घलेगाउँ घुमेर हेर्दा...

एक हुल घुमन्ते विद्यार्थीको अगुवाइ गर्दै गण्डकी प्रदेशको चर्चित ग्रामीण पर्यटकीय स्थल घलेगाउँ आइपुग्यौँ । गाउँको प्रवेश द्वारमा पन्चैबाजाको लोक धुनमा खादा मालासहित गरेको भव्य स्वागत हाम्रा लागि सर्पाइज थियो । हाम्रा निधार सेतो अक्षताको टीका र गला सयपत्रीका मालाले सजाइए । सिङ्गो समूहलाई रोमाञ्चित गर्दै मन्त्रमुग्ध बनाउन पर्याप्त भएकोे हाम्रो साझा अनुभव हो । यो स्वागतभाव जादुमय थियो । कल्पना नगरिएको अनायासै प्राप्त त्यो आतिथ्यताले घुमन्तेहरूलाई जिब्रो काट्न बाध्य बनाएको थियो । कोहीको मुख ‘आँ’ गरेको गर्यै थियो । कोही भुईंमा खुट्टा बजारेर चिच्याउँदै थिए । कोही भने थुतुनोलाई ‘पाउट’ पार्दै आकाशतिर फर्केर सेल्फी खिच्दै थिए ।
अक्सर नेपालीले विवाह उत्सवहरूमा देखिने मौलिक बाजा बजेको थियो । वाद्यवादकहरूको हुलमा महिलाहरूको पनि उपस्थिति थियो । यो होमस्टे सञ्चालकहरूको नियमित कार्य थियो होला वा मनोरञ्जन दिँदै पर्यटक भित्र्याउनलाई पैसासँग विनिमय गर्ने कर्म हुँदो हो । तर त्यसले दिएको नवीन अनुभव आशा गरिएभन्दा धेरै थियो । हामीले पाउनेभन्दा ठुलो सत्कार थियो । हामीलाई त अकस्मात खुस–खबरी सुनाएझैँ थियो । मन फुरुङ्ग हुन पर्याप्त थियो । बाजाको धुनमा हात हल्लाउन र कम्मर मर्काउन लोभ्याउने खालको थियो । नाचौँ–नाचौँ, उफ्रौँ–उफ्रौँ र झुमौँ–झुमौँ पार्ने खालको थियो । दुई हातले गाला थिचेर थुतुनो चुच्चो पार्दै चिच्याउन मन लाग्ने थियो । हामीलाई दैनन्दिनका लफडा भुलेर मस्त रमाउन यथेष्ट थियो । हाम्रो घुमन्ते समूहलाई बिल्कुल पुनर्ताजकी गर्ने अहिलेसम्मकै पछिल्लोपटक अनुभव भएको पहिलो अवस्मरणीय घटना थियो ।
मौलिक वाद्यवादनको लोकभाकामा स्थानीयपन थियो, स्थान विशेषको सुगन्ध थियो र मुग्धता पनि थियो । वाद्यवादकको हाउभाउ कटाक्ष हाम्रो मनोरञ्जनका लागि उत्प्रेरक थियो । जुन संस्कृतिजन्य खुराक हो तर हामी धेरै यान्त्रिक भइसकेका रहेछौँ । हाम्रो दैनिकी प्रविधिले खोसिसकेको रहेछ । प्रविधिले एरेन्ज गरिदिएको धुन, संगीत र गीतका छोटा टुक्का सुन्ने बानी बसेको हामी केवल मोबाइललाई नै एकल मनोरञ्जनका साधन स्विकारेका रहेछौँ । त्यसैले यस्तो आनन्ददायी क्षणमा हामी रमाउन, हराउन, उफ्रिन र चिच्याउन जानेनौँ, सकेनौँ । हामी असरल्लै अलमलियौँ । हामी अभ्यस्त भएका रहेनछौँ ।
फेरि पनि हामी त्यो बाजाको धुनमा समाहित र प्रत्यक्ष जोडिन सकेनौँ । उक्त बाजाको लोक धुनले हामीलाई थपडी बजाएर साथ दिनका लागि आग्रह गरेको थियो, हाम्रा हातहरू ताली बजाउनलाई जुटेनन् । हाम्रा हातहरू मोबाइलको कब्जामा थियो । मौलिक बाजामा उफ्री नाच्नका लागि आमन्त्रण थियो, हाम्रा खुट्टा पटक्कै चलेनन् र कम्मरहरू पनि मर्केनन् । दमाहा बजाउनका लागि आग्रह आयो, हामीले संकोच मान्यौँ, अघि सर्न सकेनौँ, अवसरको उपयोग भएन । म देख्दै थिएँ, हाम्रा समूहका घुमन्ते सदस्यहरू सबै रमाइरहेका, तर प्रत्यक्ष दृश्य पनि मोबाइलको स्क्रिनमा हेरेर र एङ्गल मिलाएर भिडियो खिच्ने ध्याउन्नमा थिए । क्यामेराको फ्रेमभित्र घटना अटाउनुपरेको छ । ती आ–आफ्नै मोबाइलसँग रमाइरहेका थिए । आ–आफ्नो मोबाइलमा व्यस्त थिए । फेरि आफ्नो मोबाइल अरुलाई दिएर आफ्नै फोटो खिची माग्थे । कोही बाजा बजाउनेसँग टाँसिएर, कोही बजाउँदै गरेको सहनाई समाएर, कोही बाजा अगाडि उभिँदै ‘भी’ आकारमा औँला देखाएर फोटो खिची माग्थे । मोबाइल अड्केको ‘सेल्फी स्टिक’माथि उचालेर भिडियो उतार्दै मनोरञ्जन लिने पनि थिए । स्वाद आ–आफ्नै । फेसबुक, इन्टाग्राम, एक्स वा थ्रेडमा हाल्ने फोटोका लागि मरिमेटेर लागेका थिए । यसै गरी–गरी गन्तव्यमा पुगियो ।
हाम्रा निधार सेतो अक्षताको टीका र गला सयपत्रीका मालाले सजाइए । सिङ्गो समूहलाई रोमाञ्चित गर्दै मन्त्रमुग्ध बनाउन पर्याप्त भएकोे हाम्रो साझा अनुभव हो । यो स्वागतभाव जादुमय थियो । कल्पना नगरिएको अनायासै प्राप्त त्यो आतिथ्यताले घुमन्तेहरूलाई जिब्रो काट्न बाध्य बनाएको थियो ।
साँझ पर्यो । ढुङ्गा छापेको आँगनको उत्तर कुनामा दाउरा बलिरहेथ्यो । आगोमाथि जालीमा मासु पोलिँदैथ्यो । आगोको वरिपरि सबै सदस्य लहरै बसेका । सबका हातमा मोबाइल । यहाँ पनि मनोरञ्जन मोबाइलमै खोजी हुँदैथ्यो । आगोको भिडियो र पोलेको मासुको फोटोले सबैलाई अल्झायो, कुराकानी ख्याल–ठट्टाको वातावरण बनेन । यहाँ पनि मोबाइल हाबी भयो । के यसरी नै ग्रामीण होमस्टेको अनुभव बटुल्न आउनुको औचित्य पुष्टि होला र ?
मोबाइलमा फेसबुक छ, त्यसका लागि प्रोफाइल पिक्चर चाहियो । फेसबुकको भित्तामा टाँस्नुपर्ने केही थान सुन्दर तस्बिर चाहियो । तस्बिर साधारण हुनुभएन, लाइक, सेयर र कमेन्ट आउने हुनुपर्यो । अर्को ध्याउन्न भनेको इन्स्टाग्रामका प्रतिस्पर्धीहरू भन्दा अब्बल फोटो जुटाउनु पनि हो । सञ्जालमा ‘वाउ’ भन्ने हिस्सी परेको फोटो पनि चाहिन्छ । लाइक बटुल्न नसक्ने साधारण फोटोप्रति कसैको आशक्ति रहेन । अहिले खिचेको फोटोभन्दा राम्रो अरुको होला भन्ने त्रासले पनि पछ्याउँथ्यो । फोटो साहसिक नदेखिएला, आकर्षक नदेखिएला भन्ने डरले पनि मनको अन्तर–कुन्तरमा डेरा जमाएको होला । एउटा फोटोले के गर्नु, धेरै फोटोबाट एउटा उत्कृट फोटो छान्नुपर्या छ, त्यसका लागि पनि धेरै फोटो खिच्ने बानी परेको छ, एउटाले त चित्तै नबुझ्ने । मोबाइलमा पूर्णतः भर पर्नुपरेको छ । ध्यान क्षणभर पनि मोबाइलदेखि अन्त नमोडिने । गाह्रो छ, धेरै गाह्रो छ । अब अधिकतम ऊर्जा जसरी पनि फरक र अब्बल फोटो उतार्नमै बित्दै छ । ट्विटरमा एकाउन्ट हुनेहरूका लागि राम्रो बौद्धिक देखिने भलादमी फोटो पनि चाहिएको छ । सञ्जालमा बौद्धिक देखिने ठुलो लालसा हुन्छ । फोटो प्रशंसा बटुल्ने वाला चाहिएको छ । तर यी सबै अवस्थाले व्यक्तिभित्र पैदा गरेको तनावको आकलन गर्न सक्ने क्षमता कसैमा हुँदैन । केवल यन्त्रवत लागिरहेका हुन्छन् ।
कोही चाहिँ युट्युब, टिकटक, सर्टस् वा स्टोरीमा अपलोड गर्न चित्ताकर्षक भिडियो उतार्ने हुटहुटीले ग्रस्त देखिन्छन् । कोही मोबाइल अड्केको सेल्फी स्टिक माथि उचालेर वरिपरि दौडिँदै भिडियो खिच्दा मनोरञ्जन भएको आत्मतुष्टि लिने पनि छन् । टिकटकका फलोअर्सहरूलाई पनि केही कोसेली दिनैपर्यो । रिक्स मोलेरै खिचेको साहसिक र छोटो चटक्क परेको एक टुक्रा भिडियो टिकटकमा अपलोड गर्न नपाए भ्रमणको औचित्य नै के रहला र ? त्यो पनि बिर्सनुभएन । एउटै पोसाकमा धेरै फोटो अपलोड हुनु हुँदैन भन्ने कुराको पनि हेक्का राख्नुपर्यो । फोटैपिच्छे पोज र पोसाक परिवर्तन हुनुपर्यो । उनीहरू भन्छन्, ‘रमाइलो मोमेन्ट क्याच गर्नु छ’ । तर यी ‘जेन–जेड’ले कहिले बुझ्लान्, ह्याप्पी मोमेन्ट भनेको तत्क्षण भोग्ने हो, अनुभूत गर्ने हो र प्रत्यक्ष रमाउने हो, मोबाइलमा अटाउने होइन । तर मोबाइलको सम्मोहनले त्यसो गर्न दिइरहेको छैन ।
मलाई लाग्छ, हामी मोबाइलबाट निर्देशित भयौँ । हामीलाई मोबाइल होइन, मोबाइललाई हामी चाहिएको छ । मोबाइलको प्रत्येक एप्स र अवयवहरू निर्बाध चल्नुपर्छ तर हाम्रा मानवीय संवेदना, स्वभाव र गुणहरू प्रस्फुटित नहुँदा फरक नपर्ने भयो ।
उफ ! मान्छे खुसी हुने र रमाइलो गर्नेे शैली यही हो त ? खै त हाम्रो ठेट लोक बाजाको रसास्वादन गर्ने चाह ? न सांस्कृतिक घुलनशीलताप्रतिको आकर्षण, न पृथकतामा रमाउने इच्छा, न त मौलिकता आत्मसात गर्ने तत्परता नै । प्रत्यक्ष मनोरञ्जन नै आत्मपुनर्ताजगीको अचुक औषधि हो भन्ने बिर्सिसक्यौँ । हाम्रो मौलिकतामा मनोरञ्जन गर्ने हुटहुटी मोबाइलले मारिदियो, क्यामेराले कुल्चियो । हामीले अनुभव गर्ने शैली फेरियो वा पटक्कै मिलेन । हाम्रो हातमा मोबाइल छ, हामी मोबाइलद्वारा सञ्चालित भयौँ । हामीलाई मोबाइलले यान्त्रिक बनायो । हाम्रो नितान्त व्यक्तिगत समय, अरुलाई देखाउने फोटो खिच्न र भिडियो बनाउनमै खर्च हुने भयो । केवल सञ्जालमा पोस्ट गरेर आत्मरञ्जन लिएरै बित्ने भयो । सामाजिक सञ्जालभित्रको हाई–हेलो, दर्शन–नमस्ते र ढोगदिँयामै रमाइने भइयो ।
मलाई लाग्छ, हामी मोबाइलबाट निर्देशित भयौँ । हामीलाई मोबाइल होइन, मोबाइललाई हामी चाहिएको छ । मोबाइलको प्रत्येक एप्स र अवयवहरू निर्बाध चल्नुपर्छ तर हाम्रा मानवीय संवेदना, स्वभाव र गुणहरू प्रस्फुटित नहुँदा फरक नपर्ने भयो । मोबाइल छ र त हामीले शिक्षा पाएका छौँ, धेरै कुरा सिक्न पाएका छौँ र भरपुर मनोरञ्जन लिन्छौँ भन्ने ओठेजवाफ अहिले मान्छेको जिब्रोमा झुन्डेको छ । आफ्नो सुरक्षा होइन, मोबाइललाई सुरक्षित राख्न मिहिनेत गर्छौं । मोबाइलले हामीलाई जीवन्त राखेको छ भन्ने भाष्य व्यापक बनाइँदै छ । यी गलत भाष्यले हामीलाई क्रमशः बर्बादीतर्फ धकेल्दै छ ।
नयाँ पुस्तामा यो गलत प्रवृत्ति अरु धेरै मौलाउँदै छ । त्यसैले त्यही बिन्दुबाट सुधार सुरु हुनुपर्छ, जहाँबाट मोबाइलको अपचलनले हामीलाई बिगार्न सुरु गर्यो । मोबाइलको सटीक र रचनात्मक प्रयोगको सीमारेखा नकोर्ने हो भने त्यसले निम्त्याउने दुर्दिनको अन्दाज गर्न पनि गाह्रो हुन्छ । मोबाइलमा दिनानुदिन विकास भइरहेको मानव मात्रलाई सम्मोहित पार्ने एप्सहरू मान्छे पुरिने बडाबडा खाडल साबित हुँदै छन् । टेलिभिजन, घडी, क्यामरा, टर्च, क्यालकुलेटर, पैसा, किताब, कापी–कलम आदिलाई सजिलै विस्थापित गरेको मोबाइलले हाम्रा मानवीय संवेदनालाई नै विस्थापित गर्ने भय व्याप्त छ । हाम्रा संवेदनाहरूको प्रस्फुटन मोबाइल निरपेक्ष हुनुपर्छ । मोबाइलको सीमित र संयमित प्रयोगमा ध्यान दिनु नै यसको सम्मोहनबाट टाढिने कोसिस हो र यो संयमता नै सुरुवात पनि हो !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन
-
जति तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव छैन : शर्मा
-
सशस्त्रका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
-
मेचीनगर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा