वीरेन्द्रनगरको विकास त ह्वात्तै भयो तर अव्यवस्थित

पछिल्लो समय वीरेन्द्रनगर बजारको विकासले फट्को मारेको छ । झट्ट हेर्दा यहाँ विकासले रफ्तार लिएको देखिन्छ । विकासका लागि जसरी योजना बन्नुपर्ने थियो, त्यसमा भने केही कमी महसुस गर्न सकिन्छ ।
मैले सुरुवातको वीरेन्द्रनगरलाई पनि देखेँ, अहिलेको वीरेन्द्रनगर पनि हाम्रासामु छ । हामी पहिला सुर्खेतकै गोठीकाँडामा बस्थ्यौँ । हाम्रो जग्गाजमिन उपत्यकामा थियो । हामी सानो हुँदा त यहाँ बस्ती नै थिएन । फाट्टफुट्ट घर थिए । औलो लाग्ने हुँदा हामी माथि डाँडामा ८ महिना र यहाँ उपत्यकामा ४ महिना बस्थ्यौँ ।
०२० सालमा यहाँ तत्कालीन राजा महेन्द्रको सवारी भयो । यहाँका जनताले एकीकृत बस्ती व्यवस्थापनको माग गरे । साथै औलो उन्मुलनको कुरा पनि राखे । महेन्द्रकै पहलमा औलो उन्मुलन भयो । त्यसपछि मात्र (०२३ सालपछि) मान्छेहरू बिस्तारै तल (फाँटमा) झर्न थाले ।
०२० सालभन्दा अगाडि मुलपानी चोकतिर फाट्टफुट्ट पसल थिए । औलो उन्मुलनपछि गणेश चोक लगायतका ठाउँमा सानो बजार विस्तार भयो । पहिला घर पनि स–साना थिए । अहिले जुन रूपमा वीरेन्द्रनगर छ, यस्तो त हामीले कल्पना नै गरेका थिएनौँ । सबै हिसाबले वीरेन्द्रनगरमा धेरै विकास र परिवर्तन भएको छ । पछिल्लो एक दशकमा ह्वात्तै विकास त भयो तर भद्रगोल ढंगले भइरहेको छ ।
तत्कालीन राजा महेन्द्रको निधन पश्चात् वीरेन्द्र राजा भए । वीरेन्द्र पनि यहाँ आए । मलाई याद छ– अहिलेको डाँडा स्कुलमा त्यतिबेला आगलागी भएको थियो ।
राजालाई घुमाउनेहरूले त्यो ठाउँमा पनि लगे । हेलिकप्टरका आएका थिए वीरेन्द्र । उनलाई यो ठाउँ निकै मन प¥यो । त्यसपछि ‘चौहानचौर’बाट नाम बदलेर यसलाई वीरेन्द्रनगर बनाए । यहाँको समग्र विकासका लागि गुरुयोजना उनकै पहलमा बनेको हो । सोही गुरुयोजना अनुसार यहाँको विकास सुरु भएको थियो । अहिले वीरेन्द्रनगरमा जुन तरिकाले विकास र परिवर्तन भएको छ, यसको जग त्यही गुरुयोजना हो । माधवभक्त माथेमा त्यसका योजनाकार थिए ।
निकै व्यवस्थित तरिकाले बनाइएको गुरुयोजनामा अहिलेको रत्न राजमार्गभन्दा दक्षिणको पुरै भागलाई कृषि खेतीका लागि छुट्ट्याइएको थियो । त्यहाँ घर बनाउन नपाइने व्यवस्था थियो । बहुदल आएपछि खेतीयोग्य जमिन मासिन सुरु भयो । यसले कृषियोग्य जमिन पनि बस्तीमा परिणत भए ।
वीरेन्द्रनगरमा अहिले बनेका धेरैजसो सडकको नक्साङ्कन त्यही गुरुयोजना अनुसार छ । ०३३ सालमा गोठीकाँडा, कटकुवा र जर्बुटा गाउँ पञ्चायतभित्र पर्ने भूभागलाई मिलाएर तत्कालीन वीरेन्द्रनगर पञ्चायत गठन भएको हो । म त्यसअघि गोठीकाँडा पञ्चायतको सदस्य थिएँ ।
वीरेन्द्रनगरमा ५० को दशकपछि सहरीकरण बढ्न थाल्यो । द्वन्द्वले गर्दा पहाडी विभिन्न जिल्लाका मान्छेहरू यहाँ आएर बस्न थाले । द्वन्द्वको समयमा यहाँ निकै रफ्तारका साथ बस्ती विस्तार हुन थाल्यो ।
०५० सालसम्म रत्न राजमार्ग खासै फराकिलो र कालोपत्रे पनि थिएन । अहिलेको जस्तो व्यवस्थित हुन सकेको थिएन । मंगलगढी—गणेशचोकको सडक पनि अहिले निकै फराकिलो र व्यवस्थित बन्यो । भौतिक संरचनाहरू पनि ठुल्ठुला बने । अहिले नयाँ बसपार्क बनेको छ । शैक्षिक अवस्थामा निकै सुधार भएको छ । क्षेत्रीय अस्पताल (प्रदेश अस्पताल) को संरचना निकै ठुलो भयो ।
६० को दशकपछि घरका संरचनाहरू पनि ठुल्ठुला बन्न थाले । त्यहाँभन्दा पहिला अहिलेका जस्ता होटल थिएनन् । वीरेन्द्रनगर पछिल्लो दशकमा विकसित हुनुका पछाडि क्षेत्रीय सदरमुकामदेखि प्रदेश राजधानी बनेकाले पनि हो । क्षेत्रीय सदरमुकाम बनाउने बेलामा मुकुन्दश्याम गिरी (पूर्वमेयर) को ठुलो भूमिका छ । नेपालगञ्जलाई क्षेत्रीय सदरमुकाम बनाउने चर्चा चलेपछि उनकै पहलमा रातारात वीरेन्द्रनगरलाई सदरमुकाम बनाउने कुरा भयो ।
राजाको पालामा विकास व्यवस्थित रूपमा सुरु भएको थियो । बहुदलपछि गुरुयोजना बेगर अव्यवस्थित तरिकाले विकास हुन थाल्यो । प्रदेश राजधानी भएपछि वीरेन्द्रनगर मान्छेले भरिएको छ । जताततै भिडभाड देखिन्छ । अहिले त बजारभित्र छिर्न पनि डर लाग्छ ।
गुरुयोजना अनुसार रिङरोडको काम अहिलेसम्म हुन सकेको छैन । राजाकै कारण यहाँको धेरै कृषियोग्य जमिन संरक्षण भएको थियो । पछिल्लो समय ती जमिन मासिँदै गए । जता पनि बस्ती बसाउन थालियो । विकास त भयो तर भद्रगोल तरिकाले भयो ।
राजा वीरेन्द्रकै योगदानका कारण वीरेन्द्रनगर बन्यो तर उनकै सालिक तोडेर फालिदिए । यहाँ निकै मेहनतका साथ बिरुवा लगाइएको थियो । सहरलाई हरियाली बनाउन ती बिरुवा लगाउने, हुर्काउने काम भयो । ती सबै क्षणभरमै उखेलेर फाले । गुरुयोजना अनुसार काम भएको भए अहिले वीरेन्द्रनगर अझै व्यवस्थित सहर बन्थ्यो ।
समस्या पनि धेरै छ । खानेपानीको समस्यादेखि अनियमित विद्युतको समस्याले यहाँका बासिन्दाले सास्ती पाइरहेका छन् । सेवा, सुविधाका हिसाबले अझै मेहनत गर्नुपर्छ । घर बनाउनका लागि पनि नयाँ मापदण्ड बनाइनुपर्छ । जथाभावी घर बनेका छन्, जसका कारण एकै पटक हुने विकास पटक–पटक गर्नुपर्छ ।
व्यवस्थित सहर बन्नका लागि योजना पनि व्यवस्थित तरिकाले बनाइनुपर्छ । दशकौँसम्मको जनसंख्या चापलाई आकलन गरी बाटो, घर लगायत भौतिक संरचना निर्माणको मापदण्ड बनाइनुपर्छ । जसले गर्दा एक पटक निर्माण भएका संरचना दुई–चार वर्षमै भत्काउन नपरोस् । जनतालाई कसरी सुविधा सम्पन्न बनाउने भन्ने कुरामा ध्यान दिनुपर्छ । विकास भनेकै जनताका लागि हो । त्यसैले यसमा जनसहभागितालाई पनि कसरी बढाउने भन्नेमा ध्यान दिन जरुरी देखिन्छ ।
(८१ वर्षीय धौलाकोटीसँग गरिएको कुराकानीमा आधारित । धौलाकोटी पुराना राजनीतिकर्मी हुन् । उनकै नामबाट वीरेन्द्रनगर नगरपालिका–४ मा ‘कालुचोक’ भनेर एउटा चोकको नामकरण भएको छ । ०५४ सालसम्म उनी पटक–पटक सोही वडाको वडाध्यक्ष बने । अहिले भने उनी कुनै दलमा आबद्ध छैनन् ।)