बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय
संसद् बैठक

प्रतिनिधिसभामा उठ्यो हवाई क्षेत्रको बेथितिदेखि टिपर आतंकसम्मको विषय

सचिव बढुवामा प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीसँग जवाफ माग
शुक्रबार, २३ फागुन २०८१, १७ : ०६
शुक्रबार, २३ फागुन २०८१

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा हवाई क्षेत्रको बेथितिदेखि टिपर आतंकसम्मका विषय उठेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आकस्मिक र शून्य समयमा सांसदहरूले यीसहितका विभिन्न विषयहरू उठाएका हुन् । 

नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ ल्वामु लामा तामाङले नेपालमा सरकाले हवाई सेवालाई बेवारिसे बनाएको आरोप लगाइन् । सांसद तामाङले बिहीबार बेलुका बुद्ध एयरको पाङ्ग्रा जनकपुरमा छुटेर प्लेन काठमाडौँमा पुग्ने अवस्था कसरी आयो ? भन्दै सरकारलाई प्रश्न गरिन् ।  

उनले भनिन्, ‘हाम्रो हवाई क्षेत्र यति बेवारिसे किन बन्यो ? यो गम्म्भीर चिन्ताको विषय बनेको छ । प्राविधिक पक्ष यति कमजोर छ, कहिले उड्दाउड्दै प्लेनमा धुवाँ निस्कन्छ, कहिले पाङ्गा फुस्किन्छ, कहिले उड्दाउड्दै झ्याल खुल्छ । प्राविधिक कारणले एर्पोटमै ठुलो दुर्घटना हुन्छ । मानवीय र भौतिक क्षति हुन्छ तरपनि सुधार आउँदैन । यो के भएको हो ? विमान दुर्घटनापिच्छे छानबिन समिति बन्छ, प्रतिवेदन आउँछ कर्मकाण्ड पुरा हुन्छ, अवस्था भने जहाँको त्यही ।’

नेपालको आन्तरिक र अन्ताराष्ट्रिय दुबै हवाई सेवा भरपर्दो नरहेको भन्दै तामाङले हवाई क्षेत्र अस्तव्यस्त भएकाले व्यापक सुधारमा ध्यान दिन आग्रह गरिन् । अहिले कमिसनको भरमा नक्कली सामान राखेर प्लेन जस्तो संवेदनशील साधनमाथि खेलबाड गर्ने, देशको पहिचान र यात्रुको जीवन सँग जोडिएको हवाई यात्रा सुरक्षित पार्नुको साटो सुपरग्लुले प्लेन टाँसेर उडाउने अवस्था रहेकाले सुधार्न सुझाव दिइन् । 

 राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले पनि बुद्ध एयरको जहाज पाङ्ग्राबिनै काठमाडौँ विमानस्थलमा अवतरण गरेको विषयमा जाँचबुझ आयोग गठन गर्न माग गरे । सांसद सिंहले भने, ‘बुद्ध एअरको पाङ्ग्रा खसेको थियो । र काठमाडौँमा एउटा पाङ्ग्रामा मात्रै ल्यान्ड गर्‍यो । यसको विषयमा छानबिन गर्न जाँचबुझ आयोग गठन गरियोस् ।’

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्कीले डा संगिता कौशल मिश्रलाई सिनियर अतिरिक्त सचिव भएर पनि स्वास्थ्य मन्त्रालयको सचिव नबनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसँग जवाफ मागिन् ।

 सांसद डा कार्कीले पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्न नसक्ने हो भन्दै प्रश्न गर्दै भनिन्, ‘पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्न नसक्ने हो, किन सिनियर भएर पनि संगिता कौशल मित्रलाई सचिव बनाइएन ।’ 

माओवादी सांसद देवेन्द्र पौडेलले पाथीभरामा केबलकार निर्माण प्रक्रियालाई सहजीकरण गर्न सरकारसँग माग गरे । सांसद पौडेलले वार्ता, सहमति र सम्झौताको विधि अपनाएर मुक्कुम्लुङ संस्कृति र परम्पराको संरक्षण गर्दै विकास निर्माणको कार्यलाई सहजीकरण गर्न अनुरोध गरे । उनले मुक्कुम्लुङमा सरकारले गरिरहेको दमनको बाटो गलत रहेको आरोप लगाए । 

रास्वपाका अर्का सांसद डोलप्रसाद अर्यालले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय घूस संकलन गर्ने अड्डा बनेको आरोप लगाए । पूर्वश्रममन्त्री अर्यालले मन्त्रालय अन्तर्गतको ताहाचल श्रम कार्यालयमा प्रतिदिन ७५ लाख घूस संकलन हुने जानकारी भए पनि मन्त्रीले र वैदेशिक रोजगार विभागका महाप्रवन्धकले कुनै वास्ता नगरेको बताए । 

‘श्रम मन्त्रालय घूसको अड्डा बनेको छ,’ सांसद अर्यालले भने, ‘ताहाचल कार्यालयमा प्रतिदिन ७५ लाख घूस संकलन हुने र डिजी र मन्त्रीसम्म पुग्ने जानकारी हामीले पटक पटक गराए पनि त्यो कार्य रोकिएको छैन ।’ 

रास्वपाका अर्का सांसद मनिष झाले टिपरहररूले कानुन नमान्दा दुर्घटना बढेको भन्दै टिपरको लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न माग गरे । 

आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रतिनिधि सभामा शून्य र आकस्मिक समयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए । प्रश्नहरूको जवाफ दिँदै मन्त्री दाहालले कार्यसम्पादन भनेको वर्ष दिन पढेर एक दिन जाँच दिएर पास भएजस्तो नभएको बताए ।  

उनले भने, ‘कार्यसम्पादन भनेको वर्ष दिन पढेर एक दिन जाँच दिएर पास भएजस्तो होइन । पुस मसान्तसम्म २० अंक आए पनि माघ पहिला सातामा काम सम्पन्न भए ५० प्रतिशत पुग्न सक्छ ।’ 

 कांग्रेस सांसद प्रतिमा गौतमले आनुवंशिक रोग हेमोफिलियाको औषधि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन, २०७४ र नियमावली,२०७७ ले समेत दश वर्गका अपाङ्गताभित्र हेमोफिलियालाई पनि एउटा वर्गमा समेटेर यो रोग लागेका बिरामीले नियमित प्रयोग गर्नुपर्ने औषधि सम्बन्धित स्थानीय तह मार्फत निःशुल्क उपलब्ध गराउने भन्ने व्यवस्था कार्यान्वयनमा नआएको बताइन् । 

उनले सरकारले मानव अधिकार र नेपालको संविधानले नै सुनिश्चित गरेको नागरिकको बाँच्न पाउने अधिकारलाई ख्याल गरी हेमोफिलियाको रोगीले आजीवन प्रयोग गर्नुपर्ने औषधि एन्टि–हेमोफिलिक फ्याक्टरको निःशुल्क व्यवस्था गर्न माग गरिन् । 

सांसद् गौतमले यो रोगबाट पछिल्लो दुई महिनामा दुई जनाको मृत्यु भएको र नियमित औषधि प्रयोग गर्नुपर्ने बिरामी नेपालमा ४ हजार नौ सय ३७ जना रहेको जानकारी पनि दिइन् । संविधानले नै सुनिश्चित गरेको नागरिकको बाँच्न पाउने अधिकारलाई ख्याल गरी एन्टि–हेमोफिलिक फ्याक्टरको स्थानीय तहमार्फत निःशुल्क व्यवस्था गरी नागरिकको जीवन बचाइदिन सरकारसँग माग गरिन् । 

त्यस्तै नेकपा एमालेका सांसद नारायणप्रसाद आचार्यले ४६ सालदेखि अहिलेसम्म सरकारी ओहदामा पुगेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताए ।

यसैगरी बैठकमा मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन संसदमा पेस भयो । आयोगको २४ औँ वार्षिक प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सभामा पेस गरे । बैठकमा ऊर्जामन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेय २०८१ माथि विचार गरियोस् गर्ने प्रस्ताव पेस गरे । विधेयक प्रतिनिधिसभाले स्वीकृत गरेको छ । विधेयकमा संशोधन प्रस्तावका लागि आह्वानसमेत भएको छ ।  

 बैठक फागुन २७ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक फागुन २७ गते दिउँसो एक बजे बोलाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप