प्रधानमन्त्रीको सुशासन नीतिलाई चुनौति : प्रहरी बढुवामा विभेद, एसपी बढुवामा सह–सचिवदेखि मुख्यमन्त्रीका भाइ–भतिजा अगाडि
काठमाडौं–‘चेन अफ कमाण्डमा’ चल्ने प्रहरी संगठनमा हुने वृत्ति विकास निश्चित मापदण्डमा हुनुपर्ने भएपनि पटक–पटक यसलाई मिच्ने गरिएको छ ।
पछिल्लो पटक एसपी बढुवामा पनि राजनीतिक दल र उच्च पदस्थ सरकारी अधिकारीका भाई–भतिजालाई टिपेर बढुवा गरिएपछि संगठनभित्र असन्तुष्टि चुलिएको छ ।
शनिवार राती नेपाल प्रहरीका प्रहरी उपरिक्षक (एसपी) र प्रहरी नायव उपरिक्षक (डीएसपी) बढुवामा विभेद गरिएको भन्दै कत्तिपय उच्च प्रहरी अधिकारीले असन्तुष्टी जनाएका छन् ।
बढुवा समितिले बरियतालाई लत्याएर राजनीतिक दवावमा प्रहरी अधिकृतहरुलाई बढुवा गरेको पाईएको छ ।
शनिवार राती प्रकाशित बढुवा सिफारिस सूचिको एक नम्बरमा बढुवा भएका प्रहरी नायव उपरिक्षक (डीएसपी) अच्युत पुडासैनी बढुवा समितिका अध्यक्ष सह–सचिव हरि पुडासैनीको भाई रहेको पाईएको छ ।
इन्सपेक्टरबाट डीएसपी बढुवा हुँदा पुडासैनी ३५ नम्बर बरियतामा रहेका थिए । ३५ नम्बर बरियातमा रहेका पुडासैनी एक नम्बरमा बढुवा हुँदा एक नम्बर बरियतामा रहेकी गंगा पन्तलाई १५ नम्बरमा धकेलिएको छ ।
२८ डिएसपी एसपीमा बढुवा, एक नम्बरमा अच्युत पुडासैनी (सूचीसहित)
प्रहरी संगठनबाट अवकास पाउने मुखमा रहेका डीएसपी प्रताप कुमार गुरुङ दोस्रो नम्बरमा बढुवा भएका छन् । करिब ६ महिनापछि अनिवार्य अवकास पाएर घर जान लागेका गुरुङलाई प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको चाहनामा बढुवा गरिएको स्रोतको भनाई छ ।
प्रताप कुमार गुरुङ प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बाको भाई नाता पर्छन् ।
उनी असअघि ३५ नम्बर भन्दा पछाडि थिए ।
बढुवाको पहिलो नम्बरकी दाबेदार गंगा पन्तलाई १५ नम्बरमा धकेलेको समितिले यसअघि ३ नम्बरमा रहेका विश्व अधिकारीलाई सोही स्थामा एसपी बढुवा सिफारिस गरिएको छ ।
‘विश्व अधिकारी अख्तियार प्रमुख नविन घिमिरेको दवावमा टप थ्रीमा बढुवा सिफारिस भएका हुन्’ प्रहरीका एक उच्च अधिकृतले भने, ‘बढुवाको लागि शक्तिकेन्द्रको ढोका नधाए छुटिन्छ भन्ने कुरा पछिल्लो बढुवाबाट पुष्टि भएको छ ।’
२०६७ साल पुस २३ गते इन्सपेक्टरबाट डीएसपीमा बढुवा भएको यो ब्याचमा राम्रा अफिसर मानिने रमेश कुमार बस्नेत भने बढुवा हुनबाटै छुटेका छन् ।
बढुवा बरियाताको १० नम्बरमा रहेका बस्नेत र १५ नम्बमा रहेका हीराबहादुर पाण्डे पनि बढुवा हुनबाट बञ्चित भएका छन् ।
ब्याचका कुल ४८ मध्ये २० डीएसपी बढुवा हुनबाट छुटेका छन् । जसमा प्रहरी जवानमा भर्ना भएर ‘कम्युनिटी पुलिसिङ’मा पिएचडी गरेका डा.मेख बहादुर खत्री, रविन्द्र रेग्मी लगायतका छन् ।
प्रमोशन बरियताको दुई नम्बरमा रहेका सबिन प्रधान ११ नम्बरमा पुगेका छन् ।
४ नम्बरमा रहेका सोमेन्द्रसिंह राठौरलाई ९ नम्बरमा धकेलिएको छ ।
नेपाल प्रहरीमा काविल अफिसरको छवि बनाएका आभुषण तिम्सिनालाई बढुवा समितिले २२ नम्बमा बढुवा सिफारिस गरेको छ ।
पाँच नम्बर बरियातामा रहेका दीपकराज खरेललाई पनि २४ नम्बरमा बढुवा सिफारिस गरिएको छ ।
समितिले बढुवा बरियाताको ३० नम्बरभन्दा तल रहेका सात जनालाई बढुवा गर्दै वीचका अफिसरलाई अन्याय गरेको छ ।
रोचक कुरा त केछ भने, बढुवा बरियताको ४०औं नम्बरमा रहेका कृष्णबहादुर पल्लीमगर १३ नम्बरमा बढुवा भएका छन् ।
पल्लीमगरलाई गृहमन्त्री राम बहादुर थापाले अगाडि सारेको बताइएको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई राजनीतिक नेतृत्वले दवाव दिएको गृह मन्त्रालयका एक अधिकारी बताउँछन् ।
कार्यक्षमतामा कमजोर मानिने डीएसपी सानुराम भट्टराईलाई प्रधानमन्त्री केपी ओलीको दवावमा ४ नम्बरमा बढुवा गरिएको छ ।
भट्टराई प्रधानमन्त्री ओलीका सुरक्षा अधिकारी हुन् ।
प्रहरीभित्र जसले जत्ति राम्रो काम गरेपनि गृहमन्त्री र नेताको दवावमा प्रहरी प्रमुखले दिने ‘विशेष चुनौती बापतको अंक’ मा चलखेल गरेर नराम्रा माथि आउने र काविल तल धकेलिने गरेको पाइन्छ ।
‘आईरन गेट राखेर छनोट गर्ने बिधिमा नै सुधार गर्नपर्छ’ पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी भन्छन्, ‘विशेष चुनौती बापतको अंकमै चलखेल गर्ने ठाउँ छ, प्रहरी महानिरीक्षक बलियो भएमा ठीक थियो । तर, त्यो नहुँदा समस्या देखियो ।’
प्रहरी नियमावलीले इमान्दार मान्छेलाई घुस्याहा हाकिमले नम्बर कम दिन्छ भन्ने सिद्धान्तका आधारमा चुनौतिपुर्ण बापतको नम्बर दिने स्वविवेकिय अधिकार प्रहरी महानिक्षकलाई दिईएको छ । तर, महानिरीक्षकले आफ्नो हातमा रहेको ५ नम्बर शक्तिकेन्द्रका मान्छेलाई माथि ल्याउन त्यहिँ नम्बरको दुरुपयोग गर्न थालेपछि यस्तो समस्या सिर्जना भएको जानकारहरु बताउँछन् ।
‘नियतमा ठीक नभएपछि नीतिमा सुधार गरेर केही नहुँने रहेछ भन्ने कुरा प्रमाणित भएको छ’ पूर्व एआईजी भण्डारी भन्छन्, ‘हाकिमप्रति अफिसरहरु उत्तरदायी होउन भन्ने प्रवृत्तिको शुरुवात त गरियो । तर, पूर्णरुपमा भरपर्दा पनि अन्याय हुन्छ, करेक्सन गर्ने कसरी भन्ने प्रश्न उठेको छ ।’
इन्सपेक्टर बाट डिएसपी बढुवामा पनि अन्याय भएको भन्दै असन्तुष्टि चुलिएको छ ।
गृहमन्त्री रामबहादुर थापाल बादलले सिन्डीकेट अन्य गर्ने लगायतका राम्रो कामको शुरुवात गरेपनि प्रहरीको अधिकृतहरुको वृत्ति विकासमै हस्तक्षेप गर्न थालेपछि संगठनको गतिशिलतामाथि नै असर पर्ने देखिएको छ ।
पछिल्लो बढुवाबाट ‘संगठनको भर परेर केही हुँदैन नेताकोमा जानुपर्छ’ भन्ने मान्यता जबर्जस्त स्थापित भएको पूर्व प्रहरी अधिकारीहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी ४-० ले पराजित, पेप ग्वार्डिवलालाई झट्का
-
इजरायली आक्रमणमा १०० बढी प्यालेस्टाइनी मारिए
-
आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर
-
मुग्लिङ-नारायणगढ सडकको पाँचकिलो नजिकै माईक्रो बस दुर्घटना
-
१२ बजे, १२ समाचार : डेंगु सङ्क्रमणदर घटे पनि जोखिम कायमैदेखि विवाह गर्ने उमेर घटाउनु पर्ने मागसम्म
-
महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जित’ : मोदी