थाइल्यान्डमा विद्यार्थीहरू आफ्नो हेयरस्टाइल रोज्न स्वतन्त्र

बैँकक । वर्षौसम्म अधिकारीहरूसँगको खिचातानीपछि थाइल्यान्डका विद्यार्थीहरूले आफूले कस्तो खालको हेयरस्टाइल राख्ने भनेर रोज्न सक्ने भएका छन् । बुधबार त्यहाँको सर्वोच्च प्रशासनिक अदालतले शिक्षा मन्त्रालयको ५० वर्ष पुरानो निर्देशिका खारेज गरेको छ ।
यसअघि निर्देशिकाले विद्यार्थीहरूले कस्तो हेयर स्टाइल राख्न पाउँछन् भनेर तोकेको थियो । निर्देशिका अनुसार छात्रको कपाल छोटो हुनुपर्थ्यो भने छात्राको कपाल कम्तीमा छातीसम्म आएको हुनुपर्थ्यो ।
व्यवहारिक रूपमा कयौँ विद्यालयले यी नियमहरू खुकुलो पार्दै लगेका थिए । तर केहीले अझै पनि १९७५ मा जुन्ता सरकारले जारी गरेका निर्देशक पालना गर्दै नियम नमान्ने विद्यार्थीको कपाल काटिदिने गर्दै आएका थिए । तर सो निर्देशिकाले संविधानले सुनिश्चित गरेको व्यक्तिगत स्वतन्त्रताको उल्लङ्घन गरेको र अहिलेको समाजसँग बेमेल भएको अदालतले फैसलामा भनेको छ ।
सन् २०२० मा देशभरका २० विद्यालयका विद्यार्थीहरूले हालेको याचिकाको सुनवाइ गर्ने क्रममा अदालतले यो फैसला गरेको हो । विद्यार्थी अभियन्ताहरूले लामो समयदेखि विद्यार्थीका हेयरस्टाइलसम्बन्धी नियम खुकुलो बनाउनुपर्ने अभियान चलाउँदै आएका थिए ।