दुर्गा प्रसाईंको अराजक अभिव्यक्ति– नेताका घुँडा भाँच्नुपर्छ, गाउँगाउँबाट लखेट्नुपर्छ

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अराजक अभिव्यक्ति दिएका छन् । भक्तपुरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले पार्टीका नेताहरूका घुँडा भाँच्ने र गाउँगाउँबाट लखेट्नुपर्ने भन्दै अराजक अभिव्यक्ति दिएका हुन् ।
प्रसाईंले देश बचाउन राजतन्त्र र हिन्दु राष्ट्र फर्काउनुको विकल्प नभएकाले आफूलाई साथ दिन आग्रह समेत गरे । अहिलेको समय राजा र दुर्गा प्रसाईंको भएको दाबी गर्दै उनले राजालेजसरी रक्तपातविहिन दरबार छाडेझैँ नेताहरूलाई बालुवाटार र सिंहदरबार छोड्न चेतावनी दिए ।
‘तिमीहरूले छाडेनौँ भने, राजा र मैले आन्दोलन घोषणा गरेका दिन तिमीहरूको हालत के हुन्छ सोच्नुपर्ने हुन्छ’, उनले फागुन २५ गते पूर्व राजालाई निर्मल निवास पुर्याउने र त्यो शान्तिपूर्ण हुने बताए ।
प्रसाईंले माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा समेत अहिले राजतन्त्रको पक्षमा बहस गर्न थालेको बताए । उनले नेताहरूको छातीमाथि कुल्चेर राजा आउने भन्दै यो व्यवस्था परिवर्तन गर्न प्रहरीले साथ दिए त्यही दिन प्रहरीको एक लाख तलब बनाउने घोषणा गरे ।
प्रसाईंले आफूले थालेको विद्रोहका कारण ठुला दलका नेताहरू राजतन्त्रबारे बहस गर्न बाध्य भएको बताएका हुन् । उनले आफूले थालेको विद्रोह आगोको झिल्को भएको भन्दै यो झिल्को बढ्दै जाने दाबी गरे ।
‘दुर्गा प्रसाईंले थालेको अभियान आगोको झिल्को हो । देश भनेको राजा हो धर्म हो’, उनले भने, ‘राजा ज्ञानेन्द्र शाह पृथ्वीनारायण शाहको वंश हो । मेरो प्रण राजसंस्था र हिन्दु धर्म पुनर्स्थापना गर्ने र २० लाख सम्मको ऋण मिनाहा गर्ने हो ।’
उनले पूर्वराजालाई रछ्यानमा फालिसकेको भनेर नेताहरूले गरेको टिप्पणीको कटाक्ष गर्दै अब आफूहरूले दलका नेताहरूलाई रछ्यानमुनि गाड्ने घोषणा गरे ।
‘२५ गते राजा आउँदै हुनुहुन्छ । नेपालभरिबाट स्वागत गर्न एयरपोर्ट जाऔँ’, समर्थकलाई आह्वान गर्दै उनले भने,‘अब नेताको घुँडा भाँच्नुपर्छ । गाउँगाउँ र सहर सहरबाट लखेट्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पन्तलाई २४ लाख रुपैयाँ जरिवाना
-
शिक्षक आन्दोलनको सबै दोष सरकारलाई लगाएर कोही उम्किन मिल्दैनः अध्यक्ष ठाकुर
-
शिक्षा क्षेत्रमा गम्भीर समस्या निम्तिने प्याब्सनको चेतावनी
-
पोखरा विमानस्थल निर्माणमा कसरी भयो अनियमितता ?
-
युक्रेनले क्रिमियामाथिको आफ्नो दाबी त्याग्ला ?
-
गलत नियतका साथ रिपोर्ट आएको छ तर भ्रष्टाचार भएको छैन भन्न मिल्दैन