मोरङमा ओली समूह पराजयको सन्देश के ?

विराटनगर । नेकपा एमाले मोरङको दसौँ अधिवेशनको निर्वाचनबाट आएको नयाँ नेतृत्व चयनको विषयलाई लिएर एमाले वृत्तमा तरङ्ग सिर्जना गरेको छ । निर्वाचन परिणामअनुसार अध्यक्ष केपी शर्मा ओली पक्ष (संस्थापन पक्ष) भनेर प्रचारित नेताको प्यानललाई पराजित गर्दै एमाले नेता विनोद ढकाल पक्षका नेताहरूको प्यानल नै विजयी बनेको छ । जसमा अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष बान्तवा र उषा झा निर्वाचित भएका छन् ।
संस्थापन पक्ष सत्ता र शक्तिको दुरुपयोग गर्दै अर्को पक्षलाई रोक्न खोज्दा पनि मोरङमा असफल हुँदाको सन्देश के हो ? आफ्नो समूहका उम्मेद्वारहरु विजयी बनेपछि नेता विनोद ढकालले नवौँ महाधिवेशन पछिको अवधिमा नेताहरूले गरेको गलत क्रियाकलापको जवाफ कार्यकर्ताले दिएको प्रतिक्रिया दिए ।
‘नेता कसले छान्ने, कार्यकर्ताले कि नेताले ? नेतालाई कार्यकर्ताले छान्नुपर्छ भन्ने मान्यताले जितेको छ,’ उनले भने– ‘नवौँ अधिवेशन यताको अहिलेसम्मको अवधिमा एमाले मोरङमा विभिन्न प्रश्न उठेका छन् । कार्यकर्तालाई विभेद भयो, अन्याय भयो । यो सबै कुराको एकमुष्ट जवाफ कार्यकर्ताले निर्वाचनमार्फत दिए ।’
उनले स्पष्ट रूपमै आफूले अजम्बर राईलाई सहयोग गरेको बताए । अब मोरङको पार्टी एक ढिक्का हुने उनको भनाइ थियो । उता, अध्यक्षमा निर्वाचित अध्यक्ष अजम्बर राईले अब पार्टीलाई एक ढिक्का बनाउँदै छरिएर रहेका एमाले कार्यकर्तालाई एकत्रित अघि बढ्ने बताए । उनले पार्टीलाई विधि र नीतिको आधारमा चलाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
निर्वाचित उपाध्यक्ष सागर थापाले भने आफूलाई कार्यकर्ताले न्याय दिएको बताए । ‘मलाई अन्याय गरिएको थियो । मैले गर्दै नगरेको कामको सजाय मलाई दिइएको थियो । त्यसका विरुद्धमा आम कार्यकर्ताहरू सङ्गठित भएर लाग्नु भयो र मलाई न्याय दिनुभयो,’ थापाले भने, ‘यो लडाई पार्टी बिगार्ने र सपार्ने बिचको लडाईं पनि हो । अब हामी पार्टी निर्माणमा लाग्छौँ ।’
उनले कोही नेतालाई भेट गरेकै आधारमा कारबाही गर्ने दिन गएको पनि बताए । ‘कार्यकर्ता साथीहरू नेताको घरमा जाँदा कारबाही हुने दिन गए । कार्यकर्तालाई सम्मान गर्ने दिनको सुरुवात भयो । म माथि गरेको कारबाही व्यक्तिगत थियो । आज सिङ्गो पार्टी कमिटीमा हेपिएका र अन्यायमा परेकाहरूले जितेका छन्,’ उनले भने ।
एमाले मोरङमा ओली समूहले नेता विनोद ढकाल समूहलाई पेल्दै आएको थियो । उक्त समूहका नेता तथा कार्यकर्तालाई बोलेकै भरमा कारबाही गर्ने, जिम्मेवारीविहीन बनाउने लगायतका काम भएको थियो ।
राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलले एमाले मोरङको अधिवेशनले विभिन्न सङ्केत गरेको बताए । ‘यसले अध्यक्ष ओलीको अलोकप्रियताको सङ्केत गर्यो । ओलीको पार्टीभित्रको हैकमवादको अन्त्यको सुरुवात पनि गर्यो,’ संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘एमालेभित्र स्वतन्त्र ढङ्गले पनि कार्यकर्ताले सोच्न थालेछन् । पार्टीभित्र लादिएको हैकमवादलाई अस्वीकार गर्छन् भन्ने देखायो ।’
एमाले निकट बुद्धिजीवी प्रा.डा.बद्रीविशाल पोखरेलले पनि सामाजिक सञ्जालमा एमाले मोरङको अधिवेशनबाट टिप्पणी गर्दै एकाध नेताको चरम स्वार्थका कारण संस्थापन पक्ष पराजित बनेको बताएका छन् ।
‘केन्द्रीयताका नाममा एकाध नेताको चरम स्वार्थका कारण अध्यक्षलाई नै गलत सल्लाह दिएपछि अधिकांश पुराना नेता कार्यकर्ताले ओझा समूह (संस्थापन)लाई परास्त गरेका हुन्,’ उनले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
युनिटी ठगी प्रकरण : संलग्नलाई कैद, पीडितलाई कम्पनीको सम्पत्ति बेचेर भुक्तानी गरिने
-
वीरगञ्जमा पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही माग
-
हङकङलाई हराउन नेपालले ११६ रन बनाउनुपर्ने, युवराजले लिए ४ विकेट
-
एन्टी बायोटिक औषधिको असर घट्दा गइसक्यो ३० लाख बच्चाको ज्यान
-
सगरमाथा क्षेत्रमा पर्यटक आगमन वृद्धि : चैतमा १२ हजार भित्रिए
-
पदक विजेता बक्सिङ खेलाडीलाई स्वागत, तस्बिरहरू