आइतबार, २५ फागुन २०८१
ताजा लोकप्रिय
सङ्घर्ष

सानैमा आफ्नै खुट्टाले साथ छाडे पनि सिपमा टेकेर आत्मनिर्भर बन्दै विजेन्ती

शुक्रबार, २३ फागुन २०८१, ०८ : ०३
शुक्रबार, २३ फागुन २०८१

धनगढी । धनगढी उपमहानगरपालिका–१४ की विजेन्ती चौधरीका लागि सामान्य दिनचर्या पनि सहज छैन । सानै हुँदा इन्सेफलाइटिसको सिकार भएकी उनको दायाँ खुट्टा अशक्त भयो ।

हिँडडुल गर्न कठिन भएकाले विजेन्तीले विद्यालयको शिक्षा पूरा गर्न सकिनन् । ठुलो परिवारमा हुर्किएकी उनले कठिन परिस्थिति सामना गरिन् ।

आर्थिक अभावका कारण अस्पतालसम्म पुग्ने अवसर नपाएकी उनी आमाको माया र सहयोगलाई जीवनको सबैभन्दा ठुलो आधार मान्छिन् ।

बिहेपछि विजेन्तीको जीवनले नयाँ मोड लियो । उनका श्रीमान् कमैयाका रूपमा मजदुरी गर्थे । दुवै जनाले मेहनत गर्दै जमिन किनेर धनगढी–१४ मा आफ्नो गुजारा चलाउन थाले । आफ्नै दुई कट्ठा जमिनमा खेती गर्दै आएका उनीहरू अरू १५ कट्ठा जमिन अधियामा लिएर जसोतसो जीवन निर्वाह गर्दै आएका छन् ।

विजेन्ती दम्पती तरकारी खेती गर्छन् । उत्पादन भएको तरकारी केही बिक्री गर्छन् केही आफैँ उपभोग गर्छन् । शारीरिक रूपमा अपाङ्गताका कारण विजेन्तीलाई खेतीपातीका काम गर्न हम्मेहम्मे पर्छ । भारी उठाउन नसक्ने र धेरै हिँडडुल गर्न नसक्ने उनको अवस्था छ ।

शारीरिक कठिनाइका बाबजुद पनि विजेन्ती आर्थिक रूपमा आत्मनिर्भर बन्न चाहन्थिन् । त्यसैले उनी धनगढी उपमहानगरपालिकाले आयोजना गरेको सिप तथा रोजगार मेलामा सहभागी भइन् ।

मेलामा उनले बेतबाँसका सामग्री बनाउने सिप सिकिरहेकी छन् । घरमै बसेर गर्न सकिने यो काम उनका लागि सहज छ । उनलाई बसीबसी गर्नुपर्ने काम आवश्यक थियो, जसले आर्थिक अवस्थामा केही टेवा पुगोस् ।

धनगढीमा सञ्चालन भइरहेको सिप तथा रोजगार मेलामा सुदूरपश्चिम प्रदेशभरका १ हजार ४० जना प्रशिक्षार्थी सहभागी छन् । सिप सिक्नेमा महिलाको संख्या पनि उल्लेख्य छ ।

विजेन्तीजस्तै अपाङ्गता भएका अन्य पनि यस्ता सिपमूलक तालिम जीवन बदल्ने अवसर हुने भन्दै दैनिक सिप सिक्न सहभागी भइरहेका छन् । कोही भर्खरमात्रै सिप सिकिरहेका छन भने कोहीले एक चरण सिकेर सानोतिनो पसल थापेका पनि छन् ।

विजेन्तीले यसअघि पनि लघुउद्यम तालिम लिएकी थिइन् । यसपटक वडाबाट तालिमको अवसर पाएपछि उनी धनगढीसम्म पुगेर बेतबाँसको सामान बनाउन सिकिरहेकी छिन् । उनी बस र अटोमा फूलबारीबाट धनगढी आउँछिन् । सिप सिक्न खल्तीबाट भाडा हाल्नुपरे पनि अप्ठ्यारो नमानेको उनको भनाइ छ ।

दैनिक चार घण्टा तालिम लिँदा समय बितेको पत्तै नपाउने विजेन्ती बताउँछिन् । साथीहरूसँग रमाइलो गर्दै नयाँ सिप सिक्न पाउँदा उनी निकै उत्साहित छिन् ।

‘सिप भनेको आफ्नो निजी सम्पत्ति हो,’ विजेन्ती भन्छिन्, ‘घरमै बसेर पनि बेतबाँसका सामान बनाउन सकिन्छ ।’ उनी मुडा, फूलदानी, ह्याङ्गर, कुर्सी, सोफाजस्ता सामान बनाउन सिक्दैछिन् । उनले सानो बेतबाँसको पसल घरमै खोलेकी छन् । यसले उनलाई आर्थिक रूपमा केही राहत दिएको छ ।

‘खुट्टाको सहारा सानैमा गुम्यो, सिपले नयाँ जिन्दगी दियो,’ उनले भनिन् ।

सिपलाई सदुपयोग गरेर व्यावसायिक रूपमा अगाडि बढ्न विजेन्तीलाई केही कठिनाइ पनि छन् । कच्चा पदार्थ उपलब्ध गराउने टेन्डर वर्षमा एकपटक मात्रै खुल्ने भएकाले आवश्यक सामग्री जुटाउन मुस्किल पर्छ । कैलालीको टिकापुरबाट बेतबाँस ल्याउनुपर्ने भएकाले खर्च पनि बढ्छ । यद्यपि, बजारमा बेतबाँसका सामग्रीको राम्रो माग रहेकाले उनले यो सिप अझै निखार्दै व्यवसाय विस्तार गर्ने योजना बनाइरहेकी छन् ।

‘डिजाइनिङ र फिनिसिङ तालिम पनि पाएँ भने अझ राम्रो हुन्थ्यो,’ विजेन्ती भन्छिन्, ‘भारी बोकेर काम गर्न नसकिने भएकाले यो पेसा मेरो लागि एकदम उपयुक्त छ,’ उनले भनिन् ।

सीमित स्रोत–साधनका बाबजुद पनि उनले आत्मनिर्भर बन्ने सपना देखेकी छन् । धनगढी उपमहानगरपालिकाले प्रदान गरेको तालिमले आफ्नो सपना पूरा गर्न महत्त्वपूर्ण सहयोग पुग्ने उनको अपेक्षा छ ।

‘मलाई विश्वास छ, सीप सिकेर व्यवसाय बढाउँदै लगेँ भने पछि राम्रो हुन्छ । सिपलाई जीवनको सहारा बनाएर अगाडि बढ्नेछु,’ उनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप