सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय
बेथिति

त्रिवि अनुसन्धान केन्द्रका लेक्चरर कामविना तलब पचाउँदै

शनिबार, २४ फागुन २०८१, ०९ : २४
शनिबार, २४ फागुन २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले खोज अनुसन्धानका लागि छुट्टै निकाय खडा गरेको छ । त्यसका लागि विभिन्न चार वटा अनुसन्धान केन्द्र (रिसर्च सेन्टर) छन् ।

खोज तथा अनुसन्धानमा सक्रिय हुनुपर्ने ती केन्द्र नाममा मात्र सीमित हुन थालेका छन् । अनुसन्धान केन्द्रहरू अनुसन्धानको क्षेत्रमा प्रभावकारी हुन नसकेपछि गत मंसिर २७ गते बसेको त्रिवि साधारण सभामा छलफलसमेत भएको थियो । अनुसन्धान केन्द्रहरूलाई गाभ्ने प्रस्ताव पेस गरिए पनि कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले थप छलफल आवश्यक रहेको बताउँदै उक्त विषय तत्काल ‘होल्ड’ गरेका थिए ।

अनुसन्धान केन्द्रहरू तलब–भत्ता खाने र दिनभर घाम तापेर बस्ने थलोको रूपमा परिणत हुन थालेका छन् । तीमध्येको एक हो– व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट), जहाँका केही लेक्चरर बिहान अफिस आउने अनि हाजिर गरेर जाने गरेका छन् ।

रिकास्टमा काम गर्ने केही लेक्चरर लामो समयदेखि अफिस आएर हाजिर गर्ने, तबल–भत्ता पचाउनेमै सीमित देखिन्छन् । १३ जना सदस्य रहेको रिकास्टमा ६ जना वर्षौंदेखि एउटै रिसर्च नगरीकनै बसेको पाइएको छ ।

रातोपाटीसँग प्राप्त रिपोर्टअनुसार त्यसरी लामो समयदेखि रिसर्च नगरी जागिर खानेमा म्याथका लेक्चरर डाक्टर पवन कुमार झा, फिजिक्सका लेक्चरर मनोज कुमार मिश्र, बोटनीका लेक्चरर इन्दु बानिया, इन्जिनियरिङका लेक्चरर राजिभ ठाकुर, सोसोलोलीका लेक्चरर रतन मिश्र र इन्जिनियरिङका इन्स्ट्रक्चर रमेश श्रेष्ठ छन् ।

ई–हाजिरीको व्यवस्था गर्नुअघिसम्म उनीहरू कहिलेकाहीँ आउने, पूरा महिनाको हाजिर मिलाएर जाने गर्दथे । कामै नगरी हाजिरको भरमा तलब खाने गरेको पाइएपछि रिकास्टले ई–हाजिरीको व्यवस्था गरेको थियो । यद्यपि अहिले पनि उनीहरू हाजिरका लागिमात्र कार्यालयमा आउने गरेको पाइएको हो ।

उनीहरू बिहान अफिस जाने, हाजिर गर्ने र दिनभर आफ्नो व्यक्तिगत कामका लागि बाहिर जाने गरेको पाइएको हो । रिकास्टमा अचेल ई–हाजिरीको व्यवस्था छ । जसले गर्दा उनीहरू दिनदिनै बिहान अफिस त आउँछन् तर, हाजिर गरेर दिनभर कहाँ जान्छन् भन्ने कसैलाई जानकारी हुँदैन । बेलुका आएर फेरि हाजिर गरेर उनीहरू घर जाने गरेको देखिन्छ ।

एक कर्मचारीका अनुसार ई–हाजिरीको व्यवस्था गर्नुअघिसम्म उनीहरू कहिलेकाहीँ आउने, पूरा महिनाको हाजिर मिलाएर जाने गर्दथे । कामै नगरी हाजिरको भरमा तलब खाने गरेको पाइएपछि रिकास्टले ई–हाजिरीको व्यवस्था गरेको थियो । यद्यपि अहिले पनि उनीहरू हाजिरका लागिमात्र कार्यालयमा आउने गरेको पाइएको हो ।

रातोपाटीकर्मी रिकास्ट कार्यालय पुग्दा माथि उल्लेख गरिएका कुनै पनि लेक्चरर कार्यालयमा उपस्थित थिएनन । यद्यपि उनीहरूको हाजिरी भने देखिएको थियो ।

रिकास्टका प्रोफेसरहरूले आफ्नो अनुसन्धानहरू रिसर्चगेट तथा स्कोलर गुगलमा प्रकाशित गर्ने गरेका छन् ।

रिकास्ट फेकल्टीहरू र उनीहरूले गरेको अनुसन्धानपत्रको विवरण:

t1
अमृत साइन्स क्याम्पसबाट रिकास्टमा पुगेका लेक्चर पवन कुमार झाले ६/७ वटा पब्लिकेशन गरेको दाबी गरे पनि रिसर्चगेट तथा स्कोलर गुगलमा उनको पब्लिकेशन भेटिएन । ‘म अस्कलबाट रिकास्ट गएको २/३ वर्ष भयो । यो अवधिमा ६/७ वटा पब्लिकेशन गरेको छु । रिसर्च गेटतिर भेटिन्छन्,’ उनले भने ।

झाले आफूसँग के कस्तो प्रयोजनका लागि व्यक्तिगत कुराहरू सोधपुछ गरिरहेको भनेर चासोसमेत राखेका थिए । शुक्रबार बिहान १० बजेतिर कार्यालय पुगेर हाजिर गरेका उनी दिनभर बाहिरिएका थिए ।

अर्का लेक्चरर मनोज कुमार मिश्र विगत ५ वर्षदेखि बिदामा बसेका छन् । उनले पीएचडी अध्ययनका लागि बिदा लिएको बताए । उनका विरूद्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दा परेको थियो, जसले गर्दा उनी लामो समयदेखि रिकास्टमा हाजिर भएका छैनन् । अख्तियारमा मुद्दा परेकै समयमा उनले पीएचडी अध्ययन थालेका थिए । उनले रिकास्टबाट अध्ययन बिदा लिएको एक अधिकारीले बताए ।

त्यस्तै इन्दु बानिया बोटनीको लेक्चरर हुन् । उनको हालसम्म कति वटा प्रकाशन प्रकाशित गरेको छ भन्ने विवरण न रिकास्टसँग छ, न त अनलाइनमा भेटिन्छ ।

बानियाले हाल विश्वविद्यालय अनुदान आयोगको तर्फबाट दुई वटा अनुसन्धानमा अनुसन्धान गरिरहेको बताइन् । उनले हालसम्म कति वटा अनुसन्धान तथा रिसर्च पेपरहरू तयार भयो भन्ने जानकारी नभएको बताइन् ।

आफूले २०५४/०५५ सालदेखि रिकास्टमा काम गर्दै आएको बानियाले बताइन् । यतिका वर्षसम्म रिकास्टमा काम गर्दै आएकी उनले कति वटा अनुसन्धान तथा रिसर्च पेपर सार्वजनिक गरेको भन्ने विषयमा अनभिज्ञता प्रकट गरिन् ।  

इन्जिनियरिङका लेक्चरर राजीव ठाकुरको समेत कुनै प्रकारको प्रकाशन भेटिँदैन । आफूले विभिन्न विषयमा अनुसन्धान गरेको बताएका उनी थप विषय पछि जानकारी दिने भनेर पन्छिए ।

त्यस्तै अर्का लेक्चर रतन मिश्राको समेत कुनै प्रकारका रिसर्च पेपर तथा प्रकाशन प्रकाशित भएका छैनन् । तर, उनले विभिन्न समयमा विभिन्न प्रकारका रिसर्च गर्दै आएको बताए ।

त्यस्तै असिस्टेन्ट इन्स्टक्चर रमेश श्रेष्ठ समेत निष्क्रियजस्तै छन् ।  

रिकास्टले आफ्नो वेबसाइटमा फेकल्टीहरूको नाम, फोटो तथा नम्बरसहितको पूर्ण विवरण राख्दै आएको छ । तर, ती लेक्चररहरूको भने न फोटो राखेको देखिन्छ, त उनीहरूले गरेका अनुसन्धानको विवरण नै छन् ।

यसरी कुनै पनि अनुसन्धान नै नगर्ने उनीहरू अफिस जाने हाजिर गर्ने र तलब पचाउने काममै सीमित हुँदै आएको देखिन्छ ।

यो विषयमा त्रिवि उपकुलपति कार्यालयले समेत बेलाबेला प्रश्न उठाउँदै आएको थियो । रिकास्टले प्रगति विवरण पेस गर्ने क्रममा उनीहरूको कार्य सम्पादन मूल्यांकन शून्य जस्तै हुन्छ । तर पनि उनीहरूले विभिन्न खालका अनुसन्धान गर्दै आएको दाबी गर्न छाडेका छैनन् ।

रिकास्टले आफ्नो वेबसाइटमा फेकल्टीहरूको नाम, फोटो तथा नम्बरसहितको पूर्ण विवरण राख्दै आएको छ । तर, ती लेक्चररहरूको भने न फोटो राखेको देखिन्छ, त उनीहरूले गरेका अनुसन्धानको विवरण नै छन् ।

यो विषयमा रिकास्ट र त्रिवि उपकुलपति तथा रेक्टर कार्यालयबाट कुनै प्रतिक्रिया आएको छैन । त्रिविको साधारणसभामा रेक्टर प्राडा खड्क केसीले अनुसन्धान केन्द्रहरूलाई चलायनमान बनाउन र उनीहरूका काम प्रभावकारी बनाउन मर्जर तथा स्कूलमा परिणत गर्न लागिएको बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप

छुटाउनुभयो कि ?