सम्बन्ध सुधार्न नेपालको पटक पटक प्रयास, भारतको ‘नो रेसपोन्स’

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको झन्डै आठ महिना हुन लागेको छ । तर सबभन्दा नजिकको छिमेकी देश भारत भ्रमणमा जानु त टाढाको कुरा, सामान्य फोन संवाद पनि हुन छाडेको छ ।
यसअघिका नेपालका प्रधानमन्त्री र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच बेलाबेला फोन संवाद हुन्थ्यो । यसअघि ओलीसँग पनि भएको थियो । तर यसपटक संवाद पूरै बन्द छ ।
भारतको ओडिसामा नेपाली विद्यार्थीको मृत्यु हुँदासमेत ओलीले समकक्षी मोदीलाई फोन गर्न सकेनन् । आफ्नो एक्समार्फत सन्देश दिएर कूटनीतिक माध्यबाट समाधान गर्न आग्रह गरेका थिए । दुवै देश मिलेर घटना समाधान गरेका थिए । तर मोदीसँग ओलीको भने प्रत्यक्ष कुराकानी हुन सकेन ।
पछिल्लो समय सम्बन्ध सुधारका लागि नेपालको तर्फबाट पटक–पटक प्रयास नभएका होइनन् । तर भारतले त्यसलाई बेवास्ता गर्ने गरेको छ ।
अहिले नेपाल–भारतबिच सम्बन्ध पूरै चिसिएको छ । जुन यी तीन वटा कारणले पुष्टि गर्छन् ।
हालै नेपाल भ्रमणमा आएका भारतीय थल सेनाका पूर्वअध्यक्ष मनोज मुकुन्द नरवणेले पनि यो कुरा स्विकार गरेका छन् । नेपाली सेनाका सेनापतिलगायत अन्य उच्च पदाधिकारीसँग भेटघाट गरी फर्केपछि नेपाल–भारतबिच सम्बन्ध बिग्रेको र सुधार्न दुवै देशलाई उनले सुझाव दिएका छन् ।
निम्ता नआएपछि प्रधानमन्त्री ओलीको भारत भ्रमण हुन सकेको छैन । तर नेपालको तर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पटक–पटक निम्ता गएको छ, तर उनी आएका छैनन् । जबकि, मोदीले प्रधानमन्त्रीमा नियुक्त भएपछि नेपाल भ्रमणमा आउने घोषणा गरेका थिए, त्यतिवेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालमा प्रधानमन्त्री थिए ।
तत्कालीन प्रधानमन्त्री प्रचण्ड मोदीको शपथग्रहणमा जाँदा चाँडै नेपाल भ्रमणमा आउने मोदीले बताएका थिए । तर मोदीले प्रधानमन्त्रीका रूपमा शपथ लिएको नौ महिनाभन्दा बढी भइसक्यो । त्यसबिच उनी विभिन्न देशका भ्रमणमा गइसकेका छन् । तर नेपाल भने आएनन् ।
सचिव मिस्री नेपाल भ्रमणमा आउन लाग्दा धेरैलाई मोदीको भ्रमण निम्तो बोकेर आउँछन् भन्ने लागेको थियो, तर त्यस्तो भएन । ओलीले उल्टै मोदीलाई नेपाल भ्रमणको निम्तो दिएर मिस्रीलाई पठाइदिए ।
मोदीले शपथ लिएको ठिक एक महिनापछि यता ओलीले पनि प्रधानमन्त्रीमा शपथ लिएका थिए । त्यसक्रममा प्रधानमन्त्री ओलीलाई मोदीले एक्समार्फत शुभकामना पनि दिएका थिए । जबकि, नेपालमा प्रधानमन्त्री नियुक्त हुँदा मोदीले फोन नै गरेर बधाई दिने गर्थे र त्यसैवेला भ्रमणको निम्ता पनि आउँथ्यो । तर यसपटक त्यस्तो भएन, एक्समार्फत बधाई दिनुबाहेक मोदीले अरू रेस्पोन्स गरेनन् ।
मिस्रीमार्फत प्रयास
ओली प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनापछि भारतका विदेश सचिव विक्रम मिस्री भने नेपाल भ्रमणमा आएका थिए । भेटघाट भयो, तर भारत भ्रमणका लागि उनले पनि बोलाएनन् ।
सचिव मिस्री नेपाल भ्रमणमा आउन लाग्दा धेरैलाई मोदीको भ्रमण निम्तो बोकेर आउँछन् भन्ने लागेको थियो, तर त्यस्तो भएन । ओलीले उल्टै मोदीलाई नेपाल भ्रमणको निम्तो दिएर मिस्रीलाई पठाइदिए । विदेश सचिव मिस्री फर्केपछि परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमणमा गइन् । परराष्ट्रमन्त्री राणालाई भारतले उच्च सम्मान दिएको थियो । मोदीदेखि अन्य उच्चपदस्थ व्यक्तिहरूसँग राणाको भेटघाट भएको थियो ।
उक्त भ्रमणमा प्रधानमन्त्री अोलीलाई भारत भ्रमणका लागि मोदी निमन्त्रणा दिन सक्ने अड्कल सबैले गरेका थिए । आफ्नो भारत भ्रमण तय गराउन पनि ओलीले परराष्ट्रमन्त्री राणालाई त्यसतर्फ पठाएका थिए । तर यस पटक पनि ओलीलाई बोलाउने कुरै भएन । बरु मोदीलाई नै राणाले नेपाल भ्रमणको निम्तो दिएर फर्किइन् ।
ओलीबाट प्रयास
असोजमा भएको संयुक्त राष्ट्र संघको महासभामा भाग लिन दुवै देशका समकक्षी त्यहाँ पुगेका थिए । त्यहाँ पनि भेटघाट हुने/नहुने निश्चित भइरहेको थिएन । लामो कसरतपछि मात्र दुई प्रधानमन्त्रीबिच भेटघाट भयो तर त्यहाँ पनि मोदीले नेपाललाई खासै महत्त्व दिएनन् अर्थात् ओलीलाई भारत भ्रमणका लागि बोलाएनन् ।
प्रधानमन्त्री ओलीमार्फत मोदीलाई नेपाल भ्रमणका लागि त्यहाँ आग्रह गर्दा मोदीबाट भने त्यस्तो कुनै आग्रह भएन ।
भारतको भ्रमण गरेर मात्र अरू कुनै देशको भ्रमणमा जाने सोच बनाएका ओलीलाई भारतले नबोलाएपछि देखाउनकै लागि चीन भ्रमणमा गएका कतिपयको विश्लेषण छ ।
यसपछि दुवै देशको सम्बन्ध सुध्रिनुको सट्टा झन् बिग्रिँदै गयो । सम्बन्ध सुधारका लागि परराष्ट्रमन्त्री राणाले पटक–पटक प्रयास गरिरहिन् । ओलीलाई भारत भ्रमण गराउन उनले विभिन्न स्रोतहरू जोडिन्, तर भारतले कुनै ‘रेसपोन्स’ देखाएन । अनि बाध्य भएर प्रधानमन्त्री चीन भ्रमणमा गए ।
भारतको भ्रमण गरेर मात्र अरू कुनै देशको भ्रमणमा जाने सोच बनाएका ओलीलाई भारतले नबोलाएपछि देखाउनकै लागि चीन भ्रमणमा गएका कतिपयको विश्लेषण छ । त्यही झोकमा ओलीले मंसिर १७ देखि चीन भ्रमण मात्र गरेनन्, बीआरआई फ्रेमवर्कका सम्झौता नै गरेर फर्किए ।
ओलीको उक्त कार्यले भारत झन् चिढियो, नेपालसँग दूरी बढ्यो । तर नेपालले आफ्नो प्रयास छाडेन । चीन भ्रमणबाट फर्केपछि प्रधानमन्त्री ओलीले पनि चाँडै भारतको भ्रमण गर्ने घोषणा नै गरे । परराष्ट्रमन्त्री राणाले पनि प्रधानमन्त्री ओलीको भ्रमण चाँडै हुने बताइन् । अनि त्यसको चाँजोपाँजोमा उनी लागिन् ।
चीनबाट फर्केपछिको प्रयास
परराष्ट्रमन्त्री राणा बेल्जियम, नेदरल्याण्ड्स, लक्जेम्बर्ग, जर्मनीको भ्रमण गरेर उतैबाट पुस ४ गते भारतको दिल्ली पुगेकी थिइन् । प्रधानमन्त्री अोलीलाई भारत भ्रमण गराउने वातावरण तयार गर्न उनी भारत पुगेकी थिइन् । तर अघिल्लो भ्रमणमा रातोकार्पेट ओछ्याएको भारतले यो पटक राणालाई कुनै महत्त्व दिएन ।
यहाँसम्म कि, भारतका कोही पनि उनीसँग भेट्न मानेनन् । राखी बाँधेर सम्बन्ध बनाएका भाजपाका विदेश विभाग प्रमुख डा.विजय चौथाइवालाले पनि भेट्न मानेनन् । परराष्ट्रमन्त्री आरजुप्रति भारत झन् कडा हुनुको कारण थियो, बीआरआई फ्रेमवर्क ।
एमाले नेताबाट पनि सुधारको प्रयास
सम्बन्ध सुधारका लागि पराराष्ट्रमन्त्री राणा मात्र होइन, त्यही वेला एमालेका उपमहासचिव प्रदीप ज्ञवाली पनि भारत पुगेका थिए । पार्टीको भ्रातृ संगठनको कार्यक्रम भनेर भारत पुगेका उनले पनि त्यहाँ भेटघाट गरेर सम्बन्ध सुधार गर्ने प्रयास गरेका थिए, तर कसैले उनलाई भेट दिएनन् ।
फागुन ४ गते ओमानमा पनि भारतका विदेशमन्त्री एस.जयशंकरसँग ज्ञवालीको भेटवार्ता भएको थियो । अरूअरू विषयमा कुरा भयो तर प्रधानमन्त्री ओलीसँगको सम्बन्ध सुधारबारे कुनै कुरा भएन । परराष्ट्रमन्त्रालय स्रोत भन्छ, ‘त्यो साइडलाइन भेटघाट थियो, त्यहाँ कुरा गर्नुको कुनै अर्थ रहँदैन सम्बन्ध सुधारको मेसो मात्र हो, तर भारतका विदेशमन्त्रीले धेरै कुरा नै गर्न चाहनुभएन ।’
सभापति देउवाको प्रयास
यहाँसम्म कि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वयं भारत गएर कुराकानी गर्ने सोच बनाएका थिए । महाकुम्भ समिटमा जान तयार पनि भइसकेका थिए । उक्त कार्यक्रममा परराष्ट्रमन्त्री राणा जाने कुरा थियो, तर उनले सभापति देउवाको नाम सिफारिस गरेकी थिइन् ।
फागुन ९ गते देउवा त्यसतर्फ जाने पूरै तयारी थियो, तर भारतको तर्फबाट कोही पनि भेट्न नमान्ने भएपछि एकाएक देउवाले भ्रमण रद्द गरे ।
पछिल्लो समय भारतको एउटा कार्यक्रममा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदीप ज्ञवाली, कांग्रेसका नेता डा.प्रकाशरण महतलगायत नेताहरू पनि भारत गएका थिए । तर त्यहाँ कुनै पनि उच्चस्तरीय भेटघाट भएन ।
यसरी नेपालबाट सम्बन्ध सुधारका लागि पटक–पटक प्रयास भए पनि भारतले कुनै चासो देखाएको छैन ।
घाटा कसलाई ?
विदेश मामिलाका जानकार एवं एमालेका नेता विष्णु रिजालले नेपाल–भारतबिचमा हुने कुनै पनि कुरा अवरोध नभएको बताए । ‘विभिन्न भेटघाट तथा भ्रमणहरू भई नै रहेका छन्, उद्योग, वाणिज्य, व्यवसायीका कुराकानी पनि भइरहेका हुन्छन्,’ उनले भने, ‘कुनै पनि गतिविधिमा अवरोध छैन ।’
दुई प्रधानमन्त्रीको बिचमा भेटघाट भएको र परराष्ट्रसचिवस्तरीय भ्रमण हुनुलाई उपलब्धि ठानेका रिजालले दुई देशबिच समस्या भएको आफूलाई नलागेको बताए । तर दुई देशबिच हुनुपर्ने हार्दिकता भने नभएको उनले स्वीकार गरे । ‘भारत ठुलो देश हो, त्यसको ठुलो सोच र सपनाहरू छन्, त्यसले नेपाल–भारतबिच कुनै प्रकारको प्रतिस्पर्धा छैन,’ उनले भने, ‘नेपालले भारतसँग सहकार्य गर्न चाहेको मात्र हो, तर भारतजस्तो देशले छिमेकी राष्ट्रहरूलाई साथमा राखेर अगाडि बढेन भने भारतलाई नै समस्या हुन्छ ।’
उनले थपे, ‘२०७२ को संविधान भारतले नस्विकार्दा, नेपालमाथि नाकाबन्दी लगाउँदा भारतलाई नाफा भयो कि घाटा भयो भन्ने भारतले पनि बुझेको होला ?’
नेता रिजालले मात्र होइन, भारतकै पूर्वसेना प्रमुख नरवणेले पनि यस्तो सम्बन्धले भारतलाई नै घाटा हुने संकेत गरिसकेका छन् ।
‘मैदान खाली गरेपछि त्यहाँ अरूले प्रवेश गर्छ, त्यतिवेलासम्म सबै समाप्त भइसकेको हुन्छ’, उनले द प्रिन्टमा नेपालबारे अभिव्यक्ति दिँदै नेपालमा चीनको पकड हुनुमा भारतको कमजोरी देखाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
दक्षिण एसियाको बदलिँदो राजनीतिका बाछिटा
-
जङ्गली हात्ती गोविन्देको आक्रमणबाट एक जनाको मृत्यु
-
सुदूरपश्चिम प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्ने प्रधानमन्त्री ओली धनगढी आउँदै
-
नेपाली कांग्रेसको ‘मिसन रोजगारी’ अभियान आजबाट
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल