आइतबार, २५ फागुन २०८१
ताजा लोकप्रिय

माध्यमिकी परिक्रमाको महोत्तरी यात्रा सम्पन्न

शुक्रबार, २३ फागुन २०८१, १० : ४९
शुक्रबार, २३ फागुन २०८१

महोत्तरी । मिथिला माध्यमिकी १५ दिने परिक्रमामा यात्रीले महोत्तरीको यात्रा सम्पन्न गरेका छन् । यात्राको चौथो दिनदेखि आठौँ दिनसम्मको रात्रिवास महोत्तरीमा गरेका यात्री आज नवौँ दिन बिहान कञ्चनवनबाट धनुषाका लागि प्रस्थान गरेका हुन् । 

कञ्चनवनको रात्रि विश्राम गरेसँगै आज बिहान यहाँबाट यात्री धनुषा प्रवेश गरेपछि महोत्तरीको यात्रा सम्पन्न भएको हो । महोत्तरीमा मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवन परिक्रमाका रात्रिवास रहने परम्परा छ ।

परिक्रमाका यात्री आज बिहान कञ्चनवनमा स्नान गरेर रङ खेल्दै रामसीताको भजन गाउँदै अघिल्लो यात्राका लागि प्रस्थान गरेका छन् । यसअघि बिहीबार कञ्चनवन आएर यात्रीले होरी (फागु) महोत्सव मनाएका थिए । त्रेतायुगमा रामसीताले कञ्चनवन पुगेर अबीर खेलेका विश्वासमा यहीबाट होली पर्व प्रारम्भ हुने परम्परा छ ।

आज यात्री धनुषाको क्षिरेश्वरनाथ महादेवको दर्शन गर्दै धनुषाकै पर्वतामा रात्रिबास गर्नेछन् । त्यसपछि १० औँ दिन धनुषाधाम, ११ औँ दिन सतोखरधाम र १२ औँ दिन औरहीमा रात्रिवासपछि परिक्रमा टोली १३ औँ दिनको विश्रामका  लागि भारतको मधुवनी जिल्लामा पर्ने करुणा पुग्नेछ । त्यसपछि १४ औँ दिन मधुवनीकै बिसौलमा बसेपछि यात्री अन्तिम बासका लागि धनुषाको जनकपुरधामस्थित रङ्गभूमि मैदान (बाह्रबिघा) पुग्नेछन् । 

यसअघि पहिलो दिनको बास धनुषाकै हनुमानगढीमा गरेका यात्रीले दोस्रो र तेस्रो दिनको बास मधुवनीको कलना (कल्याणेश्वर) र फुलहर (गिरिजास्थान) मा गरिसकेका छन् ।

अन्तिम दिन (१५ औँ दिन) रङ्गभूमिमा रात बिताएर भोलिपल्ट जनकपुरधामको अन्र्तगृह परिक्रमा गरेपछि यो मध्यमा यात्रा सम्पन्न हुने परम्परा छ । यो यात्रा सम्पन्न भएको भोलिपल्ट फागुपर्व मनाउने मैथिल परम्परा छ । मिथिलाविहारी (श्रीराम) र किशोरीजी (सीताजी)का प्रतिमा डोलामा अघि लगाएर गरिने यो १५ दिने यात्रा मिथिलाको महाकुम्भ पनि भनिन्छ ।

मिथिला माध्यमिकी परिक्रमा कल्याणदायक हुने र मोक्ष प्राप्त हुने मैथिल जनविश्वास छ । मन, विचार शुद्धि र परोपकारमा लाग्न यो यात्राले अभिप्रेरित गर्ने मैथिल संस्कृतिका जानकार बताउँछन् । माध्यमिकी परिक्रमाको कूल एक सय ३३ किलोमिटर दूरीमध्ये महोत्तरी जिल्लामा २५, धनुषामा ८० र मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा २८ किलोमीटरको दूरी तय गरिने परम्परा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप