरमा ज्यादै नौलो र ज्यादै रमाइलोे थियो । म मनमनै कुरा खेलाउँथे — अहो ! सबै आइमाई उनीजस्तै भइदिए कति मजा हुन्थ्यो !
साइनोले उनी मेरी दिदी पर्छिन् र मैले उनको मान गर्नुपर्छ ।
गाउँको मिडिल इस्कुलको पढाइ टुङ्गिएपछि म हिँडेर पुग्न ६–७ घण्टा लाग्ने हाई इस्कुलमा पढ्न थालेँ । उमेर र मानसिक अवस्थाको भिन्नताले गर्दा म घरमा बसुन्जेल उनको र मेरो बिचमा सुख–दुःखका कुरा गर्ने तहको उठबस नै भएन । म ठिटो थिएँ र भुवादार भावुकता र रमाइलो सपनाले भरिपूर्ण सुन्दर संसारमा मस्त थिएँ म । उनी केमा मस्त थिइन् म भन्न सक्दिनँ ।
जीवनको कठोर यथार्थसँग चिनारी बढ्दै गएपछि मैले अरूकै मुखबाट उनको हेपिएको र थिचिएको कष्टमय जीवनकथा सुनेँ । उनको बिहे त्यस्तै १० वर्षको उमेरमा खान्दानी परिवारको चलाख ठिटोसँग भएको थियो । बिहे भएकै दिनदेखि उनी लोग्नेका घरको लुसे धन्दामा खटिइन् । उनको लोग्ने पढ्दै थियो र उसको चलाखीको बखान सुनेर उनी दङ्ग पर्थिन् ।
जवानीको खुट्किलोतिर उक्लँदै गएपछि उनी के चाल पाउँदै गइन् भने उनको लोग्ने उनलाई औधी घृणा गर्दोरहेछ र ऊ अर्कै स्वास्नी भित्र्याउने ताकमा रहेछ । यसरी सुन्दर र सुखी जोइपोईको जीवनबारे कलिलो उमेरदेखि उनले बुनेका मिठा सपनाहरूमा अचानक डढेलो लाग्यो र उनलाई त्यसैत्यसै कहाली लागेर आयो । आक्कल–झुक्कल ससुराले उनको लोग्नेलाई हप्काएको, सम्झाएको र फकाएको उनी सुन्थिन् । आफ्नो सहनशीलता, सिलसोभाउ र इमानको गुणबखान सासु–ससुराका मुखबाट लोग्नेकै अघिल्तिर सुन्दा उनको आत्मा हर्षले आकाशमा उड्थ्यो र गर्वले उनको छाती नाङ्लो जत्रो हुन्थ्यो । दङ्ग पर्दै उनी भावुकताको तरङ्गमा बेगिन्थिन्– लौ, लोग्नेले अब माया गर्ला, छातीको तीन धार्नीको भारी अब पन्छाइदेला । तर उनले चित्ताएजस्तो कहिल्यै भएन र उनको बेसहारा जिन्दगीलाई निराशाको बादलले ढाकिदियो ।
समाजका होँचीअर्घेली, भेदभाव र सासनाबारे सोच्न सक्ने भएपछि ज्ञानको खोजीमा म काठमाडौँतिर बेगिएँ । अनि उनीसँग उठबस हुने मौकै परेन । जीवनको उद्देश्यको खोजीमा निकै वर्ष म चारतिर बरालिएँ । उनको र मेरो सम्पर्क वर्षौंसम्म टुट्यो र कष्टको सागरमा डुबेको उनको अँध्यारो जीवनलाई मैले चटक्कै बिर्सें ।
९–१० वर्षको विछोडपछि अलिक दिनअघि उनी काठमाडौँमा आएकी छिन् भन्ने खबर मेरा कानमा पर्यो र उनको सम्झना मेरो मनमा ताजा भयो । उनको जीवनले कुन मोड लियो होला, उनको कष्टको पारो घट्यो कि बढ्यो होला, मेरो हृदयमा छापिएको उनको पहिलेको अनुहारमा के कस्तो हेरफेर भयो होला आदि कुराले मलाई निकै नै कुत्कुत्याए ।
‘लोग्ने, अहो ! पत्थरजस्तो कठोर लोग्ने पाउनुभन्दा बरु बुढीकन्या भएरै बस्नु जाती, राँडी भएरै बस्नु जाती । त्यसो भए लोग्नेले हेलाँ गर्यो भन्ने औडाहा त हुँदैन । तर लोग्ने जिउँदै भएर पनि मेरा लागि मरे बराबर भो ।
उनलाई भेट्नुअघि एकजना दाजुबाट मैले चाल पाएँ, लोग्नेसँग मुद्दा लड्ने, लोग्नेको खोइरो खन्ने, साटो फेर्ने र सौताका मुखमा आगो लाइदिने ध्याउन्ना बोकर उनी हिँडेकी छिन् र उनी हाम्रो मद्दतको खोजीमा छिन् । उनको आनीबानीको भेउ पाउने इष्टमित्रले मलाई डर देखाए — कुरो बुझ, उनको लिँडेढिपी कठोर छ । तर्क, तथ्य र दृष्टान्तले उनको चित्त बुझाउन सकिँदैन । उनको उल्झन सुल्झाउने हेतुले उनीसँग कुरा गर्नु व्यर्थ छ तर मैले अठोट गरेँ, म उनीसँग कुरा गर्छु, उनको मर्म बुझ्छु र सके उनको सङ्घर्षको बाटो खन्न म सघाउँछु ।
साँझ ७ बजेतिर उनको र मेरो भेट भयो । उनको अनुहार देख्नासाथ म झस्केँ । मन सम्हाल्दै मैले उनलाई ठम्याएर हेरेँ । अहो ! चाउरी परेका खबटाजस्ता विरक्तलाग्दा गाला, अनुहारको बान्कीसँग नमिल्ने पहाडसरी उठेको अर्घेलो नाक, पट्पटी फुटेका पहेँला ओठ, सुक्दै गएको कुवाजस्ता उदास आँखा, अनि नाक र गालाको बिच खोल्सीमा आँसुका लेग्रा । उनका आँखा कति मायालाग्दो गरी मतिर सोझिए भने मेरी आमा, म त झन्नै विचलित भएँ । दुई जोडी चिन्तित आँखाको त्यो हेराहेर ख्याल विरक्तलाग्दो थियो र !
‘तिमी त कालो भएछौ खगेन् । यतिका वर्ष कहाँ बेपत्ता भयौ ? कठै ! कति दुब्लो ! निबुवा निचोरेजस्तो अनुहार ।’
के भन्नु न के भन्नु भएर म वाल्ल परेँ ।
‘अचेल के लेख्दै छौ ? तिमी लेख्छौ भनेर धेरैले कुरा गर्छन् । मैले त खै केही पढ्न पा’की छुइनँ ।’
‘अँ, यसो लेखिटोपल्छु । त्यस्तो राम्रो केही लेख्न सक्या छैन ।’
गाउँघर, इष्टमित्र र घरबेभारको चलनचाँजोबारे थुप्रै कुरा मैले उनीसँग सोधेँ र उनले मेरो बितेका नौ–दस वर्षको जीवनका गतिविधि र हालका योजनाबारे सोधिन् । तर त्यस बखत मेरो मन एउटै कुरामा एकोहोरिएको थियो । त्यो हो, उनले अब कस्तो उल्झन मेरो अघिल्तिर तेस्र्याउने हुन् ।
‘म बौलाएर हिँडेकी,’ उनी बेलीविस्तार लाउन थालिन्, ‘संसार यति ठुलो छ । यतिका मान्छे छन् । तर आफ्नो दुःखमा साथ दिने एउटा मान्छेसम्म मैले भेटिनँ । म चारचौरास डुलेँ । थरीथरीका मान्छेसँग सङ्गत गरेँ । आफ्नो पीरमर्का धुरुधुरु रुँदै सुनाएँ । तर कसैले टेरपुच्छर लाएन । मलाई केही आपतविपत परेकै छैनजस्तो ठान्यो बैगुनी संसारले । भाइ, यस्तै हालत भो मेरो ।’
मुखबाट बोलीभन्दा उनका आँखाबाट आँसु चाँच्चाडो बगे । उनका आँखा झ्यालबाट बाहिरतिर फर्केका थिए । ती निस्पट्ट अँध्यारोमा हराएका थिए । उनका ओठ थर्थर कामे र उनका नाकका पोरा एक उदेकसँग फुले ।
‘लोग्ने, अहो ! पत्थरजस्तो कठोर लोग्ने पाउनुभन्दा बरु बुढीकन्या भएरै बस्नु जाती, राँडी भएरै बस्नु जाती । त्यसो भए लोग्नेले हेलाँ गर्यो भन्ने औडाहा त हुँदैन । तर लोग्ने जिउँदै भएर पनि मेरा लागि मरे बराबर भो । देख्नेले जिउँदी देखे पनि मरे बराबर भएँ म । बाबु, मर्नु न बाँच्नुको दोसाँधमा अल्झेँ म ।’
त्यो कतै नटुङ्गिने बिलौना, ती निस्फल कुरा र त्यो कष्टमय जीवनकथा सुन्न सक्ने आँट बटुल्न मलाई हम्मेहम्मे भयो । कोठामा बल्न त बिजुली झलमल्ल बलेको थियो तर वातावरण भने अँध्यारै–अँध्यारो थियो ।
‘मलाई मद्दत चाहियो ।’ व्यथित स्वरमा उनले भनिन्, ‘मेरो भविष्य अन्धकारमा डुब्यो । यो नर्ककुण्डबाट मलाई बाहिर निकाल । मलाई सहारा देऊ । मलाई ब्युँझाऊ । मलाई बचाऊ ।’
सहाराको खोजीमा हिँडेका उनका आँखामा मधुरो आशा त थियो तर विश्वास भने एक पित्को थिएन । सबैबाट हेपिएका, सबैले कुल्चेका र सबैले लत्याएका ती आँखा ज्यादै कठोर थिए ।
‘मद्दत गर्न मञ्जुर छौ ?’ उनको सोधाइ झीरभन्दा तिखो थियो ।
म बोलिनँ ।
‘भन,’ झन् तिखो स्वरमा उनले खेरिन्, ‘मञ्जुर छैनौ भने यो मुटु पोल्ने दुःखको पोको म किन फुकाउँ ? मञ्जुर छौ ?’
मलाई राम्रै थाहा भइसकेको थियो — उनलाई मद्दत गर्नु भनेको उनको निर्मोही लोग्नेसँग खडाजङ्गी गर्न सुरिनु हो, उनको लोग्नेका घुँडा फुकाल्न लाठो बोकेर उनका पछि लाग्नु हो । तर गर्दिनँ भन्न मलाई सजिलो थिएन ।
‘गर्छु तर कसरी ?’ बुझ पचाउँदै मैले सोधेँ ।
‘स्याबास्, बाबु ! जुक्ति मलाई थाहा छ ।’ उनका आँखामा चमक देखापर्यो । उनको अनुहारमा उत्तेजनाको हल्का तरङ्ग दगुर्यो र उनको शरीरमा फूर्तिलो हलचल पैदा भयो ।
‘तिमीलाई मेरो विपत्ति थाहा छैन ।’ उनले भनिन्, ‘त्यसो त तिम्रो आनीबानी पनि त मलाई थाहा छैन । तर तिमीमाथि मेरो विश्वास छ । कति ठुलो विश्वास भने म भन्नै सक्दिनँ । म भन्नै जान्दिनँ ।’
उनले पलभर गम खाइन् र निराशामा मुछिएको स्वरमा भनिन्, ‘एउटा विद्वान्ले एउटी बेसहारा आइमाईलाई जुत्ताको तलुवा बनाउनु जाती होइन । तर मेरो लोग्नेले मलाई बनायो । सारा संसार साछी छ । तर यो पङ्गु संसार रमिता हेर्नमा मस्त छ । भन त बाबु, मैले जति कष्ट बेहोर्न कल्ले सक्छ ? अहो ! सम्झेर ल्याउँदा कहाली लाग्छ, त्यसै–त्यसै छाती चिरिन्छ । सपना–सपना जस्तो लाग्छ । तिमी काँचै छौ, बा ! जीवनको दुःख तिमीलाई के थाहा ?’
गालाको माझसम्म आइपुगेको आँसुको धारो उनले मजेत्राले पुछिन् र रुन्चे स्वरमा भनिन्, ‘हरे ! पापी आँसुले पनि मेरो मर्म बुझेन । सुकेको काठजस्तै खङ्रङ्ग हुन पाए आँसु त सुक्दो हो । आफैँलाई झर्को लाग्ने बिलौना कति दिन सुनाउनु ? यस बैगुनी संसारलाई यी आँसु कतिन्जेल देखाउनु ?’
वातावरणमा सुनसान छायो । मैले भन्ने कुरा केही थिएन । मुटुमा भक्कानो फुटेर होला उनी बोल्न सकिनन् । त्यो स्थिति असह्य भएर पनि मेरो उम्किने बाटो थिएन ।
‘अहो ! संसारका सारा लोग्नेले सारा स्वास्नीमाथि गरेका जम्मै अत्याचारभन्दा मैले खप्नु परेको अत्याचार ठुलो होला ।’ तालुमा हात राखेर आँखा झुकाउँदै उनी भन्न थालिन्, ‘नाबालक छँदादेखि लोग्नेले मलाई कमारीमा भर्ना गर्यो । अँ, कुक्कुर्नीभन्दा तल्लो दर्जाकी कमारी । हुँदाहुँदा मेरा हातको भातपानी उसलाई चल्न छाड्यो । म हिँडेको बाटो ऊ नहिँड्ने भो । मेरो शरीर सिनोझैँ उसलाई गन्हाउन थाल्यो । तर मैले सहेँ । पहाडले थिच्छ भने बरु थिचोस् भनेर म अडिग भएँ । पढ्दै जाँदा उसलाई विदेश जाने चानस मिल्यो । अँ, ऊ बेलायत गयो । ऊ गएपछि अलि दिन मैले सुखको सास फेरेँ । उसका क्रोधी आँखा मैले देख्नुपरेन । उसका कठोर वचन मैले सुन्नुपरेन । उसको ज्यानमारा बेभार मैले बेहोर्नुपरेन । तर पछि भने मलाई उसको न्यास्रो लागेर आयो । मेरा लागि ऊबाहेक अर्को सहारा नै के थियो र ! तिमी सुन्दैछौ होइन ? मद्दत गर्ने मन नभए पनि मेरो दुःख एकबाजी सुनिदेऊ । तिमीमाथि मेरो ठुलो भरोसा छ ।’
उनी पलभर अडिइन् । अनि फेरि आँसुको धारो बगाउन थालिन्, ‘बाह्र वर्षपछि खोलो पनि फर्किन्छ भन्ने उखान छ । म त्यसै उखानमा झुन्डिएँ । मैले सम्झेँ– ठुलो देशमा पढेपछि बुद्धि बढ्ला, मति सप्रेला, मन फर्केला । अरूका मुखबाट तेरो लोग्ने डाक्टर भएर आउने भो भन्ने सुन्दा हर्कले म फुरुक्क पर्थें । डाक्टरकी डाक्टरनी हुने मेरो रहर कति प्यारो थियो बाबै ! ५–६ वर्ष उसको मुख देख्न नपाउँदा मलाई त खपिनसक्नु भो । अनि मैले एकान्तमा लुकेर रुन सिकेँ । हृदयको दुःख हृदयमै गुम्स्याउने बानी मैले बसालेँ । हरे ! राछ्छेस्नी जस्ती सासुको सासना खप्नुपर्ने । साहै्र विरक्त लागेपछि म कनीकुथी पुस्तक पढ्न थालेँ । मैले रामायण कतिकतिपल्ट पढेँ । त्यसो गर्दा म सासु–ससुराकी अलिक प्यारी पनि भएँ । राउन्नेको खोरमा थुनिएकी सीताको दुर्दशा देख्दा मेरो छाती तैबिसेक हलुङ्गो हुन्थ्यो । ए दुनियाँमा दुःख मेरो मात्रै रहेनछ ! अनि सीताको बिचल्ली देख्दा उत्निखेरै डरले मेरो मुटु खुम्चिन्थ्यो । राउन्नेको उछित्तो काढेर सीतालाई रामले ल्याएपछि मेरो हृदय हर्कले गद्गद् हुन्थ्यो । मेरो पनि त्यो दिन कसो नआउला भनेर म मनमनै कल्पिन्थेँ । तर धेरैपल्ट पढेपछि त्यो पनि झुठोजस्तो लाग्न थाल्यो । अनि त्यल्ले पनि मलाई शान्ति दिएन । पुस्तकका कुरामा र जीवनका कुरामा र्याङठ्याङ मिल्दैन कि जस्तो लाग्यो मलाई ।’
कोठामा निसासलाग्दो सुनसान छायो । उनको मर्म पोख्ने पारा देखेर म छक्क परेँ । तर उनले त्यति राम्ररी भन्दा पनि मैले एक चित्तले सुन्न भने सकिनँ । एउटै कुराले लगातार मेरो हृदय चिथोरिरहेको थियो — त्यो कुराकानीको अन्त्यपछि उनको र मेरो सम्बन्ध कस्तो हुने हो ?
‘निद्रा लाग्यो तिमीलाई ?’ मेरो अनुहारमा उत्सुकता मर्दै गएको देखेर होला उनले भनिन्, ‘सुन्न त राम्ररी सुन । जाबो एउटी आइमाईको दुक्ख सुन्न सक्ने आँटसम्म पनि छैन कि कसो ?’
‘अँ, म सुन्दैछु ।’ मैले ढाँटे, ‘एक चित्तले सुन्दै छु ।’
‘अनि विपत्तिको अर्को खाडलमा म निसासिएँ ।’ उनी भन्दै गइन्, ‘लोग्ने उतै देशकी एउटी कुइरीलाई अघि लाएर पो आउने हो कि ? मेरो मनमा शङ्का जाग्यो । म झसङ्ग भएँ र मेरो मन भरङ्ग भयो । अनि लोग्नेको चिहानभन्दा चिसो घर छाडेर म माइतमै बस्न थालेँ । सासुका टोकाहा आँखा र टर्रा गालीबाट अलि दिन त म फुक्का भएँ । तर माइत बस्दा पनि मेरो चित्त शान्त भएन । मेरो भविष्यको चिन्ता र जोरीपारीको घोँचपेचले माइती घरको सुख र शान्ति पनि खलबल्याइदियो । भाउजु–बुहारीको जात न हो, झर्किन पाए पुगिहाल्यो । अहो ! आमाका आँखा कहिल्यै ओभाउने होइनन् । बाबुको मुख कहिल्यै हँसिलो देख्न पाइने होइन । घरघरै कुरा काट्छन्— रण्डी, बेश्या, पातर्नी के के हो के के । खगेन् भाइ, सम्झ त ! न जाने ठाउँ कहीँ छ, न कसैको मिठो माया पाइन्छ । घोर निराशामा डुबेर म छट्पटाएँ । पासो लाग्न खोजेँ, त्यो पनि सकिनँ । नदीमा हाम्फाल्न खोजेँ, त्यो पनि पाइनँ । पापी एक मुठी सासले यस पासोबाट मलाई छुट्कारा दिए... ।’
कुनै अजङ्गको भारीले थिचेझैँ उनको घाँटी लुलिँदै गयो र उनको शिर निहुरिँदै गयो । रिँगटाले भाउन्न भएर हो कि उनी जिउ थाम्नै नसकी झ्यालको डिलमा घोप्टो परिन् । एकछिनपछि उनी उठिन् र मजेत्रोले आफूलाई हम्किन थालिन् । उनका आँखा राता न राता भइसकेका थिए र उनको घाँटीका हरिया नसा सास फेर्दा उदेकसँग चलेका देखिन्थे । उनले एक गिलास पानी एक्कै सासमा पिइन् र फेरि कुरा थालिन् ।
‘अनि म त सबैका आँखाकी कसिँगर भइछु भनेर एकान्तमा मुटु मिचिमिची रोएँ । एक दिन भाइका पुस्तक पल्टाउँदै जाँदा ‘मुकुन्द इन्दिरा’ भन्ने पुस्तक फेला पर्यो र पढ्न थालेँ । त्यो रामायणजस्तो सजिलो र रसिलो थिएन । त्यो सिलोकजस्तो पनि थिएन । तर पढ्दै जाँदा चासो बढ्दै गयो । इन्दिरालाई मैजस्ती अलपत्र परेकी देख्दा मेरो मनमा कताकता फेरि एकपल्ट साहस पलायो । पहिले त मुकुन्द देशमा बरालिएको थियो, पछि ख्याल मजाले सुध्रेन । इन्दिराको जित हुँदा मेरा आँखाबाट हर्कका आँसु तपतप बगे । आफ्नै जित भएजस्तै लाग्यो मलाई । अनेकौँपल्ट मैले त्यो पढेँ र मनलाई फकाउन खोजेँ । पछि त मलाई इन्दिराको जित पनि झुटोजस्तो लाग्यो । अनि पुस्तकका कुरामा मलाई पत्यार लाग्न छाड्यो । त्यो पुस्तक मेरै लोग्नेजस्ता बैगुनीले लेखेको हो कि जस्तो लाग्यो मलाई । पीर र डाहले सुकेर म सिन्को हुँदै गएँ । हरे अभागिनी ! मर्न चाहिँ म सकिनँ । एक दिन लोग्ने बेलायतबाट फक्र्यो भन्ने सुनेँ । सपना हो कि विपना हो मलाई त छुट्ट्याउनै गाह्रो पर्यो । त्यो बेला मलाई हर्क लाग्यो कि बिस्मात म भन्न सक्दिनँ । अनि हानेको कारण भएर म लोग्नेकहाँ पुगेँ । तर मेरो दिलको धोको अधुरै रह्यो । लबस्तरो लोग्नेले त मलाई बहिनीको साइनो पो लायो । के गर्न खोजेको हो मैले बुझ्नै सकिनँ । मलाई अंग्रेजी लेखपढ गर्न सिकाउने स्वाङ पार्यो । तर डाहले सासुका नेत्र जले । सासु त उल्टै मेरो लोग्नेलाई गाली गर्न पो थाली । हीरामोती जस्ती बुहारी ल्याउने रहर हुँदो हो उसको ।’
दिदी त्यसपछि घुँक्कघुँक्क रोइन् । मलाई त्यसैत्यसै निसास लागेर आयो । मैले भन्ने कुरो केही थिएन । आखिर तत्काल गर्न सक्ने कुरो पनि त केही थिएन । म जिल्ल परेँ ।
‘म कुन मुखले बोलूँ ?’ पट्टाइलाग्दो सुनसानपछि फेरि दिदीको वाक्य फुट्यो, ‘लोग्ने मलाई दिनको दुई घण्टा जति पढाउँथ्यो, सासुचाहिँ ढोकाभित्र लुकेर चियो गर्थी ।’ मजेत्रोले मुख छोपेर उनी भन्दै गइन् । पढेर कोठाबाट बाहिर निस्कनासाथ हातमा गीताको पुस्तक बोकेर सासु मलाई तल–माथि अँध्यारो कुनामा पुर्याउँथी । अनि गीताको पुस्तक मेरो शिरमाथि राखेर सोध्थी— लौ भन्, लोग्नेसँग तेरो जोइपोईको नाता गाँसिएको छ कि छैन ? म मुटु मिचिमिची रुन्थेँ । एक दिन जर्खरिएको स्वरमा सासुले मेरो लोग्नेलाई भनी — यस पातर्नीलाई यस घरको बास दिन्छस् भने लौ म मर्न हिँडेँ ।’ लोग्नेले सासुलाई के के भनेर फकायो मलाई थाहा छैन । त्यसपछि लोग्नेले मलाई फुटेका आँखाले देख्न सकेन । अहो ! मैले लोग्नेका घरमा नोकर्नीको ठाउँ पनि पाउन सकिनँ । म दिक्क भएँ । म वाक्क भएँ । म हैरान भएँ ।’
‘मैले के गर्नु पर्यो त, दिदी ?’ बिलौना सुन्दासुन्दा झर्को लागेर मैले बिचैमा सोधेँ, ‘मैले गर्दा हुने क्यै छ ?’
‘बौलाहीको फत्फत् सुन्दा झर्को लाग्यो होला, होइन ? तिमीलाई सुन्न त यस्तो सकस पर्यो, सम्झ त, मलाई खप्न कस्तो पर्या होला ?’
अवाक् हुँदै मैले घोस्से मुन्टो लगाएँ ।
‘कहिले माइत, कहिले घर, कहिले कता, कहिले कता । केटाकेटीको भकुण्डोझैँ म लत्याइएँ । सास फेर्ने ठाउँ कहीँ छैन, मन टेकाउने सहारा केही छैन । देख्दादेख्दै लोग्नेले पढे–लेखेकी सौता भित्र्यायो । मेरो जीवनका सारा तिर्सना सधैँसधैँका लागि चकनाचूर भए । अनि मैले मुद्दा लड्ने कुरो झिकेँ । त्यो कुरो लोग्नेका कानमा परेर होला, उसले मलाई लिन मान्छे पठायो । हर्क त मलाई पटक्कै लागेन तैपनि म गएँ । अहो ! सुँगुरलाई जस्तो आहार, कुकुरका छाउरालाई सुताउनेजस्ता लुगाफाटा, पशुलाई जस्तो बेभार । अनि म मरेँ । फेरि कहिल्यै बौरिन नसक्ने गरी म मारिएँ ।’
मुन्टो थाम्न नसकेर उनले भित्ताको सहारा लिइन्, आँसु पुछिन् र भनिन्, ‘देख्यौ हैन अत्याचार ! खोलाको माछोलाई झैँ कहिले तातो बालुवामा पछार्या छ, हिरिक्क सास जान आँटेपछि फेरि पानीमा...। मेरो जीवन अरुको ठट्टा–रमाइलोे पो भो त गाँठ्ठे ! अत्ति भएपछि निर्वाहका लागि मैले मुद्दा लडेँ । मुद्दा त मैले जितेँ तर लाखौँ रुपियाँको जायजेथो सौताको दाइजो र आमाको पेवा भनेर लुकाएछ बैगुनीले । धनभन्दा रिन ज्यास्ती देखाएर मलाई एक चिहान जति जमिन मात्र दिने भएछ असत्तीले । आखिरी मुद्दामा पनि हार मेरै भो । अब तिमीहरूको मद्दत चाहियो मलाई, बुझ्यौ ?’
‘बुझेँ, तर मद्दत कसरी गर्नुपर्यो ?’
‘त्यसका घुँडा फुकाल्नुपर्यो । त्यसको डाक्टरी धाकलाई माटामा मिलाइदिनुपर्यो । पापको फल त्यल्लाई चखाइदिनुपर्यो । जसरी मेरो जीवनको जात्रा देखेर त्यो रमायोे, त्यसको जात्रा देखेर म पनि त्यसरी नै रमाउन पाऊँ ।’
‘असम्भव !’ मैले भनेँ, ‘एकदमै असम्भव !’
‘असम्भव रे ?’ उनी कड्किइन्, ‘मेरो जीवन बर्बाद पार्न त्यसलाई असम्भव भएन, अब साटो फेर्न चाहिँ असम्भव ? लोग्ने मान्छेको अत्याचारलाई तिमी लाजै बेगर काखी च्याप्न सक्छौ ? स्वाँगे, दहिच्युरे ! तिमीहरू जे बोल्छौ त्यो कहिल्यै गर्दैनौ ।’
‘घुँडा फुकालियो रे लौ, त्यसबाट लाभ के हुन्छ ?’
‘जसको मुटु तातो हाँडीमा भुटियो, जसलाई जिउँदै जलाइयो, उसलाई लाभ–हानि किन चाहियो ? यो अत्याचार म संसारका दिदीबहिनीलाई सुनाउन चाहन्छु । म त मारिएँ–मारिएँ तर पछिका बहिनीहरू यस नर्कबाट फुक्का होऊन् । मैले साटो फेर्न किन खोज्या हुँ अब त बुझ्यौ ?’
पछिका दिदीबहिनीलाई नारकीय समाजको अत्याचारबाट फुक्का पार्ने उनको विचारको मैले तारिफ गरेँ । तर व्यक्तिगत साटो फेराइको भने मैले विरोध गरेँ । मैले अत्याचारमा पर्नेहरूले एक मन एक शरीर भएर मिलिजुली लड्नुपर्ने तर्क अघि सारेँ । अत्याचारी मानिसको साटो अत्याचारी रीतिथितिसँग लड्ने आफ्नो विचार मैले दिदीलाई सुनाएँ । हो शत्रु र मित्रु छुट्ट्याएर मात्तै आफू चनाखो र बलियो हुन सकिन्छ, लड्न र जित्न सकिन्छ, साटो फेर्न र फुक्का हुन सकिन्छ भनेर पनि मैले बिन्ती बिसाएँ । तर साटो फेर्ने उनको रिस मैमाथि खनिन खोज्यो ।
‘उसो भए त्यस अत्याचारीले ममाथि न्याय गर्यो, बेसै गर्यो भन्ठान्छौ होइन तिमी ?’ बडाबडा आँखाले मलाई निल्न खोज्दै उनी जङ्गिइन्, ‘अँ, अन्यायमा मर्नु ठिक हो भन्ठान्छौ तिमी ?’
हेर, यो काखमा मैले तिमीलाई खेलाएकी थिएँ । मैले तिमीलाई मायाले भिजेका ओठले म्वाइ खाएकी थिएँ । म तिमीलाई सक्कली माइती ठान्थेँ । तर तिमी भने... अहो ! मेरो जीवन सपना भइसक्यो, त्यो पनि खाली नक्कली सपना । तिमी लोग्नेमान्छेहरू सबका सब पापका मूर्ति रहेछौ ।’
‘लागिपरे घुँडा फुकाल्न सकिएला रे लौ । तर दुःखको कुरो, त्यसका घुँडा फुकाल्दैमा लोग्नेबाट पाउनुपर्ने माया पाउन त तपाईं सक्नुहुन्न, सक्नुहुन्छ र ?’ नम्र हुँदै मैले उनको चित्त बुझाउन खोजेँ, ‘मलाई लाग्छ, अन्यायमा पर्नेहरूले सङ्घर्ष गर्नु राम्रो हो । तर व्यक्तिगत साटो फेराइले अन्यायको जरो उखेल्ला र ? दुई–चार अत्याचारीका घुँडा फुकाल्दैमा सारा अत्याचारका घुँडा फुक्लेलान् र दिदी ?’
‘मनको सन्तोकका लागि म त्यै गर्छु । मैले त्यसै गर्ने अठोट गरेकी छु ।’ उनका आँखामा साटो फेर्ने अदम्य भावना उर्लेको थियो । क्रोध र छटपटीका तरङ्गहरू दगुरिरहेको उनको अनुहार औधी डरलाग्दो थियो ।
‘हरे ! तिमी मैले चित्ताएभन्दा ठिक उल्टो रहेछौ ।’ दिक्दार हुँदै उनले दुःख पोखिन्, ‘तिमीलाई थाहा छैन होला । हेर, यो काखमा मैले तिमीलाई खेलाएकी थिएँ । मैले तिमीलाई मायाले भिजेका ओठले म्वाइ खाएकी थिएँ । म तिमीलाई सक्कली माइती ठान्थेँ । तर तिमी भने... अहो ! मेरो जीवन सपना भइसक्यो, त्यो पनि खाली नक्कली सपना । तिमी लोग्नेमान्छेहरू सबका सब पापका मूर्ति रहेछौ ।’
‘दिदी, तपाईंको पागलपनले सीमा नाघ्यो ।’ हैरान भएर मैले मनको टर्रो पोखेँ, ‘यसरी एक्लै चिच्याउँदैमा जीवनको थोत्रो रीत फेरिँदैन । हो, जीवनको फोहोरमैला यसरी कहाँ सफा हुन्छ ?’
‘हेर, यस अभागी छातीमा तिमीमाथि कत्रो भरोसा थियो !’
‘म औधी दुःखी छु । आफ्नो विचारले तपाईंको चित्त बुझाउन नसकेकामा म औधी दुःखी छु ।’ कुरा बुझाउन मैले फेरि कोसिस गरेँ, ‘साटो फेर्ने कुरामा हाम्रो मतो मिल्छ । खालि साटो फेराइको तरिकामा हाम्रो मतो मिलेन, होइन र ?’
‘तिम्रो भनाइ मैले बुझिनँ । तिमी मलाई कुरैकुराले छलछाम गर्न खोज्दै छौ ।’ उनका गहभरि आँसु रसाए ।
‘यसो सम्झनोस् त ! यस्तो अन्धकार र कोलाहलमा एक्लै हिँड्न कति गाह्रो छ ?’ मैले आफ्नो ढिपी छाडिनँ, ‘यो डरलाग्दो रात छिचोल्न आफूझैँ थिचिएकाहरूसँग हातेमालो गरेर हिँड्नु राम्रो होइन र ? सागरजस्तो मानव समूहमा नाथे एक जनाको एक्लो चीत्कार कता बिलाउँछ कता !’
‘यो त मुखको मिठो हो । त्यस्तो बाटो खोइ त ?’
‘हेपिएकाजति एकै ठाउँमा भेट भए बाटो खन्ने जुक्ति कसो फेला नपर्ला ? आँखा उघ्रेपछि बाटो कसो नदेखिएला ?’
रातको ठिक १२ बज्यो र मैले हिँड्ने तर्खर गरेँ । उनका सुक्दै गएका धमिला कुवाजस्ता आँखा भरिभरि आक्रोशका आँसु थिए ।
‘तिमी बुझ्नै नसकिने अर्को उल्झन मेरा थाप्लामा थोपरेर जाने भयौ ।’ हतासाले छताछुल्ल भएका आँखाले मलाई हेर्दै उनले भनिन् ।
‘म ज्यादै दुःखी छु । तर दिदी ! साँचो कुरो बुझेपछि तपाईंले यसो भन्नुपर्ने छैन ।’
‘यो उराठलाग्दो रातबाहेक मेरो साथी कोही भएन,’ म ढोकानेर पुगेपछि उनले भनिन्, ‘माइतीका आँखामा म घोँच्ने सियो भएँ, घरका आँखामा म गल्लीमा फ्याँकिएकी कसिङ्गर भएँ ।’
म फटाफट बाटो लागेँ ।
त्यो रातभरि मैले झिमिक्क आँखा लाउन सकिनँ । यता र उता मडारिँदा मडारिँदै निसासलाग्दो त्यो रात बल्लबल्ल बित्यो ।
भोलिपल्ट बिहान दिदीलाई भेट्न म फेरि गएँ । उनका आँखा सुन्निएका थिए, उनको अनुहार पहेँलो भएको थियो । मैले सम्झेँ, सके उनको छाती चाल्नोजस्तै छियाछिया भएको होला । उनी फेरि बिलौना गर्न थालिन् । मन समाल्न र ठण्डा दिमागले सोचविचार गर्न मैले फेरि बिन्ती गरेँ ।
‘आफूलाई मन लागेको गर्न जो पनि फुक्का छ ।’ उनले झोकिँदै भनिन्, ‘मेरो इच्छालाई रोक्न तिमीलाई के अधिकार ?’
‘साँचो हो, अधिकार मलाई छैन । तर खाँट्टी कुरो के हो भने दिदी, मान्छेले आफ्नो इच्छा के हो पहिले त्यसको टुङ्गो लाउनुपर्छ । अनि त्यसलाई साकार पार्न कुन बाटो हिँड्दा कस्तो फल मिल्छ त्यसको ठहर गर्नुपर्छ ।’
‘के गर्दा के हुन्छ म जान्दछु ।’ चिढिएको स्वरमा उनी गर्जिइन् ।
‘राम्रो !’ मैले भने, ‘तर दिदी ! सबैलाई बिरानो सम्झेर एक्लै पर्न मलाई भने अचाक्ली डर लाग्छ ।’
‘मैले के गरे राम्रो होला भन्ठान्छौ त तिमी ?’ उनको सोधाइमा विश्वास एक पित्को पनि थिएन ।
उनलाई टुलुटुलु हेर्दै म चुप लागेर बसेँ ।
‘सन्तानको आस अब रहेन । मेरो रित्तो छातीमा अब हरियाली कहिल्यै नखेल्ने भो । अहो ! म मर्दा मेरो सबै चिज मसँगै भर्ने भो !’ दिदी कहालिइन्, ‘संसारलाई केही पनि चिनो नछाडी मर्नु कति डरलाग्दो कुरा हो ? म मर्दा आफूलाई पूरै मेटेर मर्ने भएँ । मलाई बाटो देखाइदेऊ, म केही गरेर मर्छु ।’
‘सोच्नुपर्छ, शान्त चित्तले सोच्नुपर्छ र बाटो खोज्नुपर्छ । जीवनको बाटो हामी जति सजिलो ठान्छौ, त्यति सजिलो कहाँ हुन्छ र ?’
‘पारिजातलाई सम्झन्छु,’ निधार चाउरी पार्दै उनले भनिन्, ‘मर्नु र बाँच्नुको दोसाँधमा पुगेर पनि उनले दुनियाँलाई आफ्नो चिनारी दिइन् । उनी मर्दा मान्छेको हृदयमा अलिकति सम्झना त छोडेरै मर्छिन् । तर मसँग न ज्ञान छ, न सीप छ, न जेथो छ, न सहारा छ ।’
उनी अकमक्क परिन् ।
‘केही छैन भनेर यसरी एक्लै चिच्याउँदा पनि त केही भइहाल्दैन ।’
दिदी बोलिनन् ।
हतार थियो र मैले बिदा मागेँ ।
‘तिमीमाथि मेरो कत्रो भरोसा थियो !’ उनले उही कुरो दोहोर्याइन् ।
‘यसमा म अचाक्ली दुःखी छु । म के आशा गर्छु भने दिदी, साँचो कुरा बुझेपछि तपाईं मलाई फरि माया गर्न थाल्नु हुनेछ ।’ आफ्नै घुँडामा आँखा टेकाएर मैले भनेँ ।
साटो फेर्न तम्सेका उनका कठोर आँखामा मप्रतिको क्रोधको भावना छर्लङ्गै देखिन्थ्यो । उनका ती कठोर आँखा, त्यो क्रूर भावना, हृदय चिराचिरा पार्ने त्यो विलौना र जिद्दीले मलाई निकै दिनसम्म आफ्नै छायाले झैँ पछ्याइरहे ।
(२०२७)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन
-
जति तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव छैन : शर्मा
-
सशस्त्रका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
-
मेचीनगर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा