मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय
कर्णाली प्रदेश सभामा सम्बोधन

प्रदेश सभामा प्रधानमन्त्रीको एक घण्टा : कर्णालीको विकास, समस्या र समाधानभन्दा राजनीतिक गफ बढी

राजावादीहरूमाथि आक्रोश
शुक्रबार, २३ फागुन २०८१, १९ : ३०
शुक्रबार, २३ फागुन २०८१

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार कर्णाली प्रदेश सभामा करिब १ घण्टा १० मिनेट सम्बोधन गरे । संघीयता कार्यान्वयनका सन्दर्भमा देखिएका कमी–कमजोरी, प्रदेश सरकारले अधिकार नपाएको सम्बन्धमा गर्दै आएको गुनासो लगायतका विषयलाई पन्छाएर उनले समसामयिक राजनीतिक विषयबारे चर्चा गरेरै अधिकांश समय बिताइदिए ।

प्रधानमन्त्री ओलीले केही इतिहासको केही कुरा गरे भने अधिकांश समय राजावादीहरूले अहिले सडकमा चलाइरहेको आन्दोलन, सरकार ढल्ने/नढल्ले लगायतका विषयमा भइरहेका बहसबारे धारणा राखे ।

लोकतान्त्रिक गणतन्त्र ल्याउने आन्दोलनमा सहिद भएकाहरूलाई सम्झिँदै प्रधानमन्त्री ओलीले कोही राजा हुने, कोही रैती हुनुपर्ने अवस्थाको अन्त्य भएको चर्चाका साथ सम्बोधन सुरु गरेका थिए । उनले भने, ‘नागरिक सर्वोच्चताको प्रणाली हामीले ल्याएका छौँ । जनताले शासन सञ्चालनको निर्णय गर्ने व्यवस्था हो लोकतान्त्रिक गणतन्त्र ।’

लोकतान्त्रिक गणतन्त्रको रक्षा अहिलेको सरकारले गर्ने प्रधानमन्त्री ओलीको दाबी थियो । उनले केही कमजोरी भएको र त्यसलाई हल गर्ने गरी संविधान संशोधनको कुरा अघि बढाएको बताए । ‘यो रहर, लहडको विषय हैन, देशलाई आवश्यक परेर हो,’ उनले भने ।

प्रधानमन्त्री ओलीले कर्णालीको प्राकृतिक अवस्थाको वर्णनसमेत गरे । उनले भने, ‘कर्णाली सम्भावना नै सम्भावनाको प्रदेश हो । जडीबुटी, जलस्रोतको धनी प्रदेश हो ।’ यद्यपि कर्णालीको जलस्रोतको उपयोग, आर्थिक उन्नति र केन्द्र सरकारले कर्णालीको विकासबारे के सोचिरहेको छ भन्ने विषयमा उनी प्रवेश गरेनन् ।

बरु यसअघि काम भइरहेका भेरी–बबई डाइर्भसन, दैलेखमा भएको पेट्रोलियम पदार्थ अन्वेषणको काम आफूले नै सुरु गरेको उनले दाबी गरे । जाजरकोट भूकम्पपछि भइरहेको पुनर्निर्माणको विषयमा उनले थोरै चर्चा गरे ।

केन्द्र सरकारले प्रधानमन्त्री रोजगार, प्रधानमन्त्री कृषि आधुनिकीकरण लगायतका कार्यक्रमको नाम हटाएर राष्ट्रिय शब्द राख्ने जानकारी दिँदै प्रधानमन्त्री ओलीले प्रदेशमा पनि मुख्यमन्त्री रोजगार कार्यक्रम भनेर नराख्न सल्लाह दिए ।

देश कृषिमा आत्मनिर्भर बन्दै गएको, युगान्तकारी परिवर्तन भएको बताउँदै उनले आफूहरूले ल्याएको लोकतन्त्र सही तरिकाले अघि बढेको दाबी गरे । ‘व्यवस्था बदलियो, अवस्था बदलिएन भन्ने कुरा सत्य हैन । त्यो बेला बाल मृत्युदर नै धेरै थियो, अहिले त्यो रोकिएको छ,’ उनले भने, ‘अब देश ठिक तरिकाले अघि बढ्छ । हामी देश बनाउनका लागि आएका हौँ ।’

प्रधानमन्त्री ओलीले कर्णालीवासीको सबैभन्दा ठुलो समस्याको रूपमा रहेको कर्णाली राजमार्गको विकासबारे चर्चा नै गरेनन् । उक्त राजमार्ग केन्द्र सरकार मातहत भए पनि स्तरोन्नति हुन नसक्दा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।

राजावादीमाथि आक्रोश

शुक्रबार प्रधानमन्त्री ओलीले मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह र प्रदेश सभा बैठकमा सम्बोधन गरे । दुवै ठाउँमा उनले गरेका सम्बोधनमा राजावादीलाई निशाना बनाए ।

अहिलेको गठबन्धन सरकार २०८४ सालसम्म जाने दाबी गर्दै उनले दिनैपिच्छे अनावश्यक आन्दोलन गर्नुको औचित्य नरहेको बताए । ‘अहिलेका दुई ठुला पार्टी मिलेर सरकार बनेको हो । साधारण अवस्थामा सरकार बनेको हैन,’ उनले भने, ‘अब १६ महिना मैले सरकार चलाउँछु, त्यसपछि शेरबहादुरजीले सरकार चलाउनुहुन्छ । तपाईंहरू ढुक्क हुनुहोस्, यो सरकार ०८४ सम्म जान्छ ।’

राजावादीहरूलाई लक्षित गर्दै उनले भने, ‘होहल्लाका भरमा सत्ता कब्जा हुँदैन । हा.. हु..का भरमा सत्ता कब्जा गर्ने, कुन प्रणाली ल्याउन खोजेको हो ? यो संविधान फाल्ने, कस्तो संविधान ल्याउने ? राणा शासनतर्फ फर्कने ?’

प्रधानमन्त्री ओलीले अहिले गन्तव्यहीन खालका कुराको बाढी आएको बताए । ‘हरेक मान्छे राजा हुन खोज्ने, संविधानभन्दा माथिका कुरा गर्ने । सामाजिक सञ्जाल हेरिनसक्नु छ । हाम्रो सभ्यता यो हैन । हामी सभ्य देशका नागरिक हौँ । यो संस्कार हाम्रो होइन,’ उनले थपे, ‘जात, धर्म लगायत विभिन्न तरिकाले जनताहरूबिच फाटो ल्याउने काम भइरहेको छ ।’ 

उनले दुईचार जना उरन्ठेउला व्यक्तिले बोल्दैमा केही नहुने बताए । केही मानिस सडकमा कराइरहेको बताउँदै उनले तिनलाई २०८४ सालमा देखाइदिने चेतावनी दिए ।

प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै भने, ‘केही साथीहरू सडकमा कराइरहेका छन्, लोकप्रिय छु भन्ने लाग्छ भने ०८४ सम्म पर्खिनुस् न । चुनावमा आउनुहोस्, त्यसपछि राम्रोसँग निर्वाचन आउँछ, जनसमर्थनबाट आए हुन्छ नि !’

कर्णाली प्रदेशलाई ‘मध्यपश्चिम प्रदेश’भनेपछि...

प्रदेश सभालाई सम्बोधन गर्नुअघि मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशलाई ‘मध्यपश्चिम प्रदेश’ भनेपछि सामाजिक सञ्जालमा आलोचना भएको छ ।

सम्बोधनको सुरुवातमै प्रधानमन्त्री ओलीले भनेका थिए, ‘यस मध्यपश्चिम प्रदेशका मुख्यमन्त्रीज्यू !’

त्यसपछि उनी केही समय अलमल परे । फोटो खिचिरहेका पत्रकारहरूले ‘कर्णाली हो’ भनेपछि हाँसोले कार्यक्रमस्थल गुञ्जायमान भयो ।

प्रधानमन्त्रीजस्तो व्यक्ति नै प्रदेशको नामबारे अलमल भएको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ । ओलीले पछि आफ्नो कुरा सच्याएका थिए । 

दुई ठाउँमा एउटै कुरा

प्रधानमन्त्री ओलीले विश्वविद्यालय र प्रदेश सभामा एउटै कुरा दोहो¥याइरहे । त्यो हो– महाभारत युद्ध । उक्त युद्धमा कर्णालीका मान्छे लड्न गएको, कर्णालीको खस सभ्यता निकै पुरानो रहेको उनले बताए ।

‘खस क्षेत्रका मान्छेको इतिहास लामो छ, महाभारत युद्धमा खसहरूले घुइत्रो हानेपछि जहाँ छोयो, त्यही छेड पार्थे,’ उनले भने ।

प्रतिपक्ष भन्छ– प्रधानमन्त्रीको सम्बोधनमा उपदेशमूलक राजनीतिक गफ धेरै

कर्णालीको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको सम्बोधन अपेक्षित नभएको बताएको छ ।

माओवादी संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले प्रधानमन्त्रीको सम्बोधनले कुनै उत्साह नदिएको बताए ।

‘कर्णालीबारे गहिरो अध्ययन नै नगरी बढी राजनीतिक कुरा गर्नुभयो,’ उनले भने, ‘सरकार कहिले जान्छ÷जान्न ? राजावादीले के भने ? प्रदेश सभामा राजनीतिक कुराहरू बढी गर्न आवश्यक थिएन ।’

कर्णालीवासीको थलो प्रदेश सभामा आइसकेपछि समग्र कर्णालीको विकास एजेण्डा, केन्द्रबाट हुने अनुदान वितरण, संघीयता कार्यान्वयनमा भएका जटिलताहरूको विषयमा जानकारी गराउनु पर्नेमा त्यस्तो कुरा प्रधानमन्त्रीबाट नभएको उनले बताए ।

जिसीले थपे, ‘उपदेशमूलक बढी भयो । आफूले जे गर्न सकेको छैन, अरुलाई गर्नुपर्छ भन्ने भयो । सकारात्मक भनेको सभालाई महत्त्व दिनुभयो, त्यही हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप