आइतबार, २५ फागुन २०८१
ताजा लोकप्रिय

समयमा पानी नपर्दा केरा उत्पादनमा ढिलाइ

शुक्रबार, २३ फागुन २०८१, १४ : ५४
शुक्रबार, २३ फागुन २०८१

चितवन । समयमा पानी नपरेपछि केरा उत्पादनमा ढिलाइ हुने देखिएको छ । राम्रो सिँचाइको व्यवस्था भएको ठाउँको उत्पादन हुने तयारी छभने आकासे सिँचाइको बढी भर पर्नुपर्ने ठाउँमा उत्पादन केही ढिलाइ हुने देखिएको हो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण कृषि परियोजना कार्यान्वयन एकाइ चितवनका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाका अनुसार चैत महिना लागेसँगै उत्पादन हुने केरा यस वर्ष केही दिन ढिलो हुने देखिएको छ । करिब १५ देखि २० दिनपछि केरा बजारमा बिक्री गर्न तयार हुने देखिएको उनको भनाइ छ । 

ढुङ्गानाले भने, “आफ्नै राम्रो सिँचाइ भएको ठाउँको केरा बजारमा बिक्री गर्न मिल्ने अवस्थामा पुगेको छ, सिँचाइ नभएको ठाउँको केही दिन लाग्ने देखिएको छ ।” किसानले बिरुवा छोड्न केही ढिलाइ गर्दा पनि उत्पादन लिन ढिलो हुने अवस्था आएको उनको भनाइ छ । 

जिल्लामा चैत १५ देखि कात्तिक मसान्तसम्म केरा राम्रो उत्पादन हुने गर्दछ । मालभोग, चिनी चम्पा र जी–९ जातका केरा व्यावसायिक रूपमा खेती गरिँदै आइएको छ । जी–९ वर्षभर नै उत्पादन हुने गर्दछ भने अन्य जातको चैतदेखि उत्पादन लिन सुरु गरिन्छ । जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकाका पूरै भाग केराका सुपरजोन हुन् भने भरतपुर महानगरपालिका, कालिका र राप्ती नगरपालिकाका आंशिक भाग सुपरजोनमा पर्दछन् ।  

जिल्लामा हाल दुई हजार २०५ हेक्टर क्षेत्रफलमा केरा लगाइएको छ । यहाँ ७०० किसानले केराखेती गर्दै आएका छन् । त्यसमध्ये व्यावसायिक किसान ३५० रहेको कार्यालयले जनाएको छ । अहिले जिल्लामा प्रतिहेक्टर ३७ मेट्रिकटन केरा उत्पादन हुँदै आएको छ । यहाँ उत्पादन भएको केरा राजधानी काठमाडौँसहित छिमेकी जिल्लाका मुख्य सहरमा पुग्ने गर्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप