कोभिडका कारण मोबाइल पसल डुबेपछि सामाजिक सञ्जालमार्फत ठगी धन्दा

काठमाडौँ । काठमाडौँको तार्केश्वर नगरपालिका–५ लोलाङ हाइटमा बस्ने नारायणदत्त खकुराल पहिले गोङ्गबुमा मोबाइल पसल चलाउँथे । कोभिड–१९ सङ्क्रमण सुरु भएसँगै मोबाइल पसलमा सङ्कट आयो । भाडा तिर्न नसकेपछि उनले पसल बन्द गरे ।
धादिङको ज्वालामुखी गाउँपालिका–७ घर भएका २७ वर्षीय खकुराल अहिले ठगी मुद्दामा प्रहरीको हिरासतमा छन् । उनलाई फागुन २० मा काठमाडौँको लोलाङ हाइटबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए ।
खकुरालले सामाजिक सञ्जाल ‘फेसबुक’ दुरुपयोग गरेर ठगी धन्दा चलाएका हुन् । फेसबुकमा अर्काको नामको नक्कली आइडी खोलेर खरालले विभिन्न बहानामा रकम लिएर सम्पर्कविहीन हुने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
रोजगारीका लागि दक्षिण कोरिया जानेहरूको फेसबुकमा प्रवेश गरेर खकुरालले उनीहरूको आफन्तको बारेमा सूचना लिन्छन् । अनि, ती आफन्तको नाम र फोटो खारेर आइडी तयार गर्छन् । त्यसपछि म्यासेज गरेर भन्छन्, ‘मलाई यो क्युआरमा पैसा पठाइदिनुस्, म समस्यामा छु ।’
उनले आफन्त बिरामी परेको वा अन्य समस्या देखाउँछन् । खकुरालले क्युआर समेत कफी शप, कम्युनिकेसन र किराना पसलको दिने गरेको भेटिएको छ । अनुसन्धानमा संलग्न उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर नेत्र भट्टराईका अनुसार कम्युनिकेसन र कफी शपको क्युआर माग्दै उनले भन्थे– ‘मेरो बैङ्क खाता छैन, मलाई समस्या परेको हुनाले तपाईंको क्युआरमा पठाउन लगाउँछु ।’
आरोपीले ठमेलस्थित एउटा कफी शप र माछा पोखरीमा सञ्चालित रजत कम्युनिकेसनको क्युआर मागेर ६ लाख रुपैयाँ ठगेको भेटिएको छ । इन्स्पेक्टर भट्टराई भन्छन्– ‘कफी शपको नाममा उनले कोरियाबाट ५० हजार मगाएको देखिन्छ ।’
कोरियामा बस्नेहरूसँग बहाना बनाएर मगाएको रकमको केही प्रतिशत क्युआर बाहकलाई पनि उनले दिन्थे । धेरैपटक रकम मगाउन थालेपछि रजत कम्युनिकेसन सञ्चालकले उनीसँग आधिकारिक कागजात मागेका थिए ।
कम्युनिकेसन सञ्चालकलाई उनले विजय खड्काको नामको नागरिकताको फोटोकपी दिए । कम्युनिकेसनको क्युआरमार्फत उनले ५ लाख ३१ हजार रकम ठगी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
उनले लगातार ठगेको उजुरी परेपछि प्रहरीको साइबर ब्यूरोले पनि त्यसबारे अनुसन्धान थालेको थियो । खकुरालले ठग्नको लागि ७ वटा नक्कली आइडी प्रयोग गर्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । ठगेको रकमले उनले महँगो आइफोन र मोटरसाइकल किनेको पाइएको छ ।
उनको मोबाइल र मोटरसाइकल बरामद गरिएको एसपी आचार्यले बताए । उनले भने, ‘उनलाई थप अनुसन्धान र कारबाहीका लागि हामीले जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलोकनगरमा सुरु भयो समाजवादी मोर्चाको बैठक
-
कुलमान हटाएको विषयमा जवाफ दिनु आवश्यक छैनः प्रधानमन्त्री ओली
-
अर्जेन्टिनाका गोलकिपरले किन खाए प्रशिक्षकको गाली ?
-
योगी आदित्यनाथको जीवनमा आधारित फिल्म पाँच भाषामा रिलिज हुने
-
‘१० वर्षमा देश स्विट्जरल्याण्ड बनाउँछु भन्थे, अहिले युवा रोजीरोटीका लागि बिदेसिनुपर्ने बाध्यता छ’
-
हारको सँघारमा पुगेको एपीएफलाई लोकेश बमले अविश्वासिलो जित दिलाए