आइतबार, २५ फागुन २०८१
ताजा लोकप्रिय

जनप्रशासन क्याम्पसको प्रमुख नियुक्तिका लागि सर्च कमिटी गठन

शुक्रबार, २३ फागुन २०८१, ११ : ३८
शुक्रबार, २३ फागुन २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जनप्रशासन क्याम्पसको प्रमुख नियुक्तिका लागि सर्च कमिटी गठन गरिएको छ । विगत लामो समयदेखि टुङ्गिन नसकेको क्याम्पस प्रमुख नियुक्तिका लागि नयाँ सर्च कमिटी गठन गरिएको हो । 

त्रिभुवन विश्वविद्यालयका डीन प्राडा महानन्द चालिसेको उपस्थितमा बसेको क्याम्पसको सञ्चालक समितिको बैठकले प्राडा बालकुष्ण श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय सर्च कमिटी गठन गरेको हो । 

क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका उपाध्यक्ष अनिकेत तिवारीको प्रस्तावमा व्यवस्थापन संकायका डीन, निमित्त क्याम्पस प्रमुख, क्याम्पस सञ्चालक समिति, विद्यार्थी सङ्गठनहरू लगायतका सबै पक्षको सहमतिपछि सर्च कमिटी गठन भएको हो । 

विगतमा क्याम्पस प्रमुख नियुक्तिका लागि दुई पटकसम्म सर्च कमिटी गठन भएको थियो । तर, त्यसले क्याम्पस प्रमुखका लागि सिफारिस गर्न सकेको थिएन । 

लामो समयदेखि निमित्तको भरमा चलिरहेको जनप्रशासन क्याम्पसको प्रमुख नियुक्तिको विषय यसपटकको सञ्चालक समितिको प्रमुख एजेन्डाको रूपमा तोकिएको थियो । सञ्चालक समिति बैठक भन्दा अघि त्यस विषयमा सहमति जुटाउनका लागि तीन पटकसम्म सञ्चालक समितिका अध्यक्ष नरेन्द्रराज पौडेल, निमित्त क्याम्पस प्रमुख हरिभक्त शाही, क्याम्पसको स्ववियुका प्रतिनिधि तथा विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधिहरूको बैठक बसेको थियो । तर, क्याम्पस प्रमुखको सिफारिसका लागि गठन गर्ने सर्च कमिटीका सदस्यहरूका विषयमा सहमति जुट्न सकेको थिएन । त्यसपछि बसेको चौथो बैठकमा स्ववियु उपाध्यक्ष तिवारीले निमित्त क्याम्पस प्रमुखले समेत उम्मेदवारी दिन पाउने प्रस्ताव गरेको थिए । 

नयाँ क्याम्पस प्रमुखको रूपमा प्रतिस्पर्धा गर्न पाउनु सबैको अधिकार भएकाले हालका निमित्त क्याम्पस प्रमुखले समेत उम्मेदवारी दिन पाउने प्रस्ताव राखेका थिए । 

त्यस्तै सञ्चालक समितिको बैठकमा व्यवस्थापन संकायका डीनलाई आमन्त्रण गर्ने र सोही बैठकमा डीनले क्याम्पस प्रमुखको छनोटका लागि सर्च कमिटीमा बस्ने ३ जना व्यक्तिको नाम छनोट गर्ने र ती सदस्यहरू व्यवस्थापन संकायकै प्राध्यापकहरू हुनुपर्ने समेत प्रस्ताव गरेका थिए । 

सोही आधारमा फागुन २० गते बसेको सञ्चालक समिति बैठकले सर्च कमिटी गठन गरेको निमित्त क्याम्पस प्रमुख शाहीले बताए । 

स्ववियु निर्वाचनपछि सर्च कमिटीले काम सुरु गर्ने र १५ दिन भित्रमा नयाँ क्याम्पस प्रमुखको नाम सिफारिस गर्ने उनको भनाइ छ । 

जनप्रशासन क्याम्पसमा देखिएको विवादका कारण लामो समयदेखि निमित्त क्याम्पस प्रमुखको भरमा क्याम्पस सञ्चालनमा थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप