आइतबार, २५ फागुन २०८१
ताजा लोकप्रिय

पाकिस्तानी टोलीको खराब प्रदर्शनलाई लिएर आरोप–प्रत्यारोपमा ओर्लिए पूर्वक्रिकेटर

शुक्रबार, २३ फागुन २०८१, १० : ३६
शुक्रबार, २३ फागुन २०८१

काठमाडौँ । पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानी टोलीको प्रदर्शन निकै निराशाजनक देखिन्छ । घरेलु मैदानमै आयोजित आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा पनि पाकिस्तानी टोलीले बिर्सनलायक प्रदर्शन गर्यो ।

पाकिस्तानी टोली प्रतियोगिताको समूहगत चरणबाटै बाहिरियो । पछिल्लो समय पाकिस्तानी टोलीको खराब प्रदर्शनलाई लिएर पाकिस्तानीकै पूर्वखेलाडीहरु पनि आरोप–प्रत्यारोप सुरु भएको छ । पूर्वक्रिकेटरहरु वर्तमान टोलीका खेलाडीलाई मात्र दोष दिनु उपयुक्त नहुने बताउँछन् ।

पूर्वक्रिकेटरहरुले समेत पाकिस्तानी टोलीको स्तर सुधार्न कुनै प्रयास नगरेको उनीहरुको आरोप छ । केही विश्लेषकहरु कुनै पनि पूर्वक्रिकेटरले पाकिस्तानी क्रिकेटको स्तर उकास्न ठोस योगदान नदिएको आरोप लगाउँछन् । 

यसै क्रममा पाकिस्तानका पूर्वकप्तान मोहम्मद हाफिजले पनि पाकिस्तानी क्रिकेटको स्तर खस्किनुमा पूर्वखेलाडीहरु समेत दोषी रहेको आरोप लगाएका छन् । ‘पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी) र वर्तमान खेलाडीलाई मात्र दोष दिएर हुँदैन । पूर्वखेलाडीले पनि सिन्को भाँचेका छैनन्,’ उनी भन्छन् । 

युवा खेलाडीलाई प्रोत्साहन गर्न पूर्वक्रिकेटरले कुन्जुस्याइँ गरिरहेको उनको आरोप छ । मोहम्मद हाफिजले खासगरी सन् १९९० को दशकका खेलाडीहरुप्रति बढी असन्तुष्टि पोखेका छन् । एक पाकिस्तानी टेलिभिजन कार्यक्रममा उनले सन् १९९० को दशकका खेलाडीहरुमाथि तितो पोखे ।

‘सन् १९९० को दशकका खेलाडीहरुले पाकिस्तानी क्रिकेटको स्तर उकास्न कुनै योगदान दिएनन् । उनीहरुले युवा खेलाडीलाई प्रोत्साहन पनि गरेनन् । उनीहरुले आफ्नो समयमा त देशका लागि राम्रो पनि खेलेनन् । पाकिस्तानी क्रिकेटको भविष्य बनाउन पनि केही गरेनन्,’ मोहम्मद हाफिजले भने ।

सन् १९९० को दशका खेलाडीहरुले आईसीसीको कुनै पनि प्रतियोगिता नजितेको आरोपसमेत उनले लगाए । ‘सन् १९९० को दशकका पाकिस्तानी खेलाडीको प्रदर्शन निकै खराब रह्यो । उनीहरु सन् १९९६ र सन् २००३ को विश्वकपमा पराजित भए । सन् १९९९ को विश्वकपको फाइनलमा पुगेर पनि नराम्ररी हारे । यसलाई उपलब्धि मान्न सकिन्न,’ हाफिजले पूर्वखेलाडीहरुलाई आरोप लगाउँदै भने ।

उक्त टेलिभिजन कार्यक्रममा मोहम्मद हाफिजसँगै अर्का पूर्वखेलाडी सोएब अख्तर पनि उपस्थित थिए । हाफिजले आफ्नो पुस्ताका क्रिकेटरमाथि आरोप लगाएपछि अख्तरले पनि त्यसको प्रतिवाद गरे । 

हाफिजलाई जवाफ फर्काउँदै अख्तरले भने, ‘आरोप लगाउनु आवश्यक छैन । हाम्रै समयमा पाकिस्तानले ७३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा भारतलाई हराएको बिर्सनु भयो ? तथ्याङ्कलाई त कसैले लुकाउन सक्दैनन नि,’ अख्तरले भने ।

त्यसपछि, हाफिजले इमरान खानको समयमा मात्र पाकिस्तानी क्रिकेटले उत्कृष्ट प्रदर्शन गरेको तर्क अघि सारे । उनले इमरान खानको कप्तानीको पनि प्रसंशा गरे । तत्कालै हाफिजलाई रोकेर अख्तरले उनलाई सन् १९९० को दशकका खेलाडीहरुको प्रदर्शन भिडियोमा हेर्न र त्यसपछिमात्र सार्वजनिक रुपमा बोल्न सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप