मोरङमा ओली समूह निरीह : विद्याको एक साता लामो बसाइले काम गरेकै हो ?

विराटनगर । एमाले मोरङको दशौँ अधिवेशनबाट आएको निर्वाचन परिणामले संस्थापन पक्षमा खैलाबैला मच्चिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीदेखि संस्थापन समूहका तल्लो तहका कार्यकर्तासम्म मोरङको निर्वाचन परिणामले स्तब्ध हुनुपर्छ । आफ्नो विरुद्धमा परिणाम आएको झोंकमा एमाले अध्यक्ष ओलीले एमाले मोरङका नेता विनोद ढकाललाई कारबाहीको निर्णय गरे भने अनौठो नमाने हुन्छ । किनकि उनले आफ्ना विरोधीहरू भीम रावल, बिन्दा पाण्डे, उषाकिरण तिम्सिनालगायत धेरैलाई यसैगरी पन्छाइसकेका छन् ।
मोरङमा पनि त्यस्तो आक्रोश कारबाहीमा बदलिन सक्ने संकेत मतगणना सुरु हुनुअघि विराटनगरस्थित एमाले पार्टी कार्यालय परिसरमै देखियो । विराटनगरका एक जना अधिवेशन प्रतिनिधिमाथि अध्यक्षका उम्मेदवार राजकुमार ओझा ‘मलाई सहयोग नगर्ने ?’ भन्दै झम्टिएका थिए । तर, ती प्रतिनिधिले हाँसेर जवाफ दिए, ‘मैले मलाई लागेको ठाउँमा भोट दिएँ । तपाईंले जबर्जस्ती गर्न पाउनुहुन्न ।’
अर्का कार्यकर्ताले छेउमै आएर ती प्रतिनिधिलाई भने, ‘०८४ मा टिकटचाहिँ कसले दिन्छ नि ?’
उनले जवाफ दिँदै भने, ‘टिकट नदिए आफैँ लड्ने ।’
ती कार्यकर्ताले भनेजस्तै एमाले मोरङले अध्यक्ष केपी शर्मा ओलीकै विरुद्धमा विद्रोह बोलेको छ । किनकि पदाधिकारीमा विजयी अध्यक्ष अजम्बर राई, उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा, उपसचिव सन्तोष वान्तवा राई र उषा झा उनै विनोद ढकालले उठाएका पात्र हुन् र अध्यक्ष ओलीले असहयोग गरेको समूह हो ।
एमाले मोरङको यो अधिवेशनमा धेरैको चासो थियो । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सहमतिको नाममा अधिवेशनको समयावधि लम्ब्याउन गरेको प्रयास होस् या मतदानदेखि मतगणना हुँदासम्म गरेका शक्तिको दुरुपयोगको प्रयास हुन् । यो सबै विनोद ढकालले सहयोग गरेको समूहलाई पराजित गर्न गरिएका प्रयास थिए ।
अधिवेशनको पूर्वसन्ध्यामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एक हप्ता लामो विराटनगर बसाइ र उनको कसरतले भने ढकाल समूहलाई राहत मिलेको थियो । कोशी प्रदेशको अधिवेशनको बेलामा नेता ढकाललाई गरिएको घेराबन्दीदेखि तत्कालीन विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापालगायतलाई गरिएको ‘अन्यायपूर्ण’ कारबाहीको विषय पनि यही अधिवेशनमा ठोक्किएको थियो ।
अधिवेशनमा मतदान हुँदै गर्दा पदाधिकारीहरूमा संस्थापन पक्ष भनेर अध्यक्षका उम्मेदवार राजकुमार ओझाहरूले प्रचार गरे । मंगलबारका लागि बनाइएको निर्वाचन कार्यतालिका बुधबारका लागि सारियो ।
संस्थापन पक्षबाट जिल्लास्तरमा बनाइएको प्यानललाई अध्यक्ष केपी शर्मा ओलीले परिवर्तन गरिदिए । ढकाल पक्षकी भनेर चिनिएकी विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्कीलाई उपाध्यक्ष बनाउन निर्देशन दिए । अन्तिममा संस्थापन पक्षले उपसचिवको साझा उम्मेदवार बनाउन कोसिस भयो तर, त्यो पनि असफल भयो । परिणाम पनि नकारात्मक आयो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्ताको दुरुपयोग गर्दै कहिले मुख्यमन्त्री कार्यालयमा बोलाएर त कहिले निवासमा बोलाएर प्रतिनिधिहरूलाई प्रभावित पार्ने प्रयास गरे । निर्वाचन समितिका मानिसहरूलाई बिग होटलमा राखेर इतर पक्षलाई कसरी हराउने भनेर प्रशिक्षण दिइयो । उनीहरूले जित्ने परिस्थिति आयो भने मतगणना स्थगित गर्ने भन्नेसम्मका योजना बने ।
सांसदहरूलाई सरकार फेरबदल हुँदा मन्त्री बनाउनेसम्मका आश्वासन दिइयो ।
एमालेका उपाध्यक्ष गुरुप्रसाद बराल, कोशी प्रदेश इन्चार्ज शेरधन राई, नेता भानुभक्त ढकाल, केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाको टिम नै निर्वाचन हुनुभन्दा अगाडिदेखि अन्तिमसम्म संस्थापन पक्षलाई जिताउन अनेक फण्डा ल्याए ।
नमूना मतपत्रको नाममा जस्ताको तस्तै मतपत्र ल्याएर कार्यकर्तालाई बाँडियो । प्यानलगत चिटमा संस्थापन लेखेर खुलेआम आफैँले अस्वीकार गर्दै आएको गुटगट अभ्यासलाई बढावा दिए ।
भूगोल र जनवर्गीय संगठनबाट आउने पदाधिकारीमा ढकाल पक्षको वर्चश्व देखिएपछि संस्थापन पक्षले एकलौटी ४६ जनालाई प्रतिनिधि मनोनित ग¥यो । त्यसलाई सच्याउन इतर पक्षले माग ग¥यो तर, संस्थापन पक्षले त्यसलाई मानेन ।
विपक्षमा लागेका प्रतिनिधिहरूलाई भेटेर ०८४ मा सांसद, पालिका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्यको टिकट दिने बाचा गरियो । निर्वाचित सांसद र पालिकाका जनप्रतिनिधिलाई सरकारी कोषबाट चाहेको ठाउँमा बजेट व्यवस्थापन गरिदिने आश्वासन दिइयो । बाँकी प्रतिनिधिलाई पार्टीका विभिन्न पदमा र सरकारी नियुक्तिमा एड्जस्ट गर्ने भनियो ।
एक हिसावले भन्ने हो भने गर्नै नपर्ने र गर्नै नहुने आफ्नै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा सत्ता र शक्तिको चरम दुरुपयोग भयो । २०८० असोजमा सोही स्थानमा भएको प्रदेश कमिटीको निर्वाचनमा पनि ओली पक्षले यसरी नै राज्य सत्ताको दुरुपयोग गरेको थियो ।
संस्थापन पक्षबाट लडेका अध्यक्षका उम्मेदवार ओझा, उपाध्यक्ष शान्ति लिम्बू, सचिव रविन थापा, उपसचिव इर्जालाल राजवंशी र शिल्पा निराला कार्कीको बुतामा मात्रै यो चुनाव लडिएको थिएन । सत्ता र शक्तिको यति धेरै दुरुपयोग नगरिएको भए ढकालले सहयोग गरेको समूहको विजय र संस्थापन भनिएकाहरूको पराजय कति लज्जास्पद हुन्थ्यो, कल्पना गर्न सकिन्छ ।
कुनैबेला एमालेमा माधवकुमार नेपाल समूह हाबी थियो । देशभर नेपाल समूहको वर्चस्व रहेका बेला पनि मोरङ र काभ्रेपलाञ्चोक भने केपी शर्मा ओलीको पक्षमा थियो । त्यसको नेतृत्व उनै विनोद ढकाल र गोकुल बास्कोटाहरूले गर्दथे ।
माधव नेपालहरू एमालेबाट अलग्गिए । त्यसपछि एमालेमा कुनै गुट थिएन तर, जब केपी शर्मा ओलीले मोरङको पार्टी नेता विनोद ढकाल नै हुन् भन्ने बिर्सिएर उनै ढकालमाथि अन्यायका शृङ्खला सुरु गरे, उनी पक्षीय कार्यकर्तालाई पाखा लगाइयो र जिम्मेवारी बिहीन बनाइयो । १० बुँदे पक्षधरलाई च्याप्न थालियो । त्यसपछि ढकाल समूहले विद्रोह बोल्यो । विद्रोह प्रदेशको अधिवेशनबाट सुरु भयो । त्यो विद्रोह इलाममा पुग्यो, तेह्रथुममा पुग्यो, भोजपुरमा पुग्यो ।
परिणाम मोरङ र तेह्रथुममा देखियो । दुवै जिल्लामा ओलीले नरुचाएको समूहले जित्यो । भोजपुर र इलाममा पनि इतर समूहले दह्रो चुनौती दिए ।
ओली समूहले संस्थापन पक्ष भनेर गरेको प्रचारलाई लक्षित गर्दै ढकालले मतदानकै क्रममा भनेका थिए, ‘मोरङमा संस्थापन भनेको विनोद ढकाल नै हो । टीका लगाएर को आउँछ जान्छ तर, एमालेका आम कार्यकर्ताले विनोद ढकाल जहाँ उभियो, त्यहीँ संस्थापन मान्छ ।’
अधिवेशनबाट निर्वाचित पदाधिकारीको लिष्ट हेर्दा ढकालले गरेको उक्त अभिव्यक्ति मतदानमार्फत प्रमाणित भयो । उनले मोरङका एमाले केन्द्रीय सदस्यहरू यज्ञराज बाँस्कोटा, नैनकला ओझा र रामलाल साहको सहयोगमा आफ्नो टिमलाई जिताएरै छाडे । तर, अझै पनि ढकाल आफूलाई ओली पक्षकै नेता ठान्छन् ।
‘अध्यक्षको नाम लिएर तलका केही व्यक्तिले मनपरी गर्न खोजिरहेका छन् । जिल्ला अधिवेशनमा जबजकै मार्गनिर्देशन अनुसार लोकतान्त्रिक प्रतिस्पर्धा भएको हो । यहाँ कुनै कित्ताकाट हुन जरुरी छैन,’ उनले भन्ने गरेका छन् ।
उपाध्यक्षमा विजयी बनेका सागर थापा भने कार्यकर्तालाई पेल्ने, अनावश्यक गुटबन्दी गर्ने नेताहरूलाई कार्यकर्ताले नै सबक सिकाएको बताउँछन् । यो चुनावी परिणामपछि ‘संस्थापन पक्ष’ भने अहिले प्रतिक्रियाविहीन जस्तै बनेको छ ।
एमाले मोरङको यो अधिवेशनले एमाले अध्यक्ष केपी शर्मा ओलीको अलोकप्रियताको ग्राफ बाह्य रूपमा मात्रै होइन आफ्नै पार्टीभित्र पनि बढ्दै गएको सन्देश प्रवाहित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते