बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय
राजनीति

पूर्वराजाको अपिल र दलहरूको प्रतिक्रियाले के संकेत गर्दैछ मुलुकमा ?

शुक्रबार, २३ फागुन २०८१, १६ : ४१
शुक्रबार, २३ फागुन २०८१

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा दिएको भिडियो सन्देशपछि नेपालका प्रमुख राजनीतिक शक्तिले धमाधम प्रतिक्रिया दिन थालेका छन् । उनीहरूले पूर्वराजालाई आफ्नो सीमा ननाघ्न चेतावनीसमेत दिएका छन् ।

आम नागरिक सरह भूमिकामा रहेका पूर्वराजाले दिएको अभिव्यक्तिकै आधारमा दलहरूले प्रतिक्रिया जनाएबाट देशमा कुनै खतराको संकेत गरेको हो कि भन्ने चासो धेरैमा बढेको छ ।

नेपालमा भएका राजनीतिक परिवर्तनमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा भारत र भारतका राजनीतिक दल र नेताहरूको भूमिका रहेको तथ्य पनि लुकेको छैन । पछिल्लो समय भारत र नेपालबिचको सम्बन्धमा केही चिसोपन देखिएको छ । यहाँसम्म कि, प्रधानमन्त्री ओलीलाई सत्ता सम्हालेको ७ महिना बितिसक्दासमेत भारतले आमन्त्रण गरेको छैन ।

यस्तो अवस्थामा पूर्वराजा शाहले प्रजातन्त्र दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै आफूलाई साथ दिन आग्रह गरेपछि स्वाभाविक रूपमा विभिन्न आशंका उब्जिएका छन् । प्रमुख दलका नेताहरूले पूर्वराजाको अभिव्यक्तिका सम्बन्धमा प्रतिक्रिया जनाएका कारण पनि यस्तो आशंकालाई बल पुगेको छ ।

तर, विश्लेषक मुमाराम खनाल भारतले गणतन्त्रवादी शक्तिलाई पन्छाएर ज्ञानेन्द्र शाहलाई साथ दिन्छ भन्नेमा आफूलाई रत्तिभर विश्वास नभएको बताउँछन् । यद्यपि, पछिल्लो समय राजावादी सक्रिय हुनुमा राजनीतिक दलहरूको कमजोरी रहेको उनको भनाइ छ ।

‘भारतले खेल्यो कि भनेर शंका गर्ने बानी नेपालीको छ तर मलाई त्यस्तो लाग्दैन किनभने भारतको नेपाल नीति नभएकै १० वर्ष भयो,’ उनले भने, ‘२०७२ को संविधान बनेपछि भारतको नेपाल नीति नै छैन ।’

भारतले अन्य देशलाई जसरी प्राथमिकतामा राखेको छ, छिमेकी देश नेपाललाई त्यसरी महत्त्व नदिएको खनाल बताउँछन् । उनले भने, ‘यस्तो अवस्थाका बाबजुद भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गणतन्त्रवादीको विकल्प खोज्लान् भन्ने मलाई लाग्दैन । तथापि उत्तरप्रदेशका मुख्यमन्त्रीको चासो लुकेको छैन । नेपालमा हिन्दु राजतन्त्र रहोस्, त्यसको प्रतिनिधित्व राजाले गरुन् भन्ने छ । तर भारतको नेपाल नीति नहुनु भनेको राजावादीका लागि अनुकूल हो ।’

२०६२÷०६३ सालपछि १८ वर्ष जनपक्षीय काम गरेको भए राजावादीहरूको स्वर अहिले बलियो हुने थिएन भन्ने खनालको विश्लेषण छ ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई खनालले दुई कोणबाट मत राखेका छन् । पहिलो मूलतः दलहरूले राम्रो काम गर्दै जनताको विश्वास जितेका भए सायद पूर्वराजा ज्ञानेन्द्रलाई पनि आलंकारिक राजा भएर बस्नलाई त्यत्रो ठुलो जाँगर चल्ने थिएन होला भन्ने खनालको जिकिर छ ।

‘राजनीतिक दलहरूकै कुशासन, असन्तुष्टिले गर्दा यो अवस्था आएको हो । जब वर्तमान अन्योलपूर्ण हुन्छ, भविष्य निराशाजनक हुन्छ, त्यो बेला मानिसहरू पश्चगामी यात्रातिर जान रुचाउँछन्,’ खनालले भने, ‘आम ट्रेन्ड यतातिर हुन्छ ।’

दोस्रोमा, अन्तर्राष्ट्रिय राजनीति पनि क्रमशः राइट ट्रेन्डतिर अर्थात् अनुदार दिशातिर जाने देखिएको उनले बताए । ‘त्यो कुनै राजावादी, कम्युनिस्ट वा धार्मिक कट्टरतावादी होइन कि निर्वाचनबाटै तानाशाह आउने ट्रेन्ड संसारभरि देखिएको छ,’ उनले भने, ‘त्यसले पनि नेपालका पूर्वराजावादीलाई अन्तर्राष्ट्रिय वातावरण अनुकूल बन्दै गएको महसुस भएको हुनसक्छ ।’

राजनीतिक दलहरू भ्रष्टाचार, कुशासनतिर लिप्त हुँदा जनतामा उकुसमुकुस बढेको र अर्को कुनै भरपर्दो वैकल्पिक शक्ति नभएकाले भ्याकुम(खाली ठाउँ) लिन पूर्वराजावादीहरू सक्रिय भएको खनालको भनाइ छ ।

‘यसलाई रोक्न सकिँदैन । खाली ठाउँमा जसले पनि दाबी गर्न सक्छन् । अन्यभन्दा राजावादी नै साधन, स्रोत र समाजका एलिट(सम्भ्रान्त वर्ग) भएको हुनाले त्यसको मत थोरै भए पनि सामाजिक प्रभुत्व अलि गह्रौँ हुन्छ । त्यसकारण यो ठाउँ ओगट्न पूर्वराजा सक्रिय देखिएका छन्’, उनले भने ।

अहिलेका राजनीतिक दलहरू विगतमा आफ्ना कर्मका आधारमा निकै कमजोर धरातलमा उभिएकाले आफूले खाइपाइ आएको सेवासुविधा खोसिएला भन्ने त्रासले पूर्वराजाको अभिव्यक्तिबारे आक्रोश व्यक्त गरेको हुन सक्ने खनालको बुझाइ छ ।

श्रीलंका, बंगलादेशको घटनाक्रम नजिकबाट नियालेका नेताहरूमा त्यसैगरी घरभित्रै पसेर मार्ने हुन् कि भन्ने पनि डर देखिएको खनालको भनाइ छ । शासक, राजनीतिक दलहरूले जनताको पक्षमा पारदर्शी काम गर्ने, लोकतान्त्रिक अभ्यास गरेको भए वास्तविक अर्थमा ग्रहण गरेको वा सच्चिएको मान्न सकिने खनाल बताउँछन् ।

दलहरू सच्चिनुको साटो जनविरोधी, भ्रष्टाचारी भएकाले थर्काएर थर्किन्छन् कि भनेर राजावादीलाई डर देखाउने काम गरेको हुनसक्ने खनालले प्रस्ट पारे ।

अर्का विश्लेषक डम्बर खतिवडाले गणतन्त्रमा कुनै एक शक्तिमात्र नभइ सबै असफल भएको टिप्पणी गरे । सामाजिक सञ्जाल ‘एक्स’मा उनले लेखेका छन्– ‘यु आर फेल– यो त पुरानै थेगो भयो । वी आर फेल, अल आर फेल भन्न सकेको भए त्यो गज्जब नयाँ कुरा हुन्थ्यो । यो देशमा कुन राजनीतिक दल, नेता, समूह वा अभियान सफल छ र ? कोही एक मात्रै सफल भए देश यसरी किन असफल हुन्थ्यो, उसैले देश बनाइहाल्थ्यो नि ! खासमा सामूहिक असफलता हो ।’

२०६१ साल माघ १९ गते ज्ञानेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरी आफ्नै नेतृत्वमा मन्त्रिपरिषद् गठन गरेका थिए । उनले राजनीतिक दलहरूमाथि पूर्णप्रतिबन्ध लगाएका थिए ।

२०४६ पछिका भ्रष्टाचारमाथि छानबिन तथा कारबाही गर्नका लागि पूर्वराजा ज्ञानेन्द्रले आफ्नो सक्रिय शासनकालमा शक्तिशाली शाही अयोग गठन गरे । राजाको कदमबाट आत्तिएका तत्कालीन सात राजनीतिक दल आफैँले आतंककारी घोषणा गरेका विद्रोही माओवादीसँग बाध्य भएर हात मिलाउन पुगे । २०६२ साल मंसिरमा १२ बुँदे दिल्ली सम्झौताको जगमा २०६२/०६३ को जनआन्दोलन सफल भएको थियो । संसदवादी र माओवादीबिचको बढ्दो तिक्तता र शत्रुतापूर्ण सम्बन्धको फाइदा उठाउँदै ज्ञानेन्द्र ‘महेन्द्र पथ’मा जान खोज्दा लामो इतिहास बोकेको राजसंस्था नै समाप्त भयो ।

राजा फालेर राज्यसत्ता आफ्नो हातमा लिएका राजनीतिक दलहरूले देश र जनताको चाहना अनुसार गणतान्त्रिक मूल्य–मान्यताको प्रत्याभूति दिन नसक्दा जनतामा बिस्तारै वितृष्णा बढ्दै गएको विश्लेषहरूको भनाइ छ ।

गणतन्त्र स्थापनापछि १३ वटा सरकार बने । ती सरकार देश र जनताको प्राथमिकताभन्दा पनि व्यक्तिगत तथा दलगत सत्तास्वार्थमा चुर्लुम्म डुबेको आरोप लागेको छ ।

भ्रष्टाचारीलाई संरक्षण गर्ने, काविल राष्ट्रसेवक कर्मचारीलाई दलीय रङ दिएर तेजोवध गर्ने, संविधान, कानुन र जनताप्रति जवाफदेही नहुने अहंकारपूर्ण प्रवृत्ति हावी भएका कारण आम नागरिकमा देखिएको नकारात्मक ट्रेन्डलाई राजावादीले ‘क्यास’ गर्न खोजेको विश्लेषकहरूको भनाइ छ ।

अहिले फेरि गणतन्त्रवादी शक्ति कांग्रेस–एमाले र माओवादीबिच सम्बन्ध चिसिँदै गएको अवस्थामा ज्ञानेन्द्रको वक्तव्यलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

  • के भनेका थिए पूर्वराजाले ?

पूर्वराजा ज्ञानेन्द्र शाहले ७५ औँ प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा प्रसारण गरेको भिडियो सन्देशमा गणतन्त्र स्थापनाको १८ वर्षमा आइपुग्दा देश चरम निराशामा धकेलिएको बताएका थिए ।

उनले राष्ट्र जोगाउन आफूलाई साथ दिन आह्वानसमेत गरेका थिए । ‘नेपालको उन्नतिका लागि हामीबाट अरू के–के त्याग गर्नुपर्ने हो, हामी तयार छौँ । अब समय आयो– राष्ट्र जोगाउने हो, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ’, उनले भनेका थिए ।

ज्ञानेन्द्रको सोही वक्तव्यलाई लिएर राजावादी पुरातनवादी, धार्मिक संघसंस्थाहरू उत्साहित हुँदै संसद् र सडकबाट दबाब बढाउँदै लगेका छन् ।

  • दलहरूको प्रतिक्रिया यस्तो छ

यता गणतन्त्रवादी कांग्रेस, एमाले, माओवादी लगायतका राजनीतिक दलहरूले भने पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिलाई लिएर आक्रोश व्यक्त गरेका छन् । उनको वक्तव्यले नेपालको राजनीतिक वृत्तमा ठुलै हलचल ल्याएको छ ।

बिहीबार छुट्टा–छुट्टै कार्यक्रममा महोत्तरी पुगेका प्रधानमन्त्री ओलीसहित दलका शीर्ष नेताहरूले ज्ञानेन्द्रको सक्रियतालाई लिएर मुख खोले । ओलीले त आफूलाई लोकप्रिय ठानेको भए दल खोलेर चुनाव लड्न चुनौती दिए । तर कछुवा प्रवृत्ति नदेखाउन ज्ञानेन्द्रलाई उनले चेतावनी दिए ।

‘लोकप्रिय हुनुहुन्छ भने ठिक छ, चुनाव लड्न आउनुस्, तपाईंलाई जहाँसुकै पनि चुनाव लड्न खुला छँदैछ नि, पार्टी खोल्नोस् । खोल्नुभएकै छ, त्यसलाई आफ्नो ठान्नोस् । अलिकति टाउको निकाल्ला निकाल्ला जस्तो पनि गर्ने, अलि अप्ठ्यारो प¥यो भने लुसुक्क पछाडि तानेर कछुवा तालले टाउको लुकाउने ?,’ ओलीले भनेका थिए ।

पूर्वप्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले राजाकै कारण गणतन्त्र आएकाले अहिले उनको कुनै स्थान नभएको प्रस्ट पारे । ‘राजा स्वयं नै कारक भएर गणतन्त्र आयो । राजाले सत्ता सम्हालेपछि नेताहरूलाई यातना दिने, थुन्ने, जेल हाल्ने अलोकतान्त्रिक हर्कत गरे । ज्यादती गरेपछि गणतन्त्र आयो । गणतन्त्र स्थापना हुनुमा राजा स्वयं कारण हुन्,’ देउवाले भने ।

यता पूर्वप्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञानेन्द्रलाई अर्को मूर्खता नगर्न चेतावनी दिए । पूर्व–पश्चिम हुलाकी मार्ग अभियानको क्रममा महोत्तरी पुगेका प्रचण्डले अर्को मुर्खता गरे ठुलो मूल्य चुकाउनु पर्नेतर्फ सचेत गराए ।

‘ज्ञानेन्द्रले पहिला पनि मूर्खता गरिसकेका छन् । फेरि उनले मूर्खता गरे भने त्यसको ठुलो मूल्य चुकाउनुपर्ने हुन्छ । जनता मान्नेवाला छैनन् । अर्को मूर्खता गर्ने दुस्साहस नगरुन्, मेरो सुझाव छ’, प्रचण्डको चेतावनी थियो ।

माओवादी १० वर्षे सशस्त्र विद्रोह र २०६२÷६३ सालको संयुक्त जनआन्दोलनको बलमा २४० वर्ष लामो निरंकुश राजतन्त्र ढलेको थियो । ज्ञानेन्द्रको राजनीतिक महत्त्वकांक्षाका कारण राजतन्त्र पतन भएकोमा कसैको दुईमत देखिँदैन । त्यतिबेला प्रतिगामी शाही सरकारविरुद्ध सडकमा जनसागर उर्लिएपछि ठुलो रक्तपातविनै २०६५ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको थियो । राजा नारायणहिटी दरबार छाडेर नागरिकको हैसियतमा नागार्जुन दरबारमा चुपचाप नै बसेका थिए ।

पछिल्लो समय परम्परागत राजनीतिक दलहरूविरुद्ध वितृष्णा बढ्दै गइरहेको बेला ज्ञानेन्द्रले प्रत्यक्ष शाहीकालकै झल्को दिनेगरी गणतन्त्र असफल भएको सन्देश प्रवाह गरे । विगतको भन्दा यसपटकको वक्तव्य अर्थपूर्ण तथा आक्रामक देखिन्छ । तर प्रमुख राजनीतिक दलहरूले राजावादीको उक्साहटमा उक्त वक्तव्य आएको आरोप लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप